Monday, April 29, 2024

-->

किन बढ्दैछ मानिसमाथि बाघको आक्रमण?

बाघ र जंगल बढाउन जोड दिएको सरकारले वनजंगलमा आश्रित समुदायको वैकल्पिक रोजगारीमा ध्यान नदिँदा बाघको आक्रमणबाट मानिसहरूले ज्यान गुमाइरहेका छन्।

किन बढ्दैछ मानिसमाथि बाघको आक्रमण 

काठमाडौँ– बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका–९ सतखलुवा तालनजिक बाघको आक्रमणमा परी मंसिर १२ गते एक जनाको मृत्यु भयो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार अघिल्लो दिन बाघको आक्रमणमा परी घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो। 

त्यसअघि मंसिर ८ गते मकवानपुर जिल्लाको मनहरीमा बाघको आक्रमणमा परी चितवनको राप्ती नगरपालिका–१ दुबिचौरका ४३ बर्षीय हरि पौडेलको मृत्यु भएको थियो। सोही बाघले ज्यान लिएको अर्का एक व्यक्तिको आधा शरीर जंगलमा भेटिएको थियो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार गत साउनयता बर्दिया, चितवन र पर्सामा गरी बाघको आक्रमणमा परेर आठ जनाको मृत्यु भएको छ। आर्थिक वर्ष २०७५/७६ देखि २०८०/८१ को मंसिर मध्यसम्ममा बाघको आक्रमणबाट नेपालमा ६६ जनाले ज्यान गुमाएका छन् भने ५३ जना घाइते भएका छन्। 

सरकारले पाटे बाघको संख्या वृद्धि गर्न सन् २००९ देखि गरेको प्रयासअनुरूप नेपालमा बाघको संख्या पर्याप्त मात्रामा वृद्धि भयो। त्योसँगै बाघबाट मानिसमाथि हुने आक्रमणका घटना पनि बढे। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक सिन्धु ढुंगाना बाघको संख्या बढेकै कारण समस्या देखिएको बताउँछन्। “बाघको संख्या नै धेरै भएर अहिले चितवन र बर्दियामा समस्या देखिएको छ,” उनी भन्छन्, “अब हामीले वन क्षेत्र बढाउन सक्दैनौँ। जनावरको संख्यामै नियन्त्रण गर्नुको विकल्प छैन।”

सन २०२२ को गणनाअनुसार नेपालमा बाघको संख्या ३५५ छ। सरकारले बाघ तथा वन क्षेत्र बढाउन राखेको लक्ष्यअनुरूप नै दुवैको विस्तार भएको छ। विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्रप्रमुखको सन् २०१० मा रसियाको सेन्ट पिट्सबर्गमा भएको सम्मेलनले बाघको संख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो। 

त्यसैअनुसार सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या २४२ हुनुपर्नेमा लक्ष्यभन्दा पनि बढी वृद्धि भयो। यस अवधिमा वन क्षेत्रसमेत ४५ प्रतिशत पुग्यो। सन् १९९५ यता नेपालमा बाघको संख्या क्रमिक रूपमा बढेको छ। सन् १९९५ मा ९८ वटा बाघ रहेकोमा २००० मा १०९, २००५ मा १२६, २००९ मा १२१ र २०१३ मा १९८ पुगेको थियो। भने २०१८ को गणनामा नेपालमा २३५ बाघ पाइएका थिए। 

प्राकृतिक स्रोतसाधन र स्थानीय समुदायको पक्षमा बहसपैरवी गर्दै आएका अधिवक्ता दिलराज खनाल सरकारले मानवीय मूल्यलाई भन्दा बाघलाई प्राथमिकता दिँदा समस्या निम्तिएको बताउँछन्। “सरकारले बाघ बढाउने निर्णय गरेसँगै वनजंगल जानुपर्ने स्थानीय समुदायको बाध्यतालाई सम्बोधन गर्ने योजना बनाएर उनीहरूको जीविकोपार्जनमा ध्यान दिनुपर्थ्यो। तर मानवीय समस्यालाई भन्दा बाघलाई प्राथमिकता दिइयो,” खनाल भन्छन्, “मान्छेको जीवनसँग बाघको तुलना हुन सक्दैन। तर यहाँ मान्छेभन्दा बाघ ठूलो भन्ने भाष्य निर्माण गरियो।”

बाघलाई ओहोरदोहोर गर्नका लागि छुट्ट्याइएका करिडोरमा समेत बाघले बासस्थान बनाउँदा समस्या थपिएको हो। उदाहरणका लागि बर्दियाको मधुवनबाट भारतको कतर्नियाघाट जोड्ने करिडोर पहिले उजाड थियो। बाघ वृद्धि गर्ने सरकारको लक्ष्यसँगै उक्त करिडोरमा वृक्षारोपण गरेर वन बनाइयो। तर अहिले त्यस क्षेत्रलाई नै बाघले स्थायी बासस्थान बनाए। सरकारको लक्ष्य पूरा भए पनि त्यसको नकारात्मक असरले मानिसहरूमाथि बाघको आक्रमण बढ्यो। “करिडोर भनेको वन्यजन्तु ओहोरदोहोरका लागि छुट्ट्याइएको बाटो हो। तर अहिले ती ठाउँलाई नै बाघले आफ्नो बासस्थान बनाए,” ढुंगाना भन्छन्। 

विकल्प के छ? 
दिनहुँजसो बाघले मानिसमाथि आक्रमण गर्न थालेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई बाघ व्यवस्थापन टाउको दुखाइको विषय बनेको छ। “अब समस्याग्रस्त बाघ राख्ने ठाउँ पनि छैन। हप्तैपिच्छे बाघले मान्छेमाथि आक्रमण गर्न थालेपछि व्यवस्थापनकै समस्या भयो,” महानिर्देशक ढुंगाना भन्छन्, “अब विकल्पका बारेमा सोच्न ढिला गर्नुहुन्न।” 

अहिले ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा ६ तथा चितवन र बर्दियामा नौ गरी १५ वटा समस्याग्रस्त बाघ राखिएका छन्। विभागका महानिर्देशक ढुंगाना बाघ व्यवस्थापनका तीनवटा विकल्प सुझाउँछन्। समस्याग्रस्त बाघ राख्न अन्यत्र पनि खोर बनाउने वा चिडियाखानाजस्तै ठूलो क्षेत्रलाई घेरेर बाघले फोड्न नसक्ने तारजाली लगाई समस्याग्रस्त बाघलाई राख्ने र त्यहाँ टिकट काटेर बाघ दृश्याअवलोकनको व्यवस्था गर्ने उनले देखेका दुई विकल्प हुन्। 

तेस्रो विकल्पमा मित्र देशहरूलाई उपहारका रूपमा पाटेबाघ प्रदान गरेर बाघको संख्या घटाउन सकिने ढुंगानाको भनाइ छ। बाघकै विषयमा विद्यावारिधि गरेका राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञ डा. चिरञ्जिवी पोखरेल भने बाघको संख्या प्राकृतिक रूपमै नियन्त्रण हुने बताउँछन्। “हामी आत्तिनु पर्दैन। संख्या बढेसँगै प्राकृतिको निमयबाटै बाघको संख्या स्थिर हुन्छ। हामीले उनीहरूको बासस्थानलाई डिस्टर्ब गर्नु भएन,” पोखरेल भन्छन्। 

उनका भनाइमा मानिसहरूमाथि बाघले गरिरहेको आक्रमण कम गर्न तत्काल सरकारले नीति नै बनाएर प्रभावित क्षेत्रका समुदायको समस्यालाई सम्बोधन गर्नुपर्छ। “बाघले बस्तीमा आएर आक्रमण गरेको होइन, अहिलेसम्मका आक्रमण जंगल क्षेत्रमै भएको देखिन्छ,” उनी भन्छन्, “प्रभावित क्षेत्रका मानिसलाई जंगलमै जानु नपर्ने गरी जीविकोपार्जनको वैकल्पिक व्यवस्था गर्नु जरुरी छ।”

बाघले किन गर्छ आक्रमण?
बाघले मानिसलाई सितिमिति आक्रमण गर्दैन। विज्ञहरूका अनुसार बच्चासँगै भएको पोथी बाघ, पोथी र भालेबीच संसर्गको अवस्था र बूढो भई शिकार गर्न अशक्त तथा आफ्नो अधिनक्षेत्र बनाउने क्रममा भाले–भाले बाघबीच लडाइँ हुँदा कमजोर भएको बाघ आक्रामक हुन्छ। त्यसबाहेक मानसिक रूपमा समस्यामा भएको बाघले पनि मानिसलाई आक्रमण गर्छ।

पोखरेलका अनुसार बाघले ‘होम रेन्ज’ र ‘टेरिटोरी’ गरी दुई प्रकारले आफ्नो इलाका निर्धारण गर्छ। ‘टेरिटोरी’ बाघको लागि महत्वपूर्ण हो। यस्तो क्षेत्र एउटा वयस्क भाले बाघले ५० देखि ६० वर्ग किलोमिटरसम्मलाई बनाउँछ। यस्तै, पोथी बाघले २५ देखि ३० किलोमिटर क्षेत्रलाई आफ्नो ‘टेरिटोरी’ बनाउँछ।

आफ्नो क्षेत्रभित्र एउटा बाघले अर्को बाघलाई प्रवेश गर्न दिँदैन। “बाघको मुख्य प्रतिस्पर्धा पोथीसँगको संसर्गमा हुन्छ। एउटा भालेले चार–पाँच वटा पोथीलाई आफ्नो क्षेत्रभित्र पार्न प्रयास गर्छ,” पोखरेल भन्छन्, “यस्तो क्षेत्र सबैतिर बराबरी हुँदैन। आहारा धेरै भएको ठाउँमा बाघको घुमफिर कम हुन्छ।”

विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ) का संरक्षण कार्यक्रम प्रमुख शिवराज भट्ट बाघले आहारा बनाउने जनावर सबै ठाउँमा समान छन् कि छैनन् भन्ने अध्ययन हुनुपर्ने बताउँछन्। “बाघको संख्या पनि बढ्यो, मान्छेको संख्या र गतिविधि पनि बढ्यो। त्यसकारण द्वन्द्वका घटना भएका छन्,” भट्ट भन्छन्, “आहारा प्रजाति सबै ठाउँमा समान नभए बाघ बाहिर आउँछ र मान्छेलाई आक्रमण गर्न सक्छ।”


सम्बन्धित सामग्री