जेन–जी आन्दोलनको बलमा हुन लागेको फागुन २१ को निर्वाचनमा दलका ७६ समेत कुल १५४ जना जेन–जी उम्मेदवार प्रत्यक्ष प्रतिस्पर्धामा छन्। आन्दोलनको अग्रभागमा रहेका कैयौँ जेन–जी अगुवा भने चुनावी दौडमै सामेल छैनन्।
काठमाडौँ— देशमा जेन–जी आन्दोलन नभएको भए फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचन सम्भवतः २०८४ सालमा मात्र हुने थियो। भदौ २३ मा भएको जेन–जी पुस्ताको आन्दोलन र त्यसलगत्तै भदौ २४ मा भएको विध्वंस यस्तो परिघटना बनिदियो जसले फागुन २१ मै प्रतिनिधिसभाको नयाँ निर्वाचन अवश्यम्भावी बन्न पुग्यो।
जेन–जी पुस्ताको आन्दोलनको जगमा हुन लागेको यो निर्वाचनमा नवयुवा भनिने जेन–जी पुस्ता मतदाताका रूपमा मात्र होइन, प्रतिस्पर्धीकै रूपमा चुनावी मैदानमा ओर्लिएको छ। प्रतिनिधिसभाका कुल १६५ निर्वाचन क्षेत्रमा हुने प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ता गराएकामध्ये फिर्ता लिनेको संख्या घटाएर निर्वाचन आयोगले तीन हजार ४०६ उम्मेदवारको सूची सार्वजनिक गरेको छ। त्यसमा तीन हजार १७ जना पुरुष र ३८८ जना महिला छन्।
आयोगले सार्वजनिक गरेको यो सूचीमा खोजबिन गर्दा हामीले विभिन्न राजनीतिक दलबाट ७६ जना र स्वतन्त्र उम्मेदवारका रूपमा ७८ जना जेन–जी पुस्ताका उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएको आँकडा फेला पारेका छौँ।
त्यो आँकडा केलाउँदा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ एक जना पनि जेन–जी पुस्ताका उम्मेदवार अघि सारेको देखिएन। निर्वाचन आयोगको तथ्यांक र कांग्रेसका आधिकारिक उम्मेदवारहरू सूची अध्ययन गर्दा प्रत्यक्षतर्फका १६५ वटा निर्वाचन क्षेत्रमा जेन–जी पुस्ताका उम्मेदवार भेटिएनन्। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले एकाध जेन–जी पुस्ताका उम्मेदवार अघि सारेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) ले भने केही बढी उम्मेदवार उठाएका छन्। जेन–जी पुस्ताका सबैभन्दा धेरै उम्मेदवार स्वतन्त्र उम्मेदवारका रूपमा प्रत्यक्ष चुनावी मैदानमा छन्।
रास्वपा र उनेपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा धेरै जेन–जी पुस्ताका युवालाई उम्मेदवार बनाएको छ। आफूलाई पुराना दलको विकल्प दाबी गरेर आएको दल हो रास्वपा जसले पछिल्लो समय जेन–जी आन्दोलनको रापताप आफूसँगै रहेको दाबी गरिरहेको छ। तर उसले नै ९ जना उम्मेदवार मात्र यो पुस्ताबाट अघि सारेको छ।
जेन–जी प्रतिनिधिका रूपमा सुशीला कार्की नेतृत्वको गैरदलीय चुनावी सरकारमा युवा तथा खेलकुदमन्त्री बनेका, रास्वपाबाट चुनाव लड्न बीचमै राजीनामा दिएर हिँडेका २८ वर्षीय बब्लु गुप्ता सिराह—१ बाट उम्मेदवार बनेका छन्। काठमाडौँ महानगरको मेयरबाट राजीनामा दिएर रास्वपा प्रवेश गरेका बालेन्द्र शाहको निकट रहेका २५ वर्षीय केपी खनाल कैलाली—२ बाट रास्वपाको उम्मेदवार बनेका छन्। आफूलाई उम्मेदवार बनाएर रास्वपाले सुदूरपश्चिमका जेन–जीको सम्मान गरेको तर्क उनको छ।
रास्वपाबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व)—२ बाट उम्मेदवार बनेका २६ वर्षीय मनिस खनाल, तेह्रथुमबाट उम्मेदवार बनेका २८ वर्षीय सुरेन्द्र कार्की, मुगुबाट उम्मेदवारी दिएका २५ वर्षीय भुवन टमाटा र रुपन्देही—२ का उम्मेदवार बनेका २८ वर्षीय सुलभ खरेल जेन–जी हुन्। खरेलले आफ्नो उम्मेदवारीले युवालाई राजनीतिमा आउन प्रेरणा मिल्ने दाबी गरे।

पहिले समानुपातिक सूचीमा राखेर एकाएक त्यहाँबाट हटाइएकी २६ वर्षीया टासी ल्हान्जोमलाई रास्वपाले हुम्लाबाट प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ। अछाम—१ मा उम्मेदवार बनेका २७ वर्षीय ओमप्रकाश रावलले विकटका युवालाई पत्याएर टिकट दिनु अरूका लागि पनि हौसला भएको बताए। त्यस्तै, मकवानपुर–२ बाट २५ वर्षीय प्रशान्त उप्रेतीलाई उम्मेदवार बनाएको छ।
रास्वपाले भर्खरै जेन–जी उमेर समूह पार गरेका २९ वर्षीया निशा डाँगीलाई झापा—१, २९ वर्षीया विनिता कठायतलाई जुम्ला र ३० वर्षीया सोविता गौतमलाई चितवन—३ मा उम्मेदवार बनाएको छ। उनीहरू तीनै जना यसअघि नै प्रतिनिधिसभामा पुगिसकेका छन्। रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटी भन्छन्, “हाम्रो पार्टी युवासँगै हुर्किएको छ। जेन–जीसँगै भर्खरै जेन–जी उमेर समूह पार गरेका उम्मेदवार पनि धेरै छन्।”
रास्वपासँग एकीकरण गरे पनि १२ दिनमै अलग्गिएको कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) ले जेन–जी समूहका ७ युवालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ। त्यसमा जेन–जी आन्दोलनमा घाइते भएकालाई मोटरसाइकलमा राखेर अस्पताल पुर्याएको भिडियोबाट चर्चित २६ वर्षीया किशोरी कार्की पनि छन्। कार्कीलाई उनेपाले ओखलढुङ्गाबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। “मैले सडकमा घाइतेहरूको सेवा गरेँ, अब सदनमा पुगेर समग्र देशको घाउमा मलम लगाउने र युवाको आवाज बुलन्द पार्ने जिम्मेवारी पाएको महसुस गरेकी छु,” कार्कीले भनिन्।
उनेपाले २८ वर्षीय मनोजकुमार गुप्तालाई महोत्तरी–१ बाट र २७ वर्षीय गोपाल तामाङलाई सुनसरी–२ बाट उम्मेदवार बनाएको छ। तामाङ भन्छन्, “पार्टीले युवाको ऊर्जा र कुलमान घिसिङको ‘उज्यालो भिजन’लाई जोडेर देश विकासको नयाँ खाका कोर्नेछ।”
२५ वर्षीय वसन्त बुढाथोकी मोरङ–६ बाट र २८ वर्षीय राजेश रावल अछाम–२ बाट उम्मेदवार बनेका छन्। सिरहा–३ बाट २६ वर्षीय श्रवण पासवान र रौतहट–२ बाट २५ वर्षीय रामाकान्तप्रसाद पटेलले उनेपाबाट उम्मेदवारी दिएका छन्।
घिसिङले आफ्नो पार्टी जेन–जी आन्दोलनको बलमा उदाएकाले त्यही पुस्ताबाट उम्मेदवारलाई प्राथमिकता दिइएको बताए। उनले भने, “हामीले पार्टी गठनदेखि नै युवालाई प्राथमिकता दिएका छौँ। चुनावका बेला पनि प्राथमिकता दिएका छौँ, पछि पनि प्राथमिकता दिने छौँ।”
नेमकिपा अघिअघि, कांग्रेस, एमाले र नेकपा पछि
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले पनि जेन–जी उमेर समूहका सात जनालाई प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ। जस्तो, २५ वर्षीया निलमकुमारी यादव सप्तरी–२ बाट र २५ वर्षीया गंगाकुमारी राजवंशी मोरङ–५ बाट नेमकिपाको उम्मेदवार बनेका छन्। यादव भन्छिन्, “मधेशका किसान र मजदुरको हकहितका लागि संसद्मा आवाज उठाउनु मेरो मुख्य लक्ष्य हो, हामी युवा नै परिवर्तनका संवाहक हौँ।”
नेमकिपाबाट २७ वर्षीय सुग्रिम चाई रुपन्देही–३ बाट, २८ वर्षीय तृष्ण पुनमगर कैलाली–५ बाट र २६ वर्षीय राजु तामाङ काभ्रेपलाञ्चोक–२ बाट चुनावी मैदानमा उत्रिएका छन्। अछाम–१ बाट नेमकिपाको उम्मेदवार बनेका २६ वर्षीय सुरेन्द्र शाहीले आफ्नो उम्मेदवारीबारे भने, “दुर्गमका बस्तीहरू अझै पनि आधारभूत सुविधाबाट वञ्चित छन्, नेमकिपाको सिद्धान्तअनुसार म ती बस्तीको आवाज केन्द्रसम्म पुर्याउन लड्नेछु।”
नेमकिपाले कैलाली–१ बाट २५ वर्षीया सुनिता भण्डारीलाई प्रत्यक्ष उम्मेदवारको रूपमा मैदानमा उतारेको छ।
तर नेकपा एमालेले जेन–जी पुस्ताका दुई जना उम्मेदवार मात्र प्रत्यतक्षतर्फ अघि सारेको छ। एमालेले ओखलढुङ्गाबाट २८ वर्षीया अस्मिता थापा र सर्लाही–४ बाट २७ वर्षीय अमनिसकुमार यादवलाई उम्मेदवार बनाएको छ। थापा भन्छिन्, “मलाई पार्टीले विश्वास गरेर टिकट दियो। म जस्ता धेरै जेन–जी साथीहरू अब पार्टीमा आउनुपर्छ।”
एमालेले नवयुवा पुस्तालाई किन यति थोरै मात्र उम्मेदवार बनायो त? एमाले सचिव राजन भट्टराई आफ्नो पार्टीले युवालाई प्राथमिकता दिएको दाबी गर्छन्। उनले प्राथमिकता दिँदैमा उमेर मात्र निर्णायक नहुने बताए। “हामी युवालाई प्राथमिकता दिने पार्टी हौँ,” भट्टराईले भने, “सँगसँगै संगठन निर्माणमा कति योगदान पुर्याएको छ र कति क्षमता छ भन्ने कुराको पनि मूल्याङ्कन जरुरी हुन्छ।”
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट जेन–जी पुस्ताका एक जना मात्र उम्मेदवार छन्, बारा–४ बाट प्रतिस्पर्धा गरिरहेका अजय कुशवाहा। २७ वर्षीय कुशावाहा बास्केटबलका राष्ट्रिय खेलाडी हुन्। “मैले राष्ट्रका लागि बास्केटबल कोर्टमा पसिना बगाएँ, अब संसद्को कोर्टमा पुगेर युवा र खेलकुदको भविष्यका लागि काम गर्न चाहन्छु,” उनले भने।
नेकपा नेता नारायणकाजी श्रेष्ठ युवालाई पछाडि राखेर अब कुनै पनि पार्टीले राजनीति गर्न नसक्ने दाबी गर्छन्। उनले आफ्नो पार्टीले शुरूबाटै युवालाई प्राथमिकता दिएको, अहिले पनि युवा सँगसँगै रहेको दाबी गरे।
जेन–जी पुस्ताको एक जना पनि उम्मेदवार अघि नसारेकोबारे कांग्रेस उपसभापति पुष्पा भुसालले यो पुस्ताका लागि पार्टी संगठनको ढोका खुलिसकेको र अब विधानसमेत संशोधन गरी युवाका लागि अझै बलियो स्थान तयार पारिने दाबी गरिन्। “कांग्रेस बदलिइसकेको छ। अधिकांश नयाँ अनुहारसहित अब देश बनाउने अठोटका साथ चुनावमा जाँदै छौँ,” उनले भनिन्।
कांग्रेस प्रवक्ता देवराज चालिसे २८ वर्षभित्रका युवालाई उम्मेदवार नबनाए पनि सोही उमेर समूह वरपरका युवालाई उम्मेदवार बनाइएको दाबी गर्छन्। “जेन–जी शब्द भन्दा पनि यो पुस्ताको भावना सम्बोधन भयो कि भएन भन्ने कुरा महत्त्वपूर्ण हो,” उनले भने, “कांग्रेसले यसपटक जेन–जीको भावना अनुसार युवा र नयाँ अनुहारलाई प्राथमिकता दिएको छ।”

अन्य पार्टी
प्रतिनिधिसभा निर्वाचनमा सहभागी ‘राष्ट्रिय परिवर्तन पार्टी’ ले चार जना जेन–जी उम्मेदवार अघि सारेको छ। तिनमा २५ वर्षीय सालिकराम राई (धनकुटा), २६ वर्षीया उषालक्ष्मी तुम्वाहाङफे (तेह्रथुम), २६ वर्षीय अरुण राई (उदयपुर–२) र २५ वर्षीय मिरेश राई (खोटाङ) छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट पनि चार जना जेन–जी युवा चुनावी मैदानमा छन्। राप्रपाले आन्दोलनमै सक्रिय २७ वर्षीय रविकिरण हमाल (सुर्खेत–१), २८ वर्षीय अधिवक्ता कल्याणविक्रम आचार्य (बागलुङ), २७ वर्षीय सविन निरौला (मोरङ–६) र २७ वर्षीय अजयकुमार दास (सप्तरी–२) लाई उम्मेदवार बनाएको छ।
धरान उपमहानगरपालिकाका पूर्वप्रमुख हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीले जेन–जी पुस्ताका २६ वर्षीय पंकज ठाकुर (सिराहा–४), २८ वर्षीय वसिम शेष (पर्सा–१) र २८ वर्षीय महेन्द्र पुन मगर (डडेलधुरा) लाई प्रत्यक्षतर्फका उम्मेदवार बनाएको छ। त्यस्तै, जनमत पार्टीले यही पुस्ताका २७ वर्षीय वीरेन्द्र महतो (महोत्तरी–१), २८ वर्षीय सोनु कुशहवा (रौतहट–२) र २८ वर्षीय रामकल्याण राउत (रौतहट–४) लाई उम्मेदवार बनाएको छ।
गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) ले प्रत्यक्षतर्फ अघि सारेका तीनजना उम्मेदवारमध्ये सुर्खेत–२ मा उम्मेदवारी दिएका २७ वर्षीय पवन थापा मगर जेन–जी पुस्ताका हुन्। मगरले भने, “नयाँ पार्टी भए पनि समाजलाई नजिकबाट हेर्ने मानिसहरूसँग भेट भइरहेको छ। समाज विकासमा कसरी योगदान पुर्याउन सकिन्छ भन्नेबारे नजिकबाट बुझ्ने मौका पाएको छु।”
प्रगतिशील लोकतान्त्रिक पार्टीले जेन–जी पुस्ताका चार जना उम्मेदवार अघि सारेको छ जसमा विकास रसाइली (चितवन–१), २८ वर्षीय सन्दीप पुन (रुकुमपूर्व), २६ वर्षीय विकास बुढा (डोल्पा) र २६ वर्षीय प्रतीक अधिकारी (दाङ–२) छन्।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले २७ वर्षीय सुशान्त साम्पाङ राई (झापा–५) लाई उम्मेदवार बनाएको छ भने ‘राष्ट्र निर्माण दल नेपाल’ले २६ वर्षीय आदित्य आचार्यलाई सुनसरी–२ मा उम्मेदवार बनाएको छ।
‘नेपालका लागि नेपाली पार्टी’ले २५ वर्षीय रजनिश राज पाण्डे (महोत्तरी–३) र २७ वर्षीय कृष्ण यादव (सर्लाही–२) लाई जेन–जी पुस्ताका प्रतिनिधिको रूपमा उम्मेदवार बनाएको छ। त्यस्तै, जनता लोकतान्त्रिक पार्टीले २६ वर्षीय शिवशंकर कुमार शर्मा (महोत्तरी–४) लाई मैदानमा उतारेको छ। मंगोल नेशनल अर्गनाइजेसनबाट २६ वर्षीय विनोद थिङ (रसुवा), २८ वर्षीया श्रृषा गोले (चितवन–२), २५ वर्षीय कमान बुढामगर (जाजरकोट), २७ वर्षीय पेम्बा घले (भक्तपुर–२) र २८ वर्षीय सुस्मा आले (तनहुँ–२) चुनावी प्रतिस्पर्धामा छन्।
नेपाल जनसेवा पार्टीले जेन–जी पुस्ताका २७ वर्षीय अर्जुनबहादुर शाही (काठमाडौँ–१), २६ वर्षीय हृदयन्द्र अधिकारी (सुर्खेत–२) र २८ वर्षीय उमेश तामाङलाई (काभ्रेपलान्चोक–२) लाई उम्मेदवार बनाएको छ।
समावेशी समाजवादी पार्टीले २८ वर्षीय सुरेन्द्र पाण्डे (काठमाडौँ–१) लाई उम्मेदवार बनाएको छ भने जय मातृभूमि पार्टीले २६ वर्षीय अविन मेयाङ्गवो (काठमाडौँ–३) लाई चुनावी मैदानमा उतारेको छ। जनादेश पार्टी नेपालले २५ वर्षीय केश्म सिंह (काठमाडौँ–३) तथा नेशनल रिपब्लिक नेपालले २६ वर्षीय विष्णुमान विक (नवलपरासी बर्दघाट सुस्तापूर्व) लाई उम्मेदवार बनाएको छ।
आम जनता पार्टीले २८ वर्षीय प्रदीप भट्टराई (काठमाडौँ–४), २६ वर्षीय मोहम्मद ईस्तखार (पर्सा–३), २६ वर्षीय अजय बिक (मुस्ताङ–१) र २७ वर्षीया तिर्थाकुमारी बर्शी मगर बिक (दैलेख–२) लाई उम्मेदवार बनाएको छ। मुस्ताङका बिकले भने, “मुस्ताङ जस्तो भौगोलिक रूपमा कठिन र ओझेलमा परेको क्षेत्रबाट म जस्तो युवाले नेतृत्व लिनु भनेको नयाँ युगको शुरूआत हो।”
राष्ट्रिय मुक्ति पार्टी नेपालले २७ वर्षीय मदन डंगोल (काठमाडौँ–९) लाई उम्मेदवार बनाउँदा जनता समाजवादी पार्टीले २७ वर्षीय सरस्वतीप्रसाद बर्मा (बाँके–२) लाई उम्मेदवार बनाएको छ। मितेरी पार्टी नेपालले २७ वर्षीया सम्झना विष्ट थापा (कैलाली–२) र २७ वर्षीय सियाराम राना (कञ्चनपुर–१) लाई उम्मेदवार बनाएको छ। संयुक्त नागरिक पार्टीले २७ वर्षीय दानियल विक (कञ्चनपुर–१) लाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ।
जनअधिकार पार्टीले २८ वर्षीय सञ्जयकमुार सहनी (बारा–३) लाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ। जनादेश पार्टी नेपालबाट २८ वर्षीय मिलन बास्कोटालाई लम्जुङ–१ मा उम्मेदवार बनाइएको छ। नेपाल जनता पार्टीले २६ वर्षीय रनील विक्रम शाहीलाई जुम्लामा उम्मेदवार बनाएको छ।
धेरैचाहिँ स्वतन्त्र उम्मेदवार
निर्वाचन आयोगले सार्वजनिक गरेको सूची केलाउँदा जेन–जी पुस्ताका ७८ जनाले स्वतन्त्र उम्मेदवारी दिएको देखिन्छ। तिनमा २७ वर्षीय अस्मिनकुमार विष्टले कालिकोट, २६ वर्षीया दरोगा साहले रौतहट–३, २८ वर्षीय धिरज चौधरीले रौतहट–३, २५ वर्षीय सागर थापा मगरले स्याङ्जा–२, २७ वर्षीय सन्दीप पौडेलले रुपन्देही–२ र २६ वर्षीय पंकाजकुमार चौधरीले कपिलवस्तु–३ बाट उम्मेदवारी दिएका छन्।
२६ वर्षीय शैलेन्द्र सिंह सदासंकर (पश्चिम नवलपरासी), २७ वर्षीय अनिल राना (कञ्चनपुर–१), २७ वर्षीय यादव सिंह (कञ्चनपुर–१), २८ वर्षीय गोरखबहादुर ऐर (डडेलधुरा) र २७ वर्षीय साजन माझी (झापा–४) पनि स्वतन्त्र उम्मेदवार हुन्। २८ वर्षीया कञ्चन न्यौपाने (मोरङ–३), २७ वर्षीय सूजित कुमार साह (मोरङ–५), २८ वर्षीय अमरकुमार यादव (मोरङ–५), २५ वर्षीय राम खत्री (मोरङ–६) र २८ वर्षीय अंकित कार्की (सुनसरी–४) पनि स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्।

२५ वर्षीया रामकुमारी खङ (सप्तरी–१), २७ वर्षीय आशिष महतो (सिरहा–१), २८ वर्षीय आशिष लाल दास (सिरहा–१), २६ वर्षीय अंकितकुमार यादव (सिरहा–३) र २७ वर्षीय बल्लकुमार यादव (सिरहा–३) ले स्वतन्त्र उम्मेदवारी दिएका छन्। २८ वर्षीय रमेशकुमार साह (सिरहा–४), २५ वर्षीय महेन्द्र खड्का (दोलखा), २८ वर्षीया शर्मिला फुयाल चौलागाईँ (दोलखा), २६ वर्षीय सन्देश कोइराला (दोलखा) र २६ वर्षीय बालकृष्ण यादव (धनुषा–१) पनि स्वतन्त्र उम्मेदवार हुन्।
जेन–जी पुस्ताकै २८ वर्षीया किरणकुमारी काफर (धनुषा–१), २८ वर्षीय अनिलकुमार यादव (धनुषा–२), २६ वर्षीय लालबाबु मण्डल (धनुषा–२), २८ वर्षीय रोशन यादव (धनुषा–३) र २५ वर्षीय आनन्द दास तत्मा (धनुषा–३) ले पनि स्वतन्त्ररूपमा मनोनयन दर्ता गरेका छन्।
२८ वर्षीय दिपेशकुमार यादव (धनुषा–४), २६ वर्षीय सचिन महतो (महोत्तरी–१), २६ वर्षीय शिवनारायण महतो (महोत्तरी–१), २६ वर्षीय गुरुराज यादव (महोत्तरी–२) र २५ वर्षीय महोम्मत फिरोज अन्सारी (महोत्तरी–३) पनि स्वतन्त्र उम्मेदवार बनेर चुनावी प्रतिस्पर्धामा छन्।
२६ वर्षीय सुरेश कुमार यादव (महोत्तरी–४), २७ वर्षीय गंगाप्रसाद यादव (महोत्तरी–४), २७ वर्षीय विनोद कुमार मण्डल (महोत्तरी–४), २७ वर्षीय नागेन्द्र चौधरी (सर्लाही–२) र २५ वर्षीय दिपेशकुमार यादव (सर्लाही–२) पनि स्वतन्त्र उम्मेदवार हुन्।
२७ वर्षीय तजबिज भण्डारी (सर्लाही–३), २८ वर्षीय सन्दीप थापा (सर्लाही–३), २५ वर्षीय चन्दन राजवंशी (सर्लाही–३), २५ वर्षीय कृष्णकुमार शाह (सर्लाही–३) र २७ वर्षीय डम्बरबहादुर खड्का (सर्लाही–३) पनि स्वतन्त्र उम्मेदवार हुन्।
२७ वर्षीय छोटेलाल कुमार यादव (सर्लाही–४), २५ वर्षीय राजेश भट्टराई (धादिङ–१), २६ वर्षीय विश्वास बस्नेत (काठमाडौँ–२), २७ वर्षीय पुष्प बानिया (काठमाडौँ–७) र २६ वर्षीय अमन श्रेष्ठ (काठमाडौँ–७) स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्। २६ वर्षीय देवेन्द्र सिंह (ललितपुर–१), २७ वर्षीय विमर्ष मिश्र (ललितपुर–३), २८ वर्षीय केशवराज तामाङ (काभ्रेपलान्चोक–२), २६ वर्षीय विवेक चौधरी (रौतहट–१) र २६ वर्षीय शेख मुस्ताक (रौतहट–२) ले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्।
२७ वर्षीय कृष्णराम चमार (रौतहट–३), २८ वर्षीय शिवचन्द्र शाह (रौतहट–३), २६ वर्षीय सुधिरकुमार शाह (बारा–२), २६ वर्षीय ईन्जाद अन्सारी (बारा–२) र २७ वर्षीय निराजन कुमार (बारा–४) पनि स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी दौडमा छन्।
२६ वर्षीय राजेशकुमार सहनी (पर्सा–२), २५ वर्षीय किशोरीप्रसाद यादव (पर्सा–२), २६ वर्षीय शहिद अन्सारी (पर्सा–३), २८ वर्षीय शिवशंकर प्रसाद रौनियार (पर्सा–३) र २८ वर्षीय सौरव कंडेल (चितवन–१) ले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
२६ वर्षीय निर्दोश विक्रम पौडेल (कास्की–२), २८ वर्षीय अशोक विष्ट (स्याङ्जा–१), २७ वर्षीय अविनास सुनार (नवलपरासी बर्दघाट सुस्तापूर्व), २७ वर्षीय करम हुसेन खान (रुपन्देही–३) र २६ वर्षीय मानबहादुर तिरुवा (कालिकोट–१) स्वतन्त्र उम्मेदवार छन्।
२६ वर्षीय हिमकुमार शाही (दैलेख–१), २७ वर्षीय कृष्ण खत्री (सुर्खेत–२), २८ वर्षीय पदमबहादुर घर्ती मगर (बाँके–३) र २८ वर्षीय तपेन्द्र शाह (कैलाली–१) ले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्। २६ वर्षीय मो. गुलाव अन्सारी (सुनसरी–४), २७ वर्षीय सागर यादव (धनुषा–२) र २८ वर्षीय मातृका प्रसाद दास (धनुषा–३) ले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्।
जेन–जी अगुवा भने पार्टी–चुनावी राजनीतिबाट बाहिरै
जेन–जी आन्दोलनमा आफ्नो ‘स्टेक’ दाबी गर्ने कतिपय व्यक्ति अन्तरिम सरकारमै सहभागी भए, कतिपय अहिले रास्वपाबाट उम्मेदवार बनेका छन्। तर जेन–जी आन्दोलनको ‘फ्रन्टलाइन’मा रहेका, अझ भ्रष्टाचारविरुद्ध यो आन्दोलन शंखघोष गर्ने खास जेन–जी पुस्ताका अगुवा भने यो निर्वाचनमा प्रत्यक्ष सहभागी छैनन्। उनीहरू कुनै दलसँग जोडिएका पनि छैनन्।
केहीले दलहरूबाट प्रस्ताव आए पनि आफूलाई अहिले नै दलीय राजनीति भन्दा बाहिरै राख्न उचित ठानेको बताएका छन्। उनीहरूको तर्क छ– राजनीति चुनाव जितेर संसद् जानु मात्र होइन, सडकबाट प्रश्न उठाउनु पनि राजनीति हो।
रक्षा बम तिनैमध्ये हुन्। आफूलाई दलबाट उम्मेदवार बन्न प्रस्ताव आएको स्वीकार गर्दै उनले त्यो बाटो भने तत्काल हिँड्न नचाहेको प्रतिक्रिया दिइन्। रक्षाको भनाइमा भदौ २३ को जेन–जी आन्दोलन कुनै दलको उम्मेदवार बन्नका लागि नभई सुशासन र जवाफदेहिताका लागि थियो। “हामी चुनावमा दलको उम्मेदवार बनौँला भनेर सडकमा गएका थिएनौँ। मलाई राजनीति गर्ने चाहना छ, तर अझै अनुभव बटुल्न बाँकी छ,” उनले भनिन्, “चार महिनामा धेरै कुरा सिकियो। तर म अझै सिक्न र बुझ्न चाहन्छु।”
जेन–जी पुस्ताकै अर्का अगुवा रिजन राना मगरले राजनीति संसद् र चुनावमा सीमित नरहेको बताए। “राजनीति भनेको चुनाव जित्नु र सांसद हुनु मात्र होइन। सचेत रूपमा प्रश्न उठाउनु पनि राजनीति हो,” उनले भने, “मैले अहिले त्यही बाटो रोजेको छु। भविष्यमा बाटो फरक पनि हुन सक्छ।”
जेन–जी अगुवा सान्केन याम्पु राई आफूलाई राजनीतिमा लाग्न र उम्मेदवार बन्न प्रस्ताव आएको तर तत्काल स्वीकार नगरेको बताउँछिन्। उनले भनिन्, “मेरा मुद्दा फरक छन्, मेरा विचार फरक छन्। त्यो बोकेर अघि बढ्ने पार्टी वा टिम भेटिए तत्काल राजनीति गर्न सक्छु। अहिले त्यो वातावरण भेटिएको छैन।”
जेन–जी अगुवा मोनिका निरौला भने प्रतिनिधित्व र विचार मिल्ने ठाउँ नदेखिएकै कारण राजनीतिमा नजोडिएको बताउँछिन्। “प्रस्ताव आएको ठाउँ मेरो हो भन्ने अनुभूति भएन। विचार नमिल्दा राजनीति गर्न सकिँदैन,” उनले भनिन्, “राजनीति गर्दा आफ्नो करिअर र जीवन पनि सोच्नुपर्छ। सर्भाइभ गर्नुपर्ने हुन्छ। सक्रिय राजनीतिका लागि पूर्वतयारी चाहिन्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
