Wednesday, May 22, 2024

-->

कस्तो हो काठमाडौँ महानगरले शुरू गरेको सीप मेला?

महानगरपालिकाले २ हजार ८१ जना सहभागी हुनेगरी सीप मेलाको आयोजना गरेको छ। सिसडोल, बन्चरेडाँडावासी र फुटपाथ व्यवसायी प्राथमिकतामा छन्।

कस्तो हो काठमाडौँ महानगरले शुरू गरेको सीप मेला
तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– बुधबारबाट काठमाडौँ महानगरपालिकाले टुडिखेलमा सीप मेलाको आयोजना गरेको छ। सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोडेर सीप नभएकाहरूलाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्यसहित मेलाको आयोजना गरिएको महनगरपालिकाले जनाएको छ।

एक महिनासम्म चल्ने यस मेलामा २ हजार ८१ जनालाई उच्च माग भएका पेसासँग सम्बन्धित नि:शुल्क तालिम दिइने महानगरको लक्ष्य छ। यसरी तालिम लिएकाहरूले पछि गएर रोजगार तथा स्वरोजगार र ओजेटी अन द जब ट्रेनिङ को सुनिश्चित गरिएको महानगरको भनाइ छ। कार्यक्रममा १० क्षेत्रका विभिन्न २९ पेसाको तालिम प्रदान गरिने छ। मागका आधारमा क्षेत्र र पेसा थप गरिने महानगरका सहप्रवक्ता दीपक अधिकारी बताउँछन्।

ग्राफिक डिजाइनरदेखि ज्योतिषीसम्म
यस सीप मेलामा ग्राफिक डिजाइनरदेखि ज्यातिषीसम्मका तालिम प्रदान गरिने महानगरले जनाएको छ। तालिममा विद्युतीय क्षेत्रमा इलेक्ट्रोनिक मेकानिकल, अटो एअर कन्डिसन, मोटरबाइक र स्कुटर रिपेयर र इलेक्ट्रिक कार रिपेयरकाे तालिम दिइनेछ। यस्तै, निर्माण क्षेत्रमा सिकर्मी, टाइल एन्ड फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ तालिम गराइनेछ। हस्पिटालिटी एन्ड म्यानेजमेन्ट क्षेत्रमा बरिस्ता, फुड एन्ड कुक, वेकरी, वार टेन्डिङ, र वेटर/वेट्रेस प्रशिक्षण हुने छ। सूचना प्रविधिको क्षेत्रमा डिजिटल मार्केटिङ, ग्राफिक्स डिजाइनिङ, कम्प्युटर हार्डवेयर एन्ड नेटवर्किङ, सीसीटिभी क्यामेरा विषय राखिएका छन्।

गार्मेन्ट्सको क्षेत्रमा टेलरङ, ड्रेस मेकर र फेसन डिजाइनिङका तालिम रहने महानगरले जनाएको छ। ब्युटिसियन विधामा भने नेल आर्ट, मेकअप आर्ट, आईलेस आर्ट, हेयर कट एन्ड स्टाइल र सैलुन प्रशिक्षण हुनेछ। यस्तै, पुरोहित विधामा पुरोहित र ज्योतीषसम्बन्धी प्रशिक्षण रहने महानगरले जनाएको छ। 

को–को छन् प्राथमिकतामा?
नजानेकालाई सीप सिकाउने, सीपको आधारभूत तालिम लिएकाहरूको वृद्धिविकास हुने र  बजारमा सीपयुक्त जनशक्ति उत्पादन हुने महानगरको भनाइ छ। महानगरले तालिममा महानगरका करदाता, सिसडोल तथा बन्चरेडाँडाबासी र फुटपाथ व्यापारीहरूलाई प्राथमिकतामा राखेको छ। यसका साथै सीप सिकेर स्वरोजगार बन्न चाहनेहरू महानगरका लक्षितवर्ग हुन्।

विगतमा गैरकानूनी रूपमा सडकमा व्यापार गरिरहेका सडक व्यापारीलाई यस कार्यक्रममा जोड्ने महानगरको योजना छ। यसले सीप सिकाउन मात्र नभई अनौपचारीक क्षेत्रको अर्थतन्त्रमा रहेका व्यक्तिलाई औपचारीक अर्थतन्त्रमा रूपान्तरण हुने महानगरका सहप्रवक्ता दीपक अधिकारी बताउँछन्।

“अनलाइनबाट ५ हजारले आवेदन दिएका छन्। त्यसमध्ये हामीले तालिमको उच्च आवश्यक भएका वर्गहरूलाई प्राथमिकतामा राखेका छौँ,” उनले भने। उनका अनुसार महानगरले यस वर्ष १५ हजारलाई तालिम दिने लक्ष्य राखेको छ।

रोजगारीको अवसर 
तालिमको अन्तिममा रोजगार मेला रहने महानगरले जनाएको छ। सहप्रवक्ता अधिकारीका अनुसार तालिमपछिको तीन दिन सरकारी, गैरसरकारी, निजी, उद्योग तथा वाणिज्य क्षेत्रलगायतका रोजगारदातासँग सम्पर्कका लागी सहजीकरण गरिने छ। जहाँ उनीहरूले आफूले सिकेको सीप, दक्षता र सहजताअनुसार रोजगारीको अवसर पाउने छन् भने रोजगारदाताले पनि सीपयुक्त जनशक्ति पाउने छन्।

“रोजगारदाताले पनि जनशक्ति प्राप्त गर्छन् भने ट्रेनरले रोजगारी पाउँछन्। यसले बेरोजगारी पनि घट्ने र अर्थतन्त्रमा केही टेवा पुग्ने हाम्रो अपेक्षा छ,” सहप्रवक्ता अधिकारीले भने।

सीप विकासका लागि महानगरले अन्य तालिमसमेत संचालन गरिरहेको छ। महानगरको गौरव योजनाअन्तर्गत 'रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि' कार्यक्रममा ३४ भन्दा धेरै पेशाका सीपमुलक तालिम रहेको सहप्रवक्ता अधिकारी बताउँछन्। उनका अनुसार साइबर सेक्युरेटीमा ४ हजार व्यक्तिलाई तालिम प्रदान गरिँदैछ।

"अहिले साइबर सेक्युरेटीको तालिम दिइरहेका छौँ, जहाँ ४ हजार जनाले तालिम लिँदैछन्। यससँगै सुरक्षा गार्डका तालिमसमेत संचालन गरिँदैछ," उनले भने।
 


सम्बन्धित सामग्री