Wednesday, May 15, 2024

-->

इलाम–२ मा एमालेका सुहाङलाई झन्डै ४ हजार मतको अग्रता

केहीबेर अघि सार्वजनिक परिणामअनुसार एमालेका सुहाङ नेम्वाङले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काको भन्दा ३ हजार ९६० मत धेरै ल्याएका छन्।

इलाम–२ मा एमालेका सुहाङलाई झन्डै ४ हजार मतको अग्रता

काठमाडाैँ– इलाम क्षेत्र नं.२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्वाङले झन्डै ४ हजार मतको अग्रता बनाएका छन्। हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जारी मतगणनामा केहीबेर अघि सार्वजनिक परिणामअनुसार नेम्वाङले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काको भन्दा ३ हजार ९६० मत धेरै ल्याएका छन्। उनले ११ हजार ६१९ मत ल्याउँदा खड्काले ७ हजार ६५९ प्राप्त गरेका छन्। 

अब खड्काका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू देखिएका छन्। उनले ७ हजार ४५२ मतसहित एमालेका खड्कालाई पछ्याइरहेका छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बुले १ हजार ५९६ मत पाएका छन्। नेकपा एकिकृत समाजवादीका जितबहादुर राईले २६१ मत ल्याएका छन्। 

अहिले माइखोला नगरपालिका वडा नम्बर ६ को मतगणना सकिएको छ। ७ र ८ को मतगणना भइरहेको छ। एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए। 

यहाँ १२ दल र ७ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। गत निर्वाचनमा नेम्वाङले कांग्रेसका खड्कालाई १ सय १४ मतको झिनो अन्तरले हराएका थिए। 
 


सम्बन्धित सामग्री