Saturday, April 27, 2024

-->

द कुरौटे फाइल्स
बालेन भर्सेस बालेन

बालेन भर्सेस बालेनको उल्झनबाट अगि बढ्ने, कि 'गजब दनक दियो' भन्नेहरूको काँधबाट बन्दुक चलाइरहने उनकै हातमा छ।

बालेन भर्सेस बालेन

केओस इज अ ल्याडर...
... अर्थात् अव्यवस्था एउटा भर्‍याङ हो।

एचबीओको चर्चित काल्पनिक सिरिज गेम अफ थ्रोन्समा एक अति महत्त्वाकांक्षी चरित्रले आफ्नो क्रुर कदम अर्थ्याउने क्रममा बोलेको संवाद हो यो– जहाँ उसले अनैतिक तवरबाट हासिल गरेको सानो सफलतालाई अर्को उत्तिकै महत्त्वाकांक्षी चरित्रसँगको चिट–च्याटका दौरान ‘अव्यवस्था कमजोरी हैन, मौका हो’ भन्दै न्यायोचित ठहराउने प्रयास गर्छ।

यी चरित्रहरू राज्यव्यापक बेतिथिका कारण मानिएको अक्षम शासकलाई गद्दिच्युत गर्न एकजुट भएर लागी पर्छन् (तर समयक्रममा आफैँ चरम अराजक हुन पुग्छन्)। त्यसपछि के हुन्छ– केहीलाई थाहा होला, केहीलाई नहोला, तर अगाडिको यो सन्दर्भबाहेक पछाडिको खेला हाम्रो बाँकीको कुराग्राफीसँग सम्बन्धित छैन।

माथिको परिच्छेदले तल चर्चा गर्न लागिएको प्रसंगसँग अनुपातिक मेल खाए हल्का संयोग हुनेछ। प्राकृतिक क्रममा चलिरहने सामाजिक गतिविधिहरूले अमेरिकी सिरिजबाट प्रेरणा लिँदैनन्। खासगरी ड्रयागन उड्ने सिरिजबाट। तर, तिनीहरूमा कोइन्सिडेन्टल रिफ्लेक्सन भेटिन सकिन्छ।

अब फर्किऔँ पोइन्टतिर।

कुरा हो २०७९ को। नेपाल देशको काठमाडौँ भन्ने महानगरमा, हल्का अव्यवस्था, हल्का प्रोक्रस्टिनेसन र थुप्रै असन्तुष्टिका थुप्राबीच एउटा चामत्कारिक व्यक्तित्वको उदय भयो। उनको 'अवतरण' चमत्कारभन्दा कम थिएन। पर्दापछाडि उनले निकै समयदेखि प्रशस्तै होमवर्क गरेका थिए, तर सरसर्ती हेर्दा उनको पदार्पण चमत्कारी नै थियो।

त... राज्यको ज्यादती, अराजकता, अव्यवस्था, कानूनको उपहास, गरिबको चमेली, आदि भन्दै बालेन्द्र 'बालेन' शाहको एन्ट्री‌ भयो। उनका नारा, कुरा, सांगीतिक प्रस्तुतिले एकादेशमा सुनिने वाम-लहरको झल्को दिन्थे। उनले एउटा जबरजस्त एन्टाइ अथोरिटि छवि बनाए, अनि हाम्रो व्यक्तित्वप्रधान मान्ने समाजले उनलाई सहर्ष स्विकारेन मात्रै, शिरमा राख्यो। महानगरवासीले पुराना दलको गढ मानिएको काठमाडौँमा रातारात तख्तापलट गरे।

करिज्म्याटिक लिडर (चमत्कारी व्यक्तित्व)हरूको सबैभन्दा ठूलो शक्ति नै छिटो आर्जिएको व्यापक जनसमर्थन हो। त्यो शक्ति कालान्तरमा उनीहरूका लागि बोझ बन्न पुग्ने खतरा उत्तिकै हुन्छ। भाग्यवश, बालेनको हकमा यसबाट अहिलेसम्म उनलाई फाइदा मात्र छ।

उनका असंख्य समर्थक छन्, उनको चर्चाले महानगरको, काठमाडौँ जिल्लाको, उपत्यकाको, प्रदेशको सीमा उहिल्यै कटाइसक्यो। उनलाई नेता मात्र होइन, झन्डै कल्ट लिडर जसरी मान गर्ने पनि यदाकदा भेटिन्छन्।

आक्कलझुक्कल उनीमाथि (कहिले जायज कहिले पूर्वाग्रही) प्रश्न तेर्सिए पनि उनको पिक पप्युलारिटीको दौर चलिरहेको हुनाले ती प्रश्न यसै साइड लाग्छन्। उनी मिडियासँग संवाद गर्न चाहँदैनन्– सामाजिक सञ्जालबाटै आफ्नो कुरा राख्छन्, कहिले सिधै, कहिले कविताका रूपमा। त्यसमाथि आउने राम्रा–नराम्रा प्रतिक्रियाको खासै वास्ता गर्दैनन्। स्पष्टीकरण दिँदैनन्। दिन पनि पर्दैन। वफादार समर्थकहरू बालेनले फेसबुक र ट्विटरमा लेख्ने शब्दहरू नै नियम, त्यही कानून जसरी बचाउमा उत्रिएको देखिन्छ।

उनले कहिलेकाहीँ जवाफ फर्काउने भनेको ठूला नेताहरू कसैले उनको कार्यशैलीप्रति आलोचना गर्दा हो।

कुनै जमानामा यस्तै (हल्का बढी) क्रेज केपी शर्मा ओलीको थियो। पछिल्लो मंसिर उनको सुकुमबासी बस्ती हटाउने निर्णयपछि जन्मिएको विवादका दौरान ओलीको स्टेटमेन्ट आएलगत्तै बालेन फायर भए। फ्यान्टसी फिक्सनका ड्रयागनले दुस्मनलाई एक फू गरेर उडाएझैँ एकलट तिखा तर तथ्यगत स्टेट्स पोस्ट गरेर शर्माजी र उनको साख दुवैलाई उडाइदिए। यसरी जसरी भर्खरै डेब्यू गरेको बलरले धुरन्धर बल्लेबाजलाई पिचमा आउनेबित्तिकै पहिलो बल सामना गर्दा नै आउट बनाइदिन्छ, पभिलियन फर्काइदिन्छ– गोल्डन डक्!

बहुआयामिक, बहुप्रतिभा र बहुटुक्काका धनी केपी शर्मा ओली बालेनको र त्यसलगत्तै उनको समर्थनमा उर्लिएका प्रतिक्रियाको लपेटामा यसरी परे कि न उनी, न उनका अरिंगाल नामधारी साइबर सेना टिक्न सके। अरू कतै नभए पनि सामाजिक सञ्जालमा ओलीका लागि जनसमर्थनको एकाधिकार तोडिँदै गयो। पहिले बालेनले, अहिले ‘हि हू क्याननट बि नेम्ड’ले पालैपालो तोड्दै छन्।
त्यही भएर शायद हिजोआज उनी फेक ह्यान्डलबाट लेखिएका ट्विटहरूप्रति आक्रोश व्यक्त गर्दै, फुरफुर नगर्न सावधान गराउँदै टाइम पास गरिरहेका छन्। 

तर किन?

विचारहरू लोकप्रिय हुन्छन्, अलोकप्रिय हुन्छन्। नेपालमा बहुमतवादका लागि बजार सधैँ उर्वर रहँदै आएको छ। त्यो हिसाबले यसपछि सोधिने प्रश्नहरू उल्लेखित स्पेक्ट्रमअनुसार 'अनपप्यूलर ओपिनियन' हुन पुग्छन्, शायद।

बालेनको थोरै संख्यामा रहेका स्वघोषित क्रिटिकले धेरैजसो मनमनै, कहिलेकाहीँ आँट गरेर सार्वजनिक रूपमा सोध्ने गरेका छन्– अधिनायकवाद विरोधीका रूपमा उदाएका उनी हालका दिनमा आफैँ किन अथोरिटारियन चरित्र देखाउँदै गएका छन्? क्यारिजम्याटिक लिडरमा यस्तो 'गुण' हुनु कुनै नयाँ फेनोमेनोन नभए पनि एक त युवा, त्यसमाथि ‘नेताजति सबले कानूनको उपहास गरे, कोइ आफ्नो कदमप्रति उत्तरदायी भएन, त्यसैले देश बिग्रियो’ भन्ने भाष्यको जगमा टेकेर उदाएका व्यक्तिले ‘अरूले नियम मान्दैन, ममाथि मात्र प्रश्न किन’ भन्दा केही थान आँखीभौँ उचालिनु स्वाभाविक हो।

सुरक्षाका हिसाबले संवेदनशील मानिएका स्थानमा ‘ढोका फोरेर अगाडि बढ’ भनी भीडलाई उत्तेजक बनाउने आदेश दिँदा मनमनै ‘ओएमजि’ भन्न त आइहाल्छ।

परेको बेला शुक्रबार बिहान महानगरले माओवादी सम्बन्धित ताला फोडेको ट्विट रिट्विइट गरेकै हो, थपडी मारेको पनि हो (नपत्याए मेरो ह्यान्डल @kurographer गएर हेर्नु)। नढाँटी भन्दा सिंहदरबारको फोहोर नउठाउने कुरा गर्दा पनि पहिलो चरणमा त ‘सही हो’ भनेकै हो। अनि सोची आउँदा फेरि 'ब्रो किन यस्तो इम्पल्सिभ' भन्ने प्रश्न मनमा उठेकै हो।

प्रश्न उनको इरादा हैन शैली उपर हो।

‘मलाई हटाउन लागे। यो देशको भलो हुन्न’ भन्दा होस् वा जानीजानी हो वा नबुझेरै फ्रस्ट्रेसन देखाइहाल्ने उनको स्टाइलउपर‌ हो।

आइडियोलोजिकल डिस्क्ल्यारिटी त ‘महानगरमा किन चाहियो विचार’ भनेर पन्छ्याइन्छ। त्यसो भन्नु ठीकै पनि होला। नाबालिग बलात्कारको अभियोग लागेको खेलाडीसँग हात मिलाउँदा, मेयर चुनावको बेला एउटा पुरुष प्रतिस्पर्धीले महिला पत्रकारमाथि दुर्व्यवहार गर्दा चुप लागेर केही नभएको जस्तो गर्ने उनको एम्बिगुअस मोरल कम्पासमाथि पनि डोजर चलेको छ।

उनमा परिवर्तन ल्याउन ‘केही’ गर्ने अपार इच्छा छ, क्षमता छ, विरोधाभास पनि छ।

‘गरिबको चमेली कोइ छैन’ बोलले भीड उचाल्ने उनलाई तिनहरूलाई नै बाटोमा लछार–पछार गर्न केले उक्सायो? "मानवबस्ती उठाएर गरिने विकासको हामी विरोधी हौँ," भन्ने उम्मेदवार बालेन शाह मेयर बालेन हुँदा १८० डिग्री टर्न किन लिए?

हिसाब लगाउन, हावाको बहाव बुझ्न माहिर उनले बेला बेला शहरीया मध्यम तथा उच्च मध्यमवर्गको प्रिय थेगो 'दिस कन्ट्री निड्स अ बेनेभोलन्ट डिक्टेटर’ (देशले एउटा परोपकरी तानाशाह खोजेको छ) भाव नबुझेका त हैनन् होला?

महानगर प्रमुखका हैसियतमा उनले गर्नुपर्ने र गर्नसक्ने काम धेरै छ। बर्षौंदेखी जेलिएको व्यवस्था, कर्मचारीतन्त्रमा जरा गाढेको परम्परागत कार्य–शैलीसँग जुध्न पर्ने छँदैछ। त्योभन्दा बढी क्षणिक वाहवाहीमा नभुत्लिएर आफ्नै 'पारा'सँग नलडे पनि अलिकति नेगोसिएसन गर्नुपर्ने छ– द ग्रेट बर्डन अफ वान्स् ओन इमेज!

बालेन भर्सेस बालेनको उल्झनबाट अगि बढ्ने, कि 'गजब दनक दियो' भन्नेहरूको काँधबाट बन्दुक चलाइरहने उनकै हातमा छ।

बाँकी, सही गलत ठहर गर्न अर्को कुनै चमत्कारी चरित्र फेला पारिहालिन्छ– गेम अफ थ्रोन्सकै ब्रान नामक पात्र जस्ता– जसले सब देख्छन्, सब बुझ्छन्। शायद मनको हरिले भन्दा राम्ररी।smiley


सम्बन्धित सामग्री