Sunday, November 10, 2024

-->

तालिवानीबाट ज्यान बचाउन भागेर काठमाडौँ आएका अफगानीलाई छाक टार्नै समस्या

१० वर्षअघि तालिवानी विद्रोहीबाट ज्यान जोगाउन भाग्ने क्रममा काठमाडौँ आइपुगेका अफगानीहरू यता न उताको अवस्थामा हातमुख जोर्न संघर्ष गर्दैछन्।

तालिवानीबाट ज्यान बचाउन भागेर काठमाडौँ आएका अफगानीलाई छाक टार्नै समस्या
काठमाडौँको डेरामा मोहम्मद दाउद र उनको परिवार। तस्वीर : मुकेश/उकालो

काठमाडौँ– सधैँ व्यस्त हुने काठमाडौँको गोंगबु बसपार्क। देशका ७७ जिल्लाका मानिसहरू कुनै न कुनै रूपमा ठोकिन्छन् यो ठाउँमा। यही गोंगबु नजिक बसाइ छ– अफगानी नागरिक अहमद वाहिद गदरी (४५) को। ज्वरो, टाउको दुखाई लगायतका समस्याले उनकी श्रीमती उठेर बस्न समेत सक्दिनन्। श्रीमतीलाई अस्पताल पुर्‍याउने हतारोका बीच उकालोसँग कुराकानीका लागि समय निकालेका उनीसँग दुःखको भारी छ। 

तालिवानीका कारण १० वर्षअघि ज्यान जोगाउन परिवारसहित भागेर नेपालसम्म आइपुगेका उनी न नेपाल छोडेर जान सक्छन् न यहाँ काम गरेर पेटभरि खानसक्ने अवस्था नै छ। गदरी अफगानिस्तानको कान्दाहार विमानस्थलभित्र काम गर्दथे। तर तालिवानले उनलाई विमानस्थलभित्र कहाँ–कहाँ के–के छ भनेर सोध्न थाले। सामान्य निर्माण मजदूरीको काम गर्ने उनलाई विमानस्थलभित्रको अवस्थाबारे जानकारी हुने विषय पनि थिएन। 

“तपाईं यो कोठामा बसिरहनुभएको छ। अरू कोठामा जानु नै भएको छैन। तपाईंलाई अन्य कोठामा मेरो के–के सामान छ भनेर कसरी थाहा हुन्छ?” उनी भन्छन्, “मलाई कहाँ–कहाँ हतियार छ भनेर दबाब दिन थाले। घरमा दाजु र बुवालाई सोधखोज गर्न थाले। अनि अन्तमा बुवा र दाजुलाई घाँटी रेटेर हत्या गरे। त्यो घटनाले ज्यान जोगाउन देश छोडेको म नेपाल आइपुगेँ।” 

उनका बुवा र दाजुको विमानस्थलनजिक ग्रिल पसल थियो। ग्रिल तथा फलामका सामग्री विमानस्थललगायत सरकारी कामका लागि जान्थ्यो। उनका अनुसार सरकारी मानिसहरूसँग जोडिएर काम गर्नेहरू तालिवानको निसानामा पर्दथे। त्यही मेसोमा उनको परिवार पनि पर्‍यो। एयरपोर्टमै सम्पर्क भएका एक नेपाली र एक भारतीयले प्रतिव्यक्ति दुई लाख रुपैयाँ लिएर उनको तीन जनाको परिवारलाई दिल्ली हुँदै काठमाडौँसम्म ल्याइपुर्‍याए। 

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको ट्विन टावरमा अलकायदाले आक्रमण गरेपछि आतंकवाद अन्त्यको नाममा अमेरिकीसहित नेटोको गठबन्धन सेना अफगानिस्तान पस्यो। अमेरिकी सेनाको प्रवेशपछि तालिवानले सत्ता गुमायो। दुई दशकसम्म चलेको अफगानिस्तान युद्धमा करिब एक लाख ७६ हजार मानिसको मृत्यु भएको अनुमान छ। 

‘युनाइटेड स्टेट्स् अफ पिस’का अनुसार युद्धमा ४६ हजार ३१९ अफगानी नागरिक, ७० हजार अफगानी सेना र प्रहरी, ७० हजार विद्रोही र दुई हजार ३२४ अमेरिकी सेनाले ज्यान गुमाएका थिए। विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूका अनुसार अफगानिस्तानको युद्धका क्रममा करिब ६६ लाख मानिसहरू त्यहाँबाट विस्थापित भएको अनुमान छ। शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) का अनुसार ५.३ मिलियन अर्थात ५३ लाख अफगानीहरू छिमेकी देशहरूमा शरणार्थीका रूपमा दर्ता छन्।

गाँसबासकै समस्या 
ज्यान जोगाउन भारत हुँदै नेपाल आएका अफगानी नागरिकलाई नेपाल सरकारले शरणार्थीको मान्यता दिएको छैन। कागजविहीन उनीहरूलाई काठमाडौँमा गाँस–बासकै समस्या छ। शुरूताका काठमाडौँस्थित शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उचायुक्तको कार्यालय (यूएनएचसीआर) ले उनीहरूलाई निर्वाहभत्ता प्रदान गरे पनि चार वर्षदेखि कुनै प्रकारको सहयोग नदिएको मोहम्मद दाउद असफी बताउँछन्। 

उनको परिवार पनि प्रतिव्यक्ति दुई लाख रुपैयाँ दलाललाई बुझाएर काठमाडौँ आएको थियो। “दलालले दिल्लीसम्म जहाजमा ल्याइदियो। दिल्लीमा तीन घण्टा राखेर एउटा गाडीमा नेपालको सिमानासम्म ल्यायो। हाम्रा पासपोर्ट र सबै कागजपत्र त्यहीँ राखिदियो,” उनी भन्छन् “सोच्यौँ, काठमाडौँ पुगेपछि दिने होला। तर हामीलाई केही खबर नगरी गाडी चढाइदियो। हामीलाई काठमाडौँको गोंगबु ओरालेर गाडी फर्कयो।” 

मोहम्मद दाउद असफी कान्दाहार विमानस्थलभित्र सेनाको गाडी मर्मतका काम गर्दथे। तालिवानीले धम्की दिन थालेपछि ज्यान बचाउनकै लागि देश छोडेको बताउने उनी छोराछोरी सहित काठमाडौँमा बस्छन्। काठमाडौँमा अहिले सात अफगानी परिवारका ३२ जना छन्। पाँच वर्षअघिसम्म १७ जना मात्र थिए। तीमध्ये वृद्ध र असक्त तथा बिरामी भएकाहरूलाई युएनएचआरसीले नै तेस्रो मुलुक पठाएको उनी बताउँछन्। केही परिवार भने पाकिस्तान तथा इरानमा रहेका आफन्तहरूकहाँ पुगिसकेका छन्। 

अहमद वाहिद गदरी

जस्तो कि दुई वर्षअघि भेट्दा अहिद अहमद अदरी सहित एउटा तलामा तीन परिवार बसोबास गर्दथे। तर दुई परिवार इरान र पाकिस्तान पुगिसकेका छन् भने अहिले अहिद अहदम अदरीको परिवार मात्र बस्छ। साथीहरूले छोडेर गएपछि एक्लोपन महसुस भएको उनी बताउँछन्। 

यहाँ बसोबास गर्ने अफगानीहरूको मुख्य पेसा ज्यालामजदूरी नै हो। नियमित काम पाउन पनि गाह्रो र काम पाइहाले पनि पैसा पाउन गाह्रो भएको अहिद अहमद अदरी बताउँछन्। “ठेकदारले पैसा नदिएर दुःख दिन्छ। हामीलाई मानिसहरूले सिधा काम दिँदैनन्। ठेकदारमार्फत जाँदा पैसा नदिएर उल्टै दुःख दिन्छ,” उनी भन्छन्। 

अहिद अहमद अदरीले छ महिनादेखि घर भाडा बुझाउन सकेका छैनन्। “धन्न मेरा घरधनी सजिला छन्। पैसा भएको बेला दिँदा पनि मान्छन्। जबर्जस्ती गर्दैनन्। पसलवालाले पनि उधारो पत्याएका छन्। त्यसैले अहिलेसम्म बाँचिएको छ,” उनले भने। उनीहरूका अनुसार कोरोना भाइरसको महामारीअघि अहिलेजस्तो काम पाउन गाह्रो थिएन। तर महामारीपछि भने काम पाउन मुस्किल भइरहेको उनको अनुभव छ।

‘जेलजस्तै भयो’
यूएनएचसीआरले काठमाडौँमा बसोबास गरेकाहरूलाई शरणार्थीको रूपमा स्वीकार गरेको कागज दिएको छ। तर उक्त कागजका आधारमा काठमाडौँभन्दा बाहिर कहीँकतै यात्रा गर्न र काममा जान पनि नपाइने भएकाले आफूहरूका लागि जेलमा बसेजस्तै भएको मोहम्मद दाउद असफी बताउँछन्। “ठेकेदारले काठमाडौँबाहिर पोखरा लगायतका ठाउँमा जाने भए काम दिन्छु भन्छन्। तर हामीलाई त्यहाँ जाने र काम गर्ने अनुमति नै छैन,” उनी भन्छन् “काठमाडौँमा मात्र सीमित हुनुपर्दा पनि हामीलाई गाह्रो भयो। जहाँ जाँदा पनि साँझ फर्किनुपर्छ। काठमाडौँबाहिर जान त हामीलाई सम्भवै छैन।” 

शरणार्थी समस्यामा काम गर्ने यूएनएचसीआरप्रति पनि उनीहरूको गुनासो छ। कार्यालयले आफूहरूलाई यहाँबाट अन्य मुलुक पठाउनुपर्ने अथवा खान समस्या हुँदा सहयोग गर्नुपर्ने उनीहरूको माग छ। हमिदा युसुफी भन्छिन्, “काम नपाएर छाक नचल्दा यूएनएचसीआरमा जान्छौंँ। तर तिमीहरूलाई सहयोग गर्ने हाम्रो नीति छैन, काम गरेर खाऊ भन्छ। काम गरूँ, काम नै पाइँदैन।” 

बिरामी अथवा वृद्धावस्थाका परिवारलाई मात्र तेस्रो देश पठाइएकोमा असन्तुष्ट मोहम्मद दाउद आफूहरू मर्नका लागि यहाँ नआएको बताउँछन्। “हामी त ज्यान बचाउन पो यहाँ आएका हौँ, मेरा दिन जति दुःख पाएरै गए। तर छोराछोरीका लागि भए पनि यहाँबाट हामीलाई अन्यत्र जाने वातावरण मिलाइदिए पुग्थ्यो,” उनले भने।  

अफगानिस्तान फर्केकाहरू निगरानीमा 
अफगानिस्तानमा तालिवानले सत्ता हातमा लिएको दुई वर्षभन्दा बढी भयो। हिजोआज त्यहाँ पहिलाजस्तो दिनहुँ बमबारी र गोलाबारुद चल्दैन। देशमा शान्ति आएको भन्दै आफ्नो घर फर्केका अफगानीहरूलाई तालिवानीहरूले निगरानी गर्न र डरधम्की दिन भने अझै छोडेका छैनन्। काठमाडौंँमा बस्दै आएका अफिज उल्लाह कदरी सात महिनाअघि अफगानिस्तान फर्किए। घर फर्केपछि उनको घरमा निरन्तर तालिवानी सरकारका प्रतिनिधि र समर्थकले केरकार गर्न थाले। उनका ज्वाइँ अहमद वाहिद गदरीका अनुसार केरकारको शृंखला नटुंगिएपछि उनी अफगानिस्तानबाट पाकिस्तान हानिए। 

“यतिका वर्ष कहाँ बसेको? कहाँबाट आएको भनेर दिनदिनैजसो बयान लिन थालेपछि ससुरा पाकिस्तान जानुभयो,” उनी भन्छन्। उनलाई भने तालिवानीहरूले दाजु र बाबुलाई मारेको घटनाले अफगानिस्तान फर्कन मन छैन।


सम्बन्धित सामग्री