Wednesday, July 24, 2024

-->

सभामुख भनेकै 'सुवास नेम्वाङ'

संविधानसभाबाट संविधान जारी गर्ने दायित्व पूरा गरेपछि उहाँले संसद्को नेतृत्वबाट बिदा लिनुभयो। औपचारिक रूपमा सभामुख नभए पनि उहाँलाई धेरैले 'सभामुख भनेकै सुवास नेम्वाङ'का रूपमा सम्झन्छन्।

सभामुख भनेकै सुवास नेम्वाङ

आदरणीय सुवास (नेम्वाङ) सर हामीबीच रहनुभएन। गए राति पाएको दुःखद् खबरपछि लेख्न कुनै शब्द छैन, उहाँसँगका अनगिन्ती सन्दर्भ मात्रै झलझली याद छ। २०४८ र ५२ सालमा राष्ट्रियसभाका सदस्य निर्वाचित हुनु भएका नेम्वाङ २०५१ मा मनमोहन अधिकारी नेतृत्वको लोकप्रिय सरकारका कानूनमन्त्री हुनुहुन्थ्यो। एमाले विभाजनका बेला २०५६ सालको आमनिर्वाचनमा इलाम–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि संसद्‍मा उहाँको भूमिका बढेको थियो। 

सार्वजनिक लेखा समितिको सभापतिका रूपमा उहाँले बहुचर्चित लाउडा काण्डको छानबिन गराउनुभएको थियो। संसदीय समितिमा पत्रकारले सहज पहुँच पाएको पनि त्यही बेलादेखि हो। तसर्थ संसदीय मामिलामा कलम चलाउने पत्रकारहरूले सदैव उहाँलाई आफ्नो अभिभावक ठान्छन्। २०५६ साल यताका सबै आमनिर्वाचनमा उहाँले इलाम-२ कै प्रतिनिधित्व गर्नुभयो। 

राजेन्द्र फुयाल

२०६२/६३ को जनआन्दोलन संयोजन समितिको सदस्यका रूपमा उहाँले लोकतान्त्रिक आन्दोलनको अगुवाइ गर्नुभएको थियो। जनआन्दोलनको बलमा पुनर्स्थापित संसद्को नेतृत्व पनि उहाँले नै गर्नुभयो। त्यही संसद्ले २०६३ जेठ ४ गतेको ऐतिहासिक घोषणामार्फत तत्कालीन राजाका सबै अधिकार कटौती गरी मुलुकलाई दिगो शान्ति र संविधानसभाको बाटोमा हिँडाएको थियो। जेठ ४ को ऐतिहासिक प्रतिनिधिसभा घोषणापत्रका एक मस्यौदाकार नेम्वाङ स्वयं हुनुहुन्थ्यो। 

मन्त्रिपरिषद्‍बाट पारित उक्त घोषणा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अस्वस्थताका कारण सभामुखले वाचन गर्नुभएको हो। त्यस घोषणाले मुलुकलाई धर्मनिरपेक्ष राज्य मात्रै बनाएको थिएन, लोकतान्त्रिक गणतन्त्रको बलियो आधार खडा गरेको थियो। 

वृहत् शान्ति सम्झौता र अन्तरिम संविधानअनुसार तत्कालीन विद्रोही माओवादी सम्मिलित व्यवस्थापिका संसद्को नेतृत्व पनि उहाँले नै गर्नुभयो। संसद् नमान्ने माओवादी र त्यसको नाम छोड्न नसक्ने कांग्रेसबीच समझदारी बनाएर 'व्यवस्थापिका संसद्' सञ्चालन गर्नु साँच्चै असामान्य काम थियो। संसद्लाई विवाद होइन, संवादको थलो बनाउन, जनताका आवाज अवरुद्ध हुन नदिन उहाँले गरेको निरन्तरको प्रयासकै कारण उहाँको व्यक्तित्व विपक्षीका आँखामा पनि नबिझाउने भएको हो। उहाँले जस्तासुकै राजनीतिक विवादलाई पनि संवादबाट सल्टाउने प्रयास गर्नुभयो, प्रधानमन्त्रीदेखि विद्रोही नेतालाई संसद् भवनकै चोटाकोठामा वार्ता गराउनुभयो। 

पदले मानिसलाई ठूलो र अविस्मरणीय बनाउँदैन। नश्वर शरीरको अवसानपछि पनि कसैलाई चीर स्मरणीय बनाउँछ भने, पदमा रहँदा वा नरहँदा व्यक्तिले खेलेको भूमिका हो। संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बन्नुभयो, तर निर्वाचित हुन सक्नुभएन। १० वर्षे सशस्त्र द्वन्द्वको शान्तिपूर्ण व्यवस्थापन र संविधान निर्माणमा पुर्‍याएको योगदानका कारण नेम्वाङलाई 'संविधानको पिता' भन्दा अन्यथा हुँदैन। संविधानलाई सबैको सम्झौताको दस्ताबेज बनाउन र त्यसमा सबैजसोलाई सहमत बनाउन अहोरात्र परिश्रम गर्नुभएको थियो। लामो समय सदन चलाउँदा नथाक्ने, कुनै पनि शब्द उच्चारणमा नझुक्किने मात्रै होइन, बीचमा पानीसमेत नपिउने उहाँको बानी थियो। 

दुईपटक संविधानसभाका अध्यक्ष र सभामुखका रूपमा रहँदा उहाँले सहकर्मी सांसदहरूको मात्र होइन, सिंगो मुलुकको मन जित्नुभयो। पहिलो संविधानसभा असफल हुँदा होस् कि, दोस्रो संविधानसभाले जनताको संविधान जारी गर्दा, उहाँले आफूलाई समावेशी लोकतन्त्रको सच्चा अनुयायी, संविधानवाद र विधिको शासनको प्रवर्धकका रूपमा उभ्याइरहनुभयो। 

संविधानसभाबाट संविधान जारी गर्ने दायित्व पूरा गरेपछि भने उहाँले संसद्को नेतृत्वबाट बिदा लिनुभयो। औपचारिक रूपमा सभामुख नभए पनि उहाँलाई धेरैले 'सभामुख भनेकै सुवास नेम्वाङ'का रूपमा सम्झन्छन्। त्यसयता पनि उहाँले एमाले संसदीय दलको उपनेताका रूपमा भन्दा बढी सबैको साझा नेताका रूपमा संसदीय भूमिका निर्वाह गर्नुभयो। सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्‍याउने उहाँको प्रयासले सार्थकता नपाउँदै अनायास उहाँको महाप्रस्थान भएको छ। 

संविधानसभाको अध्यक्षमा दुईपटक नै सर्वसम्मत चुनिनुभएका मृदुभाषी र शालीन व्यक्तित्वका धनी नेम्वाङले सदनलाई जहिले पनि खुला र जनताको पहुँचमा राख्नुभयो। पत्रकारलाई संसद्को पदेन सदस्यको दर्जा दिएर सभामुखको कार्यकक्ष खुला गर्नुभएको थियो। उहाँले हमेसा देशको सामाजिक, सांस्कृतिक विविधताको सम्मान र राष्ट्रिय एकताको प्रवर्धन गर्नुभयो। पहिलो संविधानसभाका असफलता र विवादको उत्कर्षका बेला जनजाति समुदायका कतिपय अगुवाहरूले ‘सुवास त कहाँ जनजाति हो र?’ भनी गरेको टिप्पणीमा उहाँ फिस्स हाँस्नुहुथ्यो। 

राष्ट्रिय राजनीतिमा मात्रै होइन, पार्टीभित्रका थुप्रै मुद्दामा उहाँका शालीन विमति हुन्थे। त्यसलाई उहाँ निकै कूटनीतिक र शालीन रूपमा राख्नुहुन्थ्यो। सायद कहिलेकाहीँ त त्यसैलाई थोरैले मात्रै बुझ्थे, बुझ्नुपर्नेले बुझ पचाउँथे। सत्ता राजनीतिको खिचातानी र आन्तरिक कलहले थिलथिलिएको नेपाली राजनीतिले सायद नेम्वाङको शालीनता र सुसंस्कृत राजनीतिलाई झलझलती सम्झिरहने छ। तपाईंको शालीनता, राजनीतिक संस्कार र सुसंस्कृत नेतृत्व युगयुगसम्म बाँचिरहने छ। अश्रुपूर्ण बिदाइ सुवास सर।

(राष्ट्रियसभाका पूर्वसचिव फुयाल संसदीय मामलाका जानकार हुन्।)


सम्बन्धित सामग्री