टोपबहादुर रायमाझीले ‘धोका’ दिएका कारण गल्ती दोहोरिएला भनेर पुलिस चनाखो थियो। तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको पक्राउपछि सामान्य अनुसन्धानसँगै तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको पालो आइसकेकाले उनको निगरानी गरिरहेको थियो। पक्राउ गर्न यथेष्ट प्रमाण पुगे पनि पुलिसले ‘माथिबाट’ ग्रिन सिग्नल पाइसकेको थिएन।
बालुवाटारमा मंगलबार तीन शीर्ष नेता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीको वार्तापश्चात् ‘येलो सिग्नल’ पाउनासाथ पुलिसले खाँणको मैजुबहालस्थित अस्थायी मुकामको रेकी गर्न थाल्यो। बिहान सखारै ३ बजे त इन्सपेक्टर राजन लामाको नेतृत्वमा १० जनाको टोलीले खाँण बस्ने दुईतले घरलाई थाहा नहुनेगरी घेरा हालिसकेको थियो। खाँण भित्रै त छन् भन्नेमा पुलिस टोली विश्वस्त भए पनि पुरै ढुक्क चैँ थिएन।
पुलिसलाई चक्मा दिएर राति नै कतै सुइकुच्चा त ठोकेनन् भन्ने हल्का शंका चाहिँ थियो। उज्यालो भएपछि घरमा हल्का आवतजावत देखिन थाल्यो। खाँण सिँचाइमन्त्री हुँदा पीए रहिसकेका जन्मजय तिम्सिना घरमा छिरेपछि चाहिँ पक्राउ गर्नुपर्ने पात्र घरमै रहेकामा पुलिस टोली ढुक्क भयो। खाँण गृहमन्त्री छँदा पनि पुलिसको सरुवामा उठ्तीपुठ्ती गरी लिस्ट बनाउन तिम्सिना सक्रिय रहेकाले उनलाई पक्राउ गर्न पुगेका पुलिसले चिनेका थिए।
यसैबीच पक्राउ गर्न ‘ग्रिन सिग्नल’ पाएपछि अन्दाजी साढे नौ बजे इन्सपेक्टर लामा नेतृत्वको टोली घरभित्र छिर्यो। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीको नेतृत्वमा ६ जनाको टोली पनि पुग्यो। दोस्रो तलामा रहेका खाँणले पुलिससँग आमनेसामने हुनेबित्तिकै मुख छाडे। ट्रयाकशूटमा सजिएका खाँण लुगा फेर्छु भन्दै कोठाभित्र छिरे। तर कोठाबाट निस्किने छाँट नदेखिएपछि पुलिसले ढोका खोल्न बल प्रयोग गर्न थाल्यो, ढोका खुल्यो।
फेरि पनि गृहमन्त्रीवाला रवाफ देखाउन थालेपछि चाहिँ पुलिस हत्कडी लगाएर घिसार्ने मूडमा पुगिसकेको थियो। हत्कडी नलगाई नियन्त्रणमा लिने आदेश पाएका इन्सपेक्टर लामाले हत्कडी लगाउनै पर्ने अवस्था आएको भन्दै कमान्डर (जिल्ला प्रहरी प्रमुख दानबहादुर कार्की)सँग अनुमति मागेका पनि थिए। तर उनले हाकिमबाट हत्कडी लगाउने अनुमति पाएनन्। जिल्ला प्रहरी कार्यालय र महाशाखाको गाडी स्टाण्डबाई थिए। पक्राउ परिसकेपछि पनि खाँणले निहुँ खोज्न छाडेनन्। उनी अब आफ्नै गाडीमा जान्छु भनेर अड्डी कसे। अन्ततः पुलिस टोली खाँणलाई उनकै गाडीमा ल्याउन रेडी भयो।
पक्राउ परेको केही बेरमै ‘ब्रेकिङ’ आउन थालिहाल्यो। न्यूजले सामाजिक सञ्जाललाई जुरुक्क पारिहाल्यो। सामाजिक सञ्जालमा विक्षिप्तजस्ता सुनिने नेपालीहरू तनावमुक्त देखिए, हर्षविभोर सुनिए। मोरक्को पहिलोचोटि विश्वकपको सेमिफाइनलमा पुग्दा त्यहाँ देखिएको हर्षोल्लासलाई नै सम्झायो। काण्डमा नाम आए पनि कानूनले कठालो नसमातिसकेका एकाध पात्र समातिए त नेपालीहरू अस्ति अर्जेन्टिनाले विश्वकप उचाल्दा अर्जेन्टिनी खुशी भएकै स्तरमा खुशी हुने सम्भावना देखिदैछ।
गणेशमान सिंहले विश्वास गरी पञ्चायतकालमै नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका खाँणको गिरफ्तारीमा यस्तो खुशी किन त? मानवशास्त्री सुरेश ढकालका अनुसार चाँडै आश गर्ने, झन् चाँडै निराश भइहाल्ने, खुशी भइहाल्ने फेरि उत्तिनैखेर रिसाई पनि हाल्ने नेपालीको आमचरित्र नै हो। कुनै घटनाको दीर्घकालीन प्रभावबारे वास्तै नगरी आशे र निराश भइदिइहाल्छन्। राजनीतिक नेतृत्व चरित्रको कारण झन्डै विक्षिप्त जस्तो सुनिने समूहमा, एउटा निर्णायक तहमा पुगेको र चरित्र गतिलो नठानिएको पात्रको पक्राउमा खुशीयाली त्यसैको प्रतिविम्ब हो।
“खाँण खोरमा पुग्दा देखिएको खुशीले उनीभन्दा पनि अझ उपल्लोस्तरको बदनाम अनुहार पनि समातिने आश र आदेश दुवै छ,” उनी भन्छन्। खाँणको शेरबहादुर देउवासँगको निकटताले पनि खुशीमा मलजल गरेको छ। "पछिल्ला दिन देउवासँग उनको सम्बन्ध कस्तो थियो, ‘भाउजू’ सँग र्याङठ्याङ मिलेको थियो कि थिएन हामीलाई थाहा हुने होइन,” भन्छन्, “आममानिसका लागि उनी देउवा दाजु र भाउजूका कोरटिम सदस्य हुन्, यसैले नागरिक खुशी छन्।”
नेविसंघको अध्यक्ष भएकै कारण २०४८ सालको आमचुनावमा रुपन्देहीबाट टिकट पाएका खाँण कांग्रेसभित्र गिरिजाबाबु भर्सेज किशुनजी शक्ति संघर्षमा किशुनजी समर्थक छत्तीसे समूहमा थिए। छत्तीसेकै कारण २०५१ मा गिरिजाप्रसादको सरकार गिर्यो, मुलुक मध्यावधि चुनावमा धकेलियो। खाँण पनि चुनावमा हारे। तत्पश्चात् उनले गिरिजाबाबुसँग नजिकिने प्रयत्न थाले। लिला कोइरालामार्फत् गिरिजानिवास प्रवेश गरे। “पहिले उनले मैयाँ भाउजूलाई गल्ती गरेँ भनेर कोइरालाहरूकै छत्रछायाँमा रहन चाहेको फरियाद गरे,” कोइरालाकै तत्कालीन एक सहयोगी भन्छन्, “गिरिजाबाबुलाई भेट गराइदिएपछि आत्मालोचित हुँदै आफूलाई स्वीकार्न अनुरोध गरे।”
कोइरालाले पनि चाँडै नै पुनर्जीवित तरुण दलको पहिलो अध्यक्ष नै बनाइदिएर उनले गुटमा स्वागत गरे। सबै जिल्लामा तरुण दल विस्तार गरे। उनी नेतृत्वको तरुण दलले पहिले त भ्रष्टाचारविरुद्ध मुहिम छेड्ने भन्दै जिल्ला-जिल्लामा मालपोतका खरिदार त कहिले नापीको अमिन अनि सडक/सिँचाइको ओभरसियर, अकाउन्टेन्टलाई कालोमोसो दल्न थाल्यो। पहिलो चरणमा यसरी त्रास सिर्जना गरेपछि असुलीधन्दा शुरू भयो। भ्रष्टाचार बढी हुने सरकारी अड्डाहरूबाट ‘हप्ता असुली’ थालियो। निर्माणसम्बद्ध अड्डाहरूबाट बिनाप्रतिस्पर्धा दिइने झिनामसिना काममा तरुण दललाई भागवण्डा छुट्याउनपर्ने भयो।
तरुण दलको अध्यक्ष हुँदै ठेकेदार बनेका इन्द्र बानियाँ ठेक्कापट्टा र राजनीतिलाई समानान्तर चुल्याउदै अहिले कांग्रेसको बागमती प्रदेश अध्यक्ष छन्। सर्लाहीमा त्यति बेला तरुण दल अध्यक्ष भएका हरेश महतोले पनि दुवै धन्दालाई अघि बढाउदै दोस्रो संविधान सभामा सदस्य भए, पटक–पटक टिकट पाए। ठेकेदारी पनि जारी छ। तरुण दलले अपनाएको ‘मोडस अपरेन्डी’ कालान्तरमा अरू धेरैले पछ्याए। यस्तो असुली धन्दालाई शिखरमा पुर्याउने चाहिँ कम्युनिस्टहरू भए, कहिले वाइसीएल त कहिले युथफोर्स (युवा संघ) अनि कहिले विप्लवको पार्टी।
उतिबेला तरुण दल डुङ्डुङ्ती गन्हाउन थालेपछि पार्टी सभापति कोइरालाले नै तरुण दल भ्रष्ट हुँदै गएको सार्वजनिक अभिव्यक्ति दिनुपरेको थियो। बहुविवाहका कारण उनको नैतिक धरातल पनि कमजोर भइसकेको थियो। पहिलो पत्नीसँगै रहँदा नै दोस्रो विवाह गरेका थिए नै, मञ्जु खाँणसँग विवाह गर्दा उनका पूर्वपति तेजबहादुर कार्की (त्यति बेला न्यायाधीश)ले आर्जन गरी श्रीमतीका नाममा राखेका सबै सम्पत्ति लग्दिएको बात पनि लागेको थियो। कार्कीले गिरिजाबावु लगायतका कांग्रेस नेताहरूलाई भेटेर दुःखेसो गरेका थिए।
२०५६ सालको चुनावमा उनले यसअघि जितेको पनि हारेको पनि रुपन्देही–३ बाट सूर्यप्रसाद प्रधानले टिकट पाए र जिते पनि। पार्टीभित्र कोइराला भर्सेज शेरबहादुर देउवा अन्तरसंघर्ष चर्किदै गर्दा उत्कर्षतिर बालकृष्णले गुलाटी मारे, शेरबहादुर देउवाको ‘क्षेत्री ग्याङ’ सदस्य हुन पुगे। पहिलो संविधानसभामा कांग्रेस, एमाले माओवादीसित ‘चारो खानो चित’ खाँदै गर्दा रुपन्देहीबाट चुनाव जित्न सफल भएपछि राजनीतिक कद स्वतः हलक्क बढ्यो। र, त्यही कालखण्डमा माधव नेपाल नेतृत्वको सरकारमा पहिलोचोटि मन्त्री (सिँचाइ) पड्काए। दोस्रो संविधानसभामा पनि झिनो मतान्तरले सही, एमालेका घनश्याम भुसाललाई मात दिन सफल भए। २०७४ सालको आमचुनावमा हार सुनिश्चित देखेपछि समानुपातिकतर्फ खस/आर्य क्लष्टरको एक नम्बरमा नाम पारेर सांसदको पगरीलाई निरन्तरता दिए। दीपक बोहोरासँग राम्रै मतान्तरले उत्तानो भएको त अस्ति भक्खरकै कुरा भयो।
२०६५ सालमा सिँचाइमन्त्री भएपछि उनको द्रव्यमोह नै देखियो। कतिसम्म भने त्यतिवेला सिँचाइका इन्जिनियरहरू अफगानिस्तानमा राष्ट्रसंघसम्बद्ध परियोजनामा एकाध वर्ष काम गर्न बेतलबी बिदा लिएर जान्थे। खाँण मन्त्री हुनुअघि यसरी जाने इन्जिनियरहरूको घूस नखुवाईकनै बिदा स्वीकृत हुन्थ्यो। खाँणका पीएले चाहिँ इन्जिनियरले अफगानिस्तानमा काम गर्दा पाउने तलब हिसाब गरेर एकतिहाई रकम प्रिपेडमा मन्त्रीज्यूका लागि भनेर माग गर्न थाले। २०७३ सालमा पुष्पकमल दाहाल नेतृत्वको रक्षामन्त्री बने। हाम्रामा रक्षामन्त्रीको कामै सेनाले घरप्प बुट बजारेर गर्ने सलाम खाने र तिनले भनेका फाइल सदर र फरवार्ड गर्ने हो, त्यतिमै सीमित रहे। उनले सेनालाई नाफामूलक काम दिन मन्त्रिपरिषदमा लगेका फाइल फिर्ता पनि भए।
गृहमन्त्रीका रूपमा उनको डेढवर्षे कार्यकाल यसअघि मन्त्रीका रूपमा उनका कार्यकालभन्दा लामो थियो नै, द्रव्यमोह पनि चुलिएकै थियो। पुलिसमा अधिकांश सरुवा/बढुवा लेनदेनले प्राथमिकता पायो। लेनदेनका भरमा पुलिस मनलाग्दी सरुवा र काज सरुवा गरिएको र उठतीपुठ्ती गरी सूची बनाउनेमा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य रामहरी खतिवडा (हाल सांसद पनि), पीए नरेन्द्र केसी, साथी प्रमोद शर्मा परिचालित भएको भनेर २०७९ साउन २३ गतेको नयाँ पत्रिकामा नवराज मैनालीले विस्तृत रिपोर्ट लेखेका थिए। उनका यस्तै हर्कतकै कारण हुनुपर्छ, पत्रकार गजेन्द्रसिंह बुढाथोकीले खाँण पक्राउ परेसँगै ट्विट गरे, ‘श्रीमान् खाँण र श्रीमती खाँणको नाममा असुलीधन्दा चलाइरहेकाहरूको पनि छानबिन गरियोस।’ हालै वीरगन्जमा खाँणको पालामा सरुवा भएका सीडीओले ५ हजार रुपैयाँधरि घूस खाएको र ‘ब्लेकिया’ सँग रेष्टुरेण्टमै बसेर बार्गेनिङ गरेर सीडीओ पदको हुर्मतै लिए भनेको सुनियो।
खाँणको टोलीले सूची बनाएपनि सरुवा–बढुवामा प्रधानमन्त्री निवासबाट फरक नाम सिफारिश आए तदनुरूप नै गर्नू भन्ने उनको निर्देशन थियो। विगतमा विमलेन्द्र निधी गृह तथा उपप्रधानमन्त्री छँदा नै देउवा–निधी मनमुटाव शुरू भएको थियो भन्दै आफू त्यसमा सतर्क रहेको उनी बताउँथे। कांग्रेसको चौधौ महाधिवेशन नजिकिँदै गरेको समय थियो। गृहमन्त्री खाँणले काठमाडौं प्रहरीका प्रमुख अशोक सिंहको सरुवा गर्न निर्देशन दिए। विवादमा परिरहने सिंहको सरुवा गर्न आइजिपीले एकैछिन पनि बेर लगाएनन्। सरुवा कार्यान्वयन नहुँदै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव तथा भतिजा भानु देउवाले महाधिवेशनमा सिंहको सहयोग चाहिने भन्दै सरुवा कार्यान्वयन नगर्न भने। आइजिपीले सोबारे अवगत गराउनासाथ गृहमन्त्री खाँणले ‘भानुले भने बमोजिम नै’ गर्न भने।
गृहमन्त्रीको निर्देशनमा भएको सरुवालाई यसरी स्थगित गर्दा गृहमन्त्रीकै प्रतिष्ठामा आँच पुग्छ भन्दा पनि खाँणले उही कुरा दोहोर्याए, “म प्रधानमन्त्रीसँग मनमुटाव हुने काम गर्दिनँ।” उनको निर्देशनअनुसार हुन लागेका सरुवा–बढुवाका कतिपय निर्णय भानु देउवाको फोनकै कारण परिवर्तन हुन्थे। खाँणकालीन एक प्रहरी महानिरीक्षकले मलाई बताएअनुसार भक्तपुरको जगातीको प्रहरी कार्यालयको इञ्चार्जमा उनले एक जनालाई सिफारिश गरे, तर सरुवाको चिठी बुझाउन नपाउँदै भानुले अर्कैको नाममा फोनमार्फत् टिपाए। जानकारी गराउदा खाँणले भनिहाले, “ओहोहो भानुले भनेकै गर्दिनू, मेरो मान्छेलाई अर्कै राम्रो ठाउँमा पार्दिनू।”
२०७३ सालमा खाँण रक्षामन्त्री बने। भूकम्पपछि रक्षा मन्त्रालय सुरक्षा परिषद् सचिवालयमा सरेको बेला थियो। सचिवालयका सदस्य–सचिव (सेनाको उपरथी) को कार्यकक्षलाई मन्त्रीको कार्यकक्ष बनाइएको थियो। खाँणले अफिसमा आफूले शौच गर्ने कमोडको वास्तु नमिलेको भन्दै फोडेर अर्को बनाउन भने। कमोडअनुसार पूर्वपट्टि फर्केर आफूले लघुशंका गर्न नमिल्ने भन्दै उल्टो परेको उनको दलील रह्यो। कमोड निकाल्नपर्ने भएपछि नयाँ कमोड किन्न पर्यो, दिशा परिवर्तन गर्दा पाइपलाइन आदि समेत फेर्नुपर्ने भयो। सैनिक जनरल रातबिरात अफिसमै बस्न पनि पर्ने भएकाले सावरको राखिएको थियो, मन्त्रीले त्योपनि वास्तुअनुसार नमिल्ने भन्दै हटाउन भने।
यसरी शौचालय नै फोडफाड गर्नुपर्ने भएपछि उतिबेलै चार लाख रुपैयाँभन्दा बेसी खर्च भएको थियो। पछि त्यही टोलीले २०७४ सालको आमचुनावमा नयाँ शक्ति पार्टीबाट निर्वाचित डा. बावुराम भट्टराईका लागि सिंहदरबारमा अट्याच्ड शौचालय सहितको अफिसको बन्दोबस्त गर्नुपर्यो। शौचालय नयाँ बनाउनुपर्ने भयो। खाँणकै जस्तै लफडा नहोस् भनेर डाक्साब तपाईं वास्तु मान्नुहुन्छ कि भनेर सोध्दा ‘हैट यो वैज्ञानिक जमानामा केका वास्तु र सास्तु’ भने। र, सोधे पनि, “तपाईंहरूले वास्तुको कुरा मलाई किन सोध्नुभयो?” खाँणका लागि शौचालय फुटाउनु परेको सुनाएपछि भट्टराईको टिप्पणी थियो, “एउटा निबन्ध लेख्ने हुती छैन, तिनैलाई चाहिएको छ वास्तु।” कुन दिशा फर्केर शौच गर्ने भन्नेमा वास्तुविचार गर्ने खाँणले पैसा लेनदेनमा कतै ‘वास्तु’ हेरेको देखिएन। अहिलेसम्म सतहमा आएका सूचनाले त भूटानी शरणार्थीलाई तेस्रो देश पुनर्वास गराउने अध्याय नै इतिश्री भइसकेको अवस्थामा नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने कामलाई उनले अघि बढाएका छन्।
आर्थिक मामिलामा ‘वास्तु’ विचार नगर्दा खाँणको राजनीतिक भविष्यमै खग्रास ग्रहण लागेको देखिँदैछ। मुलुकमा जारी कुशासनको दौरअनुसार मानौं उनको मुद्दालाई कमजोर बनाएर अदालतमा पेश गरिएला रे, अथवा अदालतले खाँणकै चरित्र अनुशरण गरी ‘बाइज्जत बरी’ गर्देला रे। तैपनि पूर्वावस्थामा पुग्न फलामको च्यूरा नै देखिन्छ। नागरिक बासी, भ्रष्ट नेताबाट आजित भई नयाँको खोजीमा लागिसकेको माहोल जो छ। देउवाको कोर टिम सदस्य भनिए पनि, त्यो विगतको कुरा भैसक्यो।
देउवाको गुटभित्रै पनि पूर्णबहादुर खड्का र डा. आरजु देउवा नेतृत्वमा दुई उपगुट छन्, जसमा खाँण खड्का उपगुटका हुन्। प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, मोहन बस्नेत आदि डा. आरजु उपगुटका सदस्य हुन्। देउवाले प्रकाशशरण महतलाई महामन्त्री उम्मेदवार बनाउनकै लागि खाँणलाई गृहमन्त्रीमा सेटल गरेका थिए। तर चौधौँ महाधिवेशनमा महतविरुद्ध अन्तर्घात गरेको बात उनीमाथि लाग्यो। परिवारपछि सम्भवतः सर्वाधिक प्रिय प्रकाशशरणलाई हराइएकोमा देउवाले नै चित्त दुखाएका छन्। गत चुनावमा पनि डा. आरजु उपगुट महाधिवेशनको बदला लिन खाँणलाई अन्तर्घात गर्न सक्रिय थियो।
२०७३ सालमा प्रचण्ड नेतृत्वको सरकारमा बिमलेन्द्र निधी गृहसहित उपप्रधानमन्त्रीको रूपमा सरकारमा कांग्रेसको नेतृत्व गरेका वेला डा. आरजु देउवाले आफ्नो रोजाइका लोकदर्शन रेग्मीलाई गृहसचिव बनाएर मन्त्रालयको काममा दैनन्दिन ब्रिफिङ लिई मन्त्रालयको काममा हस्तक्षेप गर्न थालेपछि देउवा–निधी मनमुटाव शुरू भएको थियो। यसैले खाँणकालीन गृहमा त देउवा परिवारको चासो र हस्तक्षेप झन् नहुने कुरै भएन।
सत्तामा पहुँच हुने स्रोतहरूका अनुसार टेकनारायण पाण्डे देउवाका नातेदार भूषण राणाका सहयोगी तारा सापकोटामार्फत् देउवा परिवारमा पहुँच पुर्याएर गृह मन्त्रालयमा पुगेका थिए। यसैले राज्यप्रायोजित मानवतस्करीको उद्योगको जालो कताकतासम्म फैलिएको छ, अनुमान गर्न सकिन्छ। मूल कुरो सरकारको नेतृत्वले यसलाई कहाँसम्म लैजान चाहन्छ भन्ने नै हो। हाम्रो पुलिस भनेको नेतृत्वले निर्देशन र दबाब दिए अब्बल नतिजा निकाल्दिन्छ, तर नेतृत्वको इच्छाबेगर कुनै काम गरेर कुनै जोखिम मोल्देला भन्ने अपेक्षा गर्नु चाहिँ बढी नै हुन्छ।