Wednesday, May 01, 2024

-->

रचना पठन र मूल्यांकनको सवाल

साहित्य पढ्दा जन्मने आँसु, क्रोध र घृणाबाट पनि सौन्दर्यानुभूति हुन्छ। ओस्त्रोभ्स्कीको 'आग्नीदीक्षा' होस् वा मदनमणि दीक्षितको 'माधवी' वा भीष्म साहनीको 'तमस' पढ्दा होस् हाम्रा आँखा रसाउँछन्।

रचना पठन र मूल्यांकनको सवाल

साहित्यिक रचनाहरूको पठन वाङ्‍मयका अन्य रचनाहरूको पठनभन्दा भिन्‍न हुन्छ। यो भिन्‍नता यसको प्रकृतिसँग सम्बन्धित छ। साहित्य र अन्यको पठनलाई एउटै डालोमा हालेर हेरिन्‍न। मूलतः साहित्यको कलात्मक प्रकृतिले यसलाई अरूबाट छुट्याउँछ। अन्य क्षेत्रको पठन बढी विचार, तर्क, ज्ञान र विश्‍लेषण प्रधान हुन्छ। तर साहित्यको पठन बढी हृदय प्रधान हुन्छ।

विचार साहित्यमा पनि हुन्छ। यो सबैभन्दा पहिले हृदयसँग जोडिन्छ, त्यसैसँग संवाद गर्छ। हृदयबाट मस्तिष्कतिर लाग्नु साहित्यको विशेषता हो। संवेदना र विचारलाई अलग गरेर हेर्न सकिन्‍न तर यी एक-अर्काका पर्याय पनि होइनन्। यी दुवैका आ-आफ्ना चरित्र र विशिष्टतता छन्। साहित्य पढ्दा पहिले मस्तिष्क होइन हृदय झङ्‍कृत हुन्छ। यसैकारण साहित्यलाई संवेदना र अनुभूतिको भाषा पनि भनिन्छ।

निकै बौद्धिक साहित्यिक रचनाहरूले पनि पहिले हृदयसँगै संवाद गर्छन्। सरल होउन् वा जटिल साहित्यिक रचनाहरूको पहिलो विशेषता नै हाम्रो भित्री संसारलाई स्पर्श गर्नु हो। साहित्यबाट प्राप्त हुने आनन्दानुभूति मूलतः यही पक्षसँग सम्बन्धित छ। सुन्दर शिल्पसंरचनामा व्यक्त हुने साहित्यको भावसंसारले नै हामीलाई प्रभावित गर्छ। वास्तविक जीवनमा जुन कुरालाई हामी सामान्य सम्झन्छौं, ध्यान दिन्‍नौं, जसबाट हाम्रो हृदय पग्लन्‍न, घृणा र आक्रोश जन्मन्‍न, त्यही कुरा पनि साहित्यमा विशेष बन्छ। त्यसको पठनबाट हाम्रो हृदय पग्लन्छ, हामी भित्र आक्रोश, घृणा र करूणा जन्मन्छ। हामी तीबाट आनन्द प्राप्त गर्छौं।

साहित्य पढ्दा जन्मने आँसु, क्रोध र घृणाबाट पनि सौन्दर्यानुभूति हुन्छ। सेक्सपियरको 'ओथेलो' पढ्दा होस् वा ओस्त्रोभ्स्कीको 'आग्नीदीक्षा' पढ्दा होस्, मदनमणि दीक्षितको 'माधवी' पढ्दा होस् वा भीष्म साहनीको 'तमस' पढ्दा होस् हाम्रा आँखा रसाउँछन्। हाम्रो अगाडिको यथार्थ र हाम्रो आभ्यान्तरिक संसारले रचनामा विशिष्ट ढङ्‍गले अभिव्यक्ति पाउँछ। एकीकृत, विशिष्ट एवं सुसंगत रूपमा शिल्पको उत्कृष्ट कालीगढीमा मूर्त हुने कथ्यले हामीलाई छुन्छ। साहित्यबाट प्राप्त हुने आनन्द अन्तर्वस्तु र रूपको सुन्दर एकताबाट निःसृत हुन्छ। विचार अन्तर्वस्तुको महत्त्वपूर्ण पक्षका रूपमा रहन्छ तर विचार नै अन्तर्वस्तुको पर्याय होइन। कतिले विचारलाई नै अन्तर्वस्तुका रूपमा बुझ्छन्। यो ठीक बुझाइ होइन।

विचारबिनाको साहित्य हुन्‍न। साहित्यमा विचार लेखकको विश्‍वदृष्टिकोण, यथार्थप्रतिको धारणा,  जीवन, समाज, घटना-परिघटनाप्रतिको हेराइ एवं बुझाइका रूपमा आउँछ। एकथरी साहित्यमा विचारको कुरा गर्‍यो कि तर्सिन्छन्, अर्काथरी साहित्यलाई विचारको पर्याय जस्तो ठान्छन्। यी दुवै विचारमा खोट छन्। न विचार मात्र साहित्य हो न त रूप मात्र। महान् मानिएका कुनै पनि रचना विचाररहित छैनन्। न कालिदासको 'अभिज्ञानशाकुंतलम्' न सेक्सपियरको 'ह्‍याम्लेट', न बाल्जाकको 'ह्‍युमन कमेडी' न बालमीकिको 'रामायण', न गेटेको 'फाउस्ट' न हाम्रा महाकवि देवकोटाको 'प्रमिथस'। त्यहाँ विचार र सन्देश पनि छ तर त्यो संवेदना, कल्पना र अनुभवको संसारसँग एकीकृत भएर कलात्मक रूपमा आएको छ। राजनीतिमा बोले जसरी, समाजशास्त्र वा अर्थशास्त्रमा बोले जसरी साहित्यमा विचार बोल्दैन। ती कृतिहरूमा पनि बोलेको छैन। कृतिहरू पढ्दा विचार पढे जस्तो लाग्दैन। जीवन-जगत्, त्यसका घात-प्रतिघात, सुख-दुःख, स्वप्न-सङ्‍घर्ष पढे जस्तो लाग्छ। विचार पढ्न साहित्य नै किन पढ्नु पर्‍यो र?

पाठकको विश्‍वदृष्टिकोण, जीवन अनुभव एवम् कला सम्बन्धी धारणाका कारण कृतिको पठन, आस्वादन र त्यससम्बन्धी दृष्टिकोणमा भिन्नता आउँछ। सबै कृति सबैका निम्ति उत्तिकै प्रिय हुन्‍नन्। अहिलेसम्म भएका छैनन्। महान् मानिएका कृतिको पठन, आस्वादन र मूल्याङ्कनमा पनि समानता पाइन्‍न्। विचार, अनुभव एवम् सौन्दर्य चेतनामा रहने भिन्‍नता र विशिष्टताले  यसमा असमानता ल्याउँछ। यसलाई अस्वाभाविक पनि मानिन्‍न। एउटालाई महान् लागेको रचना अर्कोलाई महान् नलाग्न पनि सक्छ। महान् भनिएका रचनाहरूमा पाइने विचार, जीवन र जगतबोध, अनुभवको संसार र त्यसले निर्माण गर्न चाहेको जगतका कारण तिनको गम्भीर आलोचना पनि भएको छ। तर पनि सत्य के हो भने रचना विचारले मात्र बन्दैन।

साहित्यक रचनामा विचार जीवन अनुभव र संवेदनासँग एकीकृत भएर आउनु पर्छ। तोल्सतोयको उपन्यास 'युद्ध र शान्ति' मा आन्द्रेई बोल्कोनस्की भन्‍ने एउटा पात्र छ। उसले आकाश पहिले पनि हेर्थ्यो तर युद्ध मैदानमा एक्लै रहेका बेला नै उसलाई आकाश आसाधारण लाग्यो। घाइते भएको बेलाको उसको अनुभूति र जीवनबोध छ यस अनुभवका पछि। जीवनको अनित्यताको गहिरो बोधकै कारण उसलाई आकाश असाधारण लाग्यो। उसको यो बुझाइमा जीवनसम्बन्धी दृष्टिकोण छ र छ उसको सौन्दर्य सम्बन्धी धारणा। तर यो विशिष्ट क्षणको भोगाइका रूपमा व्यक्त भएको छ उपन्यासमा। प्रायः रचनामा विशिष्ट स्थिति र क्षणमा विचार जीवन अनुभव र संवेदनासँग घोलिएर आउँछ। 

साहित्यको पठनमा पाठक र अध्येताको सौन्दर्य चेतनाको स्तर महत्त्वपूर्ण मानिन्छ। सौन्दर्य चेतना साहित्यको गहिरो पठन, मर्मबोध र साहित्यको आस्वादनको स्तरसँग सम्बन्धित छ। पठन र आस्वादन विचारसँग पनि जोडिन्छन्। साहित्यको विचारधारात्मक, संज्ञानात्मक, शिक्षात्मक र सौन्दर्यात्मक कार्यहरू हुन्छन्। साहित्यका यी कार्यहरू सौन्दर्यात्मक कार्यका माध्यमबाट सम्पन्‍न हुन्छन्। सौन्दर्यात्मक कार्य साहित्यको सबैभन्दा महत्त्वपूर्ण कार्य हो। साहित्यको पठनबाट हामीलाई जीवन-जगतको बोद्य हुन्छ। हामीले त्यसबाट विचार र शिक्षा पनि प्राप्त गर्छौं। तर त्यसको पठनबाट हामीले प्राप्त गर्न चाहेको मुख्य कुरा आनन्द हुन्छ। आनन्द साहित्यको अन्तर्वस्तुबाट अलग हुन्‍न। सुन्दर अन्तर्वस्तुको कलात्मक प्रकटीकरणबाटै पाठकले आनन्द प्राप्त गर्छ। सुन्दरबाट प्राप्त हुने भाव नै सौन्दर्य हो।

सौन्दर्यानन्द कुन स्तरमा प्राप्त हुन्छ भन्‍ने कुरासँग पाठक वा भावकको स्तरसँगै कृतिको स्तर पनि जोडिन्छ। पाठकहरू सुन्दर कृतिको उत्कृष्ट आस्वादनका निम्ति निरन्तर आफ्नो बोधको परिष्कारको प्रक्रियाबाट अघि बढ्नु पर्छ। बोधको परिष्कारसँगै आभ्यान्तरिक जगतको परिष्कारको प्रक्रिया पनि अघि बढ्छ। रचनाको आस्वादनमा विचार निरपेक्षताको दृष्टिकोणलाई उपयुक्त मानिन्‍न। मलाई मनपर्‍यो, मन परिन जस्ता अभिव्यक्तिमा रचनाले हृदयलाई पारेको प्रभाव मात्र हुन्‍न, विचार पनि हुन्छ।

रचनाको पठन, आस्वादन र मूल्यांकनमा अरू केही कुरा पनि महत्त्वपूर्ण छन्। प्रख्यात सौन्दर्यशास्त्री बोरोन्स्की यिनलाई निकै महत्त्व दिन्छन्। उनी कृतिको उत्कृष्ट पठन र आस्वादनका निम्ति चाहिने साना-साना तर महत्त्वपूर्ण कुराहरूलाई हाम्रा आगाडि राख्छन्। उनी पूर्वाग्रह, संर्कीणता, अहंकार, आदि साहित्यको पठन, आस्वादन र मूल्याङ्‍कनमा बाधक हुन्छन् भन्छन्। यीबाट हाम्रो संवेदना जगत् दुष्प्रभावित हुन्छ। पूर्वाग्रह, संकीर्णता र अहंकारका कारण न रचनाको ठीक पठन र आस्वादन सम्भव हुन्छ न त कृतिको समुचित मूल्याङ्‍कन। रचनाको गहिरो पठन र आस्वादनका निम्ति बोरोन्स्कीले उल्लेख गरेका कुराहरूबाट मुक्त हुन सक्नुपर्छ। 

पठनमा इमान्दारी चाहिन्छ। पूर्वाग्रह, संकीर्णता र अहंकारबाट मुक्ति चाहिन्छ। पूर्वाग्रह र संकीर्णताको विचारसँग कुनै सम्बन्ध हुन्‍न। विचारको संकीर्ण र पूर्वाग्रही प्रयोगबाट भावक र आलोचक दुवै बच्नुपर्छ। कयौं नेपाली स्रष्टा र आलोचक यसबाट मनग्गे डामिएका छन्। निसन्देह पठन र मूल्याङ्‍कन आ-आफ्नै दृष्टिकोण र बोधका आधारमा गरिन्छ तर पूर्वाग्रही, संकीर्ण, अस्वस्थ र विकृत परिवेशमा यसको प्रयोग सही ढङ्गले नहुन पनि सक्छ। रचनाभन्दा स्रष्टाको अनुहार हेर्ने, आफूसँगको सम्बन्धलाई महत्त्व दिने र रचनाभन्दा उसको वैचारिक प्रतिबद्धता र भूमिका अनुसार धारणा बनाउने समस्या हामी कहाँ डरलाग्दै रूपमा छ।स्रटाका रचनाभन्दा पहिले उनीहरूको राजनीतिक, वैचारिक अनुहारलाई नियाल्नेहरू कति छन् कति। 

नेपाली साहित्यको वर्तमान परिवेश सौन्दर्य चेतनाको विस्तारका दृष्टीले त्यति उर्बर छैन्। 'उत्तर सत्य' जन्य प्रवृत्तिहरू नेपाली साहित्यका क्षेत्रमा पनि बढ्दैछन्। आफ्नै धारणा, आफ्नै सत्य, सस्तो लोकप्रियता, तर्कहीनता, भावनात्मक अतिरेक आदिलाई महत्त्व दिने प्रवृत्ति झाङ्‍गिदैछ। 'साहित्यिक राजनीति' को दृष्य पनि हाम्रा अगाडि छ। कृति र स्रष्टाको महत्त्वलाई यसले पनि दुष्प्रभावित गरेको छ। विभिन्‍न पुरस्कारहरूबाट पुरस्कृत हुने कतिपय कृतिहरूलाई लिएर गरिने टिप्पणीहरू यही पर्यावरणसँग जोडिएका छन्। साहित्यिक पर्यावरणले स्रष्टा र उसका रचनाहरूको मूल्यांकनलाई प्रभावित गर्छ। हामी सप्रिएको साहित्यिक पर्यावरणमा छैनौं। हामी गम्भीर र इमान्दार अध्ययनबिना नै कृतिहरूको मूल्याङ्‍कन गर्ने समयमा छौं। धेरैलाई सिद्धान्त र शास्त्रीय मापदण्डहरूप्रति अरूचि छ। सबैका आ-आफ्नै मापदण्ड र 'सौन्दर्यशास्त्र' छन्। यसबाट हाम्रो पठन र आस्वादन गम्भीर रूपमा प्रभावित छ। 

साहित्य चिन्तन र समालोचनाका क्षेत्रमा गम्भीर ढंगले लागि परेकाहरूले नै यस्तो स्थितिलाई सकारात्मक दिशा दिनुपर्छ। तर अहिले त्यस्तो स्थिति अलि छैन। पठन, आस्वादन र गम्भीर विश्‍लेषण एवं मूल्याङ्‍कनको महत्त्वलाई स्थापित गर्ने भनेकै गम्भीर समालोचक एवं साहित्य चिन्तकहरूले हो। आज यस क्षेत्रमा रहेका कयौं कमजोरीहरूका कारण यसले यस दिशामा महत्त्वपूर्ण भूमिका सम्पादन गर्न सकेको पाइन्‍न। समालोचनाले कृतिको सबल र दुर्बल पक्षहरूको मूल्याङ्कन मात्र होइन, आफ्नो समयको साहित्य चिन्तन, पठन र लेखनका साथै काव्य एवम् सौन्दर्यशास्त्रका बारेमा पनि गम्भीर विमर्श गर्नुपर्छ। यसले नै पठन, आस्वादन र मूल्याङ्‍कनलाई ठीक दिशातर्फ डोर्‍याउन सक्छ।


सम्बन्धित सामग्री