Thursday, May 09, 2024

-->

महिलाप्रति दुर्गा प्रसाईंको असंवेदनशील टिप्पणीः समर्थकको बारम्बार ताली, हुँदैन कारबाही

राजतन्त्र फर्काउने र २० लाख रुपैयाँसम्मको ऋण मिनाहा गर्ने भन्दै विभिन्न जिल्लाबाट महिलालाई आन्दोलनमा ल्याएका दुर्गा प्रसाईंले महिलाविरुद्ध नै बारम्बार असंवेदनशील टिप्पणी गर्ने गरेका छन्।

महिलाप्रति दुर्गा प्रसाईंको असंवेदनशील टिप्पणीः समर्थकको बारम्बार ताली हुँदैन कारबाही

काठमाडौँ– “नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले (युट्युबरहरूलाई) चिठी लेखेर पठाएको होइन? यहाँका चेलीबेटीलाई लिएर जानू। यी हाम्रा चेलीबेटी तीनचार दिनदेखि ननुहाई बसेका छन्। उनीहरूलाई लगेर बालकृष्णलाई...”

त्यसपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सार्वजनिक रूपमा प्रयोग गर्न नसकिने भाषा प्रयोग गरे। राजतन्त्र फर्काउने भन्दै आफैँले घोषणा गरेको आन्दोलनका क्रममा गएको मंसिर ९ गते सिफल चौरको सभामा बोल्दै उनले यस्तो टिप्पणी गरेका थिए। त्यहाँ महिलाहरूको पनि बाक्लो उपस्थिति थियो। आफ्नै सभामा सहभागी महिलाप्रति असंवेदनशील टिप्पणी गर्दा समर्थकले ताली बजाएर प्रसाईंलाई अझै उक्साएका थिए।

प्रसाईंले गएको मंसिर ७ गते काठमाडौँमा राजतन्त्र फर्काउने घोषणासहित प्रदर्शन गर्दा विभिन्न जिल्लाबाट ल्याइएका मानिसलाई होटल र पार्टी प्यालेसमा राखेका थिए। २० लाख रुपैयाँसम्मको ऋण मिनाहा हुनुपर्ने बताएर र मिनाहा हुने आशा देखाएर उनले तराईबाट महिलाहरूलाई पनि ल्याएका छन्। 

ऋण मिनाहा हुने आशामा तनहुँ, बारालगायत ठाउँबाट आएका कतिपय महिला अहिले पनि गौशालाका न्यू घरेलु, सेभेन स्टारलगायत होटल र पार्टी प्यालेसमा बसिरहेका छन्। प्रसाईंको आन्दोलनमा भाग लिन तनँहुकी मनमाया तामाङ, सन्तोषी मियाँ र मोरङ केराबारीकी सुनिता मगर काठमाडौँ आए, तर उनीहरूले तिनै प्रसाईंबाट असंवेदनशील टिप्पणी सुन्नुपर्‍यो।

मंसिर ७ गतेको आन्दोलनमा सहभागी हुन आएका महिलालाई बसेको स्थानबाट युवा संघले लखेटेको मात्र नभई बलात्कारै गर्न गएको प्रसाईंले बताएका थिए। तर सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा पार्टी प्यालेसमा बसेका महिलालाई त्यहाँ पुगेका केही व्यक्तिले बाहिर निकालेको मात्र देखिन्छ।

महिलाहरू सुतेको ठाउँमा पुगेका केही युवाले उनीहरूलाई बाहिर जान भनेपछि एक महिलाले आफूहरूलाई लुगा लगाउन दिन आग्रह गर्छिन्। अर्का युवाले ‘ल १० मिनेट भो’ भनेको सुनिन्छ। तर यसलाई लिएर प्रसाईंले आफ्नै आन्दोलनमा आएका महिलामाथि असंवेदनशील टिप्पणी गरेका छन्।

प्रसाईंले विभिन्न युट्युब च्यानल र टीभी अन्तर्वार्तामा पनि बारम्बार महिलाद्वेषी अभिव्यक्ति दिने गरेका छन्। टेलिभिजन अन्तर्वार्तामा उनले आफ्ना बुबाका सात वटी श्रीमती ल्याएको र आफूसँग आउनेलाई पनि सबैलाई घर किनेर राख्न सक्ने बताएका छन्। त्यस्तै, दुबईका बाटामा नेपाली चेली ‘दुई दिराममा बिक्री भइरहेको’ अभिव्यक्ति पनि दिएका छन्।

आफैँले आह्वान गरेको आन्दोलनमा आएका महिलामाथि नै असंवेदनशील टिप्पणी गरेपछि सामाजिक सञ्जालमा मोहना अन्सारीलगायत केही अधिकारकर्मीले विरोध पनि गरेका छन्। महिलाविरुद्ध हुने १६ दिने हिंसाको पहिलो दिन गएको मंसिर ९ गते साँझ प्रसाईंको भिडियो सेयर गर्दै सामाजिक सञ्जाल एक्समा अन्सारीले लेखेकी थिइन्, “महिलामाथि यस्ता घृणित प्रहार वर्षौंदेखि चलिआएको छ, त्यस आडमा लाखौँ पुरुषहरू रमिते पनि देखेका छौँ। यो दुर्गा प्रसाईंले तीन दिनदेखि ननुहाएका चेलिबेटी कहाँ पठाउने?”

प्रतिक्रिया नजनाउने महिला संघहरू
महिलाविरुद्ध हुने यस्ता टिप्पणीमा प्रतिक्रिया जनाइनुपर्ने राजनीतिक विश्लेषक सोमत घिमिरे बताउँछन्। यद्यपि, यो विषयमा महिला आयोग र विभिन्न पार्टीका महिला संगठनको भूमिका नदेखिएको उनको भनाइ छ।

घिमिरे भिडतन्त्रमा महिला केवल संख्या र अनुहारबाहेक केही नहुने बताउँछन्। प्रसाईंको अभिव्यक्तिले तत्कालीन राजतन्त्रमा महिलाको अवस्था कस्तो थियो र अहिले राजा फर्काउन चाहनेले महिलालाई कसरी हेर्छन् भन्ने स्पष्ट भएको उनको भनाइ छ। 

“हामीलाई चाहिएको महिला सहभागिता चार खम्बामा आधारित छन्। राजनीतिक रूपमा समावेशितामार्फत संख्या बढाउने, आर्थिक पहुँच, सांस्कृतिक तथा सामाजिक रूपमा सम्मान आवश्यक छ,” घिमिरे भन्छन्, “यी सबै उल्टो गतिमा गइरहेको बेलामा महिलासम्बन्धित असंवेदशील अभिव्यक्ति प्रकट र प्रसारण हुँदा केही महिला छाडी दलगत महिला संगठनले किन यी विषयमा बहस उठाउँदैनन्?”

नेपालको महिला आन्दोलन अहिलेजस्तो कमजोर अवस्थामा कहिल्यै पनि नपुगेको नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेना बताउँछिन्। यसको कारण मुख्य राजनीतिका पार्टीहरूका कमजोरी रहेको र महिला संघहरू पनि कमजोर देखिएको उनको भनाइ छ।

“समाजमा विधिको शासन, पारदर्शीता र जवाफदेहीता भएको भए दुर्गा प्रसाईं प्रवृत्तिका मानिस जन्मने नै थिएनन्,” उनले भनिन्, “त्यसो हुँदा लैंगिक विभेदजन्य अभिव्यक्ति आजको हाम्रो सामाजिक ज्ञानको उपज हो, जुन परिवर्तन हुनु आवश्यक छ।”

प्रमुख राजनीतिक दलका नेताहरूले महिला आन्दोलनलाई अघि बढाउनु पर्ने चिन्तन, मनन नै गर्न छाडेको तिम्सेना बताउँछिन्। महिलाको विषय पार्टीहरूको अजेन्डा नबन्दा समाजमा अझै असुरक्षित भएको उनको भनाइ छ। “कुनै पनि महिला केन्द्रित कार्यक्रमले महिलाको आर्थिक, सामाजिक पहुँचको कुरा उठाउनु पर्ने हो, तर भिडतन्त्रले त्यो कुरा सोच्दैन,” उनले भनिन्, “भिडतन्त्रमा गरिब र कमजोर वर्ग हतियारको रूपमा प्रयोग हुन्छन्।” 

के छ कानुनविद्हरूको भनाइ? 
अधिवक्ता राधिका खतिवडा भिडले कुनै व्यक्तिलाई समर्थन गर्दा ‘म ठूलो मानिस हुँ, मैले जे बोले पनि हुन्छ’ भन्ने लाग्ने बताउँछिन्। यस्ता व्यक्तिलाई कुनै विषय गलत नलाग्ने र ताली पाउन जे पनि बोलिदिने उनको भनाइ छ। यस्तो असंवदनशील टिप्पणी कानूनविपरीत रहेको उनको ठहर छ।

“कसैको आत्मसम्मानमा चोट पुग्ने गरी बोल्ने व्यक्तिदेखि हेट स्पिच प्रसारण गर्ने माध्यम समेतलाई एउटै कानुन लाग्छ। विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४८ मा उल्लेख भएअनुसार सजाय हुन्छ,” खतिवडाले भनिन्, “यस्तो अवस्थामा एक लाखसम्म जरिबाना अथवा पाँच वर्षसम्म जेल सजाय हुने व्यवस्था छ।”

तर कारबाहीको लागि उजुरी दिनुपर्ने उनी बताउँछिन्। उजुरी नपरे सरकार वादी भएर पनि मुद्दा चल्ने उनको भनाइ छ। “नेपाली समाजमा हेट स्पिच दिने कार्य भइरहेको छ। उजुरी नपरेदेखि नेपाल प्रहरीले तयार गरेको प्रतिवेदनअनुसार पनि विभिन्न सरकारी निकायले यस्ता मुद्दाअघि बढाउन सक्छन्।”

प्रसाईंको भनाइ गाली बेइज्जती र अभद्र व्यवहारमा पर्ने राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली बताउँछिन्। महिलाले योभन्दा ठूला हिंसा भोग्नु परेका कारण अभद्र व्यवहार र गाली बेइज्जतीका घटना आयोगसमक्ष आइनपुग्ने उनको भनाइ छ।

“महिलाले योभन्दा निकै कठोर पीडा, प्रताडन भोग्ने कारण सार्वजनिक स्थानमा हुने यस्ता घटनालाई सुनेको नसुनै गरी बस्ने गर्छन्, सोही कारण अपवादबाहेक यस्ता केस महिला आयोगमा आउँदैनन्,” पराजुली भन्छिन्, “आयोगमा ८० प्रतिशत निजी तथा घरेलु हिंसाका घटना आउँछन्।” यौनजन्य, अंशबन्डा, नाताप्रमाणित, आर्थिक, मानसिक हिंसालगायतका फौजदारी घटना आयोगको कार्यक्षेत्रमा नपर्ने उनले बताइन्। राजनीतीककरण गरिएका, अप्रमाणित घटना र फन्डा बनाइएका विषयमा संवैधानिक आयोगलाई भूमिका खेल्न अप्ठ्यारो हुने उनको भनाइ छ।

“हामीले पनि यस्ता अभिव्यक्ति सुनिरहेका हुन्छौँ, तर सम्बन्धित कोही पीडित आएर उजुरी गरे मात्र हामीलाई सहज हुन्छ। नत्र राजनीतीकरण र फन्डाका लागि हुने यस्ता विषय हामीले कसरी र कहाँ जुटाउने?” उनी भन्छिन्, “कतिपय केसमा पीडित भएकाहरूले पछि बोली परिवर्तन गरेका छन्, यस्तोमा आन्दोलनकारीका रूपमा आएका महिलालाई हामीले कसरी गएर सोध्ने र प्रमाणित गर्न लगाउने?”


सम्बन्धित सामग्री