Thursday, May 23, 2024

-->

बनेका धारा भत्किन थाले तर आएन पानी

दश वर्षअघि कुश्मीसेरामा ‘एक घर एक धारा’ अभियान सञ्चालन भएको थियो। पाइप गाडिसकेपछि जग्गा विवादले योजना अलपत्र बनेको बागलुङ नगरपालिका–११ का वडा अध्यक्ष विष्णुप्रसाद आचार्य बताउँछन्।

बनेका धारा भत्किन थाले तर आएन पानी

बागलुङ– खानेपानी नभएपछि बागलुङको जैमिनी नगरपालिकाको सदमुकाम कुश्मीसेरामा हाहाकार छ। धारामा पानी नआएपछि स्थानीय खोलाखोल्सी धाउँछन् र पानीको जोहो गर्छन्। खडेरीले मूल सुक्नुका साथै वर्षौँदेखिका खानेपानीका योजना पूरा नहुँदा स्थानीयले सास्ती खेप्न बाध्य भएका हुन्।

“पानी खोज्न हिँड्दा विद्यालय समयमा पुग्न सकेका छैनौँ”, कक्षा ८ मा पढ्ने सोनम नेपालीले भने, “धारामा पानी आउन छाडेको छ। भएका धारा पनि भत्किन थालेका छन्।” पानी सुकेपछि तातोपानी भन्ने खोल्सामा पुगेर पानी ल्याउने गरेको उनले बताए।

सोनमका छिमेकी सोनु नेपालीले पनि पानी खेप्न जाँदा गृहकार्य गर्न नपाएको बाध्यता सुनाउँछिन्। धारोमा पानी नआएपछि कुवाबाट पानी खेपेर ल्याएको उनको भनाइ छ।

विद्यालयका बालबालिका मात्र होइन, स्थानीय अधिकांशले पानी खेप्न हैरानी भएको गुनासो गरेका छन्। स्थानीय कृष्णमाया थापाले भनिन्, “खडेरीले हैरान बनायो। पानीका मुहान सबै सुकेका छन्। धारा भाँचिन थालेका छन्।” खडेरीसँगै जंगलमा लागेको डढेलोले कैयौँ पानीका मूल सुकेर समस्या आएको स्थानीय बताउँछन्। 

काम भ्याएर कार्यालय जानेलाई पनि पानीको सास्तीले पिरोलेको छ। “धारोमा पानी छैन, खेपेर ल्याउँदा काम भ्याउनै मुस्किल छ”, स्थानीय शिक्षिका यमुना शर्माले भनिन्, “यो वर्ष त पानीको हाहाकार नै भयो । डढेलोका कारण पनि थप समस्या भएको हुनसक्छ।” 

दश वर्षअघि कुश्मीसेरामा ‘एक घर एक धारा’ अभियान सञ्चालन भएको थियो। पाइप गाडिसकेपछि जग्गा विवादले उक्त योजना अलपत्र बनेको बागलुङ नगरपालिका–११ का वडाध्यक्ष विष्णुप्रसाद आचार्यले बताए। 

पानी अभावमा बारीमा लगाइएका सागपातसमेत ओइलिएका छन्। पानीको समस्याले तरकारी अभाव भएपछि तराईका साथै पोखराबाट झिकाउनु परेको स्थानीय साना व्यवसायीले गुनासो गरेका छन्। 

“पहिला स्थानीयस्तरमा उत्पादित तरकारीले पुग्थ्यो, अहिले गाडीमा आउन थालेको छ”, स्थानीय सरिता शर्माले भनिन्, “सागपात खाने पनि रहर जस्तो भइसकेको छ।” 

विसं २०५० देखि निरन्तर यहाँको छहरा खोलाबाट पानी खाएकाहरूले समेत अहिले मूल सुकेर हैरान भएको बताएका छन्। यो मूलबाट टारका ४५ र सामरुम्टाका ४५ गरी ९० घरले पानी खाइरहेका छन् । पानीको समस्यामा उनीहरूसमेत थपिएका हुन् ।

वर्षौँअघि बागलुङ नगरपालिका–११ को रायडाँडाबाट पानी ल्याउने गरी योजना बनेको थियो। उक्त योजनाअनुसार यहाँ धारा बनेका छन्। पाइपलाइन पनि बिछ्याइएको छ। मुहानमै विवाद भएपछि पानी आउने सम्भावना कम भएको वडाध्यक्ष आचार्यले बताए। “हामीले अहिले पनि योजना कार्यान्वयनका लागि पहल गरिरहेका छौँ, तर जग्गावालाले विवाद झिकेर मुहान बनाउन नदिएपछि अलपत्र बनेको छ,” उनले भने।

रायडाँडाबाट ल्याउने प्रस्ताव भएअनुसार ९० एमएमको पाइप बिछ्याइएकामा अहिले ३० एमएम मात्रै पानी आएको छ। कुश्मीसेरा बजारमा अधिकांशले खोलाखोल्सीबाट पानी ल्याउने गरेका छन्। उक्त पानी शुद्ध नभएकाले उमालेर मात्रै खान सुझाव दिइएको आचार्यले बताए। “मुख्य योजना सफल नभएसम्म पानीको हाहाकार छ”, उनले भने, “आसपासका सबै वनमा डढेलो लागेकाले पानीका स–साना स्रोतसमेत सुकेका छन्।”

आयोजनाअन्तर्गत २६० घरमा धारा बनाइएको छ। आर्थिक वर्ष २०७१/७२ देखि निर्माण शुरू भएको उक्त आयोजना अझै पूरा हुन सकेको छैन। कुल १७ करोड ४० लाख रुपैयाँको आयोजनामा अहिलेसम्म १३ करोड ७० लाख रुपैयाँ खर्च भइसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले जनाएको छ।

“हामीले भौतिक रूपमा ८५ प्रतिशत र वित्तीय रूपमा ८४ प्रतिशत प्रगति गरेका छौँ,” कार्यालय प्रमुख किरण पौडेलले भने, “केही समस्याले पानी वितरण गर्न भने सकिरहेका छैनौँ।” उनका अनुसार मुहानबाट पाइपलाइन बिछ्याइएको स्थानमा पहिरो गएपछि स्थानीयले पानी लैजान नदिएपछि वितरणमा समस्या भएको हो।

योजनाअन्तर्गतको पानी वितरणमा समस्या आएपछि खानेपानी डिभिजन कार्यालयले वैकल्पिक उपायको खोजी गरी दुई स्थानमा लिफ्टमार्फत पानीको परीक्षण गरेको जनाएको छ।


सम्बन्धित सामग्री