Saturday, April 27, 2024

-->

पार्टी ओरालो लागेको लाग्यै, दाहाल प्रधानमन्त्रीकै ‘बार्गेनिङ’मा

माओवादी प्रत्यक्षतर्फ १७ र कूल मिलाएर ३२ सिटमा खुम्चिँदा पनि दाहाल प्रधानमन्त्री बनिछाड्ने जस्तो हुटहुटीमा छन्, त्यसले जनमतको आदेश र पार्टीको हविगतप्रति उनी पूर्णतः बेपरवाह बनेको देखाउँछ।

पार्टी ओरालो लागेको लाग्यै दाहाल प्रधानमन्त्रीकै ‘बार्गेनिङ’मा

काठमाडौं– नेपाली कांग्रेससँगको चुनावी गठबन्धन फलदायी नभएको भन्दै नेकपा (माओवादी केन्द्र) का नेताहरूले सार्वजनिकरूपमै दोषारोपण गरिरहेका बेला गत शनिबार निर्वाचनबारे समीक्षा गर्न बसेको माओवादीको बैठकपछि राजनीति एकाएक गर्मायो। त्यसको कारण थियो, बैठकपछि माओवादी प्रवक्ता कृष्णबहादुर महराको अभिव्यक्ति। पेरिसडाँडा, काठमाडौँस्थित माओवादी मुख्यालय पुगेका पत्रकारसँग महराले भनेका थिए, “अहिलेको गठबन्धन छाड्ने निर्णय भएको छैन। तर, एमालेलगायत दलहरूसँग सहकार्यको विकल्पमा हामी खुल्ला छौँ।”

महराले यस्तो अभिव्यक्ति दिएको भोलिपल्टै माओवादी केन्द्रका महासचिव देव गुरुङले वर्तमान ‘सत्तागठबन्धनको विकल्पबारे नसोचेको’ भनेर त्यसलाई सच्याउने प्रयत्न त गरे। तर, आफ्नो भित्री रणनीति कुनै नेतामार्फत बोल्न लगाएर ‘नाडी छाम्ने’ माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विगत हेर्दा महराले जानिबुझीकनै त्यस्तो बोलेको देखिन्छ। त्यहीकारण पनि कांग्रेसका नेताहरू माओवादीका पछिल्ला गतिविधिहरू सहमतिविपरीत देखिन थालेको बताउँछन्।

माओवादी नेताहरूले कांग्रेसकै कारण आफ्ना लागि चुनावी नतिजा अनपेक्षित बनेको बताउन थालेपछि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्ष  दाहाललाई बोलाएरै ‘गठबन्धनमा रहेर गठबन्धनकै दलविरुद्ध अभिव्यक्ति नदिन’ नबोल्न आग्रह गरेका थिए। दाहालले देउवासँग ‘अहिलेकै गठबन्धनलाई अगाडि बढाउने’ निष्कर्ष सुनाएर माओवादीका नेताहरूलाई अब गठबन्धनबारे ‘जथाभाबी’ बोल्न रोक लगाउने वाचा गरे पनि स्वयं देउवा र कांग्रेसका नेताहरू विश्वस्त हुन सकेका छैनन्। “माओवादीले हामीसँग अहिलेको गठबन्धनका दलहरू मिलेरै सरकार बनाउने कुरा गरिरहेको छ। अर्कोतिर भने माओवादीकै नेताहरू एमालेसँग सहकार्यको विकल्प खुल्ला राख्ने भन्दै छन्। बार्गेनिङका लागि त्यसो गरिएको प्रष्ट छ। तर, यो त सरासर बेइमानी हो नि”, देउवानिकट कांग्रेसका एक पदाधिकारीले भने।

ती पदाधिकारीका अनुसार यसमा प्रधानमन्त्री बन्न बेस्सरी लालायित देखिएका दाहालको पछिल्लो रुचिले काम गरेको छ। “उहाँ (दाहाल) आधा समय आफू पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने प्रस्ताव लिएर आउनुभएको थियो”, उनले भने, “तर, त्यो प्रस्तावमा हाम्रो सभापति (शेरबहादुर देउवा) मौन बसेर केही प्रतिक्रिया नदिएपछि दाहालजी छटपटिन थाल्नुभएको छ। त्यही भएर उहाँले कांग्रेसलाई तर्साउन महरालाई एमालेसँग सहकार्य गर्न सकिने अभिव्यक्ति दिन लगाउनुभएको हो भन्ने हाम्रो बुझाई छ।”

यसअघि पनि दाहालले आफ्नै सचिवालयमार्फत यस्तो ‘नाडी छाम्ने’ प्रयत्न गरिसकेका छन्। गत मंसिर ८ गते प्रतिनिधिसभा निर्वाचनको नतिजा आइरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको टेलिफोन कुराकानीका क्रममा ओलीले आफूलाई ‘मिलेर अघि बढ्न आग्रह गरेको’ भनेर दाहालकै सचिवालयले प्रचार गरेको थियो। पछि ओलीनिकट एमाले नेताहरूले सामान्य बधाई र शुभकामना आदानप्रदानका लागि भएको कुराकानीलाई अतिरञ्जित गरेको भन्दै दाहालको आलोचना गरेका थिए।

जनमत एकातिर, दाहालको ‘अनौठो रुचि’ अर्कोतिर
यसपालिको चुनावी नतिजाले माओवादीको स्थान ह्वात्तै खस्काइदिएको छ। प्रत्यक्ष र समानुपातिकसमेत गरेर प्रतिनिधिसभामा यसपालि माओवादीका कूल ३२ सिट हुनेछन्। यो संख्या गत (२०७४ को) निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ जितेकोभन्दा पनि कम संख्या हो। त्यसबेला माओवादीले प्रत्यक्षतर्फ मात्रै ३६ सिट जितेको थियो। प्रतिनिधिसभामा उसका कूल ५३ सदस्य थिए। समानुपातिकतर्फ पनि यसपालि माओवादीले पाएको मत अहिलेसम्मकै न्यून हो।

तर, पार्टीको यस्तो अवस्थालाई एकातिर पन्छाएर माओवादी अध्यक्ष दाहाल भने वर्तमान सत्तागठबन्धनको प्रमुख घटक कांग्रेसलाई धम्क्याएर भए पनि प्रधानमन्त्री बन्ने अचम्मको हुटहुटी देखाइरहेका छन्। प्रतिनिधिसभामा ८९ सदस्य रहेको कांग्रेससँग ‘बार्गेनिङ’ गरेर ३२ सिटको माओवादीबाट प्रधानमन्त्री हुनुपर्ने दाहालको ‘खेल’ले धेरैलाई आश्चर्यमा पारेको छ। तर, दाहाल भने पार्टीका बैठकहरूमा पार्टीको निकै खस्केको अवस्थाबारे छलफल गर्नुभन्दा आफू कसरी प्रधानमन्त्री बन्ने भन्नेमै केन्द्रित भएको माओवादीकै एक स्थायी कमिटी सदस्य बताउँछन्। “हाम्रो नतिजा सोचेजस्तो नआएकाले यसपटक हामी प्रतिपक्षमा बसौँ, जनताका मुद्दा उठाऔँ भन्ने सुझाव अध्यक्षलाई दिएका छौँ। तर, उहाँ सरकारमा जानैपर्ने कुरा गरिरहनु भएको छ”, ती सदस्यले भने।

२०७४ मा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा जाँदा पनि दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ‘आलोपालो प्रधानमन्त्री’ बन्ने गोप्य सहमति गरेको प्रसंग पछिबाट सार्वजनिक भएको थियो। तर, निर्वाचनपछि एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएपछि ओलीसँगै संयुक्त अध्यक्ष बनेका दाहाल अनेक यत्न गरे पनि प्रधानमन्त्री बन्न पाएनन्। पछि त एमालेसँगको एकता पनि टिकेन। बरु, एमाले र माओवादी, ओली र दाहालको सम्बन्ध नै तिक्ततापूर्ण बन्यो। प्रधानमन्त्री बन्ने हुटहुटी सवार भएपछि दाहालले ‘कांग्रेससँग नभए एमालेसँग सहकार्य गर्ने’ जुन प्रचार गरिरहेका छन्, त्यो हेर्दा लाग्छ– हिजो केही भएकै थिएन।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा माओवादीबाट प्रत्यक्षतर्फ २६ सिट र समानुपातिकतर्फ १५.२१ प्रतिशत मतसहित ५४ सदस्य निर्वाचित भएका थिए। २०६४ को पहिलो संविधानसभामा त माओवादी पहिलो दल नै बनेको थियो। प्रत्यक्षतर्फ २४० मध्ये १२० क्षेत्र जितेको माओवादीले समानुपातिकतर्फ २९.२८ प्रतिशत मतसहित थप १०० सदस्य निर्वाचित गर्ने अवसर पाएको थियो।

पहिलो संविधानसभादेखि २०७९ को निर्वाचनसम्म आइपुग्दा माओवादीको मत पूरै ओरालो लागेको छ। तर, रोचक के भने घटनाक्रमहरूले पार्टीको हैसियत जति कमजोर बन्छ, दाहाल उसैगरी ‘शक्तिशाली’ बन्न खोज्छन्। माओवादी बलियो हुँदा दाहाल पार्टीमा दुई धारका रुपमा रहेका मोहन बैद्य र बाबुराम भट्टराईमध्ये एकपक्षलाई साथ नलिई कुनै निर्णय लिनसमेत सक्दैनथे। अहिलेको माओवादीमा भने दाहालले जे चाहे त्यही हुने गरेको छ।

यसपालि माओवादीले दाहाललाई नै ‘सर्वेसर्वा’ मानेर चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गरेको थियो। प्रतिबद्धता–पत्र सार्वजनिक गर्ने दिन, गत कात्तिक १४ गते माओवादी मुख्यालयमा मञ्चका भित्तादेखि ब्यानरको दुईतिरै दाहालका मात्र तस्वीर राखिएका थिए। दाहालले अग्रभागमा आफ्नै तस्वीर राखिएको प्रतिबद्धता–पत्र मन्द मुस्कानसहित सार्वजनिक गरिरहँदा दाहालसँग असन्तुष्ट माओवादी नेताहरू भने कार्यक्रममै देखिएनन्। चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक कार्याक्रममा दाहालका ‘गुणगान गाउने’हरूकै मात्र वर्चस्व थियो।

अहिले माओवादीले जारी गर्ने प्रायः सबै दस्ताबेजमा दाहालको मात्र तस्वीर छापिएको हुन्छ। दस्ताबेजभित्र उनकै बढाइचढाइ गरिन्छ। चुनावी प्रतिबद्धता–पत्रमा पनि दाहालकै गुणगान गाएर उनलाई नै भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिएको थियो। दाहालले एमाले अध्यक्ष ओली झैँ सार्वजनिक कार्यक्रममा आफ्नै बुख्याचा राख्ने शैली पनि हुबहु पछ्याएका छन्। गोरखा–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनासाथ उनले लगाएका माला र अबिरको तस्बिर सामाजिक सञ्जालमा आलोचनाको विषय बनेको थियो। माओवादीकै नेताहरूले सार्वजनिक रूपमै यसबारे टिप्पणी गरेका थिए। “चुनाव जितेका अरूले अलिअलि तामझाम गरेको ठिकै मान्न सकिएला तर अध्यक्ष कमरेडले त्यसो गर्न हुँदैन र सुहाउँदैन पनि”, माओवादी केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले फेसबुकमा लेखेका थिए।

माओवादीका एक पदाधिकारी त दाहालकै कारण पार्टीको हैसियत कमजोर बनिरहेको तर, त्यसको कुनै चिन्ता उनमा नदेखिएको टिप्पणी गर्छन्।

दाहाल यसपालि गोरखाबाट निर्वाचित भएर आएलगत्तै सिन्धुपाल्चोकको सुकुटेमा आफ्नो परिवार र पूर्वसभामुख अग्निप्रसाद सापकोटासहित र्‍याप्टिङ गरिरहेको अवस्थामा देखिए। त्यसबेला माओवादीबाट निर्वाचित अरू नेताहरू आफ्नो निर्वाचन क्षेत्रमा मतदातालाई धन्यवाद दिनमा व्यस्त थिए। ती पदाधिकारी भन्छन्, “अध्यक्ष बाहिर मात्रै सर्वेसर्वा देखिनु भएको होइन, पार्टी भित्र पनि उहाँ एकलौटीरूपमा हावी हुनुहुन्छ। उहाँको रजगज डरलाग्दो छ। अब माओवादी पार्टी भनेकै प्रचण्ड भन्दा हुन्छ। पार्टी त उहाँको बार्गेनिङ टूल मात्र भयो।”

अहिले औपचारिक बैठकबाहेक माओवादी माओवादी मुख्यालय सुनसान हुन्छ। बरु दाहालको खुमलटारस्थित निवास पार्टी कार्यालयभन्दा गुलजार छ। दाहालको ध्यान चाहिँ खुमलटारको त्यही चमकधमक कायम राखिराख्न वा अझ थप गर्न सिंहदरबारमा मात्र केन्द्रित भइरहेको छ।

अर्को अनौठो चाहिँ खुमलटारस्थित निवासमा माओवादीका सामान्य कार्यकर्ताले प्रवेश पाउन मुस्किल छ। “पार्टीमा केही निर्णय गर्नुपर्‍यो भने उहाँले आफूनिकट बढीमा चार नेता (वर्षमान पुन, जनार्दन शर्मा, देव गुरुङ र कृष्णबहादुर महरा) लाई खुमलटारमा बोलाउनुहुन्छ, त्यो पनि प्रायः एक्लाएक्लै। अचेल उपाध्यक्ष नारायणकाजी श्रेष्ठको पनि खुमलटारमा आउजाउ बाक्लिएको छ। दाहालको पार्टी सञ्चालन विधि र प्रक्रिया अपारदर्शी छ”, ती पदाधिकारी भन्छन्।  

नेकपा छँदा दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कब्जा गर्न खोजेको आरोप लगाइरहन्थे। नेकपाको संकटको एउटा प्रमुख कारण पनि त्यही थियो। २०७७ फागुन १५ गते काठमाडौँमा आयोजित पार्टीनिकट शिक्षकहरूको राष्ट्रिय सम्मेलनमा दाहालले ओलीलाई लक्षित गरेर भनेका थिए, “आफू जन्मिएको धरातल बिर्सेर गलत काम गर्दै हिँड्ने र आफू नै सर्वेसर्वा भएको ठान्ने काम गर्दै हिँड्ने प्रवृत्ति घातक हो।” ओलीलाई निरंकुश बनेको आरोप लगाएर उनीविरुद्ध पार्टीभित्रै मोर्चाबन्दी गरेका दाहाल अहिले माओवादीमा त्योभन्दा निरंकुश बनेको माओवादीकै नेताहरू बताउँछन्। उनीहरूका भनाइमा दाहालको कार्यशैलीको विरोध गर्ने माओवादी नेताहरू एकपछि अर्को गरेर पाखा लागिरहेका छन्। 

बफादारलाई मात्रै टिकट बाँड्दा खुम्चियो पार्टी
मंसिर ४ को निर्वाचनका लागि उम्मेदवारको टिकट बाँड्दा दाहालले मनोमानी गरेको भन्दै माओवादीका केही केन्द्रीय सदस्यहरूले पार्टी कार्यालयमा लिखित गुनासो दर्ता गरेका थिए। तीमध्ये कतिपयले सार्वजनिक रूपमै दाहालको आलोचना गरेका थिए। यसको परिणाम सुखद नहुने उनीहरूको चेतावनी थियो। नभन्दै परिणाम पनि त्यस्तै आयो। काठमाडौं उपत्यकाबाट प्रतिनिधिसभामा एक जना पनि निर्वाचित भएनन्। सुदूरपश्चिम प्रदेश नै माओवादीका लागि ‘निल’ भयो।

दाहालले आफ्ना ‘बफादार’लाई छानिछानी टिकट दिएको, विरोध गर्नेहरूलाई जित्ने अवस्था हुँदाहुँदै पनि टिकट नदिएका कारण पार्टीको यस्तो अवस्था भएको टिप्पणी माओवादीभित्र अहिले पनि सुनिन्छ। 

दाहालले नेताहरूको सुझावविपरीत काठमाडौं–२ बाट ओनसरी घर्तीलाई उम्मेदवार बनाए। तर, उनी चाैथाे नम्बरमा पुगिन्। दाहालसँगको निकटताकै कारण ललितपुर–३ बाट उम्मेदवार बनेकी ऊर्जामन्त्री पम्फा भुसाल पनि तेस्रो स्थानमै सीमित भइन्। जुम्लामा नरेश भण्डारीलाई पन्छाएर गोमा गौतम कुँवरलाई टिकट दिँदा हार व्यहोर्नुपरेको निष्कर्ष त्यहाँको जिल्ला कमिटीले नै निकालेको छ।

‘तपाईँको जनमत छैन, जित्नु हुन्न’ भन्दै दाहालले माओवादीका उपमहासचिव हरिबोल गजुरेललाई टिकट नदिएर आफूनिकट लेखनाथ दाहाल ‘राजन’लाई सिन्धुली–२ बाट उम्मेदवार बनाएका थिए। लेखनाथले भने चुनाव जिते। तर, दाहालले आफू सँगसँगै पार्टी निर्माणमा जुटेका नेताको विश्वास गुमाए। यसअघिका दुई वटा निर्वाचन लगातार जितेका गजुरेलले यसपटक पनि आफूले नै जित्ने निश्चित रहेको भन्दै चुनावी तयारी अघि बढाइसकेका थिए। “अध्यक्षले सहकार्य, समझदारीलाई विश्वास गर्नुहुन्न। मेरो निर्णय पार्टीले मान्नुपर्छ भन्ने उहाँको सोच छ। मैले संकेत राम्रो देखिरहेको छैन”, गजुरेलले भने।

दाहालले टिकटमा मनपरी गरेपछि यसपटक माओवादीबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिनेको संख्या पनि धेरै देखियो। उनीहरू जित्न नसके पनि माओवादीका आधिकारिक उम्मेदवारको मत घटाए। कतिपय माओवादी उम्मेदवारको हारमा यस्ता ‘बागी’को भूमिका निर्णायक रह्यो। स्वतन्त्र उम्मेदवारी दिएपछि पार्टीबाट निष्कासनमा परेका धनकुटाका हेमराज भण्डारी पार्टी भन्दा माथि आफू भएको दम्भ दाहालले प्रस्तुत गर्दा पार्टी सिद्धिने अवस्थामा पुगेको तर, दाहाल भने आफ्नो मात्र भविष्य जोगाउन केन्द्रित भएको टिप्पणी गर्छन्। 

एमालेसँग अलग हुनुपरेपछि दाहालले माओवादीमा युवा, महिला, जनजातिलगायत पछि परेका वर्ग र समुदायका नेता तथा कार्यकर्ताले महत्त्वपूर्ण अवसर पाउने वाचा गरेका थिए। तर, पार्टीलाई समावेशी बनाउने विषय उनको प्राथमिकतामा परेन। लामो समय पार्टीमा सक्रिय भए पनि चुनावमा टिकट नपाउँदा निराश बनेका नेता लेखनाथ न्यौपाने भन्छन्, “मैले पार्टी पारदर्शी रूपमा चलाउनुपर्छ भन्ने माग राखिरहेँ। सायद त्यो नेतृत्वले बुझेन। नेतृत्वले पार्टी कसरी बलियो बनाउने भनेर चिन्ता गर्ने र गलत कार्यको आलोचना गर्नेलाई पन्छाउन खोजेको देखिन्छ।”

नेतृत्वले माओवादी सुधारको चाहना राखेका नेताहरूलाई यसपटक चुनावमा जित्न सक्दैनन् भन्दै पन्छाएर एकलौटी गर्न खोजेको गजुरेल, न्यौपाने र भण्डारीको साझा निष्कर्ष छ। 

नेकपा रहँदा दाहालमाथि पार्टीलाई महिलामैत्री नबनाएको आरोप पनि लाग्यो। ९ सदस्यीय नेकपाको सचिवालयमा एक जना पनि महिला थिएनन्। ४५ सदस्यीय स्थायी कमिटीमा अष्टलक्ष्मी शाक्य र पम्फा भुसाल मात्र थिए। शाक्य र भुसालले ‘सचिवालयमा पनि महिला राख्नु पर्‍यो’ भन्ने माग गर्दा दाहालले माग पुरा गर्ने वाचा मात्र गरे, कार्यान्वयन गरेनन्।  यसपटक माओवादीले ७ जना महिलालाई मात्र टिकट दियो, तीमध्ये एक जना (रेखा शर्मा) मात्र निर्वाचित भइन्।

 खल्तीबाट निस्केको केन्द्रीय सदस्यको त्यो सूची
गत वर्ष माओवादीले आफैले घोषणा गरेको ‘प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन’लाई रातारात आठौँ राष्ट्रिय महाधिवेशनमा परिणत गरेको थियो। त्यो दाहालकै एकल निर्णयको परिणाम थियो। तर, महाधिवेशनमा दाहाललाई चुनौती दिने नै कोही भएन। उनी निर्विरोध अध्यक्ष चुनिए। २०७८ पुस १९ गते माओवादी नेता–कार्यकर्ताले भरिएको काठमाडौँस्थित प्रज्ञाप्रतिष्ठान भवनको हलमा दाहालले आफ्नो खल्तीबाट केन्द्रीय सदस्यहरूको सूची निकालेर पढे। त्यो सूची उनले अघिल्लो राती आफैले ललितपुरस्थित एक होटलमा बसेर तयार पारेका थिए।

केन्द्रीय कमिटी नै खल्तीबाट बनाइदिने दाहालको यो कदमको एक हजार ७५० जना महाधिवेशन प्रतिनिधिले मौन समर्थन गरे।

एमालेको १० औँ राष्ट्रिय महाधिवेशनका बेला अध्यक्ष केपी शर्मा ओलीले चितवनमा पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको नाम पढेर सुनाएका थिए। घनश्याम भुसाल, भीम रावल र टंक कार्कीबाहेक सबै सदस्यहरूले त्यसलाई चुपचाप अनुमोदन गरेका थिए। त्यसको केही दिनपछि काठमाडौँको एक होटेलमा आयोजित कार्यक्रममा दाहालले भनेका थिए, “एमाले पार्टी रहेन, त्यो त ओलीको झुन्ड बन्यो। चितवन महाधिवेशनले त्यसलाई प्रमाणित गर्छ।” आफ्नो खल्तीबाट केन्द्रीय सदस्यहरूको नाम पढेर सुनाउँदै गर्दा दाहालले सायद आफैले लगाएको यो आरोप सम्झन चाहेनन्।

माओवादीमा पदाधिकारी चयन गर्ने जिम्मा पनि दाहालले आफूमै सारे। तर, लामो समय पदाधिकारी नियुक्त गरेनन्। त्यसबेला वर्षमान पुन उपचारका क्रममा चीनमा थिए। दाहाल पुनलाई नै महासचिव बनाउन चाहन्थे। दाहालनिकट रहेका जनार्दन शर्माको दाबी पनि महासचिवमै थियो। पुन र शर्मा दुबैलाई खुमलटारबाट टाढा राख्न नचाहेका दाहालले त्यसकै निम्ति अन्ततः महासचिवको जिम्मा देव गुरुङलाई दिए। महासचिव भएपछि गुरुङले भनेका थिए, “काम त गर्न नसक्ने होइन। तर, पार्टी महासचिवको जिम्मेवारी पाउँछु जस्तो लागेको थिएन। पार्टीभित्र सन्तुलन कायम गर्न जरुरी छ भन्ने बुझ्नुहोस्।” 

दाहालले ठूलो कम्युनिस्ट पार्टीको अध्यक्ष बन्ने र शक्तिशाली पार्टीकै प्रधानमन्त्री पनि बन्ने रणनीतिसहित एमालेसँग एकता गर्ने निर्णय गरेका थिए। तर, केपी शर्मा ओलीसामु उनको रणनीतिले काम गरेन। “उहाँ युद्धकालमा झैँ सधैँ कमान्डर बन्न चाहनुभयो। म नै प्रमुख भन्ने देखाउन खोज्नुभयो। पद, पैसा र अवसर पाउने नेताहरूले उहाँको यो चाहना पुरा गर्दै गए। त्यसैले आज पार्टी उहाँको मुठीमा छ”, माओवादीका अर्का एक नेताले भने, “पार्टी ओरालो लाग्दै छ, तर उहाँ एक्लै उचाइमा पुग्न खोजिरहनुभएको छ।”

ओरालो लागेको पार्टीमा दाहाल सधैँ केन्द्रमा
२०२८ सालमा पार्टी सदस्यता पाएका दाहाल २०४२ सालमा तत्कालीन नेकपा मसालको केन्द्रीय सदस्य बनेका थिए। ‘सेक्टर काण्ड’का कारण मोहन वैद्यले नेतृत्व छाडेपछि नेतृत्वमा पुगेका उनी त्यसपछि कहिल्यै त्यहाँबाट ओर्लिएका छैनन्। दाहालसँग लामो संगत गरेकाहरू उनी नेतृत्वमा रहन आवश्यक सबै प्रबन्ध गर्न हरदम प्रयत्न गरिरहने बताउँछन्।

हिंसात्मक विद्रोह छाडेर संसदीय राजनीतिमा प्रवेश गरेपछि पनि दाहाल ‘सुप्रिम कमान्डर’ बनिरहन खोजेको आरोप लगाएर वैद्य, नेत्रविक्रम चन्द र बाबुराम भट्टराईलगायतले उनको साथ छाडे। उनीहरूले पार्टी नै छाडे। यद्यपि भट्टराईले यसपालिको निर्वाचनमा आश्चर्यजनक रूपमा दाहाललाई साथ दिए। दाहालकै निम्ति उनले आफू निर्वाचन लडिरहेको गोरखा–२ छाडिदिए। गोरखा–२ मात्र छाडेनन्, दाहाललाई जिताउन पनि कम्मर कसेर लागे। त्यसको शोधभर्ना हुने गरी उनले काठमाडौं–७ बाट छोरी अस्मिता सिंह (मानुषी) यमि भट्टराईलाई माओवादीकै चुनाव चिन्हबाट उम्मेदवार बनाए। तर, मानुषीले जित्न सकिनन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पराजुली ८७४३ मतसहित निर्वाचित हुँदा तेस्रो भएकी मानुषीले ६०६३ मत ल्याइन्।

वामपन्थी राजनीतिका विश्लेषक श्याम श्रेष्ठका अनुसार दाहाल ‘चतुर’ नेता हुन् र उनको त्यही चतुर्‍याइँकै कारण माओवादी क्रमशः खुम्चिँदै छ। श्रेष्ठ भन्छन्, “पार्टी खुम्चिएको छ, दाहाल आफू मात्रै सर्वमान्य भइरहने प्रयासमा हुनुहुन्छ। माओवादीको धारलाई उहाँले समात्न सक्नु भएन।”

पहिलो संविधानसभा निर्वाचनमा माओवादी सबभन्दा ठूलो पार्टी बनेपछि प्रधानमन्त्री बनेका दाहाल छोटो समयमै विवादित बने। त्यसपछि माओवादीबाटै  बाबुराम भट्टराई प्रधानमन्त्री बने। त्यतिञ्जेल पार्टीमा अन्तर्द्वन्द्व चर्किइसकेको थियो। भट्टराईले हठात् संविधानसभा विघटन गरेको आरोप लगाउँदै मोहन वैद्य समूह माओवादीबाट अलग भयो।

माओवादीको आकार घट्दै जाँदा पार्टी संगठन बलियो बनाउने भन्दा पनि ‘वैशाखी’को सहारा लिएर शक्तिमा रहिरहने प्रयास थालेको आरोप दाहालमाथि छ। आफ्ना सहकर्मीहरूको सल्लाहविपरीत उनले २०७४ सालको निर्वाचनमा एमालेसँग गठबन्धन गरे। त्यसबेला गठबन्धन नगरेको भए माओवादीको ओरालो यात्रा त्यहीबेलै रफ्तारमा अघि बढ्ने आकलन गर्नेहरू पनि छन्।

यसपटक दाहालले कांग्रेससँग गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय गर्दा पनि उनका सहकर्मीहरूलाई चित्त बुझेको थिएन। तर, माओवादीको ‘हालत’ आकलन गर्न कठिन भएकाले धेरैले दाहालले भनेअनुसार नै गठबन्धन अंगाले। गठबन्धनको बलमा पनि प्रत्यक्षमा १७ सिटमा खुम्चिएको माओवादी पंक्ति अब दाहालको प्रधानमन्त्री भइछाड्ने हुटहुटी पूरा गर्न बाध्य देखिन्छ। 


सम्बन्धित सामग्री