Saturday, April 27, 2024

-->

घटना मणिपुरको, सवाल महिलामाथिको हिंसाको

लेखक अरुन्धती रोयले केही दिनअघि भनिन्, 'हामी यथार्थबारे कुरा नबुझ्ने भएका छौँ। प्रहरीले समेत महिलालाई समातेर बलात्कार गर्नका लागि भिडलाई बुझाएको छ।'

घटना मणिपुरको सवाल महिलामाथिको हिंसाको

'हामी अहिले यस्तो अवस्थामा छौँ, जहाँ महिलाहरू नै बलात्कारको औचित्य सिद्ध गर्न खोज्दैछन्। महिलाहरू नै पुरुषहरूलाई अरू महिलालाई बलात्कार गर्न भनिरहेका छन्। म केबल मणिपुरको कुरा गरिरहेको छैन, म अरू थुप्रै घटनाको कुरा गरिरहेको छु। हाथ्रा र जम्मु कास्मिरलगायतको कुरा गरिरहेको छु। ती ठाउँमा कुन समुदायले बलात्कार गरेको हो भन्ने कुरा ख्याल गर्दै महिलासमेत बलात्कारका पक्षमा उभिएका छन्। यसको मतलब हामी 'साइकोटिक' (यथार्थबारे कुरा नबुझ्ने) भएका छौँ। प्रहरीले समेत महिलालाई समातेर बलात्कार गर्नका लागि भीडलाई बुझाएको छ…' 

केरला साहित्य एकेडेमीको हल, केरलामा 'नवमलायली सांस्कृतिक पुरस्कार' ग्रहण गर्ने क्रममा चर्चित लेखक तथा सामाजिक अभियन्ता तथा लेखक अरून्धती रोयले वर्तमान भारतमा भएका महिला हिंसा र साम्प्रदायिक हिंसाको सन्दर्भमा केही दिनअघि दिएको अभिव्यक्ति हो यो। उनले भनेकी छन्, 'म दिल्लीमा बस्छु र म सडकमा (दिउसो) त्रस्त रहन्छु। सानो कुनै घटना मात्र भयो भने घाँटीमा गम्छा बाँधेका पचासभन्दा बढी युवा आइपुग्छन्। म को हुँ भनेर तिनीहरूलाई थाहा छ। म मेरो मात्रै कुरा गरिरहेको छैन…।' यो भयो रोयको मणिपुर र भारतको चित्रण।   

अब लागौँ, नेपालबाट उति टाढा नपर्ने मणिपुरतर्फ। मणिपुर म्यानमारसँग सीमा जोडिएको भारतीय राज्य हो। काठमाडौँबाट मणिपुरको राजधानी इम्फालसँगको दुरी नौ सय २२ किलोमिटर छ। झन्डै ३४ लाख जनसंख्या भएको मणिपुरमा ६० हजार जति नेपाली भाषी छन्।  

भारतको मणिपुर राज्यमा विगत तीन महिना यता दुई आदिवासी समुदायबीच साम्प्रदायिक दंगा र दुई महिलाको सामूहिक बलात्कारसहित हत्या र झन्डै सय जनाको मृत्यु भएको छ। कुकी र मैतेई समुदायबीच पहिलेदेखि नै त्यहाँ आन्तरिक द्वन्द्व थियो नै, तर जब समुदायमा द्वन्द्वले डरलाग्दो रूप लिँदै जाँदा मणिपुरका इन्टरनेट सेवासमेत बन्द गरिए। जब दुई महिलालाई निर्वस्त्र घुमाउँदै गरेको एउटा भिडियो सामाजिक सञ्जालमा बाहिर आयो, तब त्यस इलाकामा भएका हत्या र अपराधबारे थप तथ्य बाहिर आउन थाले। त्यसतर्फ अन्य धेरै भारतीय र विश्व समुदायको ध्यान आकृष्ट भयो। 

त्यहाँका कुकी र नागा समुदायका अधिकांश आदिवासीहरू पहिले 'प्राकृत धर्म' मान्थे। यी समुदायहरूमा १९७० यता पश्चिमा क्रिश्चियन मिसनरीहरूले धर्म परिवर्तन गराउँदै लगे। मैतेई समुदायमा भने वैष्णव हिन्दु समुदायका समाजबाट समेत प्रतिनिधित्व गर्छन्। भारतको उत्तर पूर्वी भूभाग मणिपुरको जमिनको ९० प्रतिशत भाग पहाडले घेरिएको छ। १० प्रतिशत मात्रै सम्म जमिन छ। 

सन् १९४७ मा अंग्रेजले भारत छोड्ने बेला आजका भारतभित्र राजा महाराजाहरूको शासन थियो। त्यति बेला अंग्रेजले यहाँ बोधचन्द्र सिंहलाई राज्य सुम्पिदिए। मणिपुर राज्यका जनता पनि भारत या पाकिस्तान कुनै पनि देशमा नगाभिईकन स्वतन्त्र देशको रूपमा रहन चाहन्थे। तर सन् १९४८ मा यसै विषयमा यहाँ चुनाव भयो। मणिपुरका अधिकांश वयस्कहरू स्वतन्त्र मणिपुरको पक्षमा उभिए, तर 'रिपब्लिक अफ इन्डिया'का नेताहरूका दबाबले सन् १९४९ मा मणिपुरलाई भारतमा विलय भएको सन्धिमा राजा बोधचन्द्र सिंहले हस्ताक्षर गरिदिए। 

यहाँका अल्पसंख्यक कुकी समाजलाई पहिलेदेखि नै लाग्थ्यो कि बाहिरी समुदाय आएर आफ्ना वासस्थान तथा जंगलमा नोक्सान पुर्‍याइदिन्छन्। सन् १९४९ देखि १९७२ सम्म कुकी समुदायले आफ्नो अधिकारका लागि भन्दै सशस्त्र युद्ध लड्यो। उग्रवादी घटना बढिरहेको मणिपुरलाई भारत केन्द्र सरकारले राज्यको दर्जा दिएन। तर भारतीय सेनाको मिसन २००८ अन्तर्गत केन्द्र सरकार, सेना र उग्रवादी कुकी समुदायबीच सन् २००८ मा सन्धिमा हस्ताक्षर भयो। त्यो सन्धि सशस्त्र बल विशेष अधिकार अधिनियमअन्तर्गत भएको थियो र त्यस सन्धिबाट कुकी समुदाय पूर्ण रूपमा सन्तुष्ट थिएनन्। 

कुकी समुदाय जंगल र पहाडी क्षेत्रमा बसोबास गर्छन्। जंगल, जमिन र सभ्यता बचाउने उद्घोष त्यस समाजको छ। मैतेई समाज पनि आदिवासी समुदाय अन्तर्गत नै पर्छन्।  उनीहरू शहरी र सम्म क्षेत्रमा बसोबास गर्छन्। थोरै जमिनमा बस्दाबस्दै पनि उपलब्ध श्रोत साधन र सुविधाको धेरै उपभोग उनीहरूले नै गर्दै आएका छन्। जनसंख्याको हिसाबले धेरै ५३ प्रतिशत मैतेई समुदाय १० प्रतिशत जमिनमा बसोबास गर्दै आएको मानिन्छ। मैतेई समुदायले आफ्नो समुदायलाई पनि आदिवासी समुदायमा राख्न सन् २०१० यता आन्दोलन गर्दै आइरहेको छ। आफूहरू पनि जंगलमा जान र जमिन खरिद गर्न पाउनुपर्छ भन्ने उनीहरूको माग रहेको छ। मैतेई व्यवसाय गर्न चाहन्छन् र पहाडमा जमिन खरिद गर्न पाउनुपर्छ भन्ने उनीहरूको माग हुन्छ। कुकी समुदाय जंगलमा बस्ने हुनाले थोरै थोरै समुदायमा बस्छन्। 

गत ३ मे मा मैतेई समाजको भीडले ५६ वर्षका पुरुष र उनका २१ र १९ वर्षका छोरी र छोरासहित अन्य दुई जना महिलालाई लछारपछार गरेर मारिदिए। भीडमा दुई जना महिलालाई उनीहरूले आफ्नो कपडा खोल्न भने, जसको प्रतिवाद गर्दा २१ वर्षीय युवतीका भाइ र बाबुलाई गोली हानि हत्या गरियो। महिलाहरूलाई पनि कपडा खोलेर भीडमा लछार्दै बलात्कारपछि हत्या गरियो। यो घटनाको १५ दिनपछि मात्र प्रहरीमा घटनाबारे केस दर्ज भयो। घटनामा ३०० जति चर्च जलाइए। यस घटनापछि धेरै मान्छे तितरबितर भए। साम्प्रदायिकताले सिर्जना गरेको घृणाले मानिसलाई कतिसम्म क्रूर र  निकृष्ट बनाउँदो रहेछ भन्ने कुरा मणिपुरका पछिल्ला घटनाले पुष्टि गर्छन्। 

चुरामार्फत महिलाकै हुर्मत 

घटनालाई लिएर भारतीय काँग्रेस पार्टीले विभिन्न शहरहरूमा आन्दोलन गरिरहेको छ। यसमा महिलाहरूको जबरजस्त आवाज मुखरित भएको मिडियामार्फत हामी देख्न सक्छौँ। अहिले असल नेतृत्व र सहजकर्ताको खाँचो देखिएको मणिपुरमा राहुल गान्धी त्यहीँ पुगेर समुदायलाई ढाडस दिइरहेका छन्। तर आवेशमा नारा लगाउने क्रममा कतिपय महिलाहरूले नै 'सरकार चुरा लगाऊ' जस्ता र महिलाद्वेसी नारा लगाइरहेका छन्। 

हिंसाका घटनाविरुद्ध सशक्त महिला आवाज उठ्दै गर्दा जमानादेखिको स्त्रीद्वेसी भाष्य नै हिंसाविरुद्धको नारा बन्नु गलत छ। त्यसले चुरा लगाउनेहरू स्वतः कमजोर हुन् र अन्ततः नारीहरू नै कमजोर हुन् भन्ने अर्थ दिन्छ। मौन बस्ने र न्याय नदिनेहरूले चुरा लगाउँछन् भन्ने बुझिन्छ। महिला हिंसा र उत्पीडनविरुद्ध आवाज उठाइरहँदा फेरि महिलालाई नै कमजोर हुन् भन्ने आशय बोकेका बिम्ब, प्रतीक र कथनहरू हटाइनुपर्छ। 

'बेटी बचाउ र बेटी पढाऊ'को नारा त लगायो मोदी सरकारले, तर छोरीहरूलाई दिन दहाडै नग्न बनाउँदै सडकमा ल्याएर मार्दासम्म पनि किन बोल्दैन सरकार भन्दै मणिपुर र अन्यत्रका महिला रुष्ट छन्। अहिलेको साम्प्रदायिक हिंसा र महिलामाथि भएको क्रूर घटनाविरुद्ध आन्दोलित हुने भारतका महिला, सामाजिक कार्यकर्ता र बौद्धिक व्यक्तित्वहरूको प्रयासलाई भने हामी सबैले सबैतिरबाट समर्थन गर्नुपर्छ। सामाजिक सञ्जालदेखि सडकमै पुगेर भए पनि ऐक्यबद्धता जनाउनुपर्छ।   

समुदायबीचको हिंसामा महिलालाई निशाना बनाएर प्रतिसोध लिइनुबाट फेरि पनि के पुष्टि भएको छ भने समुदायबीचको हिंसामा संसारभर नै महिलालाई बढी निसानामा पार्ने गरिन्छ। दुनियाँका दलित, आदिवासी र महिलामाथि बर्चश्ववादीहरूको प्रभाव र थिचोमिचो अनि हिंसाविरुद्ध सशक्त आवाज उठाउनु सबै सचेत मानवको कर्तव्य हो। एउटा साम्प्रदायिकताले अर्को साम्प्रदायिकता निम्त्याइरहेको बेला सबै सभ्यता र संस्कृतिको सम्मान गर्दै आ-आफ्नो अस्तित्वसहित मानवता बाँडेर बस्ने समाज नबनाएसम्म मणिपुरमा जस्तै साम्प्रदायिक घटना अन्यत्र पनि बढ्दै जाने कुरामा दुई मत छैन।


सम्बन्धित सामग्री