Saturday, April 27, 2024

-->

पुस्तक चिन्तन–४
जब मानिस आफैँसित अपरिचित बन्छन्

मानिसहरू कुनै आख्यानका आधारमा बाह्य र भित्री संसारसँग अन्तरक्रिया गरिरहेका हुन्छन्। तर, जब दैनिक अनुभव र आख्यान एकापसमा मेल खान छाड्छन् तब उसलाई मानसिक समस्याले सताउन थाल्छ।

जब मानिस आफैँसित अपरिचित बन्छन्

पुस्तकः स्ट्रेन्जर्स टु आवरसेल्भ्स
लेखकः रेचेल अभिभ

जब रेचेल अभिभले खान छाडिन्, उनी भर्खर ६ वर्ष पुगेकी थिइन्। उनका आमाबाबुको सम्बन्ध राम्रो थिएन र केही महिनाअघि मात्र सम्बन्धविच्छेद भएको थियो। एक दिन उनलाई रिगंटा लागेर भित्तामा ठोकिएलाझैँ भएपछि मात्र आमालाई भनिन्। रेचेलले खान छाडेको तीन दिन भइसकेको थियो।

डाक्टरहरूले उनलाई एनोरेक्सिया भएको पत्ता लगाए। र, अस्पतालमा भर्ना गरे। उपचारार्थ रेचेललाई अस्पतालको एनोरेक्सिया वार्डमा छ हप्ता राखियो। त्यहाँ उनको धेरै मानसिक बिरामीहरूसँग भेट भयो। ती भेटले उनलाई पछिसम्म पनि प्रभाव पारिराख्यो।

रेचेलले किन खानपिउन छाडिन् भन्नेबारे डाक्टरहरू एकमत हुन सकिरहेका थिएनन्। कोही भन्थे उनमा देखिएका लक्षणहरू आमाबाबुको सम्बन्धको प्रतिविम्ब थियो। केहीले भने– रेचेल बाहिरी संसारसँगको आफ्नो तिक्खर अनुभूतिलाई बुझ्न र समाधान गर्न आफ्नो अन्तर्मनमा फर्किरहेकी थिइन्। 

उनीसँग राखिएका अन्य बिरामीले एनोरेक्सियाबाट मुक्ति पाउन सकेनन् तर रेचेलले भने मुक्त भइन्। उनी भन्छिन्, “मैले आफूलाई जसरी बुझिरहेकी थिएँ यस (एनोरेक्सिया) ले त्यसका लागि भाषा दिन सकेन।”

रेचेल अभिभको पुस्तकको मुख्य सन्देश पनि यही हो। मानिसहरू आफ्नो मानसिक अवस्थाबारे आख्यान बनाउने गर्छन्। “कतिपय मानिस आख्यानले आफूलाई मुक्ति दिएको अनुभव गर्छन्, तर कतिपय भने यी आख्यानमै फस्छन्,” रेचेल भन्छिन्, “तर बिरामी अवस्थामा मानिसहरूले के कुन हो भनेर थाहा पाउन कठिन हुन्छ।”

कुनै बिरामी किन ठिक हुन्छन् र कुनै बिरामीहरू त्यही रोगबाट किन लामो समयसम्म पीडित हुन्छन् भन्नेबारे मनोचिकित्सकहरूलाई धेरै कम थाहा हुने रेचेलको भनाइ छ। कुनै रोग वा मानसिक अवस्थालाई बुझ्न मनोचिकित्साशास्त्रका आफ्नै मोडेलहरू हुन्छन् र बिरामीका आफ्नै आख्यानहरू हुन्छन्।

"बिरामीको आख्यान र मनोचिकित्साको बुझाइबीच जुन दूरी हुन्छ त्यसबारे हामीले थप बुझ्नु आवश्यक छ," उनी भन्छिन्। कुनै पनि मानसिक रोगका लागि चिकित्सकीय उपचार पत्ता लगाउनु महत्त्वपूर्ण हो, तर बिरामीले आफू र आफ्नो जीवनलाई बुझ्न जुन आख्यान अवलम्बन गर्छन्, त्यसले उनीहरू ठिक हुन सक्छन् कि सक्दैनन् वा ठिक हुन चाहन्छन् कि चाहँदैनन् भन्ने कुरालाई समेत प्रभाव पार्छ।

मानिसहरू दुई वटा संसारसँग दैनिक रूपमा अन्तरक्रिया गरिरहेका हुन्छन्। एउटा बाह्य संसार हो जहाँ मानिसहरू भौतिक र सामाजिक वातावरणसँग अन्तरक्रिया गरिरहेका हुन्छन्। अर्को भित्री संसार हो जहाँ मानिसहरू आफ्नै मानसपटलसँग वार्ता गरिरहेका हुन्छन्।

यी दुवै अन्तरक्रियाका क्रममा मानिसहरू एक प्रकारको कथा वा आख्यान बुनिरहेका हुन्छन् र त्यही आख्यानका आधारमा बाह्य र भित्री संसारसँग अन्तरक्रिया गरिरहेका हुन्छन्। तर जब दैनिक अनुभव र आख्यानबीच मेल खान छाड्छ तब मानिसलाई मानसिक समस्याले सताउन थाल्छ। आफूबारे आफैले रचेका कथ्यले काम गर्न छाडेपछि मानिसहरूलाई आफू नै अपरिचित लाग्न थाल्छ।

‘स्ट्रेन्जर्स टु आवरसेल्भ्स’ अर्थात् स्वयंको लागि अपरिचित भन्ने पुस्तकमा रेचेल अभिभले चार वटा पात्रहरूको गहिरो अध्ययन गरेकी छन्। र मानसिक स्वास्थ्य र यसका उपचारबारे रोचक र गहन अन्तर्दृष्टि दिएकी छन्। यो पुस्तक मानसिक स्वास्थ्यबारे रुचि हुने जो कसैलाई पनि अत्यन्त रोचक र ज्ञानवर्धक लाग्न सक्छ। 

आजको संसारमा हामी जो कसैलाई पनि कुनै न कुनै रूपमा मानसिक दबाब वा प्रताडना हुने गर्छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका पाँच प्रतिशत मानिस डिप्रेसनबाट पीडित छन्। तर यो पुस्तकको अर्को पाटो पनि छ। रेचेल अभिभले लेखेको पुस्तकबाट व्यक्तिगत मानसिक अवस्था मात्र नभएर समाजको मानसिक अवस्थाबारे पनि धेरै बुझ्न सकिन्छ।

मनोचिकित्साको क्षेत्रमा दुई वटा मुख्य परिपाटी प्रचलित छन्। एउटा मनोविश्लेषणको हो भने अर्को जीव विज्ञान वा रसायनमा आधारित चिकित्साको। मनोविश्लेषणको पाटोमा मानसिक दुर्बलताको कारण अचेतनमा दमित चाहना वा द्वन्द्वलाई प्रमुख कारक मानेको छ भने जीव विज्ञान वा रसायनमा आधारित चिकित्साले जैविक वा रसायनको असन्तुलन वा रोगलाई।

मनोविज्ञानको क्षेत्रमा त्यस समय सिग्मन्ड फ्रइड र उनको मनोविश्लेषणको शैली निकै प्रचलित थियो। फ्रइडका अनुसार बाल्यकालमा वा त्यसपछि घटेका अति दुःखद वा त्रासदीपूर्ण घटनालाई मानिसहरूले अचेतनमा दबाउने गर्छन्। यी घटनाको संस्मरण अचेतनमा दबाइएता पनि त्यसका लक्षणहरू भने बारम्बार बाहिर निस्कन खोज्छन्। फ्रइडको भाषामा यसलाई रिटर्न अफ द रिप्रेस्ड अर्थात् दमितको फर्काई भन्ने हो। 

अचेतनमा दबाइएका संस्मरण वा अनुभूतिहरूले मानिसहरूलाई मानसिक रूपमा प्रताडित गरिरहेका हुन्छन्। मनोविश्लेषणको मान्यता छ कि यो दबाइएको अनुभूतिबारे अन्तर्दृष्टि वा ज्ञान हासिल गर्न सकियो भने मात्रै यसले उत्पन्न गरेको मानसिक प्रताडना वा पागलपनबाट मुक्ति पाउन सकिन्छ। मनोविश्लेषणको मूल प्रयोजन र शैली यही अन्तर्दृष्टि हासिल गर्न एउटा आख्यानको सिर्जना गर्नु हो। आख्यानको माध्यमबाट अचेतनमा रहेका गहिरा चाहना तथा द्वन्द्वहरू अचानक सचेतनामा आउँछन् भन्ने मनोविश्लेषणको मान्यता छ।

रफायल रे ओशेरोफको मुद्दा अमेरिकामा मात्र नभएर मनोचिकित्साकै क्षेत्रमा प्रख्यात छ। उनी यति धेरै मानसिक तनाव महसुस गर्थे कि उनी हिँडेको हिँड्यै गर्थे। उनको पैताला डढेर कालो हुन्थ्यो। सन् १९७९ मा उनी अमेरिकाको प्रख्यात चेस्टनट रिज अस्पतालमा भर्ना हुन्छन्। अस्पतालमा लामो समयसम्म मनोविश्लेषण पद्धतिबाट उनको उपचार गरिन्छ। तर उपचार सफल हुँदैन। धेरै समयपछि रेले एउटा पुस्तक पढ्छन् जसमा दिमागमा भएका रासायनिक असन्तुलनका कारण मानिस मानसिक रोगको सिकार हुन्छन् भन्ने तर्क गरिएको भेट्छन्। यसपछि रेले चेस्टनट रिज अस्पतालविरुद्ध मुद्दा हाल्छन् र जित्छन्। यो घटना नै मनोविश्लेषण पद्धतिको अवसान र रासायनिक औषधि उपचार विधिको उत्थानको कथा बन्न पुग्छ।

तर जीवनको अन्तसम्म पनि रेले मुक्ति पाउन सक्दैनन्। न उनलाई मनोविश्लेषण पद्धतिले उपचार गर्न सक्छ न न्यूरोबायोलोजिकल वा रासायनिक उपचार पद्धतिले। दुवै पद्धतिले उनलाई मुक्ति दिन सक्दैन। 

एउटा पद्धतिले उनको दिमागमा रासायनिक असन्तुलन भएको निष्कर्ष निकालेको थियो, अर्को पद्धतिले बाल्यकालमा बाबुसँगको सम्बन्धले मानसिक असन्तुलन सिर्जना गरेको निचोड निकालेको थियो। अन्तमा आफू र आफ्नो रोगबारे बुझ्ने चेष्टा गर्दागर्दै रेको जीवन बित्यो।

मानिसहरूले आफ्नो स्वास्थ्य अवस्थाबारे एउटा आख्यान बनाउँछन्। त्यो आख्यान सत्य भए तापनि वा नभए तापनि बिस्तारै त्यही आख्यानले मूर्त रूप लिन्छ। दार्शनिक इयान ह्याकिङले यो प्रक्रियालाई 'लुपिङ इफेक्ट' अर्थात् गाँठो पर्ने प्रक्रिया भन्ने नाम दिएका छन्।

डाक्टरहरू स्वयं समस्याको कारक बन्न सक्छन्। प्रायः जसो डाक्टरहरू समाजमा शक्तिशाली स्थानमा हुन्छन्। उनीहरू बिरामीलाई निको बनाउन मात्र हैन कुन रोग लागेको छ वा मानसिक रूपमा सन्तुलित छन् वा छैनन् भन्ने घोषणा गर्ने शक्ति राख्छन्। यस्तो अवस्थामा यदि डाक्टरहरू आफैँ पूर्वाग्रह वा आफ्नै प्रकारका कथा र आख्यानमा अड्किए भने त्यसको परिणाम दुःखद हुन्छ।

दक्षिण भारतीय ब्राह्मण पात्र बापु र अफ्रिकी अमेरिकी पात्र नाओमी दुवै जना आफ्नो मानसिक अवस्थासँग मात्र हैन समाजमा व्याप्त असमान शक्ति सम्बन्धसँग पनि लड्न बाध्य छन्। 

पोलियोका कारण थोरै खुट्टा खोच्याउने बापुलाई उनका धनी बाबुले घरज्वाइँ खोजिदिन्छन्। तर बापु सानैदेखि असाध्यै एक्लोपनको महसुस गर्ने स्वभावकी छन् र बिस्तारै उनी मीराजस्तै भगवान् श्रीकृष्णको पछि लाग्छिन्। बापु पैसादेखि सांसारिक वस्तुको लोभ, लालच त्यागेर आश्रममा बस्न चाहन्थिन्। उनको गुरु र परिवार यसको पक्षमा थिएनन्। तर २०२७ सालमा उनको भागेर आश्रम जाने क्रम शुरू हुन्छ। अनि उनी बारम्बार हराउन थाल्छिन्। कहिलेकाहीँ उनी भिखारीहरूसँग मन्दिरबाहिर फेला पर्थिन्, कहिलेकहाँ।

उनको परिवार र समाजले भने उनको मानसिक रोगको उपचार गर्न खोज्छन्। बेलाबेला उनलाई जबरजस्ती थुनेर वा बाँधेर अस्पतालमा भर्ना गरिन्छ। त्यस बेलाको प्रचलनअनुसार उनलाई विद्युतीय करेन्ट लगाएर शिथिल पारिन्छ। तर कुनै पनि चिकित्सकले उनको एक्लोपन र पागलपनको उपचार गर्न सक्दैनन्।

उनको पागलपनको आख्यान फरक फरक छन्। एकथरी छन् जो उनी बस्ने घरमा ब्रम्हराक्षस बास गरेको बताउँछन्। एकथरी छन् जो उनको मानसिक अवस्था ठिक नभएको (उनलाई स्किजोफ्रिनियाँ भएको) मान्छन् र अर्काथरी छन् जो उनलाई मीराबाई जस्तै सच्चा भक्तिनीका रूपमा देख्छन्। तर सत्य के हो त? 

अमेरिकामा बस्ने नाओमीको उदाहरण झनै मन छुने खालको छ। उनको मानसिक अवस्था गरिबी र असमानतासँग मात्र हैन अफ्रिकी अमेरिकीहरूले अमेरिकामा भोग्नुपरेको सदियौँ लामो दुःखसँग पनि जेलिएको छ।

गरिब परिवारमा हुर्किएकी नाओमीका दुःख अनेकौँ छन् यी दुःखले मानसिक रूपमा समाज र राज्य आफू र आफ्नो परिवारविरुद्ध षड्यन्त्र गरिरहेको उनलाई भान हुन्छ। यस्तै भय (प्यारानोइया)ले विक्षिप्त भएर एक दिन उनी आफ्नो दुई स–सना बच्चासँगै पुलबाट नदीमा हाम फाल्छिन्। एक जना बटुवाले उनी र उनको एक जना बच्चालाई बचाउँछन्। नाओमी जेल पर्छिन्। सजाय पाउने बेलामा उनलाई डाक्टरहरूले पागल नभएको घोषणा गरेर जेल पठाउँछन्। र जेल छाड्ने बेलामा उनलाई पागल भएको भनी फेरि मानसिक अस्पतालमा पुर्‍याउँछन्।  

काला समुदायप्रति चिकित्सा समाजले पनि विभेद गर्छ। उनीहरूका प्रायः उपचारमा कमी हुन्छ र रोगबारे सही पहिचान पनि हुँदैन। 

अर्कोतिर धनी गोरो समाजकी लरालाई भने सानैदेखि उपचार उपलब्ध छ। उनी हार्वार्डमा पढ्न सफल हुन्छिन् तैपनि उनलाई समाज र आफूबीचको दूरी असह्य लाग्छ। समाजमा उनी सफल छिन्, तर उनी आफ्नो व्यवहारलाई नाटक ठान्छिन्। उनको मामिलालाई लिएर प्रश्न गर्न सकिन्छ, के मानिसको समाजसँग अन्तरक्रिया गर्ने सतही स्वरूप मानिसको अन्तरात्मासँग लयबद्ध हुन सक्छ?

लरा भन्छिन्, “हरेक बिहान म धारामा नुहाउनु र लुगा फेर्न र (समाजले देख्ने) लरा डिलानो बन्न उत्प्रेरित हुनुपर्थ्यो।” हरेक दिन राति लरा श्याम्पेनको नशामा हुन्थिन् र धुरुधुरु रुन्थिन्। उनलाई डाक्टरले यति धेरै औषधि दिएका थिए कि कुन औषधिको प्रभाव र कुन उनको शरीरको प्रभाव डाक्टरलाई समेत छुटाउन गाह्रो हुन्थ्यो। “म एउटा अपरिचितको जीवनमा फसेको थिएँ,” लरालाई उद्धृत गर्दै रेचेल लेख्छिन्।

जुन दिन लराले यो बोझ थाम्न सकिनन् उनले भएजति सबै औषधि खाइन् र समुद्रनजिक आत्महत्या गर्ने कोसिस गरिन्।

लराको जस्तो जटिल अवस्थासम्म नपुगे पनि धेरै व्यक्तिले एउटा हदसम्म समाज र आफूबीच दूरी महसुस गरेको हुनसक्छ। हाम्रो मन र हाम्रो शरीर समाजमा नै बाँच्नु पर्छ तर कतिपय अवस्थामा यी तीनबीच सामञ्जस्य हुँदैन।

लरा बारम्बार मनोचिकित्सकहरूकहाँ पुग्छिन् र यो असामञ्जस्यलाई आख्यानमा बाँध्ने कोशिश गर्छिन्। अन्तमा, लरा बिस्तारै एकपछि अर्को गर्दै औषधिहरूको प्रभावबाट मुक्त हुन्छिन् र एउटा हदसम्म अरू धेरै व्यक्तिलाई हौसला दिन सफल हुन्छिन्।

रेचेल अभिभको पुस्तक पढ्दै जाँदा कहिलेकाहीँ डर लाग्छ। के मेरो मानसिक अवस्था पनि पुस्तकका पात्रहरूको जस्तै हुने त होइन? अथवा, के हाम्रो नेपाली समाज नै मानसिक समस्याहरूबाट ग्रसित त छैन।

रेचेलका अनुसार पाँच दशकभन्दा बढी समयको अध्ययनपछि पनि वैज्ञानिकहरूले मानसिक रोगको न्यूरोबायोलोजिगत वा जेनेटिक कारक पत्ता लगाउन सकेका छैनन्। वैज्ञानिकहरूले डिप्रेसनको औषधि त बनाएका छन्, तर किन र कसरी ती औषधिले काम गर्छ भन्ने पत्ता लगाएका छैनन्। मानसिक रोगको बायोलोजिकल, जेनेटिक, मनोवैज्ञानिक वा वातावरणीय प्रभावहरू हुन सक्छन्। तर यी प्रभावहरू यति जटिल छन् कि त्यसलाई वैज्ञानिक रूपमा बुझ्न सकिएको छैन। त्यसैले अझै पनि दिमागको रासायनिक असन्तुलनको मोडेलबाट डाक्टरहरू अगाडि बढ्न सकेका छैनन्। 

स्वास्थ्य क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्रमा पनि यस प्रकारका आख्यानहरूले प्रभाव पार्छन्। नेपालकै सन्दर्भमा हेर्दा पनि हाम्रो देश बिरामी छ कि छैन वा के रोग लागेको छ भनेर धेरै नेता र विश्लेषकहरूले आफ्नै आख्यान दिने गरेका छन्। 

उदाहरणका लागि २०५० को दशकमा डा. बाबुराम भट्टराईको आख्यानले नेपाललाई लामो द्वन्द्वमा धकेल्यो। अहिले पनि समाजमा विभिन्न खालका आख्यानहरू पाइन्छन्। एकथरी आख्यानले नेपालको रोग निको पार्न राजा नै चाहिन्छ भनेर लागी परेका छ। अर्कोथरी आख्यानले भने नेपाल संघीयतामा अगाडि बढ्यो भने मात्र देशको अवस्था सुध्रिन्छ भन्ने मान्यता राख्छ।

तर हरेक मानिसले आफ्नो दैनिक जीवनमा भोगेका अनुभवलाई वा आफ्नो पहिचानलाई कुनै आख्यानको आधारमा बुझ्ने कोशिश गर्छन्। अनि जुन आख्यान आफ्नो अनुभव वा पहिचानसँग मिल्छ त्यही आख्यानलाई आत्मसात् गर्छन्। 

दैनिक जीवनका प्राकृतिक र सामाजिक अन्तरक्रियामा भोगिएका आफ्ना नितान्त व्यक्तिगत अनुभवहरूलाई कसरी बुझ्ने? कुनै भाष्य वा बुझाइले मानिसलाई चुपचाप दुःख सहेर बाँच्न बाध्य गराउँछ भने कुनै बुझाइले प्रतिरोध गर्न वा परिस्थिति बदल्न उत्प्रेरित गर्छ।

तर रेचेलको पुस्तकबाट के निष्कर्ष निकाल्न सकिन्छ भने कुनै आख्यानले मानिस वा समाजलाई समस्याबाट मुक्त गर्न सक्छ भने कुनै आख्यानले मानिस वा समाजलाई झन् नराम्रोसित गाँज्न सक्छ। यस मानेमा व्यक्तिको मानसिक अवस्था र समाजको मानसिक अवस्था दुवै असन्तुलित बन्न सक्छन्।


सम्बन्धित सामग्री