Wednesday, July 24, 2024

-->

रुवान्डाबाट सिकौँ, प्लास्टिकमुक्त देश बनाऔँ

गुट्खाको परिणाम बडो चिन्ताजनक छ। गुट्खा दोहोरो क्यान्सरको स्रोत हो। मानव स्वास्थ्यलाई त क्यान्सर दिन्छ नै धर्तीलाई पनि कहिल्यै निको नहुने दीर्घरोगी बनाउँछ।

रुवान्डाबाट सिकौँ प्लास्टिकमुक्त देश बनाऔँ

संवत् २०५८ सालतिरको कुरो हो। त्रिभुवन जन माध्यमिक विद्यालय, खलंगा, सल्यानमा पढ्थेँ। त्यो वर्षको दशैँमा मेरो जेठो दाइ काठमाडौँबाट घर फर्कँदा साथमा एउटा 'मिनलर वाटर'को बोतल पनि थियो। यस्तो बोतल हातमा पहिलो पटक परेथ्यो। हाम्रो घरमा त्यो बोतल बडो जतनसाथ दुई तीन वर्षभन्दा बढी टिक्यो होला। तिनताक गाउँमा यस्ता बोतल बडो दुर्लभ थिए। यसले भान्छामा मूल रूपमा तेलको भाँडोको रूपमा 'इज्जत' पायो। 

तर कुनै बेला त्यसरी जतन गरिने प्लास्टिकका पानीका बोतल अहिले बिनासंकोच एक मिनेट प्रयोग गरेर वातावरणमा छरपस्ट फालिन्छन्। बाटोघाटो, पार्क, चौर तथा खोलानालामा फ्याँकिने यस्ता प्लास्टिक बोतल, चाउचाउ, बिस्कुट, चिप्स, कुरकुरे र गुट्खा तथा सुर्तीजन्य प्लास्टिकका खोलसँग जोसुकैको दिनहुँ साक्षात्कार हुन्छ, देख्दै दिगमिग लाग्छ।

२२ वर्ष भयो मिनिरल वाटरको बोतलले तीन वर्ष धानेको। अहिले घोराही–दाङलाई कर्मथलो बनाएर बस्छु। गत जेठ १८ गते पत्रकार मित्र आभास बुढाथोकीले अनलाइनखबरमा एउटा समाचार लेख्नुभयो, "गाउँमा पुगे शहरका फोहोर।" घोराही र तुलसीपुर महानगरपालिकाका सडक किनार र खुल्ला ठाउँबाट नाली–कुलो हुँदै वर्षात्‌को समयमा शहर बजारको प्लास्टिकजन्य फोहोर सिनित्तै गाउँका खेतबारीमा पसेपछिको दुर्दशा लेखिएको थियो।

खेतबारीसमेत प्लास्टिक फोहोरले छोपिए। त्यसले किसानलाई पर्ने समस्या, माटोको घट्दो गुणबत्ता र चरिचरणको बेला घाँसमा लटपटिँदै बस्तुभाउको पेटमा समेत प्लास्टिक पुग्दा त्यसले निम्त्याउने विकराल समस्याले देख्दा मन खिन्न भइरह्यो। सडकमा थुप्रिएका प्लास्टिक निलेर मर्ने छाडा चौपायाको दुर्दशा अर्को कथा कुरा भयो। 

प्लास्टिक निषेध, स्मार्ट सिटी, सरसफाइ अभियान यी सबै कुरा सुनिँदै आएका कुरा हुन्। तर उत्साहजनक परिणाम कहीँ कतै देखिएनन्। प्लास्टिक प्रदूषण नियन्त्रणबारे सरकारी योजना, नीति र व्यवस्थापकीय तथा प्राविधिक पाटोबारे म त्यति जानकार छैन। तर नागरिक स्तरमा के गर्न सकिन्छ त्यसमा बहस गरौँ। 

प्लास्टिक नष्ट नहुने वा नष्ट हुन सयौँ वर्ष लाग्ने वस्तु हो। यो पर्यावरणमा छरपस्ट हुँदा बिस्तारै ससानो एकाइमा टुक्रिँदै सूक्ष्म प्लास्टिक (माइक्रो प्लास्टिक) मा रूपान्तरण हुन्छ। हावा, पानी र माटोमा घुल्दै मानव शरीरमा समेत प्रवेश गर्छ। वातावरण अध्येताहरू भन्छन्, सन् २०५० भित्रै समुद्रमा समुद्री जीवभन्दा धेरै तौल प्लास्टिकको हुनेछ। 

वातावरणमा यत्रतत्र छरिएका प्लास्टिक बिस्तारै सूक्ष्म प्लास्टिकमा टुक्रिँदै समुद्रको सबैभन्दा गहिराइ र धर्तीकै उच्च स्थान सगरमाथादेखि मानव बस्ती नहरेको अन्टार्कटिकासम्म पुगिसकेको छ। मानव स्वास्थ्यमा समेत माइक्रो प्लास्टिकका कणहरू देखिसकेका छन्। यसले तीव्र गतिमा माटो, पानी र हावाको गुणस्तर निमिट्यान्न पार्दैछ। 

हिन्दूशास्त्रहरूमा हावा, माटो र पानीलाई देवता उल्लेख छ। वायु देवता, भूदेवता र जल देवताका सन्दर्भ भेटिन्छन्। 'देवता'माथि नै भएको प्रदूषणबाट रोक्नु हाम्रो कर्तव्य हुनुपर्ने हो, तर अवस्था बिलकुल उल्टो छ।

नागरिकस्तरमा प्लास्टिक प्रदूषण नियन्त्रणका मूलतः चार उपाय भेटिन्छन्। पहिलो, प्लास्टिक फोहोर प्रयोग गर्ने वस्तु/सामान सकेसम्म प्रयोग नगर्ने वा त्यसको वैकल्पिक वस्तु प्रयोग गर्ने (प्लास्टिकजन्य फोहोरको स्रोतमै नियन्त्रण गर्ने)। दोस्रो, यस्ता प्लास्टिकजन्य वस्तुको दिगो प्रयोग गर्ने। तेस्रो, प्रयोगमा नआउने प्लास्टिकजन्य वस्तु प्रशोधनगृह (रिसाइकल सेन्टर) सम्म पुर्‍याउने र चौथो, त्यति गर्न पनि सम्भव नभए पर्यावरणमा छरपस्ट नहोस् भन्नका निमित्त फोहोर संकलन केन्द्र (डम्पिङ साइटसम्म) पुर्‍याउने।

यति काम गर्नका लागि न त देश अत्यन्तै धनी हुनुपर्‍यो, न त कुनै व्यवस्था परिवर्तन हुनुपर्‍यो, न त कुनै नेतृत्व परिवर्तन नै हुनुपर्‍यो। केबल नागरिकमा जागरूकता आउनुपर्‍यो र प्लास्टिकजन्य वस्तुको अधिक उत्पादन, खपत र यसले निम्त्याउने प्रदूषण एक विकराल समस्या हो भन्ने कुरा गहिरो गरी बोध हुनुपर्‍यो। 

नागरिकस्तरमा यसरी काम गरेका उदाहरण खोज्दै जाँदा अफ्रिकी राष्ट्र रुवान्डा र यसको राजधानी कगालीको उदाहरण लोभलाग्दो छ।  बुरुन्डी, कंगो, तान्जानिया र युगान्डाले घेरिएको एक मध्यपूर्वी अफ्रिकी देश हो रुवान्डा। नेपालभन्दा साढे चार गुणा सानो र नेपालको आधाभन्दा थोरै कम जनसंख्या रहेको रुवान्डा समृद्धिका केही सूचक हेर्ने हो भने नेपालभन्दा कम विकसित देश हो। 

Made with Flourish

सन् १९९४ मा हुतु र तुत्सी जातीय समुदायबीचको साम्प्रदायिक नरसंहारमा १०० दिनको फरकमा करिब ८ लाखभन्दा बढी मानिसको कत्लेआम भयो। यसै नरसंहारको दौरान देशका राष्ट्रपति जुभेनाल हबयारिमानासमेत हवाईजहाज आक्रमणमा मारिए। त्यो बेला ७० लाख जनसंख्या रहेको रुवान्डामा करिब १२ प्रतिशत जनता त मारिएरै सकिए। 

यस्तो कहालीलाग्दो अवस्थाबाट उठेर अहिले रुवान्डा समृद्धि मार्गमा दौडिँदैछ। अन्य विषय थाती राखेर सरसफाइ र प्रदूषण नियन्त्रणमा उसले गरेको छलाङ चमत्कारझैँ लाग्छ। अहिले रुवान्डालाई अफ्रिकाको सिंगापुर भन्न थालिएको छ। रुवान्डाको राजधानी किगालीलाई फोर्ब्स म्यागेजिनले सन् २००७ मै अफ्रिका महादेशकै सबैभन्दा सफा शहर घोषणा गरेको थियो। 

सरसफाइ र विशेष गरी प्लास्टिक फोहोर निमिट्यान्न पार्ने कामको पहल सरकारले नै गर्‍यो। राम्रो सडक, राम्रा पूर्वाधार सँगै सन् २००८ मा देशव्यापी रूपमा प्लास्टिक झोलामा प्रतिबन्ध लगाइयो। यसको यति प्रभाकारी ढंगले कार्यान्वयन गरियो कि आज रुवान्डाका कुनै पनि सडक पार्क वा सार्वजनिक स्थानमा कुनै प्लास्टिक झोला वा प्लास्टिकजन्य फोहोर भेटिँदैन।

सरसफाइलाई निरन्तरता दिन र स्थायित्व राख्न एक अभियान चलाइयो– ‘उमुगान्डा’ अर्थात् समान उद्देश्य प्राप्तिको लागि सामूहिक र सामुदायिक सहभागितामा काम गर्नु। रुवान्डामा सदियौँदेखिको ’उमुगान्डा’ प्रथालाई  सरसफाइ अभियानमा जोडियो। राष्ट्रपति पौल कगामे (सन् २००२ देखि हालसम्म) ले सरसफाइको उमुगान्डा मोडेललाई एक औपचारिक अभियान बनाए। 

हरेक महिनाको अन्तिम शनिबार हरेक नागरिक (राष्ट्रपतिसमेत) सफाइ अभियानमा जोडिए। सफाइ अभियानमा जोडिनुलाई राष्ट्रभक्तिको विम्बको रूपमा हेर्न थालियो। सबै नागरिक जागरूक हुँदै स्वतःस्फूर्त रूपमा यो अभियानमा सामेल भएपछि अभियानलाई स्थापित गरिदियो।

अफ्रिकाको सिंगापुर भनिने रुवान्डाको राजधानी–कगाली


नेपालमा पनि यस्ता थुप्रै अभियान  छेडिए। बेलाबेला प्लास्टिक झोला प्रतिबन्धका समाचार आइरहन्छन्। सरसफाइ अभियानमा केही मानिस भेला हुन्छन्, सफा गर्छन्, फोटो खिच्छन्, काम खत्तम। केही वर्षअगाडि काठमाडौँमा सार्क सम्मेलन हुँदा लाखौँ–करोडौँ खर्चेर काठमाडौँ चिटिक्क पारियो, तर केही दिनमा फेरि उस्तै। 

सरकारले यस वर्षको बजेटमा गुट्खालगायत सुर्तीजन्य पदार्थ प्लास्टिकको प्याकेटमा प्याक गर्न नपाइने व्यवस्था गरेको छ। यसका लागि अन्तःशुल्क नियमावली २०५९ मा संशोधन गर्दै लागू गर्न आउँदो वैशाखसम्मको समय दिइएको छ। हेरौँ- कामना गरौँ यो व्यवस्था कडाइका साथ लागू होस्।

नेपालमा यी सबै कार्यक्रम प्रभावकारी कार्यान्वयन नहुनुमा नागरिकस्तरमा सहभागिता नहुनु हो। जबसम्म नागरिक स्वतःस्फूर्त रूपमा यसप्रति जागरूक हुँदैनन्, विशेषगरी प्लास्टिकजन्य फोहोर विकराल समस्या हो र यस युगकै लज्जास्पद समस्या हो भन्ने बोध हुँदैन, तबसम्म छिटपुट सरसफाइ अभियानले कुनै तात्त्विक फरक हुने देखिँदैन। 

बोलेर, लेखेर र अर्ति उपदेश दिएर थोरै मात्र परिणाम प्राप्त हुन्छ। सरसफाइ अभियानलाई परिणाममुखी बनाउन केही परिणाम लक्षित र विशिष्टिकृत प्रयास गरी हेरौँ न त भनेर हामी केही साथी जुट्यौँ र नाम दियौँ 'पर्यावरण प्रहरी’। यो डन्डा चलाउने वा बल प्रयोग गर्ने प्रहरी भने होइन। 

लोकतन्त्रमा जतिसुकै राम्रो काम भए पनि बल प्रयोग गरी कार्यान्वयन गराउने प्रयास गर्नु एक असफल यत्न हो। यसर्थ, यो ’पर्यावरण प्रहरी’ प्लास्टिकजन्य प्रदूषणको स्रोतमै कटौती गर्न नागरिक जागरूकता बढाउन, प्लास्टिकको पुनः प्रयोग, दिगो प्रयोग र वैकल्पिकजस्ता चक्रीय अर्थप्रणाली (सर्कुलर इकोनोमी)का औजार प्रयोग गर्न र पर्यावरणमा छरपस्ट हुन नदिनु यसको मूल उद्देश्य हो।

’पर्यावरण प्रहरी’ अभियानअन्तर्गत घोराहीस्थित दाङ जिल्ला अदालतको अघिल्तिरको करिब ५० मिटर दूरीको सडक किनारबाट संकलित गुट्खाको प्याकेटलगायतको प्लास्टिक फोहोर

पहिलो प्रयासस्वरूप हामी आफैँले अघिल्लो शनिबार घोराहीस्थित दाङ जिल्ला अदालतको करिब ५० मिटर दूरीमा केवल प्लास्टिकजन्य फोहोर संकलन गर्‍यौँ। यति दूरीमा करिब पाँच बोरा प्लास्टिकजन्य फोहोर भेटियो। यसमा गुट्खाको परिणाम बडो चिन्ताजनक छ। गुट्खा दोहोरो क्यान्सरको स्रोत हो। मानव स्वास्थ्यलाई त क्यान्सर दिन्छ नै, धर्तीलाई पनि कहिल्यै निको नहुने दीर्घरोगी बनाउँछ। तर स्थानीयको प्रतिक्रियाले उत्साहित पनि बनाएको छ। हामी कुनै स्थान विशेषमा स्थानीय बासिन्दाको सहभागिता र अगुवाइमा  सरसफाइले स्थायित्व नपाउँदासम्म पच्छ्याइरहने छौँ। सबैतिर यो अभ्यास गर्न थालौँ न।


आचार्य दाङमा उद्यम गर्छन्।


सम्बन्धित सामग्री