Sunday, April 28, 2024

-->

हल्ला धेरै भएको प्रसाईंको आन्दोलन महिना दिनमै तिलमिलायो

बैंक तथा वित्तीय संस्थाबाट लिएको २० लाख रुपैयाँभन्दा कम ऋण मिनाहा र ‘व्यवस्था परिवर्तन’ नभएसम्म चर्काइरहने दाबीसहित शुरू भएको दुर्गा प्रसाईं नेतृत्वको आन्दोलन एक महिना नपुग्दै तितरबितर बनेको छ।

हल्ला धेरै भएको प्रसाईंको आन्दोलन महिना दिनमै तिलमिलायो

काठमाडौँ– रामविलास महतो बेचैन छन्। परिवारसँग एक साताका लागि बिदाबारी भई मंसिर ७ गते ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनमा सहभागी हुन उनी बलरा नगरपालिका–३, सर्लाहीबाट काठमाडौँ आएका थिए। तर भोलिपल्टै भारी मनका साथ गाउँ फर्किए। 

पहिलो दिनकै ‘भद्रगोल’बाट आन्दोलनको भविष्य नदेखेपछि आफूसँगै आएकाहरूलाई समेत खबर नगरी उनी फर्किएका थिए। आफ्नो ६ लाख रुपैयाँ ऋण मिनाहा हुने आशामा काठमाडौँ आएका रामविलास जुलुसमा अघि–अघि नारा लगाउँदै चाबहिल–रूद्रमती–बागमती करिडोर हुँदै बल्खुसम्मको आठ किलोमिटर बाटो हिँडेरै पुगेका थिए। 

“भनिएजस्तो आन्दोलन भएन, ऋण मिनाहा नहुने देखियो। राजा फर्किने अवस्था पनि देखिएन,” सर्लाहीबाट उनले फोनमा भने, “यसै दुःख पाइयो, झन् दुःख पाएर बस्नुभन्दा चाँडै फर्किएँ।” 

आन्दोलनको पहिलो दिन प्रशासनले तोकिदिएको ठाउँ बल्खुमा प्रदर्शन गर्दै प्रसाईंले भोलिपल्टको आन्दोलन तीनकुनेमा गर्ने घोषणा गरेका थिए। दोस्रो दिनको आन्दोलनमा सहभागी हुन सुस्ता–४, पश्चिम नवलपरासीकी ४९ वर्षीया मनसरा राना चाबहिलमा आफन्तको डेरामै बास बसिन्, ऋण मिनाहा हुने आसमा। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सामाजिक सद्भाव बिथोल्ने र अराजक, हिंस्रक एवं दंगा भड्काउने अभिव्यक्ति दिएको भन्दै प्रसाईं समर्थकलाई तीनकुनेमा आन्दोलन गर्न नदिने निर्णय अघिल्लो रात नै गर्‍यो। 

सोही निर्णयअनुसार प्रहरीले प्रसाईंलाई भक्तपुरस्थित उनको घरबाटै निस्किन दिएन। तैपनि आन्दोलन गर्न तीनकुने पुगेका केहीलाई प्रहरीले नियन्त्रणमा लियो। त्यो खबर सुनेपछि राना चुपचाप नवलपरासी फर्किइन्। “घरमा बालबच्चाको बिचल्ली हुन थाल्यो। आन्दोलन सफल हुने पनि देखिएन,” राना भन्छिन्, “अनि घरतिर लागियो।” 

महतो र राना मात्रै होइन, मंसिर ७ गते प्रसाईंले बल्खुमा उतारेका धेरैजसो आन्दोलनकारी (ऋणीहरू) केही दिनमै लाखापाखा लागे। त्यसको परिणामस्वरूप सिफल, गौशाला, भक्तपुर र ललितपुरमा त्यसलगत्तैका दिनहरूमा प्रदर्शन हुँदा उनका समर्थकहरू ह्वात्तै घटेका थिए। जबकि प्रसाईं मंसिरको अन्तिमसम्म काठमाडौँका घर–घरबाट नागरिक सडकमा निस्केर सिंहदरबार घेर्ने ‘गफ’ दिइरहेका थिए। समर्थक तितरबितर भएपछि २० लाख ऋण मिनाहा र व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन नरोक्ने घोषणा गरेका उनी आफैँ पनि स्वास्थ्य उपचारका लागि भारततिर लागे। 


आन्दोलन शुरू हुनुअघि प्रसाईंको आन्दोलनले कस्तो रूप लेला भन्ने चर्चा राष्ट्रियस्तरमै चलेको थियो। सिंहदरबारभित्र सुरक्षित संघीय सत्तासमेत यति सजग देखिन्थ्यो कि, आन्दोलन शुरू हुने दिन राजधानीमा कर्फ्यु आदेश जारी गर्नेसम्मका छलफल भएका थिए। मंसिर ७ गते त अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सार्वजनिक अनुरोध गरिनुले पनि सरकारको मनोदशा प्रष्ट पार्थ्यो। तर स्थानीय प्रशासन र प्रहरीको प्रयासमै प्रसाईंको आन्दोलन ‘फासफुस’ भएको छ। 

प्रसाईं भने आफूले सोचेभन्दा ठूलो समर्थन पाएको र फागुनमा मंसिर ७ गतेभन्दा ठूलो भिड काठमाडौँमा उतार्ने दाबी गर्छन्। “मेरा समर्थक घटे भन्नेहरूले फागुनमा सडकमा कति ठूलो भिड उत्रिन्छ हेर्दै जाऊन्,” उनी भन्छन्। तर प्रसाईंको कुरा उनकै समर्थकले नै पत्याएका छैनन्। “सर (दुर्गा प्रसाईं) लाई हामीले विश्वास गरेका थियौँ। निरन्तर साथ पनि दिइयो, उहाँले हाम्रो कुरा मान्न छोड्नुभयो,”  ललितपुरको आन्दोलनसम्म साथ दिएकी काठमाडौँकी एक महिलाले भनिन्, “म पनि अब उहाँको पछि लागेर समय खेर नफालौँ भन्ने सोचिरहेको छु। साथीहरू पनि निराश भएको देख्छु।”  

पूर्वराजा र राजावादी दलहरूको मिलेन साथ 
आन्दोलन असफल हुनुमा पूर्वराजा र राजावादी दलको साथ नपाउनु एउटा कारण मानिएको छ। प्रसाईंले गत फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई नै झापा बोलाएर आन्दोलनको कुरा गर्दा धेरैको चासो त्यसतर्फ सोझिएको थियो। राजावादी दलहरूलाई नै खासै नपत्याइरहेको देखिने शाहले प्रसाईंलाई साथ दिएको अड्कल कतिपयले काटेका थिए। प्रसाईं स्वयं शाह आफ्नै साथमा रहेको र मंसिर ७ मा काठमाडौँमा उनी पनि समर्थनमा निस्कने दाबी गर्थे। 

तर उनको समर्थनमा शाह निस्केनन् नै, आन्दोलनको तेस्रो दिन मंसिर ९ गते सिफलमा थोरै समर्थकमाझ प्रसाईंले भाषण गरिरहेका बेला पूर्वराजा शाह झापामा निर्मित पृथ्वीनारायण शाहको शालिक अनावरणमा उल्लेख्य भिडभाडका बीच व्यस्त देखिन्थे। बरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मञ्चमा राजासँगै बसेर आफूचाहिँ नजिक भएको देखाउने प्रयास गरे। शाहको कार्यक्रममा भिड जुटाउन पनि उनले राम्रै प्रयत्न गरेका थिए।  

पूर्वराजाले मात्रै होइन, प्रसाईंलाई राजावादी दलहरूले धरि पत्याएनन्। पार्टीमा आए पनि प्रसाईंलाई माथिल्लो पद दिन नसकिने राजावादी दलका नेता नै बताउने गर्छन्। प्रसाईंमा भने आन्दोलनको आँधीबेहरी सिर्जना गरी नेताका रूपमा स्थापित हुने महत्त्वकांक्षा झन्झन् चुलिँदै थियो। राजावादी दलहरूले समर्थन गरेर सडकमा उत्रिने हल्ला गर्दै उनले समर्थक बटुलेका थिए। 

आन्दोलनको पूर्वसन्ध्यामा राप्रपाका अध्यक्ष लिङ्देनले उकालोसँग भनेका थिए, “बैंकको ऋण नतिर्न मान्छे उचाल्ने (दुर्गा प्रसाईं) ले राजा फर्काउँछु भन्दै हुनुहुन्छ, हामीले के आधारमा विश्वास गरेर साथ दिने?” राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि प्रसाईंलाई साथ दिन नसकिने बताएका थिए। यद्यपि प्रसाईंलाई  पार्टीमा ल्याउने कसरत भने उनले गरेका थिए।


राप्रपाका सांसद एवं प्रवक्ता ज्ञानबहादुर शाही र रवीन्द्र मिश्र प्रसाईंलाई साथ दिन बल्खु पुग्दा अध्यक्ष लिङ्देन असन्तुष्ट थिए। पूर्वराजा र राजावादी दलहरूको साथ नपाएपछि प्रसाईंले मंसिर ७ गते राति आफ्नो निवास ठिमीमा भेला भएका निकटस्थसँग भनेका थिए, “आन्दोलनमा मान्छे जुटाउन सोचेजस्तो सजिलो रहेनछ। यत्रो दुःख गरेर आन्दोलन गरियो। राजाको त कुरा छोडौँ, राजा पुज्नेहरूले समेत साथ दिएनन्। कम्तीमा आन्दोलनमा घाइते भएका हाम्रा मान्छेप्रति सहानुभूति त देखाउनु पर्छ।”

सरकारसँग समर्थक डराउँदा 
प्रसाईं नेतृत्वको आन्दोलन तिलमिलाउनुमा आन्दोलन गर्ने शैलीले पनि काम गर्‍यो। शुरूमा उनका समर्थकहरूले माइतीघर मण्डलमा आन्दोलन गर्ने तयारी गरेका थिए। नेकपा एमालेले आफ्नो भ्रातृ संगठन राष्ट्रिय युवा संघलाई त्यही ठाउँमा शक्ति प्रदर्शनका लागि उत्रिन निर्देशन दियो। प्रसाईंको समूह र युवा संघबीच मुठभेड हुने आकलन गर्दै प्रशासनले माइतीघर मण्डल क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिदियो। युवासंघलाई तीनकुनेमा र प्रसाईंको समूहलाई बल्खुमा आन्दोलन गर्ने ठाउँ तोकिदियो। 

“आन्दोलनका लागि उपयुक्त ठाउँ पाइएन। माइतीघर नभए पनि तीनकुनेमा आन्दोलन गर्ने अनुमति युवा संघले भन्दा पहिल्यै हामीले माग्नु पर्थ्यो। नेतृत्वको कमजोरी रह्यो,” प्रसाईंका समर्थक काठमाडौँ धापासीका राजबहादुर ठकुरी भन्छन्, “प्रशासनले तोकिदिएको ठाउँमा प्रदर्शन गरेर व्यवस्थै परिवर्तन गर्ने भनिएको आन्दोलन सफल भएको छैन, हुने सम्भावना पनि थिएन।” 

प्रसाईंले चाबहिल, गोँगबु, स्वयम्भू, भक्तपुर, ललितपुरलगायत स्थानमा जम्मा भई हिँडेर बल्खु पुग्न समर्थकलाई आग्रह गरेका थिए। प्रदर्शनकारीहरू घण्टौँ हिँडेर बल्खु नजिकै पुगेर अड्किन बाध्य भएका थिए। जिल्ला–जिल्लाबाट लामो यात्रा गरेर आएका कतिपयले प्रसाईंको भाषणसमेत सुन्न नपाएको भन्दै असन्तुष्टि जनाएका थिए। “सरकारले तीनकुनेमा आन्दोलन गर्न दिएन। निषेधित क्षेत्र घोषणा गरिदियो। तर तीनकुनेमा हामी सबै गएर आन्दोलन गर्न डरायौँ,” ठकुरी भन्छन्।

तेस्रो दिन उनीहरू सिफलको धुलाम्मे चौरमा भेला भए। पर्सिपल्ट गौशालाको व्यस्त सडकमा प्रदर्शन गर्न खोजेपछि प्रहरीले रोकिदियो। केही समर्थकलाई पक्राउ गर्‍यो। त्यति बेलासम्म समर्थक घट्दै आन्दोलन नै ओझेलमा परिसकेको थियो। भक्तपुर र ललितपुरमा गरिएको आन्दोलनमा त सहभागी जुटाउन प्रसाईंलाई हम्मेहम्मे परेको थियो। जिल्लाबाट आएकाहरू धमाधम फर्किन थालेपछि पार्टी प्यालेसमा बाँकी रहेकालाई प्रसाईंले आफ्नै घरमा लगेर राखेका थिए। त्यहीँ उनले भतेर नै लगाएर उनीहरूलाई खाना खुवाएका थिए। 

राजावादी थिएनन् सहभागी 
२०७० सालसम्म आफू माओवादी भए पनि निष्क्रिय रहेको र व्यवसायमै फड्को मार्ने बताइरहेका प्रसाईं बीएन्डसी मेडिकल कलेजको सम्बन्धन लिन एकाएक माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिएका थिए। दुवैले मेडिकल कलेजलाई सम्बन्धन दिलाउन नसकेपछि निराश प्रसाईं कलेज निर्माण गर्दा बैंकबाट लिएको आफ्नो ऋण  मिनाहा गर्नुपर्ने अभिव्यक्ति मात्रै दिन थालेनन्, अरू ऋणीलाई पनि ऋण नतिर्न र बैंकका कर्मचारीहरू भेट्नासाथ कालोमोसो दल्न उर्दी जारी गर्न थाले। 


उनका गतिविधि यतिमा सीमित भएनन्। त्यसपछि २० लाख रुपैयाँसम्मको ऋण मिनाहा र ‘व्यवस्था परिवर्तन’को मागमा एकजुट हुन सार्वजनिक आव्हान गर्न थाले। अधिकांश ऋणीहरू आन्दोलनले व्यवस्था परिवर्तन नगरे पनि कम्तीमा ऋण मिनाहा हुने आसमा काठमाडौँ आएका थिए। तिनमा धेरैजसो महिला थिए। व्यवस्था परिवर्तन किन गर्ने भन्ने प्रश्नको जवाफ उनीहरूसँग थिएन। 

ऋण मिनाहा नहुने देखिएपछि उनीहरू पुरानै लयमा फर्किएका थिए। “राजा आए ठीक हुन्छ भन्छन्। तर हामीलाई व्यवस्था परिवर्तन भनेको के हो थाहा छैन। ऋण मिनाहा हुने भनेको सुनेर आन्दोलन गरेको हो। तर सरकारले हाम्रो माग सुनेन,” मंसिर ८ गते तीनकुनेमा भेटिएकी  कालिकोटकी कुन्तीदेवी शाहीले उकालोसँग भनेकी थिइन्। तीनकुनेमा प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिएको देखेपछि उनी र उनकी साथी परैबाट कोटेश्वरतर्फ भागेका थिए। 

महिलाद्वेषी अभिव्यक्तिले प्रसाईंलाई झन् क्षति 
आन्दोलनमा सहभागी सबैभन्दा धेरै ऋणी महिला थिए। प्रसाईं स्वयंचाहिँ यसअघि पनि महिलाप्रति आपत्तिजनक/असंवेदनशील अभिव्यक्तिका कारण विवादमा पर्थे। आन्दोलनका क्रममा पनि उनका  आपत्तिजनक बोली बन्द भएनन्।  “नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले (युट्युबहरूलाई) चिठी लेखेर पठाएको होइन? यहाँका चेलीबेटीलाई लिएर जानू। यी हाम्रा चेलीबेटी तीन–चार दिनदेखि ननुहाई बसेका छन्। उनीहरूलाई लगेर बालकृष्णलाई...,” प्रसाईंले मंसिर ९ गते सिफलमा आयोजित भेलामा भनेका थिए। त्यसपछि उनले सार्वजनिक रूपमा प्रयोग गर्न नसकिने भाषा प्रयोग गरे।

आन्दोलन गर्न काठमाडौँ आएका महिलालाई युवा संघ समर्थक बताउने समूहले भक्तपुरको एक पार्टी प्यालेसबाट निकालेको भिडियो भाइरल भएपछि प्रसाईंले ‘युवा संघका कार्यकर्ताहरू आफ्ना समर्थक महिलालाई लखेट्न होइन, बलात्कार गर्न गएको’ आरोप लगाइदिए। त्यसअघि एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले ‘आफ्ना बुवाले सात वटा श्रीमती ल्याएको र आफूसँग आउने सबैलाई घर किनेर राख्न सक्ने’ अभिव्यक्ति दिएका थिए।  

२०७५ सालमा किन बीएन्डसी मेडिकल कलेजले सम्बन्धन पाउने भन्ने पत्रकारको प्रश्नमा उनको जवाफ थियो, “बंगलादेशमा एमबीबीएस पढ्न गएका नेपाली चेलीलाई प्रोफेसरहरूले करणी गरेर राखेका छन्।” उनको यो अभिव्यक्तिले बंगलादेशमा मेडिकल शिक्षा अध्ययनरत छात्रालाई चोट पुर्‍याएको थियो। उनीहरूले आफूहरूमाथि मानसिक र सामाजिक दुर्व्यवहार भएको भन्दै प्रसाईंको विरोध गरेका थिए। 

प्रसाईंका पछिल्ला क्रियाकलापबारे टिप्पणी गर्दै नेकपा एमालेकी नेता एवं पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले महिलालाई अघि सारेर आन्दोलन गरेको र उनीहरूलाई नै अपमान गरेको बताइन्। “उहाँ (प्रसाईं) महिलालाई अघि सारेर सडकमा उत्रिनुभयो, आफ्नो शक्ति देखाउने प्रयास गर्नुभयो। तर आफैँले महिलाको भावना र आत्मसम्मानमा ठेस पुग्ने गरी बोल्नुभयो,” उनले भनिन्, “नेतामा हुनुपर्ने गुण उहाँमा छैन। उहाँले जथाभाबी बोलेर अरू समुदायलाई पनि चोट पुर्‍याउनु भएको छ।”


सम्बन्धित सामग्री