Sunday, April 28, 2024

-->

तीनकुनेका सडकमा देखिएको त्रास

प्रशासनले निषेधित क्षेत्र तोकेको तीनकुनेमा दुर्गा प्रसाईं समूहका अराजक गतिविधि नियन्त्रण गर्ने आदेश पाएको प्रहरी त्यतिमा सीमित थिएन। त्यहीकारण त्यो क्षेत्रमा सर्वसाधारणले शुक्रबार नसोचेको जगजगी भोगे।

तीनकुनेका सडकमा देखिएको त्रास 

काठमाडौँ– तीनकुने क्षेत्रमा प्रदर्शन गर्न अनुमति नदिइएको र नदिइने जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णय अवज्ञा गर्दै शुक्रबार बिहानदेखि मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरू निषेधित क्षेत्र तोड्ने भन्दै एकपछि अर्को गरेर तीनकुने पुगिरहेका थिए। उनीहरूलाई प्रदर्शन गर्न नदिन बिहानैदेखि तीनकुनेमा ठूलो संख्यामा प्रहरी तैनाथ थिए। प्रसाईंका ती समर्थकहरूमध्ये कतिपय आफूहरू प्रदर्शन गर्न आएको र पक्राउ परे पनि केही फरक नपर्ने बताउँदै थिए। प्रहरीले उनीहरूलाई समातेर भ्यानमा हाल्यो। कतिपय त प्रहरीले समातेपछि आफै लुरुलुरु भ्यान पनि चढे। भ्यानमा बसेपछि ‘राजतन्त्र जिन्दाबाद’को नारा लगाए। 

प्रहरीले भ्यानको झ्याल ढोका बन्द गरेर उनीहरूलाई हुइँक्यायो। तीनकुनेमा तैनाथ प्रहरीले बिहानदेखि मध्यान्हसम्म यसरी एक सयभन्दा धेरै प्रसाईं समर्थकलाई पक्राउ गरेको थियो। 

तीनकुनेको स्थिति यहाँसम्म त सामान्य नै देखिन्थ्यो। तर त्यसपछि प्रहरीले बल प्रयोग एक्कासि बढायो। त्यहाँको सडकमा मोटरसाइकल र निजी गाडीमा गुडिरहेकालाई पनि रोकेर केरकार गर्न थाल्यो। हिँड्दा आफूलाई अप्ठेरो परेको भनेर ठूलो स्वरमा बोल्नेबित्तिकै प्रहरीले उनीहरूलाई भ्यानमा हाल्न शुरू गर्‍यो। प्रहरीको यस्तो व्यवहार देखेर धोबीघाटदेखि मोटरसाइकलमा सिनामंगलतर्फ जाँदै गरेका ज्ञानबहादुर विष्ट आक्रोशित भए। उनले ‘हामी स्वतन्त्रतापूर्वक बोल्न पनि नपाउने? गणतन्त्रमा बोल्न नपाइने?’ भन्दै प्रहरीलाई प्रतिप्रश्न गरे। त्यसपछि प्रहरीले उनलाई मोटरसाइकलबाट झारे।

विष्टसँग मोटरसाइकल पछाडि बसिरहेकी एक महिलालाई पनि प्रहरीले उसैगरी बाहिर तान्यो। उनीहरूलाई भ्यानमा हाल्न अगाडि बढायो। विष्ट यसको विरोध गर्दै चर्को स्वरमा बोलिरहेका थिए। उनले आफू मानवअधिकारवादी भएको भन्दै परिचयपत्र पनि देखाउँदै थिए। तर त्यहाँ रहेका प्रहरीले त्यसको परवाह गरेनन्, टाउकोमा समातेर बोल्दै गरेको मुख थुनिदिए। प्रहरीले उनलाई लिएर गए, मोटरसाइकल सडकमै अलपत्र पर्‍यो। 

सडकमा मोटरसाइकलमा गुडिरहेका मात्र होइन, उनीहरूलाई पक्राउ गरेको दृश्य हेर्ने र तस्वीर खिच्नेहरूलाई पनि प्रहरीले समातेर भ्यानमा हाल्यो। विद्या कोइराला तिनैमध्ये थिइन्।

उनी प्रहरीले सडकमा हिँड्नेहरूका झोला खानतलासी गरिरहेको दृश्य मोबाइलले खिचिरहेकी थिइन्। त्यहीबेला प्रहरीले उनलाई भ्यानमा हाल्यो। आफू आन्दोलनमा सहभागी हुन नआएको भन्दाभन्दै कोइरालालाई भ्यानमा हालिएको थियो। उनलाई भ्यानमा कोच्ने धेरैजसो प्रहरी पुरुष थिए। भ्यानको ढोका बन्द गरिसकेपछि पनि कोइराला ‘मलाई थाहा थिएन’ भन्दै थिइन्। 

तीनकुनेस्थित द लन्डन कलेज अघिल्तिर रहेको चिया पसल अगाडि उभिइरहेका नेपाल तरुण दलका केन्द्रीय सदस्य नेत्र पौडेललाई पनि उभिन मिल्दैन भनेर प्रहरीले भ्यानमा हाले। पौडेल भन्दै थिए, “म तरुण दलको केन्द्रीय सदस्य हुँ, कामविशेषले यहाँ आएको हुँ। मलाई छाडिदिनुस्।” 

सडकमा गुडिरहेको एउटा जिपभित्र रहेकालाई पनि प्रहरीले रोकेर केरकार गर्‍यो। उनीहरूलाई भने काममा हिँडेको भनेपछि छाडिदियो। 

होटलमा खाना खाइरहेकाहरूलाई आपत् 
तीनकुने क्षेत्रमा खटिएका प्रहरीले माथिल्लो तहबाट त्यस्तै निर्देशन पाएका थिए या त्यहाँ खटिएका कमान्डरका कारणले हो, सडकछेउका सानादेखि ठूला होटलमा छिरेर खाना र खाजा खान लागेकाहरूलाई समेत प्रहरीले उठाएर भ्यानमा हालेको थियो। तीनकुनेको सडकमा दौडिइरहेका प्रहरी दौडिँदै रोयल पार्टी प्यालेसभित्र छिरे। त्यहाँको रेस्टुरेन्टमा खाजा खाइरहेका कृष्ण पोखरेल र उनका साथीलाई केरकार गरे। उनीहरूले काम विशेषले तीनकुने आएको र भोक लागेर खाजा खान पसेको भने पनि प्रहरीले सुनेन। कृष्णका साथी प्रहरी आइसकेपछि अब खाजा नखाने, बरु घर जान्छु भन्दै हेलमेट लगाएर पार्किङस्थल पुगे। त्यहाँ रहेको मोटरसाइकल निकाल्न खोज्दै थिए, प्रहरीले समातेर भ्यानमा हाल्यो।

रोयल पार्टी प्यालेसको छेउमै रहेको आँगन रेस्टुरेन्टमा खाना अर्डर गरेर ६ जना युवा सोफामा बसेर गफ गरिरहेका थिए। प्रहरी पुगेर उनीहरूलाई सोधपुछ गर्न थाल्यो। टेबलबाट उठेर एक युवाले आफूहरू आन्दोलनमा नभई खाना खान आएको बताए। रेस्टुरेन्ट सञ्चालकले भने, “उहाँहरूले खाना अर्डर गरिसक्नु भएको छ।”

प्रहरीले रेस्टुरेन्ट सञ्चालकको कुरा पत्याएन। ६ जनालाई नै उठाएर भ्यानमा हाल्यो। त्यही रेस्टुरेन्टसँग जोडिएको अर्को रेस्टुरेन्टमा चिया पिइरहेका तीनकुनेकै दुई युवालाई पनि प्रहरीले भ्यानमा हाल्यो। आफूहरू तीनकुनेबासी भएको भन्दाभन्दै उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। भ्यानमा राखेपछि उनीहरूले चिच्याउँदै भने, “लोकतन्त्रमा बसिरहेका मानिसलाई पनि पक्राउ गर्ने काम भयो। होटलमा बसेर चिया खाँदा पनि समातियो। यो साह्रै हेपाहा कुरा भयो।” 

मन्दिर जान लागेका दुई महिला पनि प्रहरीको फन्दामा परे। सिनामंगलबाट कोटेश्वरस्थित कृष्णमन्दिरमा सत्सङमा जान लागेका ५० वर्षीया निर्मला देवी श्रेष्ठ र ६० वर्षीया हरिमाया प्रहरीको फन्दामा परेका हुन्। हिँड्दै गर्दा उनीहरूले सडकमा प्रहरीका गतिविधि उभिएर हेरेका थिए। ‘यहाँ उभिएर किन हेरेको? तपाईंहरूलाई आन्दोलन गर्न नआउनुहोस् भनेको होइन?’ भन्दै प्रहरीले उनीहरूलाई भ्यानमा हाल्यो। 

गल्ती नभेटिएपछि छुटे
कामविशेषले तीनकुने क्षेत्रका सडकपेटीबाट आवतजावत गरिरहेका युवा पनि केहीबेर प्रहरीको नियन्त्रणमा परे। तर आफूहरू आन्दोलनकारी नभएको भनेर याचना गरेपछि उनीहरूलाई प्रहरीले तत्कालै त्यहाँबाट गइहाल्ने शर्तमा छाडिदिएको थियो।

सडकपेटीमा हिँडिरहेका एक युवालाई प्रहरीले च्याप्पै समात्यो। उनले आफू नजिकैको ग्यारेजमा काम गर्छु भने। प्रहरीले ग्यारेजको नाम सोध्यो। उनले आत्तिएर नाम भन्न सकेनन्। बरु आफू काम गर्ने ग्यारेज देखाइदिने भन्दै अनुरोध गरे। उनको पछि लागेर एक प्रहरी जवान ग्यारेजसम्म पुगे। ती युवा ग्यारेजमै काम गर्ने थाहा पाएपछि प्रहरी जवान एक्लै फर्किए।

नलिनचोकका रोचन क्षेत्री राहदानीसम्बन्धी कामले कोही मानिस भेट्न तीनकुने पुगेका थिए। भेट्नुपर्ने मानिस कुरिरहेका बेला उनलाई पनि प्रहरीले समात्यो। नियन्त्रणमा लिएपछि प्रहरीले उनलाई बोल्न नदिएर टाउकोमा हिर्काएको थियो। तर आफू आन्दोलनकारी नभएकाले आफूलाई छोडिदिन पटकपटक याचना गरेपछि प्रहरीले उनलाई छाडिदियो। छुटिसकेपछि उनले भने, “गल्ती नगर्दा पनि प्रहरीले दमन गर्न खोज्यो। मलाई अनायासै समात्यो। देशमा के हुँदैछ, हामीलाई डर लागेको छ।” 

त्यहीबेला बाटोमा सादा पोसाकमा हिँडिरहेका एक प्रहरी अधिकृतलाई पनि प्रहरीले सोधपुछ गर्‍यो। ती प्रहरी अधिकृतले झटपट्टि मोबाइलमा परिचयपत्र देखाएपछि केरकारबाट मुक्त भए। उनलाई जस्तै सडकपेटीमा हिँडिरहेका बटुवाहरूको झोला, पर्स र मोबाइल चेक गर्ने काममा पनि प्रहरी खटियो। कामविशेषले सडकपेटीमा आवतजावत गरिरहेकाहरूमाथि प्रहरीले यस्तो व्यवहार देखाइरहँदा त्यो क्षेत्रमा रहेका विभिन्न कार्यालय र कलेजमा काम गरिरहेकाहरू पनि दिनैभरी डर त्रासमा परे। उनीहरु गेट बन्द गरेर कार्यालयका झ्याल र ढोकाबाट सडक र सडकपेटीको दृश्य नियालिरहेका थिए।   

सीडीओ भन्छन्– सर्वसाधारणलाई पक्राउ गरिएको छैन
बिहीबारदेखि काठमाडौँमा प्रदर्शन शुरु गरेका दुर्गा प्रसाईंले शुक्रबारदेखि तीनकुनेमा भेला भएर निषेधित क्षेत्र तोड्ने भाषण गरेका थिए। शुक्रबार निषेधित क्षेत्र तोड्न खोज्ने प्रसाईंका समर्थकलाई मात्र होइन, सर्वसाधारणलाई पनि धरपकड किन गरेको त? काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले प्रहरीले तीनकुनेमा सर्वसाधारणलाई कुनै धरपकड नगरेको दाबी गरे। 

“अराजक कार्यक्रम गर्नेहरू, निषेधित क्षेत्र तोड्नेहरूलाई मात्रै पक्राउ गर्न प्रहरीलाई आदेश दिइएको थियो। प्रहरीले सर्वसाधारणलाई केही गरेको छैन”, बस्नेतले भने। होटलमा खाना खाइरहेकाहरूलाई नै समातेर भ्यानमा हालिएको छ नि भन्ने प्रश्नमा उनले भने, “धारिलो हातहतियार राखेको सूचना आएपछि होटलमा पनि प्रहरी छिरेको हो। हामीले दुर्गा प्रसाईंलाई बल्खुमा कार्यक्रम गर्न अनुमति लिनुहोस् भनेका छौँ। उहाँले बल्खुमा कार्यक्रम गर्न अनुमति लिनुभएको छैन। काठमाडौँमा कार्यक्रम गर्ने हो भने हामी ठाउँ तोकिदिन्छौँ। त्यहाँ गएर शान्तिपूर्णरूपमा उहाँहरूले आन्दोलन गर्न पाउनुहुन्छ।” 

काठमाडौँ जिल्ला प्रशासनले बिहीबार दुर्गा प्रसाईँ नेतृत्वको समूहले बल्खुमा कार्यक्रम गर्दा झुण्ड झुण्डमा बाँडिएर सामाजिक सद्भाव बिथोल्ने, अराजक र हिंस्रक एवं दंगा भड्काउने अभिव्यक्ति दिने काम गरेको र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमाथि जीउ ज्यानसमेत लिनेगरी आक्रमण गर्न खोजेको दाबी गरेको छ। प्रसाईँ समूहले बिहीबार नै शुक्रबार तीनकुनेमा अर्को प्रदर्शन गर्ने घोषणा गरेको थियो। तर जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहीबार राति नै विज्ञप्ति जारी गरेर तीनकुनेमा प्रसाईँ समूहलाई प्रदर्शन गर्न नदिने सूचना जारी गरेको थियो।

विज्ञप्तिमा भनिएको थियो, “प्रसाईं समर्थकलाई उत्तेजक, अराजक, हिंसात्मक, विध्वंसात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै स्थानीय प्रशासनसँग कुनै समन्वय नगरी शुक्रबारदेखि तीनुकने क्षेत्रमा भेला जम्मा भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने तथा शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेकोमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ। यसरी गलत मनसायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान गरिएको छैन।”  

प्रहरी भन्छ– शंका लागेकालाई मात्र पक्राउ गरेका हौँ
काठमाडौँ उपत्यकामा प्रसाईं समूहको प्रदर्शन नियन्त्रण गर्न उपत्यका प्रहरी कार्यालयको कमान्डमा सुरक्षाकर्मीहरू परिचालित छन्। उपत्यका प्रहरी कार्यालयका प्रमुख, एआइजी दीपक थापाले बाटोमा हिँडिरहेका केही मानिस पक्राउ परेको स्विकार्दै उनीहरूलाई छाडिसकेको बताए।

“निषेधित क्षेत्रमा शंकास्पद गतिविधि गरेकाहरूलाई प्रहरीले पक्राउ गरेको हो। त्यसमा केही सर्वसाधारण पनि पर्न गएका होलान्। तर उनीहरूलाई हामीले छोडिसकेका छौँ,” उनले भने, “बाँकी मानिसलाई अनुसन्धान गरेर छोड्ने क्रम चलिरहेको छ।” उनले जिल्ला प्रशासन कार्यालयले अनुमति नदिए पनि प्रदर्शन कार्यक्रम गर्ने घोषणा गरेकाले तीनकुनेमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको बताए। 

“जिल्ला प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न रोक लगाएको थियो। तर, पनि त्यहाँ प्रदर्शन गर्ने तयारी भएपछि हामीले सुरक्षा कडा बनाएका हौँ,” थापाले भने। 

तस्वीरहरू : किसन पाण्डे


सम्बन्धित सामग्री