Wednesday, May 08, 2024

-->

आलुप्याजको इतिहास र बहुउपयोगी गुण

प्राचीन कालमा इजिप्टमा प्याजको पूजा हुने गर्थ्यो। त्यसैले प्याजका चित्रहरू पिरामिडको भित्री पर्खालमा र पुराना चिहानहरूमा समेत देख्न सकिन्छ।

आलुप्याजको इतिहास र बहुउपयोगी गुण

हाम्रो भान्सामा दिनदिनै प्रयोग गरिने आलुप्याज संसारमै सबैभन्दा धेरै खपत हुने तरकारीमध्ये पर्छन्। हामीले सधैँ प्रयोग गरिरहने आलुप्याजको ऐतिहासिक पाटो हेर्ने हो भने आलुको प्रयोग करिब पाँच हजारदेखि दस हजार वर्षयता र प्याजको करिब पाँच हजार वर्ष पहिलेयता प्रयोग हुँदै आएको तथ्य पाइन्छ। पृथ्वीको निश्चित ठाउँमा उत्पत्ति भएर मानिसको अन्तर्देशीय आवतजावतसँगै संसारभरि फैलन पुगेका आलुप्याजको उत्पत्ति, फैलावट, खेतीपाती र उपयोगबारे केही जानकारी दिन खोजिएको छ।

उत्पत्ति, फैलावट र खेतीपाती
अंग्रेजीमा ‘पट्याटो’ भनिने आलुलाई वैज्ञानिकहरूले ‘सोल्यानम’ वर्गमा राखेका छन्। संसारमा ‘सोल्यानम’ वर्गका करिब १५ सय प्रजातिका बिरुवा पाइन्छन्।  हामीले खाने आलुको वैज्ञानिक नाम भने ‘सोल्यानम ट्युबरोसम’ हो। आलुको उत्पत्ति हालको दक्षिणी पेरु र उत्तरपश्चिम बोलिभियाको क्षेत्रमा भएको थियो। यसको त्यहाँ लगभग ७ हजारदेखि १० हजार वर्ष पहिले खेतीपाती गर्न शुरू गरिएको थियो भन्ने विश्वास गरिन्छ।

स्टेफ डे हान र फ्लोर रोड्रिगेजले ‘आलु उत्पत्ति र उत्पादन’बारे लेखेको एक लेखअनुसार आलु सर्वप्रथम दक्षिण अमेरिका हुँदै सन् १५७४ मा स्पेनको क्यानरी टापु पुगेको थियो। आजकल अंग्रेजीमा प्रयोग हुने नाम शब्द ‘पट्याटो’ स्पेनिस भाषा ‘पाटाटा’बाट आएको विश्वास गरिन्छ। बिस्तारै युरोपभर मात्र नफैलेर यो कन्दमूल १६०० मा पोर्चुगाली नाविकहरूद्वारा भारत र श्रीलंकासम्म आइपुग्यो। 

उता चीनमा भने आलु हल्यान्ड र ताइवान हुँदै सन् १६०३ मा पुग्यो भने आलुको अमेरिका यात्रा सन् १६१० मा बेलायतबाट बर्मुडा हुँदै सन् १६२० मा भर्जिनियामा गएर टुंगियो। इन्डोनेसियामा भने सन् १७९० मा हल्यान्डबाट र फिलिपिन्समा सन् १८०० ताका स्पेनबाट प्रवेश पायो। अफ्रिकी मूलकहरूमा सन् १८८० मा बेलायतबाट केन्या र साउदी अरेबियामा सन् १९७० मा हल्यान्डबाट यसलाई भित्र्याइयो। प्रख्यात बेलायती वनस्पतिविद् र अन्वेषक जोसेफ डाल्टन हुकरले सन् १८४८ ताका पूर्वी नेपालको कन्चनजंघा क्षेत्रको वनस्पतिहरूको अध्ययन गर्न आउँदा नेपालमा आलु भित्र्याएका थिए।

अंग्रेजीमा ‘अनियन’ भनिने प्याजलाई वैज्ञानिकहरूले ‘एलीयम’ वर्गमा राखेका छन्। ‘एलीयम’ वर्गमा करिब ९२० प्रजातिका बिरुवाहरू पाइन्छन्। हामीले खाने प्याजको प्रजातिलाई वैज्ञानिक भाषामा ‘एलीयम सेपा’ भनिन्छ। प्याजको उत्पत्ति इरान, पश्चिमी पाकिस्तान र मध्य एसियामा भएको थियो र आज प्याज संसारभरि फैलिएको छ। संसारमा धेरै किसिम, प्रकार र स्वादमा प्याज उत्पादन हुन्छ।

प्याजबारे सबैभन्दा पहिले प्राचीन बेबिलोनियन ट्याब्लेटहरूमा ईसापूर्व १७ सय देखि १५ सय वर्षसम्म प्याजको उल्लेख गरेको पाइन्छ। यद्यपि, यसको खेतीपाती करिब पाँच हजार वर्ष पहिले चीन र इजिप्टमा सुरु गरिएको थियो भन्ने विश्वास गरिन्छ। ‍रोमन साम्राज्यमा प्रवेश पाएसँगै प्याज युरोपमा फैलन पुग्यो। क्रिस्टोफर कोलम्बसको टोलीले १४९४ मा क्यारबियन टापुहरूमा प्याज रोपेका थिए भने यो संयुक्त राज्य अमेरिकामा १६२९ मा मात्र खेती गरिएको थियो।

उपयोग
आलु मुख्यतः खाना र तरकारीका रूपमा प्रयोग गरिन्छ। यसलाई रक्सी बनाउन पनि व्यापक उपयोग गरिन्छ। प्याज खाना, अचार र सलादका रूपमा प्रयोग गरिन्छ। प्राचीनकालमा इजिप्टमा प्याजको पूजा हुने गर्थ्यो। त्यसैले प्याजका चित्रहरू पिरामिडको भित्री पर्खालमा र पुराना चिहानहरूमा समेत देख्न सकिन्छ। ग्रिसमा समेत यसको निकै महत्त्व थियो भन्ने कुरा पहिलो शताब्दीमा ग्रीक चिकित्सक डायोस्कोराइड्सले प्याजका धेरै औषधीय प्रयोगबारे उल्लेख गरेबाट थाहा पाउन सकिन्छ। उनका अनुसार ग्रीकहरूले ओलम्पिक खेलमा खेलाडीलाई बलियो बनाउन प्याज प्रयोग गर्थे। प्रतिस्पर्धा गर्नुअघि खेलाडीहरूले प्याज खान्थे, प्याजको रस पिउँथे र आफ्नो शरीरमा प्याज रगड्ने गर्थे।

रोमनहरूले प्याजलाई मुख्य आहार बनाएका थिए। खाना मात्र नभएर यसलाई उनीहरूले औषधिका रूपमा घाउ, दृष्टि समस्या, दाँत दुख्ने, अनिद्रा, कम्मर दुखाइ, पेटको रोग र आउँजस्ता धेरै रोगसँगै कुकुरको टोकाइको उपचारमा प्रयोग गर्ने गर्थे। ठूला रंगशालामा एक अर्कासँग हिंस्रक लडाइँ गर्ने ग्लेडिएटर (लडाकु)हरू मैदानमा उत्रनुअघि प्याजको रसले जीउ मालिस गर्थे। प्याजले जीउलाई बलियो बनाउँछ भन्ने उनीहरूको विश्वास थियो। 

हिन्दू समाजमा मुटु, हड्डी र पाचनक्रियासँग सम्बन्धित रोगको उपचारमा प्याजको प्रयोग गरिने कुरा ‘चरक संहिता’मा उल्लेख गरिएको छ। तर आजभोलि कतिपय हिन्दू, बौद्ध र जैन धर्मावलम्बीहरूले प्याजलाई 'कडा गन्धयुक्त र उत्तेजक गुण भएका कारण' यसको प्रयोग उचित नहुने बताउने गरेका छन्। यहाँनिर एउटा सन्दर्भ उल्लेख गरौँ, ज्वालामुखीले ध्वस्त भएको इटालीको प्राचीन शहर पोम्पेईमा प्याजका टोकरीका अवशेषहरू देहव्यापारस्थलमा फेला पारिएका थिए। यसबाट के आकलन गर्न सकिन्छ भने शायद प्याज उति बेला यौनवर्द्धक वस्तुका रूपमा प्रयोग गर्ने गरिन्थ्यो। दोस्रो विश्वयुद्धताक रुसीहरूले खानका लागि मात्र नभएर चोटपटक लागेको ठाउँको संक्रमण रोक्नसमेत लगाउने गर्थे।

चिकित्सकीय गुण
कार्बोहाइड्रेट, प्रोटिन, विभिन्न खनिज, भिटामिन र अन्य रसायनहरूले भरिपूर्ण हुन्छ आलु। यो स्वास्थ्यका लागि लाभदायक हुन्छ। बाथ, संक्रमण, पिलो, पोलेको र आँखा दुखेकोमा ठाउँमा काँचो आलुको प्रयोग गरिन्छ। वैज्ञानिक अनुसन्धानअनुसार रक्तचाप नियन्त्रण गर्न, सूक्ष्म जीवाणु विनाश गर्न, संक्रमण रोकथाम गर्न र क्यान्सरको उपचारमा समेत यसको प्रयोग गरिन्छ।

प्याज परम्परागत रूपमा खाना र औषधिका रूपमा प्रयोग त भयो नै, यसको उपचारात्मक गुणबारे आधुनिक वैज्ञानिक अध्ययनले समेत प्रमाणित गरेका छन्। प्याजमा अर्गानोसल्फर कम्पाउन्ड, फ्लाभोनोल, एस्कर्बिक एसिड, फिनोल, पोलिसाकराइड, सेपोनिन आदि रसायन प्रशस्त मात्रामा पाइन्छ। यिनै रसायनका कारण प्याज विभिन्न रोगका लागि यो उपयोगी हुन्छ। प्याजमा ‘एन्टिअक्सिडेन्ट’ क्षमता हुन्छ। 

विभिन्न रसायनहरूका कारण प्याज सूक्ष्म जीवाणु विनाशक, घाउ वा चोटपटक पाक्न नदिने, मोटोपन घटाउने, मधुमेह, क्यान्सर र कोलेस्ट्रोल कम गर्ने, मुटु र नसा बलियो बनाउनेजस्ता कार्यमा मद्दत गर्दछ। यति मात्र नभएर यसले कलेजोको रक्षा, श्वासप्रश्वासको सुरक्षा, पाचन प्रणालीको मजबुती, प्रजनन सुरक्षा र शरीरमा प्रतिरोधात्मक क्षमता उच्च राख्न सहयोग गर्छ। यद्यपि, प्याजलाई भण्डारण गर्दा र पकाउँदा अपनाइने विधिका कारण यसमा पाइने विभिन्न तत्त्वको ह्रास हुने हुँदा स्वास्थ्यमा प्याजको प्रभावकारिता कम हुने गर्छ।

उपसंहार
हामीले दैनिक रूपमा प्रयोग गर्ने आलुप्याज खानाका रूपमा मात्र नभएर औषधिका रूपमा पनि प्रयोग गर्न सकिन्छ। यी दुईमा पाइने विभिन्न रसायन तत्त्वलाई हामीले उच्चतम प्रविधिको प्रयोग गरी अलग गर्न सक्दा निश्चित रोगविरुद् प्रयोग गर्न सकिन्छ। वैज्ञानिक प्रविधि उपयोग गरेर हामीले आफूलाई उपयोगी हुने तत्त्वहरू मात्र धेरै हुने प्रजातिहरूको विकास गर्न सके सजिलै खेतीपाती गर्न सकिने आलुप्याज अझै बहुउपयोगी बनाउन सकिन्छ।


रोकाया इन्स्टिच्युट अफ बोटनी र ग्लोबल चेन्ज रिसर्च इन्स्टिच्युट, चेक एकेडेमी अफ साइन्सेस, चेक रिपब्लिकमा कार्यरत छन्।


सम्बन्धित सामग्री