Tuesday, April 30, 2024

-->

‘हजुरबा–नाति’ नातादेखि मुठभेडसम्म

दुई वर्षअघि केपी शर्मा ओलीलाई हजुरबा साइनो लगाएर एमाले प्रवेश गरी आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिलाउन लागिपरेका दुर्गा प्रसाईंको अभिष्ट पूरा त भएन नै, अहिले ओलीसँगै मुडभेडको अवस्थामा पुगेका छन्।

‘हजुरबा–नाति’ नातादेखि मुठभेडसम्म

काठमाडौँ– राजतन्त्र फर्काउन भन्दै प्रदर्शन आह्वान गरेको अघिल्लो दिन बुधबार आफ्नै निवास भक्तपुरको लोकन्थलीमा पत्रकार र समर्थकहरूसँग दुर्गा प्रसाईं भन्दै थिए, “मेरा हजुरबा झापा जाँदा अब कसरी मुख देखाउनुहुन्छ? अब केपी ओलीले झापा र महेश बस्नेतले भक्तपुर प्रवेश गर्दा दुर्गा प्रसाईंसँग अनुमति लिनुपर्छ।”

ठीक दुई वर्षअघि २०७८ मंसिर १० गते एमालेको चितवन महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बन्ने घोषणा गरेपछि उनै प्रसाईंले भनेका थिए, “म एकता प्रक्रियाबाट (एमालेमा) आएको हुँ र हजुरबाको आशीर्वादका कारण केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने भएको हुँ।”

प्रसाईंले ‘हजुरबा’ सम्बोधन गर्ने गरेका व्यक्ति एमाले अध्यक्ष केपी शर्मा ओली हुन्। सार्वजनिक कार्यक्रममा पनि उनले ओलीलाई हजुरबा नै भन्छन्। बुधबार आफ्नै घरमा समर्थक र पत्रकारहरूलाई सम्बोधन गर्दा ओलीलाई पटकपटक ‘मेरो हजुरबा’ भनेका थिए।

त्यसो त, नाता नपरे पनि नाता लाउन ओली पनि कम होइनन्, व्यवसायी शेखर गोल्छालाई सम्धी भन्दिन्छन्, गोल्छाकी बुहारी झापाकै गिरी परिवारको भएका कारण। प्रसाईं र ओलीबीच पनि नातै पर्ने चाहिँ होइन। “नाता नपरे पनि नाता जोडेर सम्बोधन गर्नु नेपाली समाजकै चरित्र हो,” झापाका स्थायी बासिन्दा गोपाल खनाल भन्छन्, “यो मामिलामा हामी झापाली सुपर नै हौँ।”

ओली–प्रसाईंबीचको यस्तो न्यानो सम्बन्ध एक वर्षयता चिसिएको मात्रै छैन, मुठभेडमै पुगेको छ। जमलस्थित होटल यल्लो प्यागोडाबाट निस्किदै गर्दा एमालेको युवा संघसम्बद्ध समूहले असोज २२ गते प्रसाईंलाई कालो दल्दिएको थियो। गएको मंगलबार राति लोकन्थलीमा प्रसाईंले बिहीबारका लागि आह्वान गरेको प्रदर्शनमा सहभागी हुन आएका महिलामाथि दुर्व्यवहार नै भएको भिडियो भाइरल भयो। दुवै घटना युवा संघका सचिवालय सदस्य विनोद राईको अगुवाईमा भएको भनिएको छ।

ओली–प्रसाईं हजुरबा–नातिदेखि ‘जाति दुश्मनी’ बुझ्न थोरै पृष्ठभूमिमा जानुपर्छ। महाराजगन्जस्थित शिक्षण अस्पतालमा २०७४ पुस २९ गते सिरहाका नथुनिया मोचीको हातबाट जुस पिएर ६ दिन लामो अनशन तोड्दा डा. गोविन्द केसीले भनेका थिए, “यो मेरो जित होइन। जुन दिन दुर्गा प्रसाईंजस्ता मेडिकल माफियाहरू कानूनको दायरामा आउँछन्, त्यसैदिन मेरो जित हुन्छ।”

सरकारले डा. केसीसँग पाँचबुँदे सम्झौता गरेको थियो, जसमा चिकित्सा शिक्षा आयोग गठनको बुँदा पनि थियो। सहमतिअनुसार आयोग गठन हुँदा पहुँचका भरमा सम्बन्धन लिएर चिकित्सा शिक्षाको व्यापार गर्दै आएकामाथि अकुंश अपेक्षित थियो। सहमति सार्वजनिक हुनासाथ मेडिकल शिक्षाको व्यापार गर्न तम्सिएका व्यवसायी आक्रोशित भए। प्रसाईं झापाबाटै गर्जिए, “यो सहमति चिन्दिनँ। हेर्दै जानुहोस् अब म कसरी मेडिकल कलेजलाई सम्बन्धन दिलाउँछु। त्यसपछि मात्रै थाहा हुनेछ म को हुँ भनेर।”

प्रसाईं रिसाउनुको कारण थियो– आफ्नो लगानीको प्रस्तावित बीएण्डसी मेडिकल कलेजले सम्बन्धन नपाउने आशंका। आशयपत्र पाएपछि आठ अर्ब रूपैयाँ लगानी गरेर बिर्तामोड–५ झापामा बीएन्डसी अस्पताललगायत मेडिकल कलेज सञ्चालनका लागि आवश्यक संरचना निर्माण गरिसकेको उनको दाबी थियो।

यो पनि: आफैँ एक ठाउँ नअडिने दुर्गा प्रसाईंले शक्ति ठानेको ऋण मिनाहा ‘कार्ड’

डा. केसीले २०६९ असार २४ गते दोस्रो अनशन तोड्दा गरेको सहमतिअनुसार त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का डीन डा. प्रकाश सायमीले फ्याकल्टी बोर्डबाटै निर्णय गराएर सम्बन्धन बन्द गरिदिएका थिए। तैपनि सम्बन्धनका लागि आईओएमका पदाधिकारी र व्यापारीबीच चलखेल हुन नछोडेपछि डा. केसी तेस्रोपटक अनशन बसे।  

यो घटनापछि राजनीतिमा पुनः सक्रिय बनेका प्रसाईं आफूले ‘रगत पसिना’ बगाएको माओवादीमा फर्किएको सुनाउँथे। उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो लगानीको बीएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटल उद्घाटनका लागि २०७१ फागुन १८ गते बिर्तामोड पुर्‍याए। ‘अस्पताल उद्घाटनका लागि प्रचण्डलाई किन बेलाउनुभएको हो?’ भन्ने प्रश्नमा उनको जवाफ थियो, “अब मेरो आड भरोसा भनेकै प्रचण्ड हुनुभयो। मैले उर्वर समय माओवादीमा बिताएको हुँ। राजनीतिमा निस्कृय भएर मेडिकल कलेज चलाउने निर्णय गरेको थिएँ। तर सोझो हिसाबमा सम्बन्ध पाइने छाँटकाँट देखिएन।”

‘अब प्रचण्डसँग नजिक भएपछि सम्बन्धन पाइन्छ त?’ भन्ने प्रश्नमा भनेका थिए, “मैले सम्बन्धन पाउनुपर्छ। हैन भने मेरो कलेज सरकारले किन्नुपर्छ। म ऋणमा डुबेर मर्न चाहन्नँ।”

त्यसपछि पनि डा. केसी अनशन बस्दै गए। प्रसाईंले भने माओवादीका साथै एमालेका शीर्ष नेतासँग हिमचिम बढाउँदै गए। कलेजलाई सम्बन्धन दिलाउनकै लागि उनी जोडिएको चर्चित ‘मार्सी प्रकरण’ भएको थियो। 

२०७४ सालको आमचुनावमा वाम गठबन्धनमार्फत प्रचण्ड बहुमतसहित ओली फागुन ३ गते प्रधानमन्त्री भएपछि प्रसाईंले ओली र प्रचण्डलाई भक्तपुर ठिमीस्थित घरमा ‘लन्च’ गराएका थिए। टेबलका परिकारमा मार्सी चामलको भात देखिएपछि ‘मार्सी’ शब्दकै ‘ट्रेन्डिङ’ भएको थियो। त्यसको करिब तीन महिनापछि २०७५ जेठ ३ गते ओली र दाहाल ‘आलोपालो प्रधानमन्त्री’ बन्ने शर्तमा एमाले र माओवादीबीच पार्टी एकता भएको थियो।

२०७७ कात्तिकको अन्तिम सातातिर मेडिकल कलेजको सबन्धनबारे कुरा हुँदा प्रसाईंले भनेका थिए, “प्रचण्डज्यू प्रधानमन्त्री नभएसम्म बीएन्डसीले सम्बन्धन पाउने देखिएन। उहाँ प्रधानमन्त्री बन्न पाउनुहुन्छ कि हुन्न भन्ने पो त पिर छ।” 

यो पनि: ‘नेताहरू डराएका हुन्, गणतन्त्रमाथि खतरा पैदा भएको होइन’

एक सातापछि मंसिरमा पूर्वसम्झौता खारेज गर्दै अब पूरै कार्यकाल प्रधानमन्त्रीमा ओली नै रहने र नेकपाको कार्यकारी अध्यक्ष दाहाल बन्ने सहमति भयो। सहमति कार्यान्वयनलाई लिएर ओली र दाहालबीच विवाद बढ्दै गयो। अन्ततः एमाले र माओवादी पुरानै अवस्थामा फर्किए।

‘अब तपाईं कता?’ भन्ने जिज्ञासामा प्रसाईंले भनेका थिए, “मन त मेरो माओवादीमै छ। प्रचण्डज्यू मलाई मन पर्ने नेता। तर एमालेमा रहने निर्णय गरेँ।” 

आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिलाउन प्रसाईंले सत्ता टिकाउने अनेक तिकडम गरिरहेका ओलीको फेरो समात्न खोजेको बुझ्न कठिन थिएन। एमालेका एक स्थायी कमिटी सदस्यले त्यो बेलाको घटना सम्झिँदै भने, “प्रधानमन्त्रीसँग हरेक भेटमा प्रसाईं मलाई ‘ऋणबाट मुक्त गराइदिनु पर्‍यो, सम्बन्धन दिलाइदिनु पर्‍यो’ भन्नुहुन्थ्यो। प्रधानमन्त्री (ओली)ले पनि गर्न नसक्ने कुरामा आश्वासन दिएर कुरा बिगार्नुभयो।” 

ओलीले दिलाउन नसकेको सम्बन्धन
प्रचण्डको साथ छोडेपछि मेडिकल कलेजको सम्बन्धन दिलाउने तत्कालीन प्रधानमन्त्री ओलीले प्रसाईंलाई आश्वासन दिइरहे। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि प्रसाईंको आउजाउ बाक्लियो। २०७७ चैतको अन्तिम सातातिर बालुवाटारमा भेटिएका प्रसाईंले भनेका थिए, “प्रधानमन्त्री मेरो हजुरबा हो। हजुरबाको माया लाग्छ। के–कस्तो छ खबर बुझ्न त आउनै पर्‍यो।” 

२०७८ कात्तिक ७ गते झापामा भएको एमाले प्रवेश कार्यक्रम।


तर ओली जब प्रसाईंको कलेजलाई सम्बन्धन दिलाउन सक्रिय बने, त्यो बेला डा. केसीसँगको सहमतिअनुसार चिकित्सा शिक्षा आयोग गठन भइसकेको थियो। ओलीले काठमाडौँ विश्वविद्यालयको सिनेट बैठकबाट प्रसाईंको कलेजलाई सम्बन्धन दिने निर्णय गराए। तर मेडिकल कलेज सञ्चालनका लागि शिक्षा मन्त्रालयबाट आशयपत्र लिए पनि नवीकरण नगरेको भन्दै आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले सम्बन्धन दिन नमिल्ने अडान राखे। निर्देशन नमानेको भन्दै ओली डा. गिरीसँग आक्रोशित भए। आयोगका अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ।

“उहाँ (प्रधानमन्त्री)ले बीएन्डसीलाई सम्बन्धन दिन म कुलपति भएको एक ठाउँबाट निर्णय भइसक्यो, आयोगको अध्यक्ष पनि हुँ। मैले भनेपछि आशयपत्र नवीकरण भएको छ या छैन भन्नेले अर्थ राख्दैन भन्नुभएको थियो,” डा. गिरीले ओलीलाई उद्धृत गर्दै भने।

त्यसपछि ओलीले प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिलाउन आयोगलाई समिति गठन गर्न लगाए। समितिका सदस्यहरूले प्रसाईंको असहयोगका कारण आफ्नो कार्यभार पूरा गर्न नपाएको प्रतिवेदन आयोगलाई दिए। “प्रसाईंले हामीलाई डकुमेन्ट दिएनन्। उनको असहयोगले हामीले काम गर्न पाएनौं,” समितिका एक सदस्यले भने।

अनि टुट्यो हजुरबा–नातिको ‘प्रगाढ’ साइनो
चिकित्सा शिक्षा आयोगले सम्बन्धन नदिएपछि प्रसाईं सर्वोच्च अदालत पुगे। आयोगविरुद्ध हालिएको मुद्दामा सर्वोच्चबाट अहिलेसम्म अन्तिम फैसला भएको छैन।

यता नेकपा हुँदै प्रसाईंले हजुरबा साइनो लगाएर ओलीसँग सम्बन्ध बढाएका थिए। नेकपा विघटन भएर पूर्ववत् एमाले र माओवादी केन्द्रमा फर्किएपछि प्रसाईं माओवादी केन्द्र छाडेर एमालेतिर लागे। एमाले प्रवेश गर्नुअघि नै प्रसाईं २०७८ असोज १५ देखि १७ गतेसम्म गोदावरीमा भएको एमालेको विधान अधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी भएका थिए। त्यसको करिब तीन हप्तापछि कात्तिक ७ गते झापामा भएको एक कार्यक्रममा ओलीले नै उनलाई एमाले प्रवेश गराएका थिए।

त्यसपछि, एमाले अध्यक्ष ओलीकै प्रस्तावमा केन्द्रीय कमिटी बैठकले २०७८ मंसिर २६ गते प्रसाईंलाई केन्द्रीय सदस्य मनोनीत गरेको थियो। मेडिकल कलेजले सम्बन्धन नपाए पनि ओलीले २०७९ मंसिर ४ गतेको चुनावमा टिकट दिने आशा प्रसाईंले गरेका थिए। एमालेका एक केन्द्रीय सदस्यका अनुसार ओलीले ‘सम्बन्धन दिलाउन सकिनँ, चुनावमा हेरौँला’ भन्दै प्रसाईंलाई फकाएका थिए। टिकट पाउने आसमा प्रसाईंले गृहजिल्ला झापामा ओलीलाई भव्य स्वागत गर्ने र उनका लागि भीड जम्मा गर्ने काम गरिरहे।

यो पनि: लगानी डुब्न थालेपछि बैंकविरुद्ध दुर्गा प्रसाईंको 'अराजक' अभियान

प्रसाईंको नेतृत्वमा २०७९ भदौ ३ गते झापामा आयोजित चुनावी कार्यक्रममा ओलीले भनेका थिए, “मंसिर ४ गते निर्वाचन हुँदैछ। एमालेले जितेन भने देश बर्बादीतर्फ जानेछ।” नजिकै रहेका प्रसाईंले उठेरै ताली बजाएका थिए।

एमालेका एक केन्द्रीय सदस्य भन्छन्, “आफ्नो कलेजलाई सम्बन्धन दिलाउन प्रसाईं एमाले प्रवेश गरेका हुन्। प्राविधिक कारणले उनलाई सम्बन्धन मिलेन। त्यसपछि सधैँ एमालेको कार्यकर्ता बन्छु भन्ने प्रसाईंले एकाएक सांसद बन्ने लोभ गरे। उनले टिकट पाउने अवस्था पनि थिएन।”

कलेजलाई सम्बन्धन नदिलाएको र टिकट पनि नदिएको भन्दै प्रसाईं बिस्तारै ओलीसँग टाढिदै गए। राष्ट्र र राष्ट्रियता जोगाउने भन्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ओलीकै गृहजिल्ला झापामा नागरिक अभिनन्दन गरे। काँकडभिट्टामा फागुन १ गते पूर्वराजाको अभिनन्दनसँगै उनैबाट उद्घाटन गराएर ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऔँ’ अभियान थाले।

फागुन १ गते दुर्गा प्रसाईंको आयोजनामा झापामा भएको कार्यक्रममा पूर्वराजा।


एमालेमै रहेका प्रसाईंले त्यसपछि खुलामखुला राजतन्त्र र हिन्दूराष्ट्रको पक्षमा बोल्न र अभियान चलाउन थाले। त्यसको सात दिनपछि फागुन ७ गते झापामै भएको एक कार्यक्रममा प्रसाईंले भने, “केपी ओली हजुरबा हो। मलाई उहाँको माया लाग्छ। तर जनता र राजा एक हुनुपर्छ।”

प्रसाईंले एमालेको नीतिविपरीत राजतन्त्रको पक्षमा बोल्न थालेपछि फागुन १३ गतेको सचिवालय बैठकले उनलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो। त्यसपछि उनी एमाले र अध्यक्ष ओलीप्रति आक्रामक भएका थिए। केही समयअघि उनले कम्बोडियाको टेलिकममा ओलीको लगानी रहेको आरोपसमेत लगाए। त्यसपछि बैंकका ऋणीहरू, साना उद्यमी, बेरोजगारलगायतको समर्थन पाउन २० लाख रुपैयाँसम्मको ऋण मिनाहा हुनुपर्ने बताउन थाले। उनीहरूकै समर्थनमा आन्दोलन थाले। अहिले उनले ‘व्यवस्था परिवर्तन’को नारा पनि लगाउन थालेका छन्।

राजतन्त्र र हिन्दूराज्यका साथै २० लाखसम्मको बैंक तथा वित्तीय संस्थाको ऋण मिनाहा हुनुपर्ने बताएर उनले बिहीबार काठमाडौँ केन्द्रित प्रदर्शन गरे। एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले पनि प्रदर्शन गर्‍यो। यद्यपि, स्थानीय प्रशासनले युवा संघ र प्रसाईंका समूहलाई फरक ठाउँ तोकेर प्रदर्शन गर्न दियो।

पछिल्लो समय ओली नेतृत्त्वको एमाले र प्रसाईं मुठभेडको अवस्थामा पुगेको देखिन्छ। प्रसाईं भने शान्तिपूर्ण आन्दोलनका लागि आफू काठमाडौँ आएको बताउँछन्। उनले उकालोसँग भने, “म पीडित मान्छे। शान्तिपूर्ण आन्दोलन गर्न काठमाडौँ आएको हुँ। तर एमाले ७० वर्ष पुरानो पार्टी। उक्त पार्टी मसँग भिड्दैछ।”


सम्बन्धित सामग्री