Saturday, April 27, 2024

-->

‘बारीमा जाऊँ भविष्य छैन, खाडीमा जाऊँ उमेर छैन’

उत्पादन नै उच्च रहेको समयमा भारतबाट काँक्रो, करेला, गोलभेँडा, खुर्सानी लगायतका तरकारी आयात हुँदा किसानले उत्पादन लागत पनि पाउन नसकेको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले बताए।

‘बारीमा जाऊँ भविष्य छैन खाडीमा जाऊँ उमेर छैन’

काठमाडौँ– भारतीय तरकारीले बजार कब्जा गर्दा स्थानीय उत्पादनले नबिकेको गुनासो गर्दै शुक्रबार नारायणगढको व्यस्त बजारमा तरकारी फालेर चितवनका किसान विरोधमा उत्रिए। गोलभेँडा, बन्दागोबी, सिमी, फर्सीलगायतका तरकारी सडकमा फालेर करिब १५ मिनेट पूर्व–पश्चिम राजमार्ग नै बन्द गरेर किसानले प्रदर्शन गरेका हुन्।

उनीहरूले ‘नेपाली किसान मार्न पाइँदैन, विदेशी तरकारी तथा फलफूल चाहिँदैन’, ‘घाम र पानी, दिन र रात नभनी खटेको, स्वदेशमै केही गरौँला भनी दुःखमा डटेको, अब त अति भयो नि सरकार कसरी ऋण तिर्ने, लागत मूल्य नपाउने गरी के विधि घटेको’, ‘बारीमा जाऊँ भविष्य छैन, खाडीमा जाऊँ उमेर छैन’लगायतका नारा लेखिएका 'प्लेकार्ड' बोकेर विरोधमा उत्रिएका थिए।

विरोधमा उत्रिनेमा भरतपुर १६ स्थित रेसुंगा कृषि फार्मकी सञ्चालक धनु अधिकारी पनि थिइन्। चार वर्षदेखि ६ बिगाहा क्षेत्रफलमा तरकारी खेती गर्दै आएकी अधिकारीले तरकारी बिक्री हुन छोडेपछि सडकमै आएर विरोध गर्नुपरेको बताइन्।

उनको फार्ममा अहिले चार बिगाहामा टमाटर र बाँकीमा क्याप्सिकम र फर्सीलगायतका तरकारी लगाइएको छ। “टमाटर प्रतिकेजी पाँच/छ रुपैयाँमा बेच्नुपरेको छ, क्याप्सिकम २०/२५ रुपैयाँमा दिनुपर्दा लागत नै उठ्दैन, फर्सी त बिक्री नै भएको छैन”, अधिकारीले भनिन्, “कुनै उपाय नभएपछि सडकमै तरकारी फालेर विरोध गर्नुपर्‍यो।”

तरकारी मन्डीमा भारतीय तरकारी आएकाले आफूहरूको उत्पादन बिक्री हुन छोडेको उनले सुनाउँदै उनले थपिन्, “दैनिक १० वटासम्म तरकारीको गाडी आउँछ रे भारतबाट।“

चार वर्षअघि पाँच हजार रुपैयाँबाट शुरू गरेको तरकारी खेतीमा मात्रै उनको लगानी ३० लाख पुगिसकेको छ। आठ जना कामदार राखेकाले उनीहरूलाई ज्याला दिन पनि मुस्किल परिरहेको उनले सुनाइन्।

भरतपुर–२५ शुक्रनगरका २९ वर्षीय अनुप सुवेदी दुई वर्षअघि बुवाको मृत्यु भएपछि पुर्खौली पेसा सम्हाल्न लागी परे। सुवेदी परिवारले अहिले १५ बिगाहा क्षेत्रफलमा लौका, करेला, सिमी, फर्सी, टमाटर लगायतका तरकारी लगाएका छन्। “फर्सी, सिमी टिपेर बजार पठायो, बिक्री नै भएन भनेर व्यापारीले फिर्ता पठाउँछन्”, सुवेदीले उकालोसँग भने, “त्यही लिएर सडकमा विरोधमा उत्रियौँ।”

तस्वीर : सामाजिक सञ्जाल

स्वदेशमै केही गर्नुपर्छ भनेर आफूले कृषि पेसामा हात हालेको भए पनि दुःख गरेर लगाएको बाली बिक्री नै नहुँदा यो व्यवसायमा आफ्नो भविष्यलाई लिएर चिन्तित भएको उनले सुनाए। ३० जना कामदारलाई ज्याला दिनसमेत मुस्किल परिरहेको उनको गुनासो छ।

भारत सरकारले ७० प्रतिशतसम्म अनुदान दिने र ढुवानी खर्च मात्र बेहोर्नुपर्ने भएकाले उताबाट आउने तरकारी सस्तो हुने सुवेदीको दाबी छ। जसले गर्दा स्थानीयस्तरमा उत्पादित तरकारीले बजार पाउन छाडेको सुवेदीको दाबी छ। यस्तोमा सरकार भने मूकदर्शक बनेको किसानहरूको गुनासो छ।

पूर्वी चितवनको रत्ननगर १३ मा ११ बिगाहामा तरकारी लगाएका अर्सद मियाँको कृषि व्यवसायकै लागि लिएको ऋण ४० लाख पुगिसकेको छ। तर, तरकारी बिक्री नै हुन छोडेको, बिक्री भए पनि न्यून मूल्य पाउँदा ऋण कसरी तिर्ने भन्ने चिन्ताले पिरोलेको उनको गुनासो छ। “यो वर्ष बिक्री भएन, मूल्य आएन, अर्को वर्ष होला भन्यो, झन् उठ्नै नसक्ने गरी थला पर्‍यौँ”, उनले भने। बिक्री नै नहुने भन्दै व्यापारीहरू तरकारी किन्नसमेत नमान्ने गरेको उनले सुनाए।

“तरकारीको मूल्यभन्दा नि बिक्री नै छैन, किलोको पाँच रुपैयाँमा बेच्छुभन्दा पनि किन्ने मान्छे नै भएन”, उनले भने, “व्यापारीलाई फोन गर्‍यो, तपाईंहरूले २० रुपैयाँ भन्नुहुन्छ, भारतीय १२ रुपैयाँमा आउँछ भन्छन्, अब हामीसँग सडकमा आउनुबाहेक कुनै विकल्प रहेन।”

तरकारीका लागि आवश्यक मल, विषादी भारतबाटै आउने गरेको  छ। फेरि आयातित तरकारीले बजार ओगट्दा किसानलाई बाँच्न नै मुस्किल हुने मियाँको भनाइ छ।

महानगर फलफूल तथा तरकारी बजार क्षेत्रपुर नारायण चितवनका प्रबन्ध सञ्चालक थीरप्रसाद धितालका अनुसार जिल्लामा कूल तरकारी खपतमध्ये ८५ प्रतिशत स्थानीय उत्पादन र बाँकी भारतीय तरकारी छ। “अहिले भारतीय तरकारी कम आएको छ, १० देखि १५ प्रतिशत मात्र छ”, उनले भने, “यो बेला तरकारी नबिक्ने, मूल्य कम हुने बेला हो। हरेक वर्ष समस्या यही हुन्छ।” यो सिजनमा करेला, काँक्रो र खुर्सार्नी भारतबाट आएको र त्योबाहेक स्थानीय उत्पादन नै खपत भइरहेको धितालको दाबी छ।

भारतबाट आउने तरकारीको लागत कम र गुणस्तर बढी भएकाले स्थानीय तरकारीलाई असर गरेको धिताल पनि स्विकार्छन्। “नेपालीले उत्पादन गरेको लागत मूल्य बढी हुन्छ, प्रतिस्पर्धा गर्न पाउँदैन। भारतबाट नआइदिए स्थानीय तरकारीले बजार पाउँछ भन्ने हो”, उनले भने।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेका अनुसार चितवनमा वार्षिक १० हजार ७२८ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएको छ।  जसमध्ये ३ हजार ४८२ हेक्टर क्षेत्रफल हिउँदे तरकारीले ओगटेको छ। हिउँदे तरकारी बाली मात्र ७४ हजार ८६३ मेट्रिक टन उत्पादन हुने पाण्डेको भनाइ छ।

केन्द्रको तथ्यांकअनुसार जिल्लामा दैनिक ४९९मेट्रिक टन तरकारी उत्पादन भए पनि १२५ मेट्रिक टन खपत हुन्छ । दैनिक ३७४ टन तरकारी बढी हुने र किसानले काठमाडौँ, पोखरा, हेटौँडा पठाउँदै आएको पाण्डेले बताए। उत्पादन नै उच्च रहेको समयमा भारतबाट काँक्रो, करेला, गोलभेँडा, खुर्सानी लगायतका तरकारी आयात हुँदा किसानले उत्पादन लागत पनि पाउन नसकेको उनले बताए।

“उत्पादन बढी छ, त्यसमा पनि आयात भइरहेको छ, हाम्रो किसानले भारतसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन”, पाण्डेले भने। किसानले गरेको विरोधबारे जिल्ला प्रशासन कार्यालयमा जानकारी गराइएको पनि कृषि ज्ञान केन्द्रका प्रमुख पाण्डेले बताए।


सम्बन्धित सामग्री