Friday, May 03, 2024

-->

दुर्गा प्रसाईंका समर्थक नै भन्छन्– ‘व्यवस्था बदल्न होइन, नेतालाई सचेत बनाउन काठमाडौँ आयौँ’

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा विभिन्न जिल्लाबाट काठमाडौँ आएकाहरूले आफूहरू गणतन्त्र फाल्नुपर्ने पक्षमा नरहेको, गणतन्त्र हाँक्ने नेताहरूलाई भने सुध्रिनका लागि सचेत बनाउन आएको बताएका छन्।

दुर्गा प्रसाईंका समर्थक नै भन्छन्– ‘व्यवस्था बदल्न होइन नेतालाई सचेत बनाउन काठमाडौँ आयौँ’ 

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहीबार राति विज्ञप्ति निकालेर मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’लाई तीनकुनेमा प्रदर्शन गर्न रोक लगाएको थियो। अराजक गतिविधि बढाएको भन्दै प्रशासनले प्रसाईं र उनी नेतृत्वको समूहलाई तीनकुनेमा प्रदर्शनको अनुमति नदिएको भनेको थियो। 

तर प्रशासनको सूचना अवज्ञा गर्दै प्रसाईंका समर्थकहरू शुक्रबार तीनकुने पुगे। उनीहरूमध्ये कतिपय तीनकुनेलाई प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको जानकारी हुँदाहुँदै त्यहाँ पुगेका थिए भने कतिपयले त्यहाँ पुगेर मात्र यस्तो जानकारी पाएका थिए। दोस्रोथरि प्रदर्शनकारी भने प्रहरीले पक्राउ गर्न थालेपछि टाढैबाट भागे। 

त्यसक्रममा कुरा गर्दा उनीहरूले आफूहरू व्यवस्था विरोधी नभएको, सत्ताको नेतृत्व गरिरहेका र पटक–पटक सत्तामा पुगेका नेताहरूलाई चेतावनी दिन सडकमा आएको बताइरहेका थिए। तीनकुने चोकमा प्रहरीले नियन्त्रणमा लिने थाहा पाएपछि अलि वरैबाट चुपचाप बानेश्वरतर्फ  मोडिएका थिए, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का ६८ वर्षीय डम्बरबहादुर धामी। 

उनले नेताहरूको शासन शैलीले गरिबको उठिबास हुन लागेकाले अति भएर जोखिम मोल्दै काठमाडौँ आएको बताए। “गणतन्त्र नराम्रो व्यवस्था होइन, तर गणतन्त्रको अवमूल्यन गर्ने काम हामीले भोट दिएर पठाएका नेताहरूले गरे। हामीले एक गाँस पनि जुटाउन नसकेको पीडाले उनीहरूलाई छोएन,” धामीले भने, “नेताले आफ्नो घमन्ड त्यागे भने गणतन्त्र पनि ठिकै थियो।” यति भनेर उनी कतै प्रहरीले नियन्त्रणमा लिने हो कि भन्ने डरले हतारिँदै अघि बढिहाले। 

कालिकोट, खाँडाचक्रबाट प्रसाईंले आह्वान गरेको आन्दोलनमा सहभागी हुन आएकी ५६ वर्षीया निरसरा शाहीले आफूलाई लोकतन्त्र, गणतन्त्र या राजतन्त्र भन्ने थाहा नभएको तर, नेताहरूका कारण आफूले दुःख पाएको बताइन्। त्यही दुःख सम्झेर काठमाडौँ आएको उनको भनाई थियो। आफूहरूलाई सरकारले बोल्नसमेत नदिएको गुनासो गर्दै उनले भनिन्, “लोकतन्त्र, गणतन्त्र, राजतन्त्र मलाई थाहा छैन। तर हामी जनताले दुःख पायौँ। हामीलाई खेतीकिसानी गर्न पनि समस्या भयो। हाम्रो छोराहरू घर बस्न पाउँदैनन्।” 

उनीसँगै मुगुबाट आएका ६१ वर्षीय मंगल बुढाथोकीले पनि निरसराको कुरामा सहमति जनाए। उनले भने, “हामीलाई जुन व्यवस्था आए पनि ठिकै थियो। तर हाम्रो जीवनको सुरक्षा भएन। हामीले भोट दिएर जिताएका नेताहरूले जथाभाबी गरे। गाउँको बाटोघाटो बनाउँछ भनेर गएका थिए। यहीँ (काठमाडौँ) आफ्नो भवन ठड्याए।”      

तीनकुनेमा प्रहरीले पक्रिन थालेको थाहा पाएर त्यहाँ जानलाई आए पनि बाटोबाटै फर्कनेमा रामेछापका ५९ वर्षीय सोम विश्वकर्मा पनि थिए। उनले राष्ट्रमाथि नै घात भइरहेको भन्दै त्यसका विरुद्धमा आफू पनि काठमाडौँ आएको सुनाए। “हाम्रा नदीनाला बेचिए। हाम्रो वनजंगल तहसनहस भयो। हाम्रो भूमिमा अतिक्रमण भयो। तर, नेताहरू त्यसमा सहयोगी बने। हामीले सहन सकेनौँ। आन्दोलनमा आयौँ,” उनले भने।   

ओखलढुङ्गाबाट काठमाडौँ आएका तोपनाथ दाहालले व्यवस्था नै परिवर्तन गरिहाल्नुपर्छ भन्ने पक्षमा आफू नरहेको बताए। तर आफू दुर्गा प्रसाईंको समर्थक रहेको सुनाए। सरकारको काम गर्ने शैलीबाट दिक्क भएको भन्दै उनले त्यही भएर प्रसाईंले आह्वान गरेको आन्दोलनमा सहभागी हुन काठमाडौँ आइपुगेको बताए।  “हामी राजतन्त्रका लागि निषेधित क्षेत्र तोड्न आएका होइनौँ। गणतन्त्र नै ठीक छ। तर सरकार र नेताहरूको काम गर्ने शैली ठीक भएन। देशमा मौलाइरहेको भ्रष्टाचारको मुख्य हिस्सेदार यिनै नेताहरू हुन। नेता सुध्रिए गणतन्त्र ठीकै छ। नेताहरू सुध्र भनेर खबरदारी पनि हो,” उनले भने।

भक्तपुरको दुवाकोटबाट तीनकुनेको कार्यक्रममा सहभागी हुन आएका तेजबहादुर थापा पनि गणतन्त्र व्यवस्था खराब नभई नेताहरू नै खराब भएकाले समस्या भएको बताउँछन्। “नेता सुध्रिए हुन्छ। कानून कार्यान्वयन गरे हुन्छ। युवालाई रोजगारी दिए हुन्छ। हतारमा गणतन्त्र फ्याँक्न हुँदैन,” उनले भने, “अहिलेका राज्य सञ्चालन गरिरहेका दलहरूलाई सबक सिकाउनका लागि पनि म जस्ता धेरै मानिस सडकमा आन्दोलन गर्न पुगेका हौँ।” 

गौरी नारायण बाँस्कोटा युवा जति विदेश पलायन भएर गाउँ नै रित्तो हुने अवस्था आएको भन्दै चिन्तित देखिए। तीनकुनेमै भेटिएका उनले अहिलेको व्यवस्थाबाट भन्दा पनि नेताहरूको कार्यशैलीबाट दिक्क भएको सुनाए। “देशमै गरेर खाने वातावरण बनोस्। बिदेसिने क्रम रोकियोस् भन्ने हाम्रो पनि चाहना हो। युवाहरू बिदेसिँदा गाउँ नै रित्तो भइसक्यो नि,” उनले भने, “व्यवस्था नै परिवर्तन होस् भन्न त हामीले पनि खोजेका होइनौँ। प्रसाईंले उठाएका केही अजेन्डा राम्रा लागेर समर्थन गरेका हौँ।” 

प्रसाईंको आन्दोलनमा सहभागी हुन सुर्खेतबाट काठमाडौँसम्म आइपुगेका प्रेमप्रकाश खड्का भने संविधानको अवज्ञा गर्दै नेताहरूले नै राजतन्त्र ल्याउने काम गर्दै आएको टिप्पणी गर्छन्। “संविधान कार्यान्वयन होस्। नेताहरू सच्चिएर जनतालाई अनुभूति हुने वातावरण बन्नुपर्छ,” उनले भने, “सर्वसाधारणलाई भेला हुन नदिएर सरकार आफैँले संविधानले दिएको अधिकार हनन गर्दैछ। स्वतन्त्र रूपमा बोल्न नपाउने भन्ने हुँदैन।” 

प्रसाईंले आह्वान गरेको आन्दोलनमा ठूलो संख्यामा बैंक, वित्तीय संस्था र लघुवित्तका ऋणीहरू पनि आएका छन्। प्रसाईंले २० लाख रुपैयाँभन्दा कम ऋण लिएकाहरूको ऋण मिनाहा गर्नुपर्ने विषयलाई आन्दोलनको अजेन्डा भएपछि ऋण मिनाहा हुने आसमा जिल्ला जिल्लाबाट काठमाडौँ आएकाहरूले बिहीबारको प्रदर्शनमा भाग लिएका थिए। उनीहरूले आफ्नो ऋण मिनाहा हुने आश्वासन पाएपछि आन्दोलनमा आएको बताएका थिए। बैंक, वित्तीय संस्था लगायतबाट व्यवसाय गर्न लिएको ऋण मिनाहा हुनुपर्ने नभए ब्याज मात्रै भए पनि मिनाहा हुनुपर्ने आफूहरूको माग रहेको उनीहरूले सुनाएका थिए। 


सम्बन्धित सामग्री