Tuesday, April 30, 2024

-->

इतिहास
कोतपर्व मच्चाउने महारानी

लप्टन देवीबहादुर कुँवर महारानीकी द्वारेसँग प्रेममा थिए। ती द्वारेबाट महारानी र गगनसिंहबीचको अनुचित सम्बन्ध सुनेका थिए। झोँकैझोँकमा यो कुरा प्रचार गरेपछि देवीबहादुरलाई ज्यान सजाय सुनाइएको थियो।

कोतपर्व मच्चाउने महारानी

नेपाली इतिहासको एक जना चर्चित पात्र हुन्, तत्कालीन राजा राजेन्द्रविक्रम शाहकी कान्छी रानी राज्यलक्ष्मी। उनैको महत्त्वाकांक्षाले राजनीतिमा पारेको प्रभावले मुलुकले भोग्नसम्मको बेहाल भोग्न बाध्य हुनुपरेको थियो। उनैको स्वार्थ र अदूरदर्शिताले जंगबहादुर राणा र उनको जहानियाँ शासनको उदय हुन पुग्यो।

एक जना विद्वानले उनै रानीबारे प्रसंग परेको लेख लेख्दा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा ठूलो हलचल मच्चिएको थियो। यसबारे थोरै चर्चा गरौँ।

२०३६ सालमा सदस्यका रूपमा प्रज्ञा भवनमा नयराज पन्तको प्रवेश भयो। उनले तीन–तीन महिनामा जंगबहादुर राणासम्बन्धी प्रवचन दिनुपर्ने एउटा जिम्मेवारी थियो। त्यस क्रममा २०३६ असार ३२ गते ‘अङ्ग्रेजसँग जंगबहादुरको षाडगुण्य’ शीर्षकमा प्रवचन दिए। कात्तिक ९ गते ‘जंगबहादुरको राजभक्ति’ शीर्षकमा दोस्रो प्रवचन भयो। डा. महेशराज पन्तद्वारा सम्पादितको हुन् त नयराज पन्त (२०७१ः२०७–१०) पुस्तकअनुसार त्यहाँ उनले यस्तो श्लोक उल्लेख गरेका थिए–
हाम्रा राजा तरङ्गी, कलुषित चरित राजपत्नी हुनाले
धेरैले दुःख पाए, मुलुक पनि भताभुङ्ग बन्दो छ ऐले
पृथ्वीनारायणख्य प्रषित नृपतिको बुद्धिले जोडिएको
हाम्रो देश अहिले कुमति नृपतिको कामले डुब्न आँट्यो।

यो श्लोकले प्रज्ञा प्रतिष्ठानमा तहल्का मच्चियो। त्यतिखेर प्रज्ञाका कुलपति लैनसिंह बाङ्देल थिए। यस श्लोकमा भनिएको ‘कुमति भएका राजा’ भनी तत्कालीन राजा वीरेन्द्र र चरित्र नराम्रो भएको रानी भनी ऐश्वर्यलाई लक्षित गरिएको भन्दै कोकोहोलो मच्चाउने समूहको नेतृत्त्व तत्कालीन उपकुलपति माधवप्रसाद घिमिरेले गरेका थिए। उनलाई साथ दिने प्राज्ञहरूमा सदस्यसचिव विजय मल्ल, बालकृष्ण पोखरेल, भूपी शेरचन र ढुण्डिराज भण्डारी थिए।

उक्त श्लोकसहितको नयराज पन्तको प्रवचन लेखका रूपमा प्रज्ञाको पूर्णांक २८ मा छापिएर ‘ब्यान्डिङ’ गरी वितरणका लागि ठिक्क पारिएको थियो। त्यतिखेरै नयराजमाथि श्लोक हटाउन चर्को दबाब आयो। तर नयराज आफ्नो अडानमा अडिए।

आफ्नो दरबारभक्तिलाई चरम रूपमा प्रस्तुत गरी एक जना विद्वानलाई पदच्यूत गर्ने अभियानका रूपमा प्रकट भएका उनीहरूमध्ये ढुण्डिराज भण्डारीले नयराज पन्तलाई लेखमा उल्लेख भएका ‘आपत्तिजनक’ हरफहरूमा अन्डरलाइन गरी दरबारमा पेस गर्नेसम्मको धम्की दिए। यस्तो दबाबपछि न्याय माग्न नयराज कुलपति बाङ्देलसमक्ष गए। तर उनी पनि ‘माधव घिमिरेहरू मान्दै मान्दैनन्’ भनी पन्छिए।

नयराजसँगै त्यो बेला प्राज्ञका रूपमा नियुक्ति पाएका डा. तीर्थबहादुर श्रेष्ठको संस्मरण उद्धृत गर्दै पन्त (२०७१ः२१०)ले उल्लेख गरेअनुसार एक दिन आफ्ना सहयोगीलाई पिठ्यूभरि धोबीले लुगा बोकेजस्तो गरी एउटा तन्नाभरि किताबहरू राखी नयराज तत्कालीन प्राज्ञ श्रेष्ठको कार्यकक्ष पुगे। नयराज आफ्नो सहायकलाई प्रत्येक पुस्तकको पृष्ठ उच्चारण गर्दै पढ्न भन्थे। उनले ‘कुमतिमा लागेको राजा’ भनी तत्कालीन राजालाई नभई पहिलेका राजा राजेन्द्रलाई र ‘कलुषित चरित्र भएकी रानी’ भनेर राजेन्द्रकी कान्छी महारानीलाई भनिएको तर्क राखे। उनले ‘यो विषय सिल्भाँ लेभीसम्मले लेखेको तथा सैयौँ वर्षसम्म पनि कतैबाट र कसैबाट विरोध नआउने, तर नयराजले लेख्दा विरोध आउने?’ भन्दै ताण्डव नै देखाएका थिए। 

यो विषय दरबारसम्म पुग्यो।

हुँदाहुँदै माधव घिमिरेहरूले ‘यदि, तपाईं श्लोक हटाउनुहुन्न भने हामी च्यात्छौँ’ भन्न थालेपछि नयराजले पनि उनीहरूलाई ‘तपाईंहरू बलवान हुनुहुन्छ भने च्यात्नुहोस्’ भनी हाँक दिए। उक्त लेख हटाएर प्रज्ञाको उक्त अंक २८ मा खाली भएको पृष्ठमा राजाहरू पृथ्वीनारायण शाह, त्रिभुवन, महेन्द्र र वीरेन्द्रका वाणीहरूले भरियो (पन्त, २०७१ः२०८–९)

यसरी आफ्नो लेखरचना च्यातिएपछि नयराजले प्रज्ञाको सम्पादक मण्डलबाट तत्कालै राजीनामा दिए। तर राजीनामा स्वीकृत भएन। (डा. तीर्थबहादुर श्रेष्ठ, नेपालका बौद्धिक विभूति नयराज पन्त–२०६२ः१७)।

माधवप्रसाद घिमिरेहरूले नयराजलाई त्यसबेला राजद्रोहकै आरोप लगाएर दरबारसम्म कुरा पुर्‍याइदिएका थिए। प्रज्ञा प्रतिष्ठानमा नयराजको सहायक भएर काम गरेका रुक्मनाथ पौडेलका अनुसार राजदरबारबाट नयराजमाथि कुनै नराम्रो दृष्टि भने परेको देखिएन। बरु अर्को वर्ष नयराजको नाम दरबारबाट गोरखा दक्षिण बाहु (दोस्रो)का लागि घोषणा गरिदा माधवप्रसाद घिमिरेहरूको अनुहार हेर्नलायक बनेको नयराजले रुक्मनाथहरूलाई सुनाएका थिए (राजकुमार दिक्पाल, जंगबहादुरको युग–२०७९ः१४२)।

यसरी कोतपर्व मच्चिएको १३३ वर्षपछि सोही प्रकरण इतिहासमा एक श्लोकमार्फत् प्रकट हुँदा प्रज्ञा प्रतिष्ठानमै पनि तहल्का मच्चियो। यिनैले मच्चाएकी थिइन्, त्यो कुख्यात कोतपर्व पनि। यिनै रानी राज्यलक्ष्मीका महत्त्वाकांक्षाबारे यो लेखमा उल्लेख गरिएको छ।

गगनसिंहः सर्वशक्तिमान जर्नेल
गगनसिंह दरबारमा हुर्केबढेर कान्छी महारानीको नजिक पुगेका थिए। महारानी राज्यलक्ष्मीका जेठा साहेबज्यादा रणेन्द्रविक्रम (आफ्नो कोखपट्टिका जेठा छोरा)का उनी ददा थिए। बालक अवस्थामा स्याहार तथा सम्भार गर्न राखिएका व्यक्तिलाई ददा भनिन्छ। त्यसैले आफूतिरका जेठा छोरा रणेन्द्रलाई राजा बनाउने महत्त्वाकांक्षा बोकेकी महारानी राज्यलक्ष्मीले गगनसिंहलाई आफ्नो छोराको भलोमा प्रयोग गरेकी थिइन् (ज्ञानमणि नेपाल, नेपालको महाभारत– २०५२ः१८३–८४)। 

वंशावलीअनुसार राजा राजेन्द्रका दुई रानीतिरका पाँच छोरा भए। तीमध्ये सुरेन्द्र, उपेन्द्र र देवेन्द्र जेठी महारानी साम्राज्यलक्ष्मीतिरका हुन् भने, रणेन्द्र र वीरेन्द्र कान्छी महारानी राज्यलक्ष्मीतिरका हुन्।

आफ्नी सौता जेठी महारानी साम्राज्यलक्ष्मीको वि.सं. १८९८ मा निधन हुँदा राज्यलक्ष्मी २४ वर्षकी थिइन् (प्रकाश ए. राज, कोतपर्वकी महारानी राज्यलक्ष्मी–२०६१ः२४)।

सौताको निधन राज्यलक्ष्मीका लागि बाटोको अवरोध हटेजस्तै भयो। मनभित्र सुसुप्त रहेको आफ्ना छोरा रणेन्द्रलाई राजा बनाउने इच्छा क्रमशः बाहिरी रूपमै प्रकट हुन थाल्यो। उसै पनि राजा राजेन्द्र कमजोर प्रकृतिका थिए। राजाको कमजोरीको फाइदा उठाएर महारानीले दरबारको शक्ति आफ्नो हातमा लिन थालिन्। आफ्नो महत्त्वाकांक्षालाई पूर्ण गराउन उनले मुगलान भासिएका माथवरसिंह थापालाई नेपाल बोलाएर प्रधानमन्त्री तथा कमान्डर इन चिफ बनाइन्। गगनसिंह विश्वासिला काजी छँदै थिए।

जवान अवस्थामा महारानी राज्यलक्ष्मी। स्रोतः प्रकाश ए राज

तर माथवरसिंहलाई प्रधानमन्त्री बनाएर पनि महारानी रणेन्द्रलाई युवराज घोषणा गर्न सफल भइनन्। माथवरसिंह पनि घमण्डी स्वभावका थिए। यसै कारण उनलाई राजा राजेन्द्रले रुचाउन छाडेका थिए। त्यसपछि राजा, रानी र काजी गगनसिंह मिलेर उनकै भान्जा जंगबहादुरलाई प्रयोग गरी १९०२ जेठ ६ गते राति गोली हानी दरबारभित्रै माथवरसिंह थापाको हत्या गरियो। 

हत्याकाण्ड जंगबहादुरले फत्ते गरे पनि मूल योजनाकार काजी गगनसिंह नै थिए। माथवरसिंहको हत्यापछि मुगलानबाट झिकाएर चौतारिया खलकका फत्तेजंग शाहलाई नयाँ प्रधानमन्त्री नियुक्त गरियो। श्री५ को हुकुम राखी रानीले शासन चलाउन थालिन्। मन्त्रिमण्डलमा जर्नेल काजीहरू अभिमानसिंह राना, दलभञ्जन पाँडे र गगनसिंह सम्मिलित गराइए। जंगबहादुरलाई मन्त्रिमण्डलमा समावेश नगरिए तापनि उनलाई तीन पल्टनको तैनाथी दिएर उनको मानभाउ राखियो (नेपाल, २०५२ः१८९)

नवगठित मन्त्रिमण्डलमा पदीय हिसाबले फत्तेजंग माथि थिए, शक्ति सम्पन्नताको हिसाबले गगनसिंहको उपस्थिति मजबुत थियो। त्यसमाथि महारानीको कृपा पनि उनैको माथमा थियो।

विसं. १९०२ वदी १० रोज ३ मा पल्टनहरूको तैनाथी निर्धारण गर्दा प्रधानमन्त्री फत्तेजंगको मातहतमा वज्रपाणी, शेर र सिंहनाद रह्यो। अभिमानसिंह रानाको मातहतमा नयाँ गोरख र सर्वध्वज, दलभञ्जन पाँडेको मातहतमा रणप्रिय र जंगबहादुरको मातहतमा कालीबक्स, पुरानो गोरख र देवीदल रह्यो। गगनसिंहको मातहतमा भने लेटर, श्रीनाथ, राजदल, महिन्द्रदल, रामदल, कालीप्रसाद र शमशेरदल गरी सात पल्टन तैनाथी थियो (नेपाल देशको इतिहास, प्राचीन नेपाल संख्या २५–कात्तिक २०३०ः१५)।

रानीका प्रिय पात्र गगनसिंहले राजधानीभित्रको खरखजनाहरूको तैनाथी र काठमाडौँ उपत्यकाभित्रको प्रशासनको अधिकार पनि पाएका थिए। यिनले पाएको यस किसिमको व्यापक अधिकारहरूले गर्दा नाममा मुख्तियार चौतारा फत्तेजंग शाह भए पनि व्यवहारमा गगनसिंह नै मुख्तियार वा प्रधानमन्त्रीका रूपमा स्थापित हुन आइपुगेका थिए (बाबुराम आचार्य, अब यस्तो कहिल्यै नहोस –२०६८ः११३–१४)।

यसरी सर्वशक्तिमान भएर गगनसिंह दरबारमा उदाएका थिए।

गगनसिंह–जंगबहादुर सहकार्य
दरबारभित्रका शक्तिशाली जर्नेलका रूपमा उदाएका गगनसिंहले आफू मातहतका अर्का धुर्त, चतुर, आँटिला र दुस्साहसी जर्नेल जंगबहादुरसँग सहकार्य गरेका थिए। जंगबहादुरको पनि दरबारमा क्रमशः उदय हुँदै थियो।

नेपाल (२०५२ः१८३) अनुसार दरबारमा गगनसिंह रणेन्द्रको ददा हुँदा जंगबहादुरले आफ्ना मामाको उदयकालमा दरबारका भित्रिया हुन पाएकोले युवराज सुरेन्द्रका ददा हुने अवसर पाएका थिए। सुरेन्द्रको ददा भए पनि उनले कान्छी महारानीलाई पनि रिझाउँदै गएका थिए।

महाराज र महारानी दुवैबाट क्रमशः मन पराउन छाडिएका तत्कालीन प्रधानमन्त्री माथवरसिंह थापा र उनको भान्जा जंगबहादुरबीचको सम्बन्धमा चिसोपन आएको थियो। यस अवस्थालाई आफ्नो स्वार्थअनुकूल उपयोगका लागि राजा, रानी र जंगबहादुरकाबिच गगनसिंह सूत्रधार बन्न पुगे।

कान्छी महारानी मनमौजी थिइन्। सुसारेहरू मोजमस्तीमा थिए। उनीहरू एक–एक जना भारदारसँग सल्केका थिए। कतिसम्म भने, प्रधानमन्त्री माथवरसिंहलाई समेत विधवा राखेको बात लागेको थियो (नेपाल, २०५२ः१८५)। 

ज्ञानमणि नेपालको उक्त पुस्तकअनुसार एक सुसारे केटीले महारानीबाट आफ्ना प्रेमीका लागि एउटा सरकारी जंगी पद आदेश गराइन्। ती केटीका प्रेमीको जागिरको व्यवस्थापन गर्दा अर्का बहालवाला अनाहकमा खोसुवामा परे। यसको विरोध लप्टन देवीबहादुर कुँवरले गरे। देवीबहादुर आफैँ पनि महारानीकी एक जना द्वारेसँग प्रेममा थिए। ती द्वारेबाट महारानी र गगनसिंहबीचको अनुचित सम्बन्धका गुप्त कुरा उनले सुनेका थिए। तर झोँकैझोँकमा यो गुप्त कुरा खुलेआम प्रचार गरिदिएपछि देवीबहादुरलाई ज्यान सजाय सुनाइएको थियो।

सुसारेको प्रेमीका लागि पद दिलाउँदा स्वयं लप्टन देवीबहादुर खोसुवामा परेका थिए। आफू अन्यायमा परेपछि सहन नसकेर देवीबहादुरले गगनसिंहसँग रानीको अवैध सम्बन्ध रहेको आक्षेप प्रकट गरेका थिए (पद्मजंग राणा, जंगबहादुरको जीवनयात्रा –२०७४ः४७)।

देवीबहादुरलाई ज्यान सजायको घोषणा भएपछि वंशबन्धुको नाताले जंगबहादुरले उनको ज्यान जोगाउन भरपुर प्रयत्न गरे। रणजीत कुँवरका तीन छोरामध्ये जेठा बालनरसिंह कुँवरका छोरा जंगबहादुर हुन् भने, कान्छा बलरामका छोरा देवीबहादुर हुन्। उनी जंगबहादुरभन्दा उमेरमा जेठा थिए। यता नातामा आफ्नै मामा भएकोले प्रधानमन्त्री माथवरसिंह थापासँग दाजु देवीबहादुरको जीवनरक्षाका लागि जंगबहादुरले अनेक बिन्तिभाउ गरे। तर उल्टै माथवरसिंह थापाले ‘श्री ५ को हुकुम भयो भने तिमीले मलाई तिमीलाई मार्नु पर्छ भने देवीबहादुरको त के कुरा, म यसमा उनलाई बचाउन सक्दिनँ’ भनेपछि जंगबहादुर मामासँग क्रुद्ध भएका थिए। मामा भान्जाबीचको सम्बन्धमा आएको चिसोपनबारे गगनसिंह जानकार थिए (नेपाल, २०५२ः१८६)

मामा भान्जाबिचको यस्तो सम्बन्ध पूर्णरूपमा थाहा पाएका शक्तिशाली जर्नेल गगनसिंहसँग जंगबहादुरले सहकार्यका लागि कंकेश्वरीमा धर्म भाके। उनले यसरी धर्म भाकेका थिए, “...जस्तै आफ्नु बेवस्ता तस्तै आफुनु चाकर वेवस्ता छ. तस्तै आरु नदेषी वक्सनु होला. कवर जाहासम्को नीमक्हाल छन् हजुरलाई वेस् गरी याद छ. इतिन्ज्याल् हजुर्ले कस्तै कुकर्म गर्‍याको भया पनि गगनसींले कंकेसोरीमा धर्म गरायेको थीयो...” (नेपाल, २०५२ः२२५)। 

यहीँ धर्मपत्रअनुसार गगनसिंहसँग सहकार्य गर्न जंगबहादुर तयार भए। राजाबाट उनले माथवरसिंहलाई मार्ने आदेश पाउँदा तत्कालै त्यो काम सम्पन्न गर्ने हिम्मत देखाए। 

जंगबहादुरका छोरा पद्मजंग राणा (२०७४ः५३–५४)ले उल्लेख गरेअनुसार ‘महारानी बिरामी भएकोले तत्कालै दरबार आउनू’ भन्ने खबर पाएका माथवरसिंह हस्याङफस्याङ गर्दै दरबार पुगे। राजाको हातबाट लोड गरिएको बन्दुक लिएर जंगबहादुर तम्तयार अवस्थामा खोपी नजिकैको बरण्डामा लुकेर बसे। रानी भने राजाको गोडानेर बसिन्। गगनसिंह पहरेदारको रूपमा जंगबहादुरसँग कुहिना जोरेर बसे। रानीको खोपीमा पुग्नै लाग्दा आफ्नै भान्जा जंगबहादुरको गोली प्रहारबाट माथवरसिंह थापा ढले।

यो घटनापछि यी दुवै जर्नेल दरबारमा थप शक्तिशाली भएर निस्के।

गगनसिंह स्वयंको रहस्यमय हत्या
दरबारमा अनेकौं शक्तिसंघर्ष र खेलचुक्ली चलिरहेकै थियो। १९०३ भदौ ३१ गते बेलुका ढोकाटोलस्थित आफ्नै घरको पूजाकोठामा पूजा गरिरहेको बेला अज्ञात व्यक्तिले छानातिरबाट प्रहार गरेको गोलीबाट दरबारका सर्वशक्तिमान, महारानीका प्रिय जर्नेल गगनसिंहको रहस्यमय हत्या भयो। घटना हुनासाथ उनका छोरा कप्तान उजीरसिंह (कतै वजीरसिंह) हनुमानढोका दरबार पुगी महारानीसमक्ष जाहेर गरे।

घटनाबारे जानकारी पाएपछि महारानी राज्यलक्ष्मी क्रोधाग्नीले जलिन्। प्राचीन नेपाल संख्या २५ (कात्तिक २०३०ः१६)मा उल्लेख भएअनुसार महारानी नांगो तरबार लिएर निस्किइन्। उनले ‘यो लाश उठाउन हुँदैन। मुन्डको मुन्ड नजोरी मान्दिनँ। बिनाकसुर बिनाहुकुम मेरा वजीरलाई भारदारको खेलले मारे। अब श्री५ महाराज बक्साई निसाव गर्छौँ’ भन्दै आक्रोश व्यक्त गरिन्।

राणा (२०७४ः६५)अनुसार महारानीले मृतकको दाहसंस्कार गर्न राज्यकोषबाट १ लाख रूपैयाँ पनि प्रदान गरिन्। विधवालाई सति जानबाट रोकिन्।

को हुन् गगनसिंहको हत्यारा?
नेपालको इतिहासमा कोतपर्व यस्तो घटना हो, जसले नेपालको राजनीतिलाई नै दूरगामी असर पार्‍यो। १९०३ भदौ ३१ गते मध्यरातको यो पर्वमा तत्कालीन प्रधानमन्त्री फत्तेजंग शाहसहित ३८ जना ठाउँका ठाउँ मारिए। कैयौँले भागेर ज्यान जोगाए। कतिपय परिवारसहित निकालामा परे। केही बाहुन मुढिए।

महारानीले विगुल फुकाएर भारदारहरूलाई कचहरीका लागि खबर गराएपछि कोतमा भारदारहरू भेला भएका थिए। गगनसिंहको हत्यारा पत्ता लगाउन कोतमा कचहरी बस्ने भयो। सबैभन्दा पहिले जंगबहादुर आफ्ना तैनाथीका पल्टन लिएर आइपुगे। क्रमशः अभिमानसिंह राना, फत्तेजंगहरू पनि आइपुगे। 

ज्ञानमणि नेपाल (२०५२ः२३४–३५) का अनुसार रानीले अभिमानसिंह रानालाई हत्याको दोषी भन्दै सबैभन्दा पहिले वीरकेशर पाँडेलाई काट्न हुकुम दिइन्। तर हत्याका लागि राजाबाट कायलनामा लालमोहर नआएकोले अभिमानसिंह रानीको हुकुम कार्यान्वयनबाट हच्किए। त्यहाँको भयपूर्ण वातावरण देखेर काजी अभिमानसिंह आफू बच्न मातहतका फौजी जवानसँग मिसिन के आएका थिए, उनलाई पाले जवानले रोकिहाल्यो। जंगबहादुरको इशारा पाएका अर्का फौजी जवान युद्धवीर अधिकारीले अभिमानसिंहको छातीमा संगीन प्रहार गरे। अभिमानसिंह ढल्दै गर्दा उनले हत्या रहस्योद्घान गर्दै ‘गगनसिंहलाई मार्ने जंगे हो’ भनी चिच्याए। 

त्यसपछि कोतमा जंगबहादुरका पक्षधरले नरसंहार मच्चाए। 

पद्मजंग राणा (२०७४ः६९) ले भने अभिमानसिंहले प्राण जानुभन्दा अघि आफ्नै रगतले कष्ट साथ भित्तामा ‘गगनसिंहको हत्यारा जंगे नै हो’ भनेर लेखेको उल्लेख गर्दै रगतले लेखेर दिएको उनको बयान उनकै मृत्यु समान सत्य छ भन्ने उनको आसय हुनुपर्छ भन्ने उल्लेख गरेका छन्। राणा (२०७४ः६५)ले गगनसिंहको हत्यारा लाल झा भएको र उनले लोड गरेको राइफल लिएर महिलाको भेषमा छानोमा चढी प्रहार गरेर भागेको उल्लेख गरेका छन्।

लेखेर वा बोलेर भए पनि मर्ने बेलामा अभिमानसिंह रानाले गगनसिंहको हत्यारा जंगबहादुर नै भएको उल्लेख गरेको थाहा हुन्छ। गगनसिंहसहित तत्कालीन मन्त्रिमण्डलको एक जना मन्त्री पनि भएकोले प्राण जाने बेलामा केही शंका र रहस्यको आधारमा अभिमानसिंहले त्यस्तो भन्ने आँट गरेको हुनुपर्छ। तर उनको यो रहस्योद्घाटन त्यतिखेरै उदाएको जंगबहादुरको शक्तिसामु कसले सुनिदिने?

घटनाको मुख्य दोषी लाल झा हो भनी किटान गरी लेख्ने पद्मजंग भने कोतपर्व भएको ११ वर्षपछि जन्मेका हुन्। इतिहासकार दिनेशराज पन्तले पूर्णिमाको पूर्णांक ९३ (वैशाख २०५५ः३५)मा प्रकाशमा ल्याएको ‘कुण्डली सङ्ग्रह’अनुसार पद्मजंगको जन्म १९१४ मंसिर २८ गते भएको हो। घटनालाई प्रत्यक्ष देख्न र भोग्न नपाएका उनले आफ्ना पितापुर्खाबाट जे हल्ला चलाइयो, त्यहीँअनुसार गगनसिंहको हत्यारा लाल झा भनी आफ्नो पुस्तकमा उल्लेख गरेका हुन् भन्न कुनै कठिनाइ छैन।

गगनसिंहको हत्यामा जंगबहादुरको हात छ?
कोतपर्वको समय आफ्नो छातीमा संगीन दागिएपछि प्राण जाने बेलामा जनरल अभिमानसिंह रानाले ‘गगनसिंहको हत्यारा जंगे हो’ भनी चिच्याएको प्रसंग माथि परिसकेको छ। रहस्यमय रूपमा भएको गगनसिंहको हत्याराको आशंका भने जंगबहादुरमाथि नै तेर्सिने गरेको छ।

तर जंगबहादुर तथा उनका बफादारहरूले लाल झा नामका व्यक्तिले गगनसिंहको हत्या गरेको प्रचार गरिरहे। जंगबहादुरले गगनसिंहका छोरा वजीरसिंहलाई १९०४ वैशाख वदी ११ रोज १ (वैशाख १) मा लेखेको पत्रमा ‘...तिम्रा बाबालाई मान्र्या लाल झा सवारिरहेछ, उसलाई पक्रन पठाइ ल्याइ षारषेर गर्दा उसले कहेन र ...विन्ति पारी कुंभेदानी दि फुल्याइ सोधपुछ गर्दा मैले ३ जना मानीस सगमा लि आफु छानामा गै बन्दुक चलाइ मान्र्या म हुँ भनि कायेल भै उस्का ३।४ पछि आफ्ना कालले मर्‍यो. उस्को धनमाल सर्वश्व भयो...’ भन्ने परेको छ (नेपाल, २०५२ः२६३)। 

यस पत्रअनुसार गगनसिंहको हत्यारा लाल झा नै भन्ने किटान जंगबहादुरले गरेको देखिन्छ।

तर वीरशमशेरका पनाति इतिहासकार पुरुषोत्तमशमशेर जबराले भने किटेरै गगनसिंहको हत्याराका रूपमा जंगबहादुरका साहिला भाइ बद्रीनरसिंहलाई तोकेका छन्। उनका अनुसार तत्कालीन प्रधानमन्त्री फत्तेजंग शाह तथा जनरल अभिमानसिंह रानाले गगनसिंहको हत्या गर्नुपर्ने ठहर्‍याइ यसको जिम्मा जंगबहादुरलाई सुम्पेका थिए। जंगबहादुरले भने यो कार्यको जिम्मा आफ्ना साहिला भाई बद्रीनरसिंहलाई सुम्पिए। तत्कालीन कर्णेल बद्रीनरसिंहको प्रेम गगनसिंहकी छोरीसँग चलिरहेको थियो। उनी गगनसिंहका सबै कोठाचोटाका बारेमा जानकार थिए। त्यहाँ उनको बाक्लै आवाजजावत हुन्थ्यो। 

उनै गगनसिंहकी छोरीतर्फबाट बद्रीनरसिंहका छोराहरू कुमार नरसिंह र किशोर नरसिंहको जन्म भयो। त्यसैले गगनसिंहको हत्या गर्न बद्रीनरसिंहलाई पठाइ जंगबहादुर आफू भने सेनाका जवानहरूलाई हतियारले सुसज्जित बनाइ राजदरबारनजिक पुगिसकेका थिए। गगनसिंहको घरबाट फर्कंदै गर्दा महारानीले जंगबहादुरलाई आफ्ना पल्टनका सेनाका साथ भेटिन्। थापाथली बस्ने जंगबहादुर गगनसिंहको हत्याको सूचना पाई बिजुलीगतिमा कसरी आफ्ना सेनाका साथ हनुमानढोका राजदरबार आइपुगे, महारानीले कुनै पत्तै पाइनन् (पुरुषोत्तमशमशेर जबरा, श्री३ हरूको तथ्यवृत्तान्त २०६५ः३५)।

जंगबहादुर आफ्ना दलबलसहित सबैभन्दा पहिले आएको देखेर शुरूमा त महारानी छक्क परिन्। रानीले उनलाई आफ्नो पल्टनसहित आउनुको कारण सोधिन्। रानीको प्रश्नको जवाफमा जंगबहादुरले पनि ‘गगनका उनै हत्याराका हातमा महारानीको ज्यान पनि खतरामा परेको शंका लागेर महारानीकै सुरक्षाका लागि आफू पल्टनसहित आएको’ स्पष्टीकरण दिएर महारानीको चित्त बुझाएका थिए (राणा, २०७४ः६६)।

जंगबहादुरको यस्तो योजनाबद्ध क्रियाकलापका कारण पनि गगनसिंहको हत्यामा उनको भूमिका थियो भन्ने झल्को स्पष्टै रूपमा आउँछ।

गगनसिंहको हत्यामा जंगबहादुरका भाइ बद्रीनरसिंहको संलग्नता रहेका अन्य तथ्यहरू पनि छन्। 

गगनसिंहको हत्या भएको बेला १२ वर्षका बालक महाविरसिंह गड्तौलाले पछि बाबुराम आचार्यलाई गगनसिंहको घर देखाएर ‘ऊ! त्यहाँ घरको कुनामा मारेको। बद्रीनरसिंह उताबाट आए, गगनसिंहलाई ट्वाक्क गोली हानी फुत्त भागे’ भनेका थिए। आचार्यलाई उनका बाजेले पनि यस्तै कुरा गरेका थिए। चन्द्रशमशेरको पालामा मीर सुब्बा रामभक्तले टिपेको जाहेरीमा पनि गगनसिंहको मृत्यु बद्रीनरसिंहकै हातबाट भएको उल्लेख छ। गगनसिंह मारिएपछि घटनास्थलबाट कुलेलम ठोकेका बद्रीनरसिंहलाई जंगबहादुरले राति कोतबाट राजा राजेन्द्रविक्रम शाह निस्केर हिँड्दा उनको चियो गर्न राजाको पछिपछि खटाएका थिए (नेपाल, उहीः२३६)

यस्तो जालझेल र खेलचुक्लीमा जंगबहादुर निपूर्ण थिए।

रानीसँग गगनसिंहको प्रेमप्रसंग
गगनसिंह र महारानी राज्यलक्ष्मीबीच राजनीतिक मात्रै नभई अनैतिक सम्बन्ध पनि थियो भन्ने इतिहास पढ्न पाइन्छ। राणा (२०७४ः४४–४५)ले त गगनसिंह महारानीका ‘उपपति’ नै थिए भनी उल्लेख गरेका छन्।

चन्द्रशमशेरका समयमा पर्सिभिल ल्यान्डन नामका लेखक नेपाल आएका थिए। उनले ‘नेपाल’ पुस्तक पनि लेखे। यस पुस्तकमा परेको गगनसिंह र महारानीबीचको सम्बन्धको प्रसंगलाई उद्धृत गर्दै प्रकाश ए. राजले ‘कोतपर्वकी महाराज राज्यलक्ष्मी’ (२०६४ः२४)मा उल्लेख गरेअनुसार राजा राजेन्द्रले सुरेन्द्र र उपेन्द्रलाई बोलाई गगनसिंहलाई मारेर परिवारको इज्जत बचाउन भनेका थिए। तर प्रकाश ए. राजले उक्त पुस्तक चन्द्रशमशेरले लेखाएको भनेर विश्वसनीयतामा प्रश्न उठाएका छन्।

वृद्धावस्थामा बनारसको निर्वासनमा सत्ताच्यूत महारानी राज्यलक्ष्मी। स्रोतः बाबुराम आचार्य

कोतपर्वको १० वर्षपछि ब्रिटिश दूतावास, लैनचौरमा रहेका हेनरी अम्ब्रास ओल्डफिल्डले ‘स्केचेज फ्रम नीपाल’ (सन् २००५ः३४४)मा ‘माथवरसिंहको हत्यापछि राज्यको सम्पूर्ण अधिकार महारानी र उनको प्रेमी गगनसिंहको हातमा आयो’ भन्ने उल्लेख गरेर महारानी र गगनसिंहबिचको प्रेमप्रसंगलाई चर्चित बनाउन सहयोग गरेका छन्।

कोतपर्वपछि महारानी राज्यलक्ष्मी देश निकालामा परी बनारसतिर प्रस्थान गरेकी थिइन्। शक्तिशाली भएर जंगबहादुर यता शासनको बागडोर सम्हालिरहेका थिए।

त्यतिखेरै राज्यसत्ता छोरा सुरेन्द्रलाई बुझाएर बसेका बुढाराजा राजेन्द्रले गगनसिंह र महारानीबीचको अनैतिक सम्बन्ध भएको मिति पत्ता लगाउन तत्कालीन राजगुरु विजयराज पाण्डे बनारस जाँदा बुझेर आउन पत्र नै लेखेका छन्। त्यतिखेर गगनसिंहको हत्या भएको तीन वर्ष भइसकेको थियो।

इतिहासकार दिनेशराज पन्तले पूर्णिमाको पूर्णांक ७० (असोज २०४३ः३१–३७)मा प्रकाशमा ल्याएको ‘श्री ५ राजेन्द्रकी कान्छी रानीसम्बन्धी अप्रकाशित ६ वटा पत्र’ शीर्षकमा प्रकाशित पत्रहरूमा निर्वासित महारानीमाथि परपुरुषसँगको सम्बन्धदेखि गर्भपतनसम्मका प्रसंग पनि परेका छन्।

तीमध्ये १९०६ आषाढ सुदी १० रोज ७ मा राजा सुरेन्द्रले आफ्ना साहिला भाइ रणेन्द्र र काँहिला भाइ वीरेन्द्रका नाममा लेखेको पत्रमा कालीदास नामका वैद्यले खोलेको रहस्यअनुसार दलबहादुर थापासँगको अवैध यौनसम्बन्धपछि उनकी आमा (राज्यलक्ष्मी)ले तीन महिनाको गर्भ तुहाएको र भाइहरूलाई पानी नै कटाउन पर्ने अवस्था आएकोले तुरुन्त पतिया लिन र पतिया नलिए भातभान्साबाट छुटाइने समेत उल्लेख गरिएको छ।

बुढा राजा राजेन्द्रले राजगुरु पण्डित विजयराज पाण्डेलाई पत्र लेखी काशी (बनारस) जाँदा जयसिंहका बहिनी (महारानी राज्यलक्ष्मी) पहिले गगनसिंहसँग र पछि दलबहादुर थापासँग कुन साल, कुन महिना र कुन दिन बिग्रेकी रहिछन्, त्यो लेखाइ सही गर्न लगाएर कायलनामा ल्याउन १९०७ मंसिर सुदी ३ रोज ६ मा पत्र पठाई आदेश दिएका छन्।

यिनै पत्रहरूमध्ये १९०६ भदौ सुदी २ रोज २ मा लेखिएको बुढा राजाको पत्रमा उल्लेखित साहिला साहेव रणेन्द्रको साउन सुदी ७ रोज ५ को पत्रको भाकामा ‘मुमाबाट वजीरसिंहलाई षारेज गरि दलबहादुर्‍यालाई कामकाज दिँदा हाम्रा मालव असवाव पनि वर्वाद गर्‍यो’ भन्ने परेको छ। यसबाट महारानी राज्यलक्ष्मीले बनारस निर्वासित हुँदा गगनसिंहका छोरा वजीरसिंहलाई पनि साथै लिएर गएको र जागिर पनि दिएको देखिन्छ। तर उनलाई खारेज गरे पनि दलबहादुरलाई जागिरमा राखेको र उनका कारण आफूहरूमा समस्या आएको भन्ने आसय रणेन्द्रविक्रम शाहको देखिन्छ।

निर्वासित महारानी राज्यलक्ष्मी बनारसमा छँदा उनीसँग ‘लसपस गर्ने’ भनी पत्रमा किटिएका दलबहादुर थापा जंगबहादुरका मावली नातेदार हुन्। उनी साइनोले जंगबहादुरका नजिकका मामा पर्छन्।

दलबहादुर भीमसेन थापाका काहिला भाइ अमृतसिंह थापाकी ल्याइतातिरका छोरा हुन्। भीमसेन थापा शक्तिमा आउँदा उनलाई कप्तान बनाइएको थियो (बाबुराम आचार्य, जनरल भीमसेन थापाको उत्थान र पतन –२०६९ः५) 

भीमसेन थापाका चार भाइमध्ये माहिला नयनसिंह थापाकी छोरी गणेशकुमारीको कोखबाट जंगबहादुरको जन्म भएको हो। गणेशकुमारी बालनरसिंह कुँवरकी कान्छी श्रीमती हुन्। यसअनुसार दलबहादुर थापा गणेशकुमारीका काकाका छोरा भएकाले जंगबहादुरका मामा हुन्।

पछि महारानी राज्यलक्ष्मी निर्वासनमा बनारस जाँदा उनीसँगै कप्तान दलबहादुर पनि गएका थिए। बनारसमा रहेका दलबहादुर र केन्द्रमा शासक बनिसकेका जंगबहादुरबीच सम्पर्क कायमै रहेको देखिन्छ। यससम्बन्धी एक पत्र पनि पढ्न पाइन्छ। रामजी तेवारीको संग्रहमा रहेको पूर्णिमाको पूर्णांक ७० (असोज २०४३ः११–१२)मा प्रकाशित उक्त पत्रमा जंगबहादुरले दलबहादुरलाई ‘श्री कप्तान मामा दलबहादुरके श्रीजंगबहादुर कुँवर राणाजीको सलाम’ भनी सम्बोधन गरेका छन्। १९१२ कात्तिक वदी ६ मा लेखिएको उक्त पत्रमा जुधाएर रमिता हेरिने विभिन्न जातका कुखुरा पठाउन भनिएको छ।


सम्बन्धित सामग्री