Wednesday, May 01, 2024

-->

बाघ मारेर संरक्षण सम्भव छ?

बाघको संख्या वृद्धि गर्ने बेला बिनायोजना भकाभक वृद्धि गर्ने, तर अहिले आएर नियन्त्रणका नाममा खोरमा राख्ने तर्क आफैँमा अनैतिक छ। पर्यटक तान्ने र पैसा कमाउने उद्देश्यले यसो गर्नु बाघको शोषण हो।

बाघ मारेर संरक्षण सम्भव छ

गत जुन १४ मा सञ्जय सिलवाल गुप्ता नामको युट्युब च्यानलले प्रकाशन गरेको वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतोसँगको अन्तर्वार्तामा उनी संरक्षित पाटेबाघलाई मोटो रकमका लागि सिकार गराउन इच्छुक भएको अभिव्यक्ति आएसँगै यो विषय विवादमा आएको छ।

सन् २०१० मा 'सेन्ट पिटर्सबर्ग बाघ सम्मेलन'मा प्रतिबद्धता जनाएअनुरूप नै बाघको जनसंख्या दोब्बर गर्ने नेपाल सरकारको संकल्प बाघको संख्या वृद्धि भएसँगै पूरा भएको थियो। वन्यजन्तुको अंग तस्करी गर्नेहरूले हिजोका दिनमा गरेको चोरीसिकारीको घाउमा त्यसले मलहम लगाएको थियो र छ। उच्च जनसहयोग र साथले नेपालले प्रतिबद्धता गरेअनुरूप नै सन् २०२२ सम्म बाघको जनसंख्या दोब्बर मात्रै नभईकन झन्डै तेब्बर नै भयो। यो सफलताको नतिजा प्रकाशनसँगै नेपालको संरक्षणमुखी कदमबारे विश्वमाझ चर्चा भयो। यो सफलतालाई लिएर हलिउड अभिनेता लियोनार्दो डि'क्याप्रियोले समेत सामाजिक सञ्जालमार्फत नेपाललाई बधाई दिए।

बाघ संरक्षणमा नेपालले पाएको सफलताले विश्वमाझ वाहवाही बटुल्दै गर्दा मानव र वन्यजन्तु द्वन्द्वका घटना भने व्यापक रूपमा बढे। बाघको संख्या बढ्दै गर्दा त्यसले भविष्यमा निम्त्याउन सक्ने चुनौतीबारे कुनै प्रभावकारी योजना सरकारसँग नभएका कारण अहिले बाघ-मानव द्वन्द्व अत्यधिक देखिन थालेको छ। नेपालभरको तथ्यांक केलाउँदा आर्थिक वर्ष २०७५/७६ मा बाघको आक्रमणबाट मृत्यु हुनेको संख्या चार जना, आर्थिक वर्ष २०७६/७७ मा आठ जना, २०७७/७८ मा १३ जना, २०७८/७९ मा २१ जना र २०७९/८० मा १२ जनाको गरी झन्डै पाँच वर्षमा कुल ५८ जनाको ज्यान गएको देखिएको छ। घाइते हुनेको सङ्ख्या पनि प्रशस्तै छ।

बाघको जनसंख्याको व्यवस्थापनबारे उपयुक्त कार्य योजना नभएका कारण तथा स्थानीय बासिन्दाबाट खेप्नु परेको दबाबका कारण १२ वर्ष लगाएर दोब्बर पारिएको बाघको जनसंख्या नियन्त्रणका लागि वनमन्त्री स्वयंले नै बाघ सिकार गराउने योजना अघि सारेका छन्, जबकि हामी संरक्षण भन्नेबित्तिकै आमरूपमा 'बचाउने' बुझ्ने गर्छौं। तर संरक्षण क्षेत्रमा कार्यरत कतिपय विदेशी संघसंस्थाको संरक्षणप्रतिको दृष्टिकोण विवादास्पद छ। संरक्षणको मूल मर्म वन्यजन्तुको हित हो भन्ने मान्यता हामीबीच रहे तापनि विश्व वन्यजन्तु कोषजस्ता कतिपय संस्था भने 'वन्यजन्तु जोगाउनु पनि पर्छ, अनि आवश्यक पर्दा मारिदिनु पनि मिल्छ' भन्ने द्वैध धारण राख्छन्।

२०२० जुलाई ३ मा 'ट्रफी सिकारविरुद्ध अभियान'का संस्थापक तथा लेखक, एडुवार्डो गन्साल्वेसले प्रकाशन गरेको किताब 'किलिङ गेम: द एक्सटिङ्क्सन इन्डस्ट्री'मा विश्व वन्यजन्तु कोषले भित्री रूपमा वन्यजन्तु सिकारलाई गरेको समर्थनबारे पर्दाफास गरिएको थियो। उक्त किताबको प्रकाशनपश्चात् विश्व वन्यजन्तु कोष निक्कै विवादमा तानिएको थियो, जसका कारण यो संस्थाले आर्थिक रूपमा आफ्ना धेरै सहयोगी हातहरू गुमाउन परेको थियो। यद्यपि, विश्व वन्यजन्तु कोषले वन्यजन्तु सिकारप्रतिको आफ्नो धारणा अहिलेसम्म पनि परिवर्तन गरेको छैन। 

साउन १३ मा इकान्तिपुरडट्कमा 'समस्याग्रस्त बाघ व्यवस्थापनमा संरक्षणकर्मी विभाजित' नामक हेडलाइनमा प्रकाशित समाचारमा विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ)का नेपाल प्रतिनिधि घनश्याम गुरुङले वन्यजन्तु सिकारको विषयमा संस्थाको तर्फबाट कुनै प्रतिक्रिया दिन नचाहनु कुनै संयोग होइन। विश्व वन्यजन्तु कोषजस्तो संरक्षण क्षेत्रमा क्रियाशील संस्थाले यस्तो संवेदनशील विषयमा चुप लाग्नु वन्यजन्तु सिकारको पक्षमा मौन समर्थन जनाउनु हो भन्ने कुरा सर्वसाधारणले बुझ्नपर्छ।

वन मन्त्रालयका मन्त्रीदेखि 'विज्ञ'हरू 'इकोसिस्टम' भन्दा 'इगोसिस्टम'लाई आत्मसात् गर्दै वन्यजन्तु सिकारको मुद्दामा कानूनी रूपमा बाघ मार्न मिल्ने कुरामा आशावादी छन्। तर सरकारी कोठाभित्र ‘इको-सिस्टम’को मूल मान्यतालाई आत्मसात् गर्दै बाघको महत्त्व बुझ्ने संरक्षण अधिकृत र अन्य विज्ञ पनि छन्। सरासर हेर्दा, यो मुद्दामा तीन छुट्टाछुट्टै धारणाहरू देखिन आएका छन्:

- बाघको सिकार गर्ने
- वनको बाघ समातेर खोरभित्र थुनेर पर्यटक तान्ने
- बाघलाई वनमै उपयुक्त ढंगबाट प्राकृतिक व्यवस्थापन गर्ने

बाघको जनसंख्या वृद्धि गर्ने बेला बिनायोजना भकाभक वृद्धि गर्ने, तर अहिले आएर बाघको नियन्त्रणको नाममा वनका जीवलाई पिँजडाजस्ता खोरमा राख्ने कुरा आफैँमा अनैतिक हो। बाघको मूल अस्तित्व 'स्वतन्त्र बाघ'का रूपमा हुन्छ, उनीहरूले स्वतन्त्र रूपमा विचरण गर्न सक्ने क्षेत्रफलमा हुन्छ। तर बाघ हुनुको अस्तित्व नै मेटिने गरी केबल पर्यटक तान्ने र पैसा कमाउने उद्देश्यले फलामे खोरमा थुन्नु बाघको शोषण र दोहन हो। 'संवेदनशील संरक्षण चिन्तन'को कोणबाट हेर्दा यस्तो देखिन्छ।

बाघको सिकार गराएर विदेशीहरूबाट मोटो रकम असुल्दा वन्यजन्तु संरक्षण, सामाजिक उत्थान, आर्थिक गतिविधिलगायत क्षेत्रमा फाइदा हुन्छ भनेर वन मन्त्रालय लगायत नेपाल सरकारका केही अंग तथा कतिपय 'विज्ञ'ले भनिराख्दा यो एउटा मिथक मात्रै हो र त्यसपछाडिको सत्य बेग्लै हुन्छ भनेर सबैलाई बुझाउनु आवश्यक छ।

वन्यजन्तुको संरक्षण र उनीहरूको हकहितमा कार्यरत संस्था 'बर्न फ्री फाउन्डेसन' ले सन् २०१९ मा 'ट्रफी सिकार' गर्दा वन्यजन्तु संरक्षण, सामाजिक उत्थान र आर्थिक गतिविधिलगायत क्षेत्रमा फाइदा हुन्छ भनिनु फगत एउटा मिथ (भ्रम) मात्रै हो भनी दाबी गरेर एउटा प्रतिवेदन सार्वजनिक गरेको थियो। उक्त प्रतिवेदनमा वन्यजन्तु सिकारले स्थानीय समुदायको उत्थानमा पनि खासै महत्त्वपूर्ण भूमिका खेल्दैन भनिएको छ। खेल तथा वन्यजन्तु संरक्षणको अन्तर्राष्ट्रिय परिषद् र संयुक्त राष्ट्र खाद्य एवम् कृषि संगठनले जारी गरेको तथ्यांकले सिकारी कम्पनीहरूमार्फत उठ्ने कुल राजस्वको ३ प्रतिशत मात्रै रकम सिकार क्षेत्र आसपासको समुदायको उत्थानमा जाने गरेको देखाएको छ। 

नत्र अधिकांश आम्दानी प्राय: सोही देश अथवा विदेशको सरकारी एजेन्सी, सिकारको टेन्डर लिने कम्पनी तथा विभिन्न व्यक्तिलाई जाने गर्छ भनिएको छ। त्यसैगरी, वन्यजन्तु सिकारले देशको आर्थिक विकासमा सहयोग गर्छ भन्ने भनाइलाई आर्थिक पाटोबाट हेर्दा एउटा अफ्रिकन हात्ती बाँचिरहँदा 'फोटोग्राफिक पर्यटन'मार्फत उसको जीवनभर १.६ मिलियन डलरसम्म आम्दानी गर्न सकिन्छ भने सिकार गर्दा त्यस हात्तीबाट गर्न सकिने आम्दानी तुलनात्मक रूपमा निकै नै कम हुने भन्दै खण्डन गरिएको छ।

कुनै पनि देशमा सिकार गर्न जाँदा सिकारीहरूले सिकारसम्बन्धी र अन्य खर्चसमेत गर्दा त्यसले देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को अधिकतम ०.०३% मात्रै योगदान पुर्‍याउँछ भनेर २०१७ को एउटा प्रतिवेदनमा भनिएको छ। अर्को महत्त्वपूर्ण कुरा, सिकारीले बुढो तथा शारीरिक रूपमा अस्वस्थ वन्यजन्तुको सिकार गर्छ भनेर भनिराख्दा, त्यस विपरीत सिकारीको नजर जहिल्यै ठूलो शरीर, ठूलो दारा, लामो सिङसहितका आकर्षक विशेषता भएका वन्यजन्तुमा हुने गर्छ। जबकि वन्यजन्तुहरूमा सबैभन्दा बलियो जनावर बाँच्नु आवश्यक हुन्छ। सबैभन्दा बलियो जनावरले आफ्नो समुदायमा गर्भधारण गर्न सक्ने, गर्भधारण गराउन सक्ने क्षमता राख्छन्। उनीहरू लड्न, भिड्न र भाग्न सक्छन्। प्राकृतिक विपत्तिहरू पनि झेल्न सक्छन्। 

त्यसो हुँदा यस्ता 'ट्रफ हन्टिङ'का कारण कुनै पनि वन्यजन्तुको प्रजातिबाट प्रमुख रूपमा महत्त्व बोकेको वन्यजन्तुको सिकार हुन गई आउने पीढीको अस्तित्वलाई नै संकटमा पार्छ भनेर उक्त प्रतिवेदनमा भनिएको छ। यसो गर्दा, केही वर्षमा फेरि बढेको बाघको जनसङ्ख्या घट्ने मात्र नभएर मासिने डर हुन्छ।

समग्रमा भन्नु पर्दा, नेपालले प्रभावकारी योजनाबिना बाघको संख्या वृद्धिमा हात हाल्नु नै ठूलो गल्ती थियो, तर सबैभन्दा ठूलो गल्ती भनेको अहिले आएर पाटे बाघको जनसंख्या नियन्त्रण गर्ने नाममा कुरा नबुझेर या कुरा बुझी–बुझी कसैको स्वार्थमा बहकिएर बाघ सिकार गर्ने योजना अघि सार्नु हो।

बाघ-मानव द्वन्द्व अत्यधिक छ, तर यसका अनेकौँ आयामहरू छन्। खासगरी समथर स्थानमा मान्छेहरूको बसाइँसराइ व्यापक बढ्दो छ। जनसंख्या बढ्दै जाँदा त्यस आसपास ध्वनि प्रदूषण बढ्नु, त्यसले जंगली जनावर तर्सेर आसपासका क्षेत्रमा निस्कनु र वन्यजन्तुले आक्रमण गर्ने दर बढ्नु स्वाभाविक हो। सो द्वन्द्व न्यूनीकरणका लागि बाघ मारेरभन्दा पनि वासस्थान व्यवस्थापन र पीडित स्थानीय बासिन्दाका लागि उचित राहत तथा व्यवस्थापनमा जोड दिनु नै उपयुक्त उपाय हो। 

बाघ र मान्छेको कुनै शत्रुता भएर उनीहरूले हामीलाई आक्रमण गरेका होइनन्। आफ्नो सुरक्षा, डमरुहरूको सुरक्षा र भोजन खोज्ने क्रममा उनीहरू हामीसँग ठोक्किन आइपुगेका हुन्। बाघ दोब्बर पार्न १२ वर्ष लाग्यो। प्राकृतिक ढंगबाट नै उनीहरूको वासस्थान व्यवस्थापन गर्न लामो अवधि लाग्छ, तर त्यसबाट हामीले द्वन्द्व न्यूनीकरणका उपाय पनि सिक्दै जानेछौँ। विकासका नाममा जथाभाबी वनजंगल तथा खोलानाला दोहन गर्नुभन्दा सचेत भएर दिगो विकासको बाटोबाट योजना तयार गरेर अघि बढ्नेबारे पनि हामीले बुझ्दै जानेछौँ। 


श्रेष्ठ चितवनमा रहेर वन्य तथा अन्य पशुपक्षीको न्यायका निम्ति काम गरिरहेका अभियन्ता हुन्।


सम्बन्धित सामग्री