Friday, May 03, 2024

-->

नक्कली शरणार्थी प्रकरण : कानूनी प्रश्नको जवाफी बहस सकियो, आदेश आजै आउने

जवाफी बहसमा सहभागी जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता तथा जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले अब बाँकी काम नरहेकाले आजै थुनछेक आदेश आउने जानकारी दिए।

नक्कली शरणार्थी प्रकरण  कानूनी प्रश्नको जवाफी बहस सकियो आदेश आजै आउने

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आरोपीका तर्फबाट कानून व्यवसायीहरूले उठाएका कानूनी प्रश्नमाथि शुक्रबार सरकारी वकिलले जवाफी बहस गरेका छन्।

अदालतले तोकको निर्धारित १ बजेभित्रै जिल्ला सरकारी वकिलको कार्यालयले जवाफी बहस सकेको हो। उनीहरूले अभियुक्तका वकिलहरूले उठाएको कानूनी प्रश्नको जवाफ दिएका थिए।

काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने, जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरे, जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्री र सहायक जिल्ला न्यायाधिवक्ता निर्मला मरासिनीले जवाफी बहस गरेका थिए। यस्तै, जाहेरी कर्ताका तर्फबाट पनि दुई जना वकिलले जवाफी बहस गरेको सहायक जिल्ला न्यायाधिवक्ता दधिराम बरालले राससलाई जानकारी दिए।

अब बाँकी काम नभएकाले आजै थुनछेक आदेश हुने छ। जवाफी बहसमा सहभागी जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता तथा जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले अब बाँकी काम नरहेकाले आजै थुनछेक आदेश आउने जानकारी दिए। आजै आदेश आउने भए पनि कति बेला आउँछ भन्ने कुरा न्यायाधीशको समयमा भर पर्ने उनले बताए। आरोपीलाई थुनामा राख्ने कि नराख्ने भनेर दिने आदेश नै थुनछेक आदेश हो। प्रायः भाग्न सक्ने, प्रमाण नष्ट हुने अवस्था देखिएमा थुनामै राखेर मुद्दा अघि बढाउने आदेश हुने गर्छ।

उक्त प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले जेठ १० गते जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको थियो। त्यसपछि आरोपीको बयान सकेर जेठ २१ गतेदेखि थुनछेक बहस शुरू भएको हो। तीन दिन सरकारी वकिल र उजुरीकर्ताका तर्फबाट बहस भएपछि प्रतिवादीका तर्फबाट वकिलहरूले बहस गरेका थिए। शुक्रबार त्यसको जवाफी बहस भएको हो।

उक्त प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सोही घटनामा मुछिएर निलम्बनमा परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत १८ जनालाई पक्राउ गरी हिरासतमा राखिएको छ।

शरणार्थी प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ। उनीहरूविरुद्ध कीर्ते, ठगी, संगठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोही अनुसार सजायको माग दाबीसहित मुद्दा दर्ता गरिएको थियो। सार्वजनिक ओहदामा बसेका व्यक्तिको हकमा थप तीन वर्ष सजाय हुनसक्छ। उनीहरूलाई कैदका साथै २८ करोड ८१ लाख बिगोसमेतको माग गरिएको छ। उक्त घटनामा अझै १२ जना फरार छन्।


सम्बन्धित सामग्री