Tuesday, April 30, 2024

-->

इतिहास
जंगबहादुरले यसरी बढाए आफ्नो जात

चित्तौडका कलीन राजवंशका घरानामा आफ्नो जन्म भएको दाबी गर्दै तत्कालीन राजा सुरेन्द्रबाट जंगबहादुरले राणा उपाधि लिन सफल भए। शुरूमा ‘कुँवर राणा’ लेखे पनि उनका सन्तानले राणा मात्र लेख्न थाले।

जंगबहादुरले यसरी बढाए आफ्नो जात

नेपालको राजनीतिमा तिकडम र तरबारको भरमा रगतको खोलो बगाइ शासनसत्तामा आएका जंगबहादुर कुँवर कोतपर्वको अढाई महिनापछि मात्रै प्रधानमन्त्री पदमा नियुक्त भएका हुन्। उनी प्रधानमन्त्री पदमा नियुक्त भएको बेला ‘राणा’ बनिसकेका थिएनन्। 

कोतपर्वपछि राजा राजेन्द्रकी कान्छी महारानी राज्यलक्ष्मीको षड्यन्त्रमा वीरध्वज बस्नेतलाई प्रधानमन्त्री र विजयराज पाण्डेलाई राजगुरु बनाउने सर्तमा जंगबहादुरलाई मार्ने षडयन्त्र रचना गरिएको थियो। तर विजयराज पाण्डेले भयभित भएर जंगबहादुरसमक्ष सबै पोल खोलिदिएपछि उनले आफ्नो बल प्रयोग गरी वीरध्वजलगायत विरोधीलाई सखाप पारे। त्यसपछि प्रधानमन्त्री पदको नियुक्तिपत्र बुझेका थिए।

१९०३ मंसिर ५ गते आइतबार तत्कालीन राजा राजेन्द्रविक्रम शाहले ‘प्राइममिनिस्टर’ तथा ‘कमान्डर इन चिफ’मा उनको नियुक्तिको लालमोहर लगाउँदा नाम ‘जंगबहादुर कुँवर’ नै उल्लेख गरेका छन्। उक्त लालमोहरमा भनिएको छ, “...आगे प्राइममिनिस्टर यान कम्यांडर इन चिफ जनरल जंगबहादुर कुँवरके अघि जनरल भिमसेन थापाले दर्वारवाट पायाको वमोजिम् तोसाषाखा कोट भडार अरु जगा जगावाटा जान्या खान्या पिन्या सराजाम् कपडा लत्ता दसैँ फागुका मामुली दैदस्तुर गैह्र सवै वहाल गरिवक्स्यौं...”

जंगबहादुरलाई प्रधानमन्त्री पदको जिम्मेवारी दिइएको लालमोहर। तस्वीर स्रोतः भगिराज इङ्नाम

कोतपर्वपछि भने उनले मुख्तियार तथा कमान्डर इन चिफ मात्रै दर्जा पाएका थिए। उनले सेनाको सुवेदार पदबाट सैन्य सेवा शुरू गरेका थिए र कमान्डर इन चिफसम्म पुगेका थिए। सैन्य सेवामा प्रवेश गरेको बेला उनी १३ वर्षका थिए।

जंगबहादुरले आफूलाई शक्तिशाली बनाउँदै लगेपछि सत्ताच्यूत बुढाराजा राजेन्द्रविक्रमलाई नजरबन्द गराए। कोतपर्व मच्चाउने राजेन्द्रकी कान्छी महारानी राज्यलक्ष्मीलाई निर्वासनमा पठाए। राजा सुरेन्द्रसँग सम्धी नाता गाँस्दै सम्पूर्ण राजनीतिक अधिकार आफ्नो हातमा खैंचेर उनलाई खोपीको देवता बनाए। आफू शक्तिशाली बनेपछि नयाँ वंशावली कायम गरेर राजाबाटै लालमोहर गराई ‘राणा’ उपाधि पनि लिए। कालान्तरमा अहिराम कुँवरका सन्तानमध्ये बालनरसिंह कुँवरका सन्ततिले कुँवरका सट्टा राणा लेख्न थाले, जो अहिले पनि थरका रूपमा कायम छ।

इतिहास शिरोमणि बाबुराम आचार्यले उल्लेख गरेअनुसार जंगबहादुरले दुईपटक त राजगद्दीमै बस्ने असफल प्रयास पनि गरेका थिए। आचार्यले आफ्नो पुस्तक ‘अब यस्तो कहिल्यै नहोस्’ (२०६८ः१५८)मा लेखेअनुसार १९०५ असोज ७ गते राजा सुरेन्द्रविक्रमबाट राज्य व्यवस्थासम्बन्धी सम्पूर्ण अधिकार प्राप्त गर्दा त्यतिले पनि नपुगी नेपाल अधिराज्यको राजगद्दीमा स्वयम् बस्ने प्रयास गरेका थिए। १९१२ सालमा भोटसँगको युद्ध जितिसकेपछि दोस्रोपटक पनि यस्तो उद्योग चलाएका थिए। यस्तो उद्योगको फलस्वरूप १९१३ सालमा भने, उनी महाराज भएरै छाडे। सोही साल साउन २५ गते उनलाई लमजुङ र कास्कीको राजाको रूपमा ‘श्री ३ महाराज’ घोषणा गरियो।

अन्ततः शाह ठकुरी र अन्य झर्रा क्षेत्रीको तुलनामा कमसल कुँवर खस क्षेत्री भनी जंगबहादुरले अपहेलित हुनु परेन, राज खानदानसँग भातभान्सा र बिहेबारी पनि चल्यो।

जंगबहादुरको जातीय हीनताबोध
जंगबहादुर खस कुँवर जातीय घरानाका हुन्। बाबुराम आचार्यले ‘प्राचीनकालको नेपाल’ (२०६०ः१९)मा उल्लेख गरेअनुसार ‘काश्गर’ शब्दको मूलरूप ‘खसगिरी’ वा ‘खसगृह’ भएको र ‘खस’ वा ‘कस’ शब्दबाट काश्मीर बन्न आएको हो। 

संस्कृत वाङ्मयको आधारमा आर्यवर्तमा आवाद आर्यहरूले कास्गार अर्थात् काश्मीर क्षेत्रमा सभ्यता विकसित गरी आएका खसहरूलाई  किरातलाई जस्तै आफूभन्दा तल्लो तहको सम्झने गरेका थिए। यसबाट जंगबहादुरमा जातीय हीनताबोध उत्पन्न भएको थियो। आफू शक्तिमा आएका बेला जंगबहादुरले आफू र आफ्नो परिवारलाई मात्र होइन, आफ्ना नातेदार रहेका थापा, बस्नेत आदि सामान्य परिवारका क्षेत्रीहरूलाई पनि ‘अब आइनदा हामीहरू कसैले खस भनेर नभन्नू, क्षेत्रीय भन्नू’ भनी कठोर उर्दी जारी गरेका थिए।

‘प्राचीन नेपाल’ संख्या २७ (वैशाख २०३१ः११)मा उल्लेख भएअनुसार जंगबहादुरले १९१८ सालमा खस जातिलाई ‘बडा सुरो, बल, किस्मत गर्ने हुन् भनी अघिका पुर्खाहरूको पद्धति बुझी क्षेत्री पद दिन योग्य ठहराई राजा सुरेन्द्रसमक्ष बिन्ति चढाई खस जातलाई क्षेत्री पद दिलाएको’ उल्लेख छ। सोही सालपछि खस जातिलाई क्षेत्री भन्ने प्रथा चल्यो।

यसरी आफूलाई खसबाट क्षेत्री बनाउनु वा भनाउनुमा खास कारण छ। 

जंगबहादुर अनेकौँ छल र बलले देशमा सर्वशक्तिमान भए पनि जातिगत रूपमा तीन डोरे भएकोले उनी आफूलाई उपेक्षित महसुस गर्थे। ६ डोरे रजपुत र चौतरिया खलकसँग जंगबहादुर खलकको भातभान्सा र बिहेबारी चल्दैनथ्यो। त्यसैले उनी यी सबै छोइछिटो तोडेर जातीय रूपमा पनि ६ डोरे रजपुत वा चौतरियासरह भई उनीहरूको सन्तानसँग आफ्नो सन्तानको बिहेबारी चलाउन चाहन्थे। यसको लागि उनको जात–वंश बढ्न जरुरी थियो। उनी आफ्नो वंश र घरानालाई उच्च पार्न चाहन्थे।

इतिहासकार ज्ञानमणि नेपालले ‘नेपाल निरूपण’ (२०५५ः१२२) मा उल्लेख गरेअनुसार, त्यसबेला नेपालका शासक शाह ठकुरी र खस क्षेत्रीबीचमा बिहेबारी र खानपान चल्दैनथ्यो। शाह ठकुरीहरू ६ डोरे जनै लगाउने झर्रा क्षेत्री मानिन्थे। कुँवर आदि अन्य क्षेत्री खत्रीहरू तीन डोरे जनै लगाउने अलि तल्ला श्रेणीका मानिन्थे। आफू शासक भए पनि शाह ठकुरीभन्दा तलै रहनुपर्ने र खस क्षेत्री भनेर उच्च घरानामा बिहेबारी र भातभान्सा पनि नचल्ने हुँदा जंगबहादुर तथा उनका भाइहरूमा ठूलो पीडाबोध थियो।

जंगबहादुरसँग विजयराज पाण्डेलगायतका राजपुरोहितले कुँवर वंशावली तयार गर्न प्रस्ताव गरे। उनी उच्च र प्रसिद्ध राजघरानासँग वंश जोड्ने कुरामा दत्तचित्त हुँदा आफ्ना प्रसिद्ध पुर्खा अहिराम र रामकृष्णलाई हेरेर मात्रै चित्त बुझाएनन्। कुनै बेला भारतमा मुगल बादशाहलाई समेत टक्कर दिने चितौडका महाराणा प्रतापको वंशसँग आफ्नो वंश जोड्न लगाए। ‘कुँवर’ व्यूत्पत्ति कुमार हुने हुँदा ‘श्रीमद्राजकुमारात्मज’ अर्थात् राजाको छोराका छोरा भन्ने उपपत्ति दिएर भारतको उच्च राजघरानाका वंशवृक्षसँग जंगबहादुरको वंश जोड्ने काम भयो (नेपाल, २०५५ः१२२–२३)।

मेवाडस्थित चितौडको राजवंशसँग आफ्नो वंश जोड्ने जंगबहादुर नै पहिलो शासक भने होइनन्। यस्तो होड गर्नेमा नेपालका अन्य राजवंश पनि थिए। उनीहरूले आफूलाई सूर्यवंशी, चन्द्रवंशी अर्थात्, शुद्ध क्षेत्रीय कुलको देखाउन यस्तो होड चलाएका हुन्। 

जुम्लाका कल्याल राजा, गोरखाका राजा राम शाहले पनि आफ्नो वंशवृक्ष चित्तौडको रजपुतसँग जोड्न लगाएका थिए। यो क्रममा सेन राजाहरू पनि अछुतो रहेनन्। तनहूँ तथा पाल्पाली राजाहरूले पनि चित्तौडको सिसौदिया वंशबाट आफ्नो वंश फैलँदै आएको हो भन्ने लेख्न लगाए। 

जंगबहादुरलाई ‘राणा’ उपाधि
चित्तौडका कलीन राजवंशका घरानामा आफ्नो जन्म भएको दाबी गर्दै जंगबहादुर तत्कालीन राजा सुरेन्द्रबाट राणा उपाधि लिन सफल भएका हुन् (मोहनप्रसाद खनाल, सेनराज्यको राजनैतिक इतिहास–२०६१ः१४–१५)। जंगबहादुर कुँवरले १९०५ वैशाख १३ मा राजा सुरेन्द्रबाट लालमोहर लगाई राणा उपाधि लिएका थिए।

यो उपाधि लिनका लागि जंगबहादुरले राजा सुरेन्द्रसँग लालमोहर माग गर्दा ‘हजुरका पुर्खा चितौडगढबाट पहाड पस्दा हाम्रा पुर्खा पनि सँगै आएका हुन्। हाम्रा पुर्खाले चाहिँ खसिनी राखेर हामी खस क्षेत्री भयौँ। अहिले सरकारको उदयमा हामीले हाम्रा पुर्खाको जातभात पाउने हौँ’ भनी जाहेर गरेको ज्ञानमणि नेपालले ‘प्राचीन नेपाल’ संख्या ९० (कात्तिक–मंसिर २०४२ः३) मा उल्लेख गरेका छन्।

जंगबहादुरको यस्तो मागपछि राजा सुरेन्द्रविक्रम शाहले उनीलगायत उनको दरसन्तानलाई रजपुतको मान्यता र अधिकारका साथ लालमोहर जारी गरिदिए। इतिहासकार पुरुषोत्तमशम्शेर जबराले ‘श्री ३ हरूको तथ्यवृत्तान्त’ (२०६५ः५२–५३)मा उक्त लालमोहर प्रकाशित गरेका छन्। लालमोहरको ब्यहोरा यस्तो छ–

“...तिम्रा पूर्वजहरूमा एक भाइ चितौडगढ भारतमा शासन गरिरहेका थिए। अरू तीन भाइ चाहिँ त्यहाँ आफ्नु उन्नतिको पर्याप्त सम्भावना नदेखी पहाडतर्फ लागे। तिनीहरूमध्ये एक जना कत्लाखर उत्तरपश्चिम नेपालको एक ठाउँ हाल तिब्बत चीनको इलाकाको राजा भए। अर्का चाहिँ जुम्लामा गई बसोबास गरे। बाँकी रहेका तेस्रो यहाँ आएर कास्कीमा बसोबास गरे। तिम्रा बराजु अहिराम कुँवर हाम्रा पूर्वज नरभूपाल शाहको समयमा गोर्खामा आई बसे। तिम्रा पूर्वजहरू राजपूत राजपरिवारका भएकाले आजसम्म कुँवर कहलिएका छन्। अहिलेसम्म तिमीसँग प्रसन्न छु र यो देखिन आयो कि, तिम्रा पूर्वजहरू कुँवर राणाजी हुन्। हामीहरूको अतिरिक्त हाम्रो गाथ–गादी र मूलुकको हितमा बाहेक अर्काको ज्यान लिने मान्छे मृत्युदण्डको भागी हुन्छ, तर तिमीहरू कुँवर राणाजीले त्यस्तो कार्य गरेमा पनि मृत्युदण्डबाट वञ्चित हुनेछन्। त्यस्तै, तिमीहरूलाई देश निकाला र सम्पत्ति अपहरण गरिने छैन। राजपुत परिवारसँग आफूखुशी वैवाहिक सम्बन्ध कायम गर्न सक्दछौँ। तिमी राजपुतहरूले आफ्नो संस्कार, परम्परा चलनअनुसार आचरण गर्नेछौँ।”

त्यसपछि जंगबहादुर र उनका भाइहरू ‘कुँवर राणाजी’ कहलाए। उनीहरूका पछिल्ला सन्तानले कुँवर थर हटाएर आफ्नो थर राणा कायम राखेका छन्। 

जंगबहादुरका पुर्खा अहिराम कुँवर पहिले कास्की राज्यसँग निकटस्थ थिए। कास्कीका राजासँग खटपट परेपछि उनी गोरखा पुगी त्यहीँ रहेर भारदारी सेवामा समर्पित भएका थिए (नेपाल, २०५५ः१२१)।

अहिराम कुँवरका सन्ततिमध्ये जेठा रामकृष्णका नाति हुन् बालनरसिंह कुँवर। बालनरसिंहका सन्तान मात्रै राणा कहलाए। रामकृष्णका भाइ जयकृष्ण (बलभद्र कुँवरका हजुरबुबा)का सन्तानले भने राणा थर लेख्ने अवसर पाएनन्, उनीहरूको थर कुँवर नै कायम भयो।

राजाबाट ‘श्री ३’ घोषणा
जंगबहादुर राजाबाट पाएको राणा उपाधिले मात्रै अघाएनन् जंगबहादुर। उनी त राजगद्दी नै ताक्ने स्वभावका थिए। अनेक तिकडम अपनाएर अन्ततः जंगबहादुर ‘श्री ३ महाराज’ घोषित भएर छाडे। उनी राजा सुरेन्द्रबाट १९१३ साउन २५ गते लमजुङ र कास्कीको राजा घोषित भएका थिए।

जंगबहादुरलाई श्री ३ महाराज घोषणा गरिँदा उनले आफूलाई विभिन्न समय विभिन्न प्रकारका गुनहरू लगाइएको राजा सुरेन्द्रले लालमोहरमा उल्लेख गरेका छन्। लालमोहरमा साहिला साहेबज्यू रणेन्द्रविक्रम शाहलाई राजगद्दीमा राख्ने भूतपूर्व राजा राजेन्द्रविक्रमकी कान्छी महारानीको प्रयासलाई विफल बनाएको र त्यस्तो प्रयत्न गर्नेको हत्या गरेको उल्लेख छ। यस्तै, बेलायतको भ्रमण गरी बेलायतकी महारानीसँग मैत्री सम्वन्ध विकास गरेको, भोटसँगको युद्ध जितेको, आफ्नै ज्यानविरुद्ध लाग्ने भूतपूर्व राजा राजेन्द्रविक्रम र माहिला साहेबज्यूलाई सम्मानपूर्वक व्यवहार गरेको उल्लेख गर्दै नेपालको सैनिक शक्ति र आम्दानी बढाएको पनि उल्लेख छ। लालमोहरमा प्रधानमन्त्री पद जंगबहादुरका सन्तान दरसन्तानमा पुस्तापुस्तासम्म सरेर जाने, देशमा दण्ड सजाय गर्ने, युद्ध गर्ने, ऐन कानून बनाउने सम्पूर्ण अधिकार जंगबहादुर र उनका दरसन्तानलाई दिइएको पनि उल्लेख छ (प्रमोदशमशेर राणा, राणाशासनको वृत्तान्त–२०६५ः६९)।

आफू श्री ३ महाराज घोषित हुनुमा जंगबहादुरले ठूलै तिकडम खेलेका थिए। उनी प्रधानमन्त्री पदबाट मात्रै सन्तुष्ट हुनसकिरहेका थिएनन्। उनमा महाराज हुने इच्छा बढ्न थालेको थियो। त्यसैले उनले अप्रत्यासित रूपमा राजदरबार पुगी १९१३ साउन १९ गते राजा सुरेन्द्रसमक्ष प्रधानमन्त्री र कमान्डर इन चिफबाट राजीनामा चढाए। उनकै सल्लाहअनुसार आफ्ना भाइ बमबहादुरलाई प्रधानमन्त्री र कृष्णबहादुरलाई कमान्डर इन चिफमा नियुक्त गराए।

त्यसको भोलिपल्टै तत्कालीन बडागुरुज्यू विजयराज पाण्डे भारदारहरूको एक शिष्टमण्डलको नेतृत्त्व गर्दै जंगबहादुरको ढोकामा पुगी ‘हामी हजुरको शिरमा राष्ट्रको श्रीपेच पहिराउन चाहन्छौँ, जनताको इच्छा यस्तै छ, हाम्रो आग्रह स्वीकार गर्नुहोस्’ भनी बिन्ती बिसाए। तर आफैँले गद्दीमा राखेको राजालाई हटाउने कुरा आफूले सोच्नसम्म नसक्ने बताएर उनीहरूलाई जंगबहादुरले फर्काइदिए। 

विजयराजजस्ता चतुर दरबारियाले राज्यको श्रीपेच पहिरन जंगबहादुरलाई सार्वजनिक रूपमा कसरी आग्रह गर्ने साहस गरे, यो विचारणीय छ। यस्तो अभिव्यक्ति गर्नेलाई त्यसबेला सिधै राजद्रोह लाग्थ्यो। बरु, जंगबहादुर स्वयंले गुरुज्यूलाई गुप्त रूपमा सन्देश पठाइ यस्तो प्रस्ताव ल्याइदिन आग्रह गरेको हुनसक्छ। यस्तो लीला सकिएपछि जंगबहादुरले आफूलाई सम्पूर्ण सार्वभौमसत्तासमेत प्रदान गरी ‘कास्की र लमजुङको महाराज पद पाऊँ’ भनी राजा सुरेन्द्रसमक्ष जाहेर गरेपछि उनी कास्की र लमजुङको राजा घोषित भए (राणा, २०६५ः६८)।  

यसरी जंगबहादुरलाई राजा बन्न उकास्ने चाहिँ राजपुरोहित विजयराज पाण्डे नै हुन्, जसले पहिले जंगबहादुरको हत्या सफल भएपछि राजेन्द्रकी कान्छी महारानीबाट राजपुरोहित बनाइने आश्वासन पाएका थिए। त्यही कारण जंगबहादुरलाई मार्ने षड्यन्त्रस्वरूप भण्डारखालको भोजमा निम्तो दिन जंगबहादुरको निवासमै पुगेका थिए। पछि उनी आफैँ जंगबहादुरबाट थर्कमान भएर सबै पोल खोली वीरध्वज बस्नेतलगायतका जंगबहादुरका विरोधीलाई मराउन सफल भएका थिए (पद्मजंग राणा, जंगबहादुरको जीवनयात्रा–२०७४ः८०–८४)। पछि उनै पाण्डेलाई जंगबहादुरले राजपुरोहित बनाए। उनैका दरसन्तानले राजदरबारमा राजपुरोहितको अवसर पाइरहे। 

राजपरिवारसँग वैवाहिक सम्बन्ध
जंगबहादुरले वि.सं. १९१० मा आफ्नो नवौं पत्नीका रूपमा चौतरिया खलकका कन्या हिरण्यगर्भकुमारीलाई भित्र्याएका थिए। उनी उनै जंगबहादुर र उनका भाईहरूद्वारा रचिएको कोतपर्वमा मारिएका तत्कालिन प्रधानमन्त्री फत्तेजंग शाहकी सहोदर बहिनी हुन्। उनलाई जंगबहादुरले श्री ३ बडामहारानीको पद्वी दिएका थिए। जंगबहादुरको निधनमा उनी पाउमा शिर राखेर सति गएकी थिइन्।

चौतरिया खलककी हिरण्यगर्भकुमारीका साथ जंगबहादुर। तस्वीर स्रोतः सुवोध राणा

कोतपर्वबाट उम्केर बाँचेका फत्तेजंगका भाइ गुरूप्रसाद शाहले निर्वासनमा बसेर पटकपटक जंगबहादुरको हत्या गर्ने असफल षड्यन्त्र गरेका थिए। फत्तेजंग शाहका जिजुबुबा वीरबाहु शाह, हजुरबुबा जीव शाह र बुबा प्राण शाह गोरखा राज्यका नाम चलेका चौतरियाखलक हुन्।

श्री ३ घोषित हुनुअघि नै जंगबहादुरले राजा सुरेन्द्रकी छोरीहरूसँग आफ्नो दुई छोराको विवाह पनि गराएका थिए। शक्तिमा आएका प्रधानमन्त्री जंगबहादुरसँग राजा सुरेन्द्रले युवराज र शाहज्यादीहरूको विवाहका लागि वर र बधु खोज्न आदेश दिएका थिए। त्यहीँ मौका छोपेर जंगबहादुरले युवराजको विवाह आफ्ना छोरीहरूसँग र शाहज्यादीहरूको विवाह आफ्ना छोराहरूसँग गर्ने प्रस्वाव अघि सारे। त्यसबेला राजा सुरेन्द्रले रिसाएर जंगबहादुरलाई ‘तँ खसले हाम्रा शाहज्यादीहरू ताक्ने?’ भन्दै हप्काएका थिए।

जंगबहादुर पनि के कम! उनले राजा सुरेन्द्रलाई ‘सरकारले आफूलाई कत्रो जातवाला सम्झिबक्सेको छ? के सरकार तिरहुतिया ब्राह्मणीतर्फका सन्तान होइबक्सन्न र?’ भन्ने जवाफ दिएका थिए। जंगबहादुरले आफ्नै तागतले उनलाई राजसिंहासनमा राखेको, अन्यथा राजसिंहासनमा रणेन्द्रविक्रम शाह बस्थे भनेर सम्झाउन पनि भुलेनन्। त्यसैले पनि राजा सुरेन्द्र जंगबहादुरसँग सम्धी नाता गाँस्न तयार भए। त्यसपछि जंगबहादुरका जेठा छोरा जगतजंगको विवाह १९१० वैशाखमा सुरेन्द्रकी जेठी शाहज्यादी टीका राज्यलक्ष्मीसँग र अर्का छोरा जीतजंगको विवाह १९१२ फागुनमा राजा सुरेन्द्रकी माहिली छोरी नरेन्द्र राज्यलक्ष्मीसँग सम्पन्न भयो (जबरा, २०६५ः९१)।

विवाह बन्धनमा बाँधिएका जंगबहादुरका छोरा जगतजंग र सुरेन्द्रविक्रम शाहकी छोरी टीकाराज्यलक्ष्मी। तस्वीर स्रोतः पुरुषोत्तमशम्शेर जबरा

यसरी जंगबहादुर तत्कालीन राजा सुरेन्द्रसँग सम्धी नाता गाँस्न सफल भए। यतिमा मात्र उनी खुशी थिएनन्। आफ्नो छोरीतर्फ जन्मेका नातिलाई नेपालको राजगद्दीमा बसेको देख्न चाहन्थे। त्यसैले उनले आफ्ना दुई छोरी ताराकुमारी र ललितराजेश्वरीको विवाह युवराज त्रैलोक्यसँग गरिदिएका थिए। यो विवाह वि.सं. १९१४ सुदी ५ रोज ६ मा सम्पन्न भएको थियो।

तीमध्ये ताराकुमारी जेठी महारानी नन्दकुमारीतिरकी छोरी हुन् भने अर्की ललितराजेश्वरी हिरण्यगर्भकुमारीतिरकी छोरी हुन्। ललितराजेश्वरीबाट युवराज त्रैलोक्यका छोरा पृथ्वीवीरविक्रमको जन्म भएको हो। युवराज त्रैलोक्यको राजा नहुँदै निधन भएको थियो। राजा सुरेन्द्रको निधनपछि पृथ्वीवीरविक्रम १९३८ जेठ ६ गते ६ वर्षको उमेरमा राजगद्दिमा बसेका थिए। 

आफू राजगद्दीमा बस्न नपाए पनि आफ्ना छोरीतिरका सन्तानलाई नेपालको राजगद्दीमा राख्न जंगबहादुर सफल भए। यो विवाहका लागि तत्कालीन बुढा राजा राजेन्द्रविक्रम शाहले एक लालमोहर जारी गरेका थिए। ‘प्राचीन नेपाल’ संख्या २७ (वैशाख २०३१ः१०–११) मा यो लालमोहर छापिएको छ। लालमोहरको ब्यहोरा यस्तो छ–

“...त्रैलोक्य वीरविक्रम शमशेर जंगबहादुर शाहलाई विवाह गर्न तिम्रा मैयाँ देऊ भनी हाम्रा खुशी राजीले मागेको हो तिम्रा मैयां दिनू विवाह भएपछि हाम्रा नातिले तिम्रा मैयांका हातको भात खान दिनू तिम्रा मैयां पट्टि जेठा छोरा भयो भने तिनले चलिआएको रीतबमोजिम गादीमा बसी रजाइं गर्नू हाम्रा खुशी राजसंग यी दुइ कुराको हुकुम बक्सेको छ यसमा जसले खरखिचोला गरी अर्को तरह गर्न पस्ला त्यसलाई जीवधनको शासना गर्नू भनी हुकुमको लालमोहर गरी बक्स्यौं।”


सम्बन्धित सामग्री