Monday, May 13, 2024

-->

अबको आवश्यकता: सुविचारित विद्रोह

निराश मान्छेले नै हो नायक खोज्ने। अराजकता कहिले दुर्गा प्रसाईंबाट त कहिले अनेकौँ नयाँ 'चमत्कारिक नायक'हरूबाट प्रकट हुन्छन्।

अबको आवश्यकता सुविचारित विद्रोह

अन्य गतिशील समाजले झैँ हामी नेपालीले राजनीतिक, सामाजिक र आर्थिक रूपमा अनेकौँ सपना देख्दै आएका छौँ। हामी लामा राजनीतिक प्रक्रियाहरूमा सहभागी भयौँ। सात सालअघि पनि जनस्तरबाट सानातिना विद्रोह र राजनीतिक गतिविधि भए, तर सात सालयताका जनस्तरको सक्रिय राजनीतिक सहभागिताले धेरै राजनीतिक उथलपुथल भए। ती सबै आन्दोलन हाम्रा सपनाका अभिव्यक्ति थिए। 

राणाशासन ढाल्दा हाम्रा खास सपना थिए। सपनाको अभिव्यक्तिका रूपमा उतिखेर मान्छे सडकमा आए, विद्रोहमा सहभागी बने। २०४६ सालको जनआन्दोलन, २०५२ सालमा शुरू भएको दशवर्षे जनयुद्ध र २०६२/२०६३ सालको जनआन्दोलन जनताको सपनाकै कारण घटित भएका महत्त्वपूर्ण घटना हुन्।

आन्दोलन र विद्रोहको नेतृत्व गरेका नेता/पार्टीहरू सत्तामा आएपछि जनताले अपेक्षा गरेझैँ परिणाम आएन। भनेजस्तो परिणाम नआएपछि निराश मान्छेले मूल रूपमा तीन वटा बाटो रोज्छन्: पहिलो, पलायनको बाटो। पार्टीमा छ भने पार्टी छाडिदिने, व्यापार व्यवसायमा संलग्न छ भने त्यो पनि छाडिदिन्छ र विदेश जान्छ। विदेश कोही किन जान्छ भन्ने प्रश्नका पनि दुई उत्तर छन्: एउटा खास महत्त्वाकांक्षाका कारण विदेश जान्छ। अर्कोचाहिँ यहाँ थेग्न नसकेर, यहाँको व्यापार व्यवसाय बेचेर, थाकेर र हारेर विदेश जानेहरू पनि हुन्छन्। 

सपना देखेर विदेश जाने र यहाँबाट कुनै उपाय नलाग्ने देखेर विदेश जाने दुई फरक विषय हुन्। २. दोस्रो विकल्प हो अराजकताको बाटो हो। कुनै बाटो नदेखेपछि मान्छे अराजक हुन्छ। यस्तो अवस्थामा पहिले आफूले मन पराएकै पार्टीको झन्डा मन पर्दैन, नेता देख्दा हात र मुखै छाडौँझैँ हुन्छ। आफ्नो फ्रस्टेसन अभिव्यक्त गर्न चाहन्छ। अहिले केही अराजक मान्छेहरूका पछाडि लागेका मान्छेहरू सम्भवतः त्यही कोटीका हुन्। ३. तेस्रो, विद्रोहको बाटो। 

समाजलाई विद्रोहतिर लैजान यहाँको राजनीति, समाजका बुद्धिजीवी र नागरिक समाजले मान्छेलाई अजेन्डासहित अगाडि बढाउनु पर्ने हुन्छ। एउटा स्वस्थ समाजमा विद्रोह हुन्छ र अनेकन् विद्रोहहरूकै परिणामस्वरूप समाज यहाँसम्म आइपुगेको हो। ठोस विचार र सुझबुझबाटै विद्रोह अघि बढ्छ। हाम्रोमा राजनीतिक पार्टी र तिनका स्कुल कमजोर भएका कारण परिवर्तनका महत्त्वपूर्ण अजेन्डाहरू स्वतः कमजोर भएका छन्। अनौपचारिक ज्ञानका केन्द्रहरू पनि कमजोर भए। विश्वविद्यालयहरू ठीक तरिकाले सञ्चालित भएनन्। सडकमा आन्दोलनहरू पनि ठीक हिसाबले भएनन्, जसका कारण विद्रोहहरू अहिले सुषुप्त छन्।  

यस्तो अवस्थामा पलायन र अराजकता हाबी छ। समाजमा चर्को रूपमा अराजकता देखिँदै छ। पलायन भएकाहरू निराश र चुपचाप छन्। हामीले के पनि भुल्नुहुन्न भने निराश मान्छेले नै हो नायक खोज्ने। अराजकताहरू कहिले दुर्गा प्रसाईंबाट त कहिले अनेकौँ नयाँ 'चमत्कारिक नायक'हरूबाट प्रकट हुन्छन्। समाज त्यतातिर गएको छ र भड्किएको छ।   

अब के गर्ने?
समाजका निराशा, छटपट र आक्रोशले राम्रो परिणाम पनि ल्याउँछन्। त्यसकै बीच विद्रोहसमेत जन्मन्छ र विद्रोहको नेतृत्व जहिले पनि नयाँ पुस्ताले गर्छ। विद्रोह भनेकै नयाँ चीजको स्थापना हो। पुरानो चीजबाट अब पुग्दैन भनेर नयाँ चीजको खोजी हो विद्रोह। विचार र अजेन्डाहरूमा विद्रोह हुन्छ। राजनीतिक प्रणाली, संगठन र पार्टीभित्र विद्रोहहरू हुन्छन्। यी समग्र विद्रोह तत्‌तत् ठाउँका युवाहरूले नै गर्नुपर्छ। तर फेरि के बुझ्नुपर्छ भने उमेरले मात्रै नयाँ पुस्ता ठहरिँदैन, नयाँ विचार, समाधान र उपाय बोक्नेहरू नै नयाँ पुस्ता हुन्। अहिले समाज असाध्यै लरबरिएको छ। यसलाई सही दिशा दिनका लागि एउटा राजनीतिक विद्रोह आवश्यक छ। 

तर त्यस्तो विद्रोह कसले गर्ने? यसको उत्तर सजिलो छैन। तर स्वाभाविक रूपमा यस्तो विद्रोह राजनीतिक दलका नयाँ पुस्ताले नै गर्नुपर्छ। पार्टीभित्रका वैचारिक रूपमा प्रस्ट र नयाँ ऊर्जावान् र नयाँ पुस्ताका नेताहरूले गर्नुपर्‍यो। नेपाली कांग्रेसभित्र गगनजीहरूले गर्नुपर्‍यो। योगेशजीहरूले एमालेभित्र विद्रोह गर्नुपर्थ्यो होला अथवा घनश्यामजीहरूले हिजो त्यस पार्टीमा जे भन्दै आउनुभएको थियो, त्यसलाई एउटा निष्कर्षमा पुर्‍याउनुपर्थ्यो होला।

अर्कोतिर, समाजमा हुर्कँदै गरेका र विश्वविद्यालयमा पढ्दै गरेका नयाँ पुस्ता पनि राजनीतिमा आउनुपर्‍यो, तिनले आजको बेथितिमा हस्तक्षेप गर्नुपर्‍यो। उनीहरूले त्यस्तो आँधीहुरी सिर्जना गर्नुपर्‍यो,  जसमार्फत नयाँ भाष्य र विचार स्थापित हुन सकून्। उनीहरू नयाँ आशाका किरण बन्न सकून्। 

अहिले हेर्दा यो कुरा अमूर्तजस्तो हुन जान्छ। समाजलाई उथलपुथल गर्ने र बदल्ने विषय कहिलेकाहीँ 'अमूर्त'बाटै शुरू हुन्छ। अमूर्तबाटै मूर्ततर्फ जान्छ विषय। हाम्रोमा यतिखेर मूर्त चीजहरू सबै भत्किएका छन्। मूर्त पार्टीहरू भत्किए, नेतृत्वका इमेजहरू भत्किए। त्यस कारण विद्रोह अब कहीँ न कहीँ अमूर्त चीजबाटै शुरू भएर आकार ग्रहण गर्ने देखिन्छ। स्थापित 'इन्स्टिच्युसन'हरूले अब विद्रोह गर्छन् जस्तो देखिँदैन। अब एउटा सामाजिक उथलपुथलबाटै विद्रोह शुरू गर्नुपर्छ, श‍ुरूमा त्यो मूर्त हुँदैन, पछाडि त्यसले मूर्त आकार ग्रहण गर्नेछ।  

यही निराशाबीच लोकरिझ्याइ (पपुलिजम) मौलाएको छ। निराश मान्छेका लागि पपुलिस्टले एकै क्षणका लागि न्यानो दिन्छन्, तर पपुलिस्टले समाज बदल्दैनन्, झनै निराशा फैलाउँछन्। किन यसो हुन्छ भने ठूलो सपना देखाएर र चर्का कुरा गरेर उनीहरू राजनीतिमा आएका हुन्छन्, जुन कार्यान्वयन गर्न सम्भव हुँदैन। चर्का कुरा गरेर उदाएकाहरूको जीवनमै त केही बदलाव आउला, जनतामा तिनले परिणाम दिन सक्दैनन्। पपुलिजमचाहिँ डुब्न लागेको मान्छेलाई सानो त्यान्द्रोको सहाराजस्तै मात्र हो। तर त्यस्तो त्यान्द्रोले पार लगाउँदैन। अँध्यारोमा हिँड्दै गर्दा अलि पर जुनकिरी देख्दा पनि त्यसको भर लाग्छ, आस पलाउँछ, तर जुनकिरीको उज्यालोमा अँध्यारोमा हिँड्न कठिन हुन्छ। 

आक्रोश क्षणिक हो, समाजको परिवर्तनका लागि सुविचारित राजनीतिक प्रयत्न नै आवश्यक हो। समाजलाई सुसंस्कृत र सुशासनसहितको बनाउन वैचारिक विद्रोह नै चाहिन्छ। र, सम्पूर्ण व्यवस्था पुनर्गठन गर्ने गरी नयाँ पुस्ताको नेतृत्वमा नयाँ विद्रोह आवश्यक छ। विद्रोह भन्नेबित्तिकै आजभन्दा झनै अगाडि जाने कुरा हो। विद्रोह अग्रगमनका पक्षमा हुन्छ, पश्चगमनतर्फ जाँदैन। यस युगको प्रतिनिधित्व गर्ने र अबको ५० वर्षसम्म यो मुलुकलाई कसरी लैजान सकिन्छ भनेर उठाइने वैचारिक विद्रोह आजको आवश्यकता हो। 


सम्बन्धित सामग्री