Saturday, April 27, 2024

-->

कांग्रेसको ढोक्सामा राष्ट्रपति, कुलो कटाउने प्रचण्ड

ओलीले माधव नेपाललाई राष्ट्रपति र जसपालाई उपराष्ट्रपति दिने भनेर ढोक्सा थापे। यस्तो अवस्थामा कांग्रेस–माओवादीबाहेक पनि बहुमत पुग्नसक्थ्यो। त्यो थाहा पाउने बित्तिकै प्रचण्डले जवाफी फायरिङ खोलेका थिए।

कांग्रेसको ढोक्सामा राष्ट्रपति कुलो कटाउने प्रचण्ड

“पुस १० गते भत्काइएको गठबन्धनलाई पुनःस्थापित गर्न त्यही दिन गरेको संकल्प लगभग पूरा भएको छ,” कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले फागुन १५ गते ट्विट गरे। खड्काले पुस १० गते नै फेरि कांग्रेस–माओवादी जोड्ने संकल्प गरेका रहेछन्। भलै त्यस दिन कांग्रेसकै हठका कारण गठबन्धन तोडिएको थियो।

राष्ट्रपति र प्रधानमन्त्री दुवैमा शेरबहादुर देउवाले ल्याङ–ल्याङ नछाडेपछि पुस १० मा ‘भात खान’ खुमलटार निस्केका पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार नफर्की बालकोट पुगेका थिए। त्यसपछि बनेको एमाले–माओवादीसहितको गठबन्धनबाट प्रधानमन्त्री नियुक्त भएपछि बधाई दिन साँझ खड्काले प्रचण्डलाई फोन गरेका थिए। 

खड्काकै आसेपासेका अनुसार फोनमा दिउँसो मात्रै जोडजाड गरिएको गठबन्धन तोडेर पुरानै गठबन्धनमा फर्किने कुराकानीको श्रीगणेशसमेत खड्काले गरेका थिए। त्यसको एकाध दिनमा त कृष्ण सिटौलाले भेटेरै प्रचण्डसँग संवाद शुरू गरिसकेका थिए। ६५ दिनमै एमाले–माओवादीसमेतको गठबन्धन तोडेर संघदेखि प्रदेशसम्म सत्तारोहणको ढोका खोल्ने यो सफलताको जस लिनेदिनेमा नेताहरूका आ–आफ्नै दाबी विरोध छन्। ‘आइसब्रेक’ आफैँले गरेको भन्नेमा कांग्रेसभित्र खड्का र सिटौलासहितका नेताको दाबी छ। 

पुस १० दिउँसो मात्र गठबन्धन बनेर साँझ प्रधानमन्त्रीले सपथ लिएका छन्, एकैछिनमा प्रचण्ड–पूर्णबहादुरबीच गठबन्धन तोडेर ‘उही पुरानै बाजेको पेडा’मा फर्किन कुराकानी शुरू भइसकेको छ। “डे वानदेखि नै प्रधानमन्त्री प्रचण्डले केपी ओलीसँग सत्ता साझेदारीमा सफोकेशन अनुभव गर्न थालिसकेका थिए,” प्रचण्डसँग निकट देखिने कांग्रेस सांसद राजेन्द्र बजगाईं सुनाउँछन्।

रवि लामिछानेले ओलीकै उक्साहटमा ‘नाई मलाई त्यही केटी चाहिन्छ’ शैलीमा गृहसहित उपप्रधानमन्त्री भनेर बुरुक्क गरेको प्रचण्डले नबुझ्ने कुरा थिएन। आफूलाई कमजोर प्रधानमन्त्री बनाउनै यो सब तानाबाना बुनिएको भेउ पाइसकेका थिए। ओलीले सरकार आफ्नो नियन्त्रणमा राख्न खोजेका मात्र थिएनन्, ‘डि–फ्याक्टो’ कार्यकारी आफैँ रहेको सन्देश दिनेगरी व्यवहार गरिरहेका थिए। 

यसबाहेक चुनावमा तत्कालीन कांग्रेस–माओवादीसहितको गठबन्धनलाई तन, मन र धनले सघाएको ‘दक्षिणबाहु’को इच्छाविपरीत बनेको गठबन्धन हुनाले पनि आफूलाई तीसँगै अरू पनि मिलेर घरको न घाटको बनाउँछन् भन्ने त्रास प्रचण्डमा थियो। यसैले प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसलाई राख्ने गरी देउवाले ल्याङ गर्न नछाडेपछि बालुवाटारबाट बालकोट पुगेका प्रचण्ड ओलीको टेकोमा बालुवाटार फर्किए पनि ‘एनिटाइम गुलाटी मार्ने’ मुडमा सुनिन्थे।

“अहिलेलाई यति कुरा बुझौँ, राष्ट्रपतिलाई लिएर प्रचण्डलाई हदैसम्मको अप्ठ्यारो अवस्था सिर्जना नगर्दिएको भए पनि यति चाँडै गठबन्धन टुट्ने थिएन,” कांग्रेस महामन्त्री गगन थापा भन्छन्, “राष्ट्रपति चुनाव एक वर्षपछि हुन्थ्यो भने सायद गठबन्धन एक वर्ष तन्किन्थ्यो पनि।”

राप्रपा र रास्वपाका लागि समेत ‘मलाईदार मन्त्रालय’को जोडबल गरेका ओलीले सभामुखमा देवराज घिमिरे र राष्ट्रपतिमा गुरु बरालको नाम दिएपछि प्रचण्ड झनै झस्किए। सभामुखमा पृथ्वी सुब्बा गुरुङ टाइपका नेता प्रचण्डले अपेक्षा गरेका थिए। सभामुखमा घिमिरेलाई स्वीकारे पनि राष्ट्रपतिमा बराललाई कुनै हालतमा नस्वीकार्ने संकेत गरे। त्यसपछि ओलीले गोजीमा हात हालेर डोरमणि पौडेलको नाम निकालेका थिए। तेश्रो नाम खोज्न गोजी छाम्दा प्रचण्ड कुनै हालतमा तयार भएनन्। प्रचण्ड स्वीकार्य ‘फिगर’ प्रस्तावका लागि ल्याङ–ल्याङ गर्दै रहे, ओली टसको मस भएनन्। 

राष्ट्रपतिको चुनावलगत्तै कसरी ओलीको ढोक्सोमा पर्छु र छटपटाउनु/पछुताउनु सिवाय केही बाँकी हुने छैन भन्ने कुराले प्रचण्ड तड्पिन थालेका थिए। ओलीले सुवास नेम्वाङलाई राष्ट्रपति प्रस्ताव गरेको मात्र भए सम्भवतः गठबन्धन टुट्ने थिएन।

गठबन्धनमा अविश्वासको बीउ रोप्ने ओली नै थिए। विगतका कुरा नकोट्याउने, अगाडिको कुरा मात्र गर्ने सहमति नेताद्वयबीच भएको थियो। तर पुस २५ गते प्रतिनिधिसभाको पहिलो बैठकमै केपीले संसद् विघटन ठीक भएको जिकिर गरे। केपीले आफ्नो करकमलबाट भएका संसद् विघटन जायज थियो भनिरहँदा प्रचण्डले अड मानिरहेको दृश्य देखिएको थियो। जबकि, त्यस दिनको देउवाको भाषण लेखनका क्रममा प्रचण्डबारे मौन रहने सहमति थियो। त्यसैले देउवाको भाषण लसुन, प्याज केही नहालेको, नुन पनि अलिनोजस्तो थियो, सुन्दै हाईहाई आउने खाले। केपीचाहिँ आक्रामक र मसालेदार सुनिए। 

कांग्रेस नेता गगन थापाले बैठक सकिनासाथ बाहिर सञ्चारकर्मीसित त्यही प्रसंगसहित गठबन्धन टुटको बीजारोपण भइसकेको बताएका थिए। भयो पनि त्यस्तै। कांग्रेससँग संवाद घनिभूत हुन थालेपछि प्रचण्डले गगनलाई ‘तपाईंले कतिचाँडै हामीबीच दरारको बिजारोपण भएको सेन्स गर्नुभएको’ भनेका थिए। एमालेकै दोस्रो तहका नेताहरूले त प्रचण्डलाई ‘इन्गेज’ गरिराख्न पार्टी एकीकरणका लागि भनेर कम्तीमा एउटा कार्यदल बनाउन सुझाएका थिए। अरूका सल्लाह नमान्नुमै बहादुरी देख्ने रोगले ग्रस्त ओलीले सुनेको नसुन्यै गर्दिए। 

नारायणकाजी श्रेष्ठले त कांग्रेस सम्मिलित बैठकमै ‘पार्टीमा एमालेसँग मिलेर जानुपर्छ भन्नेमा अडिग मै थिएँ। अध्यक्ष कमरेडलाई उत्प्रेरित गर्न पनि भूमिका थियो, तर त्यसमा म अब छैन’ भनेका थिए। भलै त्यसको कारणमा उनले ओलीको दक्षिणपन्थी रुझान, सत्ता साझेदार राप्रपा र रास्वपाको संविधान विरोधी रुझान, ह्यान त्यान भन्दै सैद्धान्तिक स्वीटर पहिर्याइदिएका थिए। खासमा गृहमन्त्री बनाउने प्रचण्डको प्रयासमा भाँजो हाल्दिएकोमा ओलीसँग खुन्नस पालेर बसेका थिए। 

प्रचण्डले त एकचोटी ‘कमरेड नारायणकाजी वाम गठबन्धन, पार्टी एकीकरणको रामनामी जपिरहने नेता, ओलीले यति चाँडै यति आजित बनाइदिए कि अहिले त बिहान बेल्कै यो गठबन्धन टुटोस् भनेर धूप बाल्दै हुनुन्छ’ भनेका थिए। नारायणकाजीदेखि महरासम्म, जनार्दनदेखि वर्षमानसम्म एक जना नेता पनि एमालेसँग गठबन्धनलाई निरन्तरता दिने पक्षमा थिएनन्। माओवादी नेताहरूलाई एमालेसँग गठबन्धनको पक्षमा राख्ने एउटै बुटी थियो, भविष्यमा एमालेसँग पार्टी एकता हुनसक्छ भन्ने आशाको दियो। त्यो पनि हुनसकेन। 

अर्कोतिर, गठबन्धन तोडेर संघदेखि प्रदेशसम्मका सत्ताबाट हात धुनुपरेको रिस कांग्रेसीहरूले आपसमै पोखे। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी सभापतिको हठको कारण यस्तो नौबत आएको, आफूहरूलाई महत्वपूर्ण बैठकहरूमा बालुवाटारमा पहुँच नै नदिइएको भन्दै ‘पार्टी सभापति एण्ड गुट’विरुद्ध फायर खोले। सभापति एण्ड गुटले महामन्त्रीद्वय पोखरा साहित्य महोत्सवमा सहभागी भएको कारण सत्ताबाट हात धुनुपरेको जसरी जवाफी फायर खोले। नेताहरू प्रचण्डविरुद्ध खासै खनिएनन्।

कांग्रेस सत्तामा छँदा यसो सोरसार–चोरचार गरौँला मार्का झोलेहरू नै थिए, धारेहात लाएर प्रचण्डलाई सराप्नेमा। देउवाका दाहिनाहरू त अनवरत लागिरहे नै, यसअघि भूमिकाविहीन बनाइएका गगन थापालगायत पनि मैदानमा रहे। थापा प्रधानमन्त्री प्रचण्ड मात्र होइन माओवादीका दोस्रो पुस्ताका नेताहरूसँग पनि नियमित सम्पर्क–संवादमा थिए। व्यक्ति शेरबहादुरले धोका दिनसक्छन्, तर पार्टीले नै धोका दिन सक्तैन भन्दै थापाले एकल देउवासित नभई कांग्रेससँग संवाद गर्न सुझाउँदा प्र्रचण्डले सहर्ष स्वीकारे।

यसबीच ओलीले कांग्रेसका शेरबहादुर देउवा मात्र होइन शेखर, गगन, पूर्णबहादुर आदि नेतालाई भेट्न खबर पठाए। तर कोही पनि गएनन्। ओलीसँग भेट्दा प्रचण्ड सशंकित होलान् भन्ने सुर्ता सबैमा थियो। हुन पनि प्रचण्ड यतिसम्म संशकित थिए कि, गगनलाई ‘शेरबहादुरजीले ओलीसँग भेटेको हो?’ भनेर सोध्थे भने शेरबहादुरसँग ‘शेखर–गगनले केपीसँग भेटेको सनियो, कुरा के हो?’ भनेर जिज्ञाशा राख्थे। जबकि, कांग्रेस नेताहरू कसैले ओलीलाई भेटेकै थिएनन्।

सभामुख, राष्ट्रपति, अख्तियार सबै ओलीको। ओलीको स्याटेलाइट पार्टीसरी सुनिएका रास्वपा–राप्रपाको पनि जि–हजुरी गर्नुपर्ने। प्रचण्डसामु एकातिर ओलीको पिँजडा थियो भने अर्कातिर कांग्रेससँग जाँदा तीन वर्ष प्रधानमन्त्री, राष्ट्रपति कांग्रेसकै भए पनि दैनिक शासन–प्रशासनमा राष्ट्रपतिबाट अवरोध हुने सम्भावना शून्य। फेरि, सत्ताभित्रै एकीकृत समाजवादी र जसपासहितको मोर्चा बनाई थप बलशाली हुन पनि पाइने। “कांग्रेससँग जाँदा थप जोखिम देखेको भए प्रचण्ड मरिगए मान्नेवाला थिएनन्,” थापा भन्छन्।

राष्ट्रपतिमा प्रचण्डको पहिलो रोजाइ कृष्ण सिटौला थिए, उनले छुपाएका थिएनन्। सिटौलालाई राष्ट्रपति बनाऔँ भनेर पटक–पटक कुरा निकाले, अड्डी कसेनन्। सिटौलाको नाममा निर्माणाधीन नयाँ राजनीतिक कोर्ष बाधित गर्ने पक्षमा थिएनन्। फागुन १० गते मात्रै देउवा दम्पतीलाई डिनरमा डाकेर सिटौलालाई राष्ट्रपति बनाउने अन्तिम प्रयास गरे, देउवा नमानेपछि चुपचाप बसे। 

यदि उनले ‘सिटौला नही तो कांग्रेस नही’ को रुख अपनाएको भए कांग्रेस नेतृत्व मान्न तयार हुने थियो। कांग्रेसलाई जसरी पनि आफ्नो राष्ट्रपतिसहित सत्ता गठबन्धन भत्काउनु जो थियो। तर यसरी फायर खेल्दिएको भए प्रचण्डलाई भोलि गाह्रो पर्ने सम्भावना बढी हुन्थ्यो। जस्तो अहिले बाध्यतावश सिटौलालाई माने पनि अलिपछि देउवाले आफैँ नेतृत्व लिन कस्सिँदा यही बहाना हुनसक्थ्यो। अब अलि गाह्रो हुने भयो।  

कांग्रेस–माओवादी रातदिन छलफलमा छन्, माधव नेपाललाई त कसैले गनेकै थिएन। यसैबीच ओलीले माधव नेपाल कार्ड खेल्दिए। कृष्णबहादुर श्रेष्ठ (किसान)को घरमा चार घण्टा कुराकानी गरे। ‘सीआईए हतियार लिएर नेपाल छिर्न लाग्दा मैले नै रोकेँ, देश बडा अप्ठ्यारोमा छ’ भन्दै पट्याउन खोजे (नेपालले कांग्रेस, माओवादी सम्मिलित बैठकमै सेयर गरेको कुरा)। एकीकृत समाजवादीको नेतृत्व तह ओलीको प्रस्तावमा माधव नेपाललाई राष्ट्रपति बनाउनेभन्दा, ओलीको प्रस्तावको डर देखाएर कांग्रेस–माओवादीको प्रस्तावमा उनलाई राष्ट्रपति बनाउन सके आफैँ पार्टी नेतृत्व कुर्सीमा आसिन हुने मनमा लड्डु फुटाउन थालेको थियो। 

ओलीले माधवलाई राष्ट्रपति र जसपालाई उपराष्ट्रपति दिने भनेर ढोक्सा थापेका थिए। यस्तो अवस्थामा  कांग्रेस–माओवादीबाहेक पनि बहुमत पुर्याउन सक्ने अवस्था थियो। त्यो थाहा पाउने बित्तिकै प्रचण्डले जवाफी फायरिङ खोले– जसपालाई उपराष्ट्रपति दिएर। त्यस अघिसम्म उपेन्द्रको यो प्रस्ताव विचाराधीन थियो, निर्णय भएको थिएन। अब रहे माधव नेपाल। उनले प्रधानमन्त्रीमा भाग खोजे। त्यो पनि दिइयो। खासमा माधव नेपालले खोजेको पनि यही थियो। माधव नेपाल राष्ट्रपति भएको भए एकीकृत समाजवादी ‘सस्टेन’ गर्न गाह्रै थियो। त्यो समूह एमालेमा विलय हुँदा कांग्रेसलाई त घातकै हुने सम्भावना थियो। अब त केही संघमा केही प्रदेशमा मन्त्री हुन्छन्– एकीकृत समाजवादी ‘सस्टेन’ गर्ने भयो।

माओवादी, जसपा र एकीकृत समाजवादीको तीन दलीय बैठकले फागुन १३ गते माधवकुमार नेपाललाई राष्ट्रपति प्रस्ताव गर्ने निर्णय गरे पनि त्यो फगत औपचारिकता थियो। भोलिपल्ट कांग्रेससहितको बैठकमा नारायणकाजीले कमरेड माधव नेपाललाई प्रस्ताव गर्ने तीन दलीय निर्णय भएको सुनाइदिए। जवाफमा गगनले ‘एकीकृत समाजवादीलाई राष्ट्रपति, माओवादीलाई प्रधानमन्त्री, जसपालाई उपराष्ट्रपति बनाएर सबैभन्दा ठूलो कांग्रेस केही थान मन्त्रीसहित सम्मिलित हुने गठबन्धन कति दिन धानिन्छ’ भन्दै प्रश्न गरे। दुई महिनादेखि चकचक, उपद्रो शुरू भएर उही एमाले–माओवादी गठबन्धनको हातलमा पुग्ने बताए। नारायणकाजीले ‘निर्णय भए पनि यो कोरिन थालेको नयाँ कोर्षका लागि शर्त’ होइन भन्दै पल्ला झारे। प्रचण्ड त भनिरहेकै  थिए,– माधव नेपाल हुन्छ, तर प्रस्ताव कांग्रेसले गर्नुपर्यो। 

राष्ट्रपतिका लागि सिटौला प्रचण्डको पहिलो पसन्द थिए, यसैले उनको नाम चर्चामा आउनु अस्वाभाविक थिएन। भारतले पनि सिटौलाकै लागि जोडबल गर्ला भनेर ‘अडकलाइजेशन’ भए पनि त्यस्तो केही भएन। सञ्चारमाध्यममार्फत  राष्ट्रपतिका उम्मेदवारका रूपमा उदाउने डा. बावुराम भट्टराईसहित कसैको कुनै चर्चा दलहरूका बैठकमा भएनन्। कहिले खिलराज, कहिले कल्याण श्रेष्ठ त कहिले दमननाथ ढुंगाना आदि इत्यादी मिडियाको भित्तोका भित्ते राष्ट्रपति मात्र थिए। “ती नामहरू सञ्चारमाध्यममा खपतका लागि मात्र आइरहेका थिए,” गगन सुनाउँछन्, “नेताहरूबीच छलफलमा ती नाम कहिल्यै उच्चारण भएनन्।”

खिलराज रेग्मी र कल्याणको नाम पुस १० गते अघि नै आएका थिए। कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवैमा दाबेदारी गरिरहेका बेला बरु दलभन्दा बाहिरको व्यक्ति चाहिन्छ भनेर कतैबाट वा सम्बद्ध व्यक्तिको पूर्वसक्रियतामा ती नाम मिडियामा आइरहेका थिए। खिलराजले तत्कालीन प्रधानमन्त्री देउवालाई भेटेपछि बजारमा उनको नाम चलेको थियो। खिलराज भेट्न पुग्दा कांग्रेस नेता विमलेन्द्र निधि देउवासँगै थिए। निधिका अनुसार स्वकीय सचिव भानु देउवाले रेग्मी भेट्न आएको सूचित गर्दा देउवा ‘किन भेट्न पर्‍यो, भेट्न पर्‍यो’ भन्दै झर्केका थिए। 

भानुले ‘मैले नै समय मिलाएको हुँ’ भनेपछि देउवाले भित्र पठाइदिन भनेका थिए। निधि उठ्न खोज्दा पनि देउवाले ‘बसे हुन्छ’ भनेका थिए। “रेग्मीजीको केही कुरा होलान् भनेर म निस्किएँ,” निधिले एकदिन  सुनाएका थिए, “भोलिपल्टैदेखि रेग्मीलाई राष्ट्रपति बनाउन भारतले इन्डोर्स गरेको भनेर समाचारहरू आउँदा मलाई चाहिँ फिटिक्कै विश्वास थिएन।”

कल्याण श्रेष्ठले पनि नेताहरूकहाँ घरदैलो गर्दै लबिइङ गरेका थिए। खासमा भित्र चाहिँ प्रचण्ड कांग्रेसलाई राष्ट्रपति दिनेमा पानी परेपछि खुलेको आकाश झैं छर्लङ्ग थिए। देउवा रामचन्द्रलाई बनाउनेमा त्यस्तै सुस्पष्ट। रामचन्द्रको नाममा पार्टीभित्र कुनै विवाद थिएन। 

यसरी नयाँ राजनीतिक कोर्षका लागि कांग्रेस–माओवादीबीच बिनाव्यवधान निचोडउन्मुख संवाद अघि बढिरहेका बेला भारतीय विदेश सचिव विनयमोहन क्वात्राको भ्रमण र घरदैलो चाहिँ अझै पहेली बनेको छ। खासमा भारतको हस्तक्षेप चाहिनेखाले केहीपनि थिएन। हो, वाम गठबन्धन भनेपछि अगुल्टोले हानेको कुत्ता, बिजुलीदेखि तर्सिन्छ भनेझै तर्सिने भारत एमाले–माओवादी गठबन्धन तोड्ने एकसँत्रिय एजेण्डामा थियो नै। तर गठबन्धन तोड्न क्वात्राको सक्रियता आवश्यकै थिएन। तर उनी ‘मान नमान मैं तेरे मेहमान’ को शैलीमा आए, उछलकुद गरेजस्तो सन्देश दिए। सायद क्वात्राहरूलाई पनि आफूमाथिका लाई ‘मैले नेपालमा गठबन्धन तोडेर हाम्रो पक्षको गठबन्धन बनाइदिएँ’ भनेर गफ दिएर साखुल्य पल्टिनु थियो।         

एकाध दिनअघि मात्रै बत्तिसपुतलीको एक क्याफेमा भेटिएका लुम्बिनी प्रदेशसभा सदस्य सरोज थापा (रोज राणा)को मुख खुशीले च्यातिएको च्यातिएकै थियो। “दाई, एमाले त घोक्रेठ्याक्क नलगाई सरकारबाट निस्किन्न कि क्याओ!” मसँग जिज्ञासा राखिरहेका थिए। खुशी हुनु स्वाभाविकै छ। संघसँगै सातै प्रदेशमा नयाँ सत्ता गठबन्धन बन्ने क्रममा छ। डा. आरजु उपगूटका ठानिएका थापा प्रदेश सरकार मन्त्री भई झण्डा फरर पार्ने अच्छे दिन आउनेवाला छ। 

एकैछिनपछि कांग्रेसीहरूको गफ गर्ने अड्डाको रुपमा चर्चित पशुपति बुक्स पुग्दा साहू चित्र चौलागाईं चिन्तित सुनिए। चित्रको पत्रिका/किताब दोकान ४० वर्षदेखि बानेश्वर र वरपरका कांग्रेसीको साँझबिहान पत्रिका किन्ने र गफ चुट्ने अखडा हो। यहाँ कुनैबेला डा. दुर्गाप्रसाद भण्डारी, प्राध्यापक वीरेन्द्रप्रसाद मिश्र, पुरुषोत्तम बाँसकोटा आदि कांग्रेस नजिक ठानिने घागडान बौद्धिकहरू पनि अड्डा मार्ने गर्थे। चित्र कांग्रेस समर्थक मतदाता हुन्। कांग्रेसलाई अग्घोर प्रेम गर्छन्। दुई महिनामै एमाले–माओवादीको गठबन्धन तोडेर सत्तारोहणको ढोका खोल्ने कांग्रेसको यो ‘बहादुरी’मा उनी खुशी छैनन्। 

अब सत्तामा पुगेपछि कांग्रेससमेत हुने सरकारले आखिर सोरसार–चोरचारबाहेक गर्ने केही होइन। प्रतिपक्षमा एमालेसहित राप्रपा र रास्वपासमेत भइदियो भने त्यो सशक्त प्रतिपक्ष बन्नेछ र चरम अलोकप्रिय सरकारको सत्तासाझेदार कांग्रेस कमजोर हुने डरले उनमा घर गरेको छ। कांग्रेसको सत्तारोहणसँगै संघदेखि प्रदेशसम्म मन्त्री पड्काउने, सरकारी नियुक्ति पडकाउने, मलाईदार ठाउँमा सरुवा/बढुवा पाउनेदेखि यसो सोरसार–चोरचार गरम्ला भनेर ढुकिरहेका आशेहरू त खुशी हुने नै भए। कांग्रेसलाई दिने, केही लिन नपर्ने कर्मठहरूको प्रतिनिधित्व चाहिँ चित्रहरूले गरेका छन्। 

देउवामा पर्खिने धैर्य देखिँदैन, तीन वर्ष कुर्न चाहिँ गाह्रै छ। ओली त खेलिराख्छन् नै, ‘दक्षिणबाहु’ पनि खेल्ने नै छ। ६४ दिनमा एमाले–माओवादीसहितको झैं गठबन्धन धुजाधुजा भई मन्त्रीहरू म्यादी हुने अवस्था त पक्कै हुनेछैन, अर्को चुनावसम्मै गठबन्धन तन्किने सम्भावना पनि झिनै छ।


सम्बन्धित सामग्री