Saturday, April 27, 2024

-->

आगोको लप्कासँग खेल्दै मृत्यबाट बचेकी सुशीलाको प्रेम, विवाह र राजनीति

अशोक राई र सुशीला श्रेष्ठले प्रारम्भिक समयमा राजनीतिमा डोर्‍याएर ल्याएकी विद्यादेवी भण्डारी दुईपटक देशको राष्ट्रपति भइन्। तर सुशीला एमाले छाडेको दशकपछि बल्ल संसद्‌मा पुगेकी छन्।

आगोको लप्कासँग खेल्दै मृत्यबाट बचेकी सुशीलाको प्रेम विवाह र राजनीति

कुनै बेला धरानलाई ‘नेपालको सांघाई’ भनिन्थ्यो। लामो समयदेखिको वामपन्थीहरूको वर्चश्व रहेको कारण धरानले यस्तो नाम पाएको थियो।

तत्कालीन भूमिगत नेकपा मालेको गतिविधि हुने अर्को ठाउँ थियो, मधेली। धरानपछि मालेको आधारस्थल सुनसरीको मधेली थियो। मधेलीमा २०३६ असोजमा तत्कालीन कोशी अञ्चल क्षेत्रीय कमिटीको बैठक राखिएको थियो। क्षेत्रीय कमिटीको सचिव जीवन (मदन भण्डारी) र उपसचिव राजेश (राजेश बान्तवा) थिए। तीमध्ये जीवन क्षेत्रीय कमिटीको नेतृत्व गर्दै मोरङको कमान्डर भएका थिए भने राजेश चाहिँ सुनसरीको।

बैठकमा विविध समसामयिक राजनीतिक एजेन्डा हुने नै भयो। अर्को एक महत्त्वपूर्ण एजेन्डा पनि थियो, दुई जना कमरेडबीचको प्रेम सम्बन्ध। यो प्रेम सम्बन्ध अनुमोदनका लागि बैठकमा प्रस्ताव गरियो। कमरेडहरूले ताली बजाएर स्वीकृति प्रदान गरे। प्रेमजोडी थियो, कमरेड नीलकण्ठ र सिर्जनाको। त्यसबेला अशोक राईको भूमिगत नाम नीलकण्ठ र सुशीला श्रेष्ठको सिर्जना थियो। तत्कालीन माले र आजको नेकपा एमालेमा लामो समय राजनीति गरेको यो जोडीले एमाले परित्याग गरेको दशक नाघिसकेको छ। संयोगवश आज यो दम्पती जनता समाजवादी पार्टीबाट संसदमा पुगेको छ। अशोक राई शिक्षामन्त्री भएका छन्।

राजनीतिमा आएको र दुःख खेपेको धेरै लामो समयपछि सुशीलाले बल्ल राजकीय अवसर पाएकी हुन्। अशोक र सुशीलाले प्रारम्भिक समयमा राजनीतिमा डोर्‍याएर ल्याएकी तत्कालीन विद्यार्थी कार्यकर्ता विद्या पाण्डे अर्थात् विद्यादेवी भण्डारी भने दुईपटक देशको राष्ट्रपति भइन्।

विद्यालाई राजनीतिमा डोर्‍याएर मदन भण्डारीसम्म पुर्‍याइदिने सुशीला श्रेष्ठको राजनीतिक संघर्ष र प्रेम विवाहबारे यो लेखमा चर्चा गरिएको छ। मालेका तत्कालीन जिम्मेवार नेताहरू चित्र निरौला (हालः दिवंगत), राजेश बान्तवा, गोपाल गुरागाईं र शहीद रत्नकुमार बान्तवाको जीवनीमा आधारित वृत्तचित्र ‘सेक्रिफाइस् नेभर डाइस्’का निर्देशक जसकुमार राई र एमाले कार्यकर्ता टंक श्रेष्ठसँग विभिन्न समयमा गरिएको कुराकानीलाई यो लेखको आधार बनाइएको छ।

काठमाडौँमा पलाएको प्रेमको अंकुर
अशोक त्यतिखेर हात्तिसार क्याम्पस, धरानमा आईएस्सी पढ्दै थिए। उनी विद्यार्थी राजनीतिमा थिए र क्याम्पसको राम्रा विद्यार्थीमध्ये पनि थिए। त्यति खेरसम्ममा राजेश बान्तवा चाहिँ पार्टीको सम्पर्कबाट एक क्रान्तिकारी कमरेड भइसकेका थिए। उनी बेलाबेलामा पार्टीको दस्तावेजहरू पुर्‍याउन अशोककहाँ पुगिरहन्थे। 

आईएस्सी पास गरिसकेपछि अध्ययन अगाडि बढाउन अशोक काठमाडौँ पुगे। त्यहीँ बेला उनले खानी विभागमा जागिर पनि पाए। उनको जागिर चल्दै थियो, पार्टीमा पनि सम्पर्क बढाउँदै थिए।

खानी विभागमा जागिर गर्दै गर्दा तत्कालीन कोअर्डिनेशन कमिटीका नेता श्याम (अमृतकुमार बोहरा)सँग अशोकको सम्पर्क भयो। त्यतिखेरै ताप्लेजुङबाट सुशीला शिक्षाशास्त्रतर्फ स्नातक पढ्न काठमाडौँ आएकी थिइन्। दुवै पार्टीमा आबद्ध थिए। बेला बेलामा भेटघाट हुन्थ्यो। समय क्रममा दुईबीच प्रेम अंकुरण भएछ। 

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ् बजारकी सुशीला हुनेखाने परिवारकी थिइन्। उनका पुर्खा कुनै जमानामा तामाखानीका बहिदार थिए। परिवार पहिले खेती र पछि व्यापारमा लागेको थियो। उनलाई आफ्नै दाजु काजी श्रेष्ठ र वामपन्थी नेता नन्दकुमार प्रसाईंको विशेष प्रभाव रह्यो। उनले २०२७ देखि व्यवस्था परिवर्तनका लागि राजनीतिको झोला बोकिन्, पछि त पूर्णकालीन भूमिगत कार्यकर्ता भइन्।

रत्नकुमार बान्तवाको शहादत
माओ जयन्तीको साइत पारेर २०३५ साल पुस ११ गते मोरङमा एक गोप्य सम्मेलनबाट कोअर्डिनेसन कमिटी, मुक्ति मोर्चा, सन्देश समूहलगायत वामपन्थी समूहहरूको एकताबाट नेकपा (माले) गठन भयो। सीपी मैनाली महासचिव चयन भए। मुक्ति मोर्चाबाट मदन भण्डारी, जीवराज आश्रितहरू र सन्देश समूहबाट वामदेव गौतमहरू मालेमा एकीकृत भए। चित्र निरौला, गोपाल गुरागाईंहरू रातो झण्डा समूहबाट मिसिएका थिए।

त्यसबेलासम्म खानी विभागको जागिर छाडेर अशोकले पूर्णकालीन रूपमा पार्टीको झोला बोकिसकेका थिए। माले बनेपछि अशोकको काँधमा पहिलेभन्दा गहकिलो जिम्मेवारी थपियो। उनलाई विराटनगर हुँदै भोजपुर पठाइयो, जिल्ला पार्टी सचिवको जिम्मेवारीमा।

त्यसबेला इलाम जिल्लाको पार्टी सचिव हुँदै मेची अञ्चललाई पनि रेखदेख गर्नुपर्ने जिम्मेवारी रत्नकुमार बान्तवाको काँधमा थियो। उनी पार्टीको केन्द्रीय कमिटी सदस्य पनि थिए।

बान्तवाले पार्टी केन्द्रमा एउटा प्रस्ताव राखे, “हामीकहाँ महिला फाँटमा काम गर्ने एक कमरेडको खाँचो छ।”

त्यसपछि सुशीलालाई मेची अञ्चलको पहाडी क्षेत्रको महिला फाँट सम्हाल्ने जिम्मेवारी दिएर रत्नको साथ पठाउने निर्णय भयो। रत्न र सुशीलाले इटहरीमा भेट्ने तय भएको थियो। तर सुशीला अलि ढिलो पुग्दा रत्न बाटो लागिसकेका थिए। त्यसपछि सुशीलाले झापा पुगेर पार्टीसँग सम्पर्क गरिन्। इलामबाट रत्नका भाई कृष्णकुमार सुशीलालाई लिन आए। उनी रत्नको सम्पर्कमा इलामको इभाङ गाउँ पुग्दा रत्न मावली घरमा डोको बुन्दै गरेको अवस्थामा थिए।

उनीहरू पार्टी कामकै शिलशिलामा ताप्लेजुङ जानु पर्ने भयो। पार्टीको केन्द्रीय तहका नेता रत्न, महिला नेतृ सुशीला र स्थानीय कार्यकर्ता राममाया राई ताप्लेजुङतर्फ जाँदै थिए। तर उनीहरूको त्यो यात्रा पूरा हुन पाएन। 

हतियारधारी प्रहरीको एक टुकडीले उनीहरूलाई बाटोमै घेरा हाल्यो। प्रहरीले रत्नकुमार बान्तवालाई पहिला गिरफ्तार गर्‍यो। उनीसँग खुकुरी त थियो, तर दापबाट झिक्ने अवसर नै पाएनन्। नत्र संघर्ष रोजेर हिँडेका यी योद्धाले पक्कै खुकुरी झिक्ने थिए।

रत्नले प्रहरीको पञ्जाबाट आफूलाई सक्दो फुत्काउने प्रयास गरे। सुशीला र राममायाले रत्नलाई फुत्काउन आफ्नो सामर्थ्यले भ्याइन्जेल प्रयास नगरेका होइनन्। उनीहरूले आआफ्नो साथमा भएको लौरोले प्रहरीमाथि प्रहार गरे। 

त्यसैबेला राममायालाई थला बस्ने गरी प्रहरीले प्रहार गरिहाल्यो। दाउ छोपेर प्रहरीको पञ्जाबाट फुत्केर उनी त्यहाँबाट कुलेलाम ठोकिन्। उनी स्थानीय भएकोले भाग्न पनि सजिलो भयो। उनलाई निशाना बनाएर प्रहरीबाट प्रहार भएको गोली लागेर उल्टै एक प्रहरी घाइते भए। प्रहरीले प्रहार गरेको अर्को गोली रत्नको छातीमा बज्रिन पुग्यो। यसरी रत्नले २०३५ साल चैत २७ गते इलामको इभाङमा शहादत प्राप्त गरे। सुशीला प्रहरी पञ्जामा परिन्।

शहादत हुनुअघि रत्नकुमार बान्तवाको अन्तिम फोटो, साथमा अगम बान्तवा, जैमिला राई र घुम्टो ओढेको अवस्थामा सुशीला श्रेष्ठ। स्रोतः सुशीला श्रेष्ठ

रत्नको शवलाई कानूनी र कागजी प्रक्रिया पूरा गर्न सदरमुकाम लैजाँदा प्रहरीले सुशीलालाई पनि सँगै लैजाँदै थियो। देउमाई खोला तरेर प्रहरी टोली बारुङ भन्ने ठाउँमा खानपिनका लागि अडियो। खाना खाइसकेपछि सुशीलाले आफूलाई शौच आएको बताइन्। प्रहरी कमान्डरले एक जना सिपाहीलाई उनको पछि लागेर जान आदेश दिए। तर सुशीलाले भनिन्, “तपाईंहरूले गुहु खाने गर्नुभएको छ कि क्या हो र मेरो पछि कसैलाई लगाउँदै हुुनुहुन्छ?”

त्यसपछि कमान्डरले उनलाई एक्लै शौच गर्न एकान्तमा जान दिए। महिला हुन्, भागिजाने आँट के गर्दिहुन् वा भागे पनि कहाँ पो पुग्लिन् र भन्ठाने होलान्, प्रहरी कमान्डरले। सुशीला भने शौच जाने निहुँमा जंगलै जंगल कुलेलाम ठोकिन्। प्रहरी टोलीमा हल्लीखल्ली मच्चियो, जालमा परिसकेको माछा उम्कियो। प्रहरीले ‘ठूलो माछाको शिकार’ गरिसकेकै थियो, जालमा परिसकेको ‘अलि सानो माछा’ चाहिँ फुत्केर बेपत्ता भएको थियो।

जीवित अवस्थामा सुशीलालाई बुझाउन नसकिए पनि उनलाई जिउँदो नछाड्ने ध्याउन्नमा लाग्यो प्रहरी। यस क्रममा उनलाई सिध्याउन भागी लुकेको आशंका गरिएको जंगलको विभिन्न भागमा आगो लगाइयो। त्यो आगोको लप्काले पछ्याउँदा सुशीला निक्कै टाढा पुगिसकेकी थिइन्। १२–१५ घण्टामा जंगलको कष्टकर यात्रा पूरा गरेर उनी भोक र थकाइले क्लान्त शरीरका साथ एउटा गाउँमा पुगिन्। 

रत्नको हत्या गरिएको र दुई महिला कार्यकर्ता प्रहरी पञ्जाबाट उम्कन सफल भएको गोप्य खबर पार्टीका सीमित नेता तथा कार्यकर्तामा पुगिसकेको थियो। राममाया प्रहरीको पञ्जाबाट उम्केकोले खबर प्रसार गर्न पनि सम्भव भयो। सुशीलाको पार्टीसँग सम्पर्क भएपछि २०३६ वैशाख १ गते पार्टीको बैठक बस्यो, त्यहाँ पनि प्रहरीले घेरा हाल्यो। फेरि उनीहरू घेरा तोडेर भाग्न सफल भए।

भोजपुरको त्यो जनवादी विवाह
रत्नको हत्या र पार्टी बैठकमा प्रहरीले घेरा हालेको घटनापछि मेची अञ्चलको पहाडी जिल्लामा काम गर्ने उद्देश्यले त्यसतर्फ खटिएकी सुशीलालाई त्यहाँ असुरक्षा भयो। त्यसपछि उनलाई भोजपुर खटाइयो। उनलाई पूरै भोजपुर र आधा संखुवासभासमेत हेर्ने गरी खटाइएको थियो। भोजपुरमा पार्टी सचिव अशोक राई थिए। त्यहाँ भएको उनीहरूको भेट र पार्टी कामले काठमाडौँमा रहँदा अंकुराएको प्रेम क्रमशः प्रगाढ हुँदै गयो। त्यहीँ प्रेमलाई उनीहरूले सुनसरीको मधेलीमा भएको क्षेत्रीय कमिटीको बैठकमा सर्वसम्मत रूपमा अनुमोदन गराए।

इलामबाट रत्नको शहादतपछि ज्यान जोगाएर भोजपुर जाँदा सुशीला धनकुटाको बाटो हुँदै गएकी थिइन्। त्यसबेला पार्टीसँग समन्वय र सम्पर्कका क्रममा सुशीलालाई धनकुटाका तत्कालीन जिम्मेवार नेता तथा शिक्षक गोपाल गुरागाईंले स्वागत गरेका थिए। उनले कागतेस्थित त्यसबेलाको आफ्नो घरमा सुशीलालाई एक रात बास दिएका थिए। त्यसपछि उनी भोजपुरतिर बढेकी थिइन्।

अशोक र सुशीलाको प्रेम परिपक्व भएपछि उनीहरूले विवाहको लागि अनुमति मागे। त्यसबेलाको परम्पराअनुसार जनवादी विवाह हुन्थ्यो, कमरेडहरूबीच। भूमिगत रुपमा विवाह समारोहको आयोजना गरिएको थियो। यो विवाह २०३८ साउन ३० गते सम्पन्न भएको थियो। विवाह समारोह छिनामखुमा कमल राईको घरमा सम्पन्न भएको थियो। पारिवारिक अभिभावकका रूपमा अशोक राईकी दिदी मीना (पार्टीको भूमिगत नाम बिना दिदी)को विशेष उपस्थिति थियो। विवाह समारोहमा कोशी र मेची अञ्चलका जिम्मेवार नेताहरू सहभागी थिए।

अशोकसँग सुशीलाको विवाहमा चित्र निरौला र राजेश बान्तवा। स्रोतः चित्र निरौला

सहभागीमध्ये क्षेत्रीय कमिटीको उपसचिवको हैसियतले राजेश बान्तवा सबैभन्दा ठूला नेता थिए। उनी विवाह समारोहका प्रमुख अतिथि भए। झापाबाट डिल्ली मैनाली, सुनसरीबाट चित्र निरौला र विराटनगरबाट विद्या पाण्डे (पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी) पनि सहभागी थिए। दिङ्ला, साम्पाङ, होम्ताङबाट पनि सीमित कमरेडहरू आएका थिए। विवाह समारोहमा १५/१६ जना सहभागी थिए। स्थानीय स्तरबाट सौभाग्य राई (भोजपुरका पूर्व जिविस सभापति शशिभूषण किरातकी जीवनसाथी)बाट नव दम्पतीलाई बधाई तथा शुभकामना प्राप्त भएको थियो।

दुलाहालाई फूलको माला दुलहीको तर्फबाट पहिराइयो। दुवैले स्काफ लगाएका थिए। यस्तो स्काफ त्यो बेला पार्टीको सदस्यताको प्रतिक थियो। स्काफ राजेश बान्तवाकी जीवन साथी शारदा श्रेष्ठले धरानमा उत्पादन गर्थिन्। स्काफको रङ नीलोे हुन्थ्यो।

विवाह भोजमा सुँगुरको मासु, आलु, बोडीको तरकारी, तामाको अचार र भातको व्यवस्था थियो।

विवाह समारोहमा कमरेडहरू केही सांकेतिक शब्दहरू बोल्थे। ती शब्द ‘रिमझिम’ र ‘झिलिक मिलिक’ थिए। अघिल्लो शब्दको अर्थ थियो सीमित सुरापान पनि गर्ने कि? दोस्रोको अर्थ थियो, फोटो पनि खिच्ने कि?

अशोक र सुशीलाको विवाहमा रिमझिम चलाइएन, झिलिकमिलिक मात्र भयो। त्यसबेला चित्र निरौलासँग निजी क्यामेरा थियो। उनी पण्डित लाहुरेका छोरा हुन्। बाबुले पल्टनबाट ल्याएको क्यामेरा बोकी हिँड्थे।

विवाह समारोहमा पार्टीका तर्फबाट चित्र निरौलाबाट ओजिलो मन्तव्य व्यक्त भएको थियो। प्रमुख अतिथि राजेश बान्तवाबाट विवाहको मूल पुरोहितको हैसियतले जनवादी पुरेत्याइँमार्फत विवाह समारोह समापन भएको थियो।

अशोक र सुशीला भूमिगत रुपमा राजनीतिमा व्यस्त हुँदा उनीहरूका जेठा छोराको सम्पूर्ण हेरविचार र पालनपोषण दिदी मिना राईले सम्हालेकी थिइन्।

मदन भण्डारीसँग विद्याको विवाह
विराटनगरलाई पार्टी कामको आधार क्षेत्र बनाएर मदन भण्डारी भूमिगत रूपमा सक्रिय थिए, कोशी अञ्चल क्षेत्रीय कमिटीको सचिवको हैसियतले। पार्टी कामकै शिलशिलामा २०३७ सालको शुरूआतमा भोजपुर पुगेका थिए। त्यहाँ पार्टी सदस्यहरूसँगको अनौपचारिक कुराकानीमा जीवन र जगतलाई क्रान्तिसँग जोड्ने कुरा भयो। यसको आसय हो, क्रान्तिसम्म पुग्न साथ दिने महिला कमरेडसँग सहजीवन अर्थात् विवाह।

मदनको सहजीवनका लागि उपयुक्त कमरेडको खोजी भयो। यसका लागि एक जना पार्टी सदस्यले लमीको भूमिका खेले। 

त्यतिबेला वासुदेव नेपाल (प्रदीप नेपालका जेठा दाजु) भोजपुर क्याम्पसमा ‘लाइब्रेरिन’ थिए। उनकी एक छोरी भोजपुर क्याम्पसमा स्नातक तहमा अध्ययनरत थिइन्। वासुका भाइ मञ्जुलले त्यतिबेलै कवि तथा जनकलाकारका रूपमा नाम कमाइसकेका थिए। प्रदीप राम्रै पार्टी जिम्मेवारीमा भूमिगत भइसकेका थिए। जीवन र जगत क्रान्तिसँग जोड्न यो परिवार उपयुक्त छ भनेरै कमरेडहरूले मदनका लागि त्यतैतिर सम्बन्ध गाँस्न सुझाए।

भोजपुरमा मदन भण्डारी र विद्याको पहिलो भेट, साथमा डिल्ली मैनाली, अशोक राई र चित्र निरौला। स्रोतः राजेश बान्तवा

तर एउटा ब्रिफिङमा लमी कमरेडले मदनका लागि हेरिएको पात्रले घरायसी परिस्थितिका कारण तत्काल आफूले विवाह गर्न नसक्ने जवाफ दिएको बताए। वासुसँग पहिले यो विषयमा कुराकानी भएछ। उनले लमीलाई भनेछन्, “यस विषयमा निर्णय गर्न छोरी स्वतन्त्र छिन्। उनको जो विचार।”

तर छोरीले आमा बिरामी भएका कारण स्याहारसुसारमा समय दिनुपर्ने भएकोले तत्काल आफू विवाहको लागि तयार नभएको बताइन्। त्यो विवाह टरेर गयो।
लमीको भूमिकामा चाहिँ पार्टीका भोजपुर जिल्लाका तत्कालीन सचिव अशोक राई थिए।

त्यतिबेला एक जना महिला कमरेडलाई अनेरास्ववियु र पार्टीको महिला फाँट दुवैमा सक्रिय गराउन भोजपुरबाट विराटनगर ल्याउने निर्णय भएको थियो। त्यसका लागि मानेभञ्ज्याङकी विद्या पाण्डेलाई तयार पारियो। उनले भर्खरै प्रमाणपत्र तहको अध्ययन सकेकी थिइन्। पार्टी कामका लागि घरमा खासै अनुकूल अवस्था थिएन। उनको माइतिखलक नेपाली कांग्रेस समर्थक थिए। त्यसैले उनी घरबाट भागेरै भए पनि विराटनगर जान उत्सुक भइन्।

भोजपुरमा मदन भण्डारी र विद्याको पहिलो भेट, साथमा डिल्ली मैनाली, अशोक राई र चित्र निरौला। स्रोतः राजेश बान्तवा

धरान हुँदै विराटनगर सुरक्षित रुपमा पुर्‍याउनु पर्ने थियो। पार्टीका कोशी अञ्चल क्षेत्रीय कमिटीका सदस्य चित्र निरौला र सुशीला श्रेष्ठले एस्कर्टिङ गर्दै विद्यालाई भोजपुरबाट विराटनगर पुर्‍याए। विद्या अनेरास्ववियूको कार्यकर्ता थिइन्।

पार्टीले सुम्पिएको अभिभारा बहन गर्न खटिएको संस्मरण व्यक्त गर्ने क्रममा चित्रले आफू जीवित रहँदा अंग्रेजीमा भनेका थिए्, “वी ह्याड टु एस्कर्ट हर फ्रम भोजपुर टु विराटनगर विकज् मदनजी ह्याड फलन इन् लभ एट् फस्र्ट साइट ह्वेन हि भिजिटेड भोजपुर इन् द पार्टी वर्क।” (हामीले उनलाई भोजपुरबाट विराटनगरसम्म एस्कर्ट गर्नु परेको थियो, किनकि मदनजी भोजपुरमा पार्टीको काममा जाँदा पहिलो नजरमा नै प्रेममा परिसकेका थिए।)

विद्या पार्टीको काम गर्ने गरी विराटनगर आएपछि मदन आफैँले उनीसँग जीवन र जगतलाई क्रान्तिसँग जोड्ने गरी सहजीवनका लागि प्रस्ताव राखे। एक वर्षपछि विद्याले स्वीकृति जनाइन् र उनीहरूबीच विराटनगरको तीन टोलियाको एउटा सेल्टरमा जनवादी विवाह भयो। २०३९ सालमा भएको विवाहमा राजेश बान्तवा, चित्र निरौला, डिल्ली मैनाली, सुनिता उपनामकी एक जना कमरेडलगायत १५ जना जति जम्मा भएका थिए। भोजमा खसीको मासु र भात चलाइएको थियो। केही क्षण नाचगान पनि चल्यो। 

अशोक र सुशीलाको त्यहीँ जोडी हो, जसले एक जिम्मेवार नेता मदन भण्डारी र विद्याको पनि जोडी बाँधिदिन महत्त्वपूर्ण भूमिका खेले। तर राजनीतिको खेल, आफैँले अगाडि बढाएको कार्यकर्ता दुईपटक देशको राष्ट्रपतिजस्तो सर्वोच्च पदमा पुगेको देख्ने सुशीलाले भने बल्ल संसदीय यात्रामा पाइला हालेकी छन्, त्यो पनि अलग पार्टी बनाएर।


सम्बन्धित सामग्री