Saturday, April 27, 2024

-->

फुटबल
राष्ट्रिय टोलीमा ७ नयाँ खेलाडी, पुरानो लय समात्ने चुनौतीमा एनिस

खेलाडीहरूको विदेश पलायनले सन्तुलन बिग्रिएको नेपाली फुटबल टोली सम्हाल्न आइपुगेका इटालियन प्रशिक्षक एनिससामु नयाँ खेलाडीलाई प्रशिक्षित गर्दै फुटबलको पुरानै लय समात्ने चुनौती छ।

राष्ट्रिय टोलीमा ७ नयाँ खेलाडी पुरानो लय समात्ने चुनौतीमा एनिस

काठमाडौँ– करिब ४० जना नियमित खेलाडी पलायन हुँदा बिग्रिएको नेपाली राष्ट्रिय फुटबल टोलीको सन्तुलन मिलाउने साहस गर्नु चानचुने कुरा थिएन। त्यसमाथि चार महिनापछि भारतमा हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि खेलाडी तयार पार्नुपर्ने चुनौती। यता, ‘सर्टलिस्ट’मा परेका २० मध्ये १९ खेलाडी अखिल नेपाल फुटबल संघ (एन्फा)को भौतिक अन्तर्वार्तामा उपस्थित नभएको स्थिति।

यस्तो मुस्किल अवस्थाबाट गुज्रिएको नेपाली राष्ट्रिय टोली सम्हाल्न आइपुगे, इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिस। १३ वर्ष विभिन्न टोलीको ‘टचलाइन’मा उभिइसकेका एनिस आफूले नेपाली टोलीलाई तीन वर्षदेखि नियाल्दै आएको दाबी गर्छन्।

नेपाली फुटबलको पछिल्लो अवस्थाबारे जानकार रहेको बताउने उनले आगामी जुन २१ देखि जुलाई ३ सम्म आयोजना हुने साफ च्याम्पियनसिपको मुखैमा टोलीको बिग्रिएको सन्तुलन मिलाउने जोखिम मोलेका हुन्। तर, त्योभन्दा अघि उनले बुधबारबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरू हुने नेपाल, लाओस र भुटानसम्मिलित प्रधानमन्त्री थ्री नेसन्स कपमार्फत आफ्नो परीक्षा दिँदै छन्।

“यो साफ तयारीका लागि एउटा पाइला हो। यसैको तयारीका लागि मैले उपलब्ध भएका खेलाडी समेटेर नयाँ युवा टोली बनाएको छु,” उनले भने। प्रतियोगिताको अघिल्लो दिन मात्रै उनले २३ सदस्यीय टोली घोषणा गरेका हुन्।

यो उनले सम्हालेको दोस्रो राष्ट्रिय टोली हो। बुधबारबाट शुरू हुने प्रधानमन्त्री थ्री नेसन्स कपअन्तर्गत लाओसविरुद्धको खेलमार्फत उनले नेपाली टोलीमा डेब्यू गर्दै छन्। यसअघि उनले बेलिजको राष्ट्रिय टोली सम्हालेका थिए। तर, बेलिजमा उनले राष्ट्रिय टोली बनाउन सायदै यस्तो झमेलाको सामना गरेका थिए।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार आयोजित ‘प्रि–म्याच प्रेस कन्फ्रेन्स’मा उनले आफूले भोगेको समस्या सुनाए। अधिकांश खेलाडी विदेश पलायन भएको र देशमै रहेका नयाँ खेलाडीले ‘ए’ डिभिजन लिगका कारण ९० मिनेट मैदानमा समय दिन नसक्दा टोली बनाउन सकस परेको उनको तर्क थियो।

“छोटो समयमा ‘ए’ डिभिजन लिगका धेरै खेल भएको कारण हेर्ने पर्याप्त समय भने पाइएन। तर, ४५–४५ मिनेट गरी फरक–फरक टोलीका सबै खेल हेरेँ। त्यसैका आधारमा टोली बनाएको हुँ, ” उनले सुनाए।

करिब तीन हप्ताअघि काठमाडौँ ओर्लिएका उनले पाँचौँ चरणसम्मको ‘ए’ डिभिजन लिगका खेल हेरेका छन्। राष्ट्रिय टोली बनाउन उनले दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्सको कुनाकाप्चा पूरै चाहर्न पर्‍यो। तर, आफूले भने/खोजे जस्तो अनुभवी र युवा खेलाडी भेटाउन नसकेको उनी बताउँछन्।

दुई दिनअघि प्रशिक्षण शुरू गर्दा उनले २३ खेलाडीलाई बोलाएका थिए। तर, अनुभवी खेलाडीको स्थानलाई परिपूर्ति गर्न नयाँ अनुहार नभेटेपछि सोमबार त्रिभुवन आर्मीका फरवार्ड भरत खवासलाई समेत समेट्न पर्‍यो। सन् २०१८ मा माल्दिभ्समा आयोजना भएको साफमा भुटानसँग खेलेपछि राष्ट्रिय टोलीमा पर्न संघर्ष गरिरहेका ३१ वर्षीय भरत यही प्रतियोगितामार्फत टोलीमा कमब्याक गर्ने तयारीमा छन्। भरतलाई नै किन समेटियो भन्ने प्रश्नमा उनी भन्छन्, “मैले चर्चित नाम हेरेको होइन। फिट रहे/नरहेको हेरेर ९० मिनेट खेल्न सक्ने खेलाडी छानेको हो।”

गोलरक्षकमा किरण चेम्जोङ र दीप कार्कीलाई नै उनले निरन्तरता दिएका छन्। रक्षकमा अनन्त तामाङ र निशान्त खड्का र विकाश तामाङबाहेक अन्य खेलाडी नयाँ हुन्।

त्यस्तै, मिडफिल्डमा पूजन उपरकोटी, एरिक विष्ट, रोहित चन्दले निरन्तरता पाएका छन्। फरवार्ड मनिष डाँगी, आयुष घलान, नवयुग श्रेष्ठ र अञ्जन विष्ट पुराना अनुहार हुन्। उनले गोलरक्षकमा अभिषेक बराल, रक्षक शनिस श्रेष्ठ र पदम भट्टराई, मिडफिल्ड मणि लामा र नवीन लामा तथा फरवार्डमा सुमित श्रेष्ठ र दीपकसिंह ठकुरी गरी सात खेलाडीलाई पहिलोपटक टोलीमा स्थान दिएका छन्।

टोलीमा स्थान बनाएका सातदोबाटोका फरवार्ड दीपक जारी लिगका सर्वाधिक गोलकर्ता हुन्। उनले पाँच खेलमा चार गोल गरेका छन्। यस्तै, मनाङ मर्स्याङ्दीका सुमित गोल गर्न संघर्षरत छन्। उनी गत वर्ष पोखरामा आयोजना भएको पहिलो संस्करणको ‘ए’ डिभिजन फुटसल लिगपछि मनाङ मर्स्याङ्दीमा यसै वर्ष प्रवेश गरेका हुन्।

उनले घरेलु टिम स्पोर्टस् क्यासलबाट खेलेका थिए। यस्तै, मणि पनि सोही लिगबाट विभागीय टोली एपीएफमा प्रवेश गरेका हुन्। सातदोबाटोका अभिषेक, एपीएफका शनिस र नवीन यसअघि ‘ए’ डिभिजन लिगका अनुभवी खेलाडी हुन्। एफसी खुमलटारका पदम र सातदोबाटोका दीपक भने ‘बी’ क्लबबाट ‘ए’ डिभिजनमा उक्लिएका हुन्।

प्रशिक्षक एनिसले आफूले छनोट गरेका खेलाडी क्षमतावान् भएको दाबी गर्दै बुधबार लाओसविरुद्ध हुने पहिलो खेलमा प्रमाणित गर्ने बताए। “मैले पहिलो पटक एशियाली राष्ट्रको राष्ट्रिय टोली हेर्ने अवसर पाएको हुँ, म यहाँ नयाँ छु,” उनले भने, “हामीलाई हाम्रो क्षमतामा विश्वास छ। भोलिको खेलका लागि सकेसम्म उत्कृष्ट तयारी गर्ने प्रयासमा छौँ। त्यसैले हाम्रो क्षमता भोलिको खेलबाट थाहा हुनेछ।”

नेपालले सन् २०१६ पछि पहिलो पटक लाओससँग प्रतिस्पर्धा गर्न लागेको हो। मलेसियामा आयोजना भएको एएफसी सोलिडारिटी कपको उपाधि जित्दा नेपालले सेमिफाइनलमा लाओसलाई पाखा लगाएको थियो। निर्धारित समयमा दुवै टोलीबाट २–२ गोल भएकोपछि खेलको छिनोफानो पेनाल्टीमार्फत भएको थियो। जसमा लाओसकाे दुई प्रहार बाहिरिएपछि नेपालले ३–० गोल अन्तरले जितेकाे थियाे। 

फाइनलमा मकाउविरुद्व सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई उपाधि दिलाए। लाओसविरुद्धको खेलमा निर्धारित समयअघि गोल गर्ने अनन्त बुधबार मैदान उत्रिने छन्। यता, विमल घर्तीमगर भने नेपाली टोलीमा छैनन्। यस्तै, पेनाल्टीमा गोल गर्ने हेमन्त गुरुङ अस्ट्रेलिया भासिसकेका छन्। थ्रीस्टारबाट खेलिरहेका विक्रम लामा र मछिन्द्रका सुजल श्रेष्ठ टोलीमा अटाउन सकेनन्।

यता, नेपाल अर्को प्रतिद्वन्द्वी भुटानसँग सन् २०१८ मा बंगलादेशमा आयोजना भएको साफ च्याम्पियनसिपपछि पहिलोपटक भिड्न लागेको हो। उक्त प्रतियोगितामा नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो। नेपालका लागि अनन्त तामाङ, सुनिल बल, भरत खवास र निरञ्जन खड्काले गोल गरेका थिए। सुनिल र निरञ्जन पनि अस्ट्रेलिया पलायन भइसकेका छन्।

नेपाली टोलीका कप्तान किरण यसअघि ‘ड्रेसिङ रुम’ सेयर गरेका अधिकांश खेलाडी नहुने हुँदा नौलो अनुभव हुने सुनाउँछन्। तर, नयाँ प्रशिक्षक र नयाँ खेलाडीको कारण चुनौती थपिए पनि टिमले राम्रो नतिजा निकाल्नेमा आफू विश्वस्त रहेको उनले बताए। “नयाँ प्रशिक्षक हुनुहुन्छ, नयाँ टिम छ। यसले केही फरक पार्छ नै। तर, यो एक प्रोसेस हो। यसलाई स्वीकार गरेर अघि बढेका छौँ। अवश्य सफल भइन्छ,” उनले भने।

तस्वीरहरू : एन्फा


सम्बन्धित सामग्री