Monday, April 29, 2024

-->

माटोमा फलाएको आलु माटोमै गाड्नुपर्ने बाध्यतामा किसान

कृषिबाट आत्मनिर्भर बन्न अघि सरेका किसानको उत्साहमा पानी खन्याइदिने कारण बनेको छ कृषि उपजको बजार अभाव। स्थानीय सरकार आइसकेपछि यस्तो नियतिबाट बाहिर निस्कन नसकेका प्युठानका किसानको कथाः

माटोमा फलाएको आलु माटोमै गाड्नुपर्ने बाध्यतामा किसान
विगत तीन वर्षदेखि टीपीएस आलुको बीउ उत्पादन गर्दै आएका कृषक कृष्ण खत्री। तस्वीर: किसन पाण्डे

झिमरुक (प्युठान)– कृषि उत्पादनका लागि अनुकूल हावापानी र भूगोल भएको जिल्ला प्युठानको झिमरुक गाउँपालिका कृषि उत्पादनमा अग्रणी मानिन्छ। पालिकाको वडा नम्बर ३ मा पर्ने आहालखोला आलु उत्पादनमा प्रसिद्ध ठाउँ हो। त्यही कारण कतिपयले यो ठाउँलाई आलुखोला पनि भन्ने गर्छन्।

केही वर्ष अघिसम्म यहाँ परम्परादेखि खेती गरिँदै आएको स्थानीय जातको आलु लगाइन्थ्यो। तर उत्पादित आलु चाँडै कुहिन थालेपछि किसानहरू निराश भए। त्यसपछि उनीहरूले तराईबाट तरकारीको रूपमा आयातित कार्डिनल आलुलाई नै बीउको रूपमा प्रयोग गरेर खेती गर्न थाले।

गाउँबाहिरबाट आयातित आलु लगाउँदा अर्को समस्या देखा पर्‍यो। पहिले गोबर मलको मात्र प्रयोग गर्दा पनि राम्रै उत्पादन हुने गरेकोमा नयाँ बीउ बदलेपछि बालीमा रासायनिक मल अनिवार्य हाल्नुपर्ने भयो। नत्र आलु खासै फल्दैनथ्यो। त्योसँगै माटोको उर्बराशक्ति पनि ह्रास हुँदै गएपछि किसानहरू चिन्तित हुन थाले। त्यसपछि केही किसानले रासायनिक मल प्रयोग नगरी वा कम प्रयोग गरेर पनि उत्पादन लिन सकिने टीपीएस आलु लगाउन थाले जुन अहिलेसम्म पनि जारी छ।

मञ्जु महतरा तिनैमध्ये हुन्। मञ्जुले पाँच छ वर्षअघि तीन रोपनी जग्गामा यसैगरी तरकारी खेती गर्न थालेकी थिइन्। उत्पादन पनि राम्रै भयो तर गाँउमा सबै किसानले तरकारी उत्पादन गर्ने भएकाले नजिकै खपत हुन सकेन। बजार लैजान उत्पादनस्थलबाट १३ किलोमिटरको दूरीसम्म आफैँले ढुवानी गरिदिनुपर्ने भयो। त्यति गरेर बेच्दा फाइदा नदेखेर दुई वर्षको अनुभवपछि उनले तरकारी खेती नै बन्द गरिन्।

त्यसपछि कुखुरापालन व्यवसायबाट आम्दानी गर्ने योजनामा उनले ब्रोइलर कुखुराको खोर बनाइन् र फर्म दर्ता गरेर व्यवसाय शुरू गरिन्। १०० वटा ब्रोइलर चल्लाबाट शुरू भएको व्यवसायमा तीन महिनापछि कुखुरा बेच्ने बेला भयो। उनले चित्तबुझ्दो मूल्य पाइन्। छोटो समयमै उनका सबै ब्रोइलर सकिए। राम्रो सम्भावना देखेकी उनमा केही गर्नुपर्छ भन्ने हुटहुटी थियो। गाउँमा व्यवसाय गर्न उत्साहित उनी राम्रो आम्दानी हुनेमा ढुक्क थिइन्। 

दोस्रो पटकमा ५०० चल्ला ल्याएर पाल्न थालिन्। केही समयपछि कुखुरा बेच्ने बेला भयो तर गाउँको मात्र मागले उनका कुखुरा बिक्री भएनन्। त्यसपछि बजार खोज्न थालिन्। तर खपत हुने ठाउँ नै पाइनन्। बिक्री गर्ने बेला भएपछि पनि नबिकेका कुखुरा पालिरहनुपर्दा दानामा खर्च बढ्यो। त्यसपछि आफ्नो लागत मूल्य मात्र लिएर गाउँमै जोडबलपूर्वक सबै कुखुरा बेचिन्। 

“जसरी पनि घाटा नै लाग्ने भएपछि पालेर राख्नुभन्दा सस्तोमै बेच्नुपर्‍यो,” उनले भनिन्, “आफूले गरेर हुने भए गर्न हुन्थ्यो। तर चाहेर मात्र हुँदो रहेनछ भन्ने थाहा पाएपछि छोडेँ,” उनले भनिन्। मञ्जुले कुखुरापालनसँगै कन्या च्याउ खेती पनि गरिन्। तर त्यसमा पनि कुखुराकै हालत भयो।

त्यसपछि उनले बीउको रूपमा आलुको उत्पादन गरेर बेच्ने सोचले दुई रोपनी जग्गामा आलु लगाइन्। टीपीएस आलु लगभग १६ बोरा उत्पादन भयो। त्यसलाई बजारको चिस्यान केन्द्रमा लगेर भण्डारण गरिन् र बीउ लगाउने समयमा गाउँमा ल्याएर बिक्री गरिन्। दुई पटक त्यसरी आम्दानी लिएपछि तेस्रो पटक उनको आलु चिस्यान केन्द्रले राख्न नसक्ने बतायो। कोल्ड स्टोरको क्षमताले धान्न सकेन भनेर केन्द्रले नराखिदिएको करिब आठ बोरा आलु कुहिएर गाड्नु परेको उनी बताउँछिन्। त्यसयता उनले आलुखेती पनि गर्न छोडेकी छन्।

झिमरुक गाउँपालिका वडा नम्बर ३की मुना पोखरेलको समस्या पनि उस्तै छ। चार रोपनी खेतमा उनले तरकारी लगाइराखेकी छन्। यो उनको पुर्खादेखिकै पेसा हो। उत्पादन भएको तरकारी गाउँमै बिक्री हुन्छ। तर बिक्री गर्न बाधीकोट र नारीकोटसम्म बोकेरै पुर्‍याउनुपर्ने बाध्यता छ। यसपालि पनि आलु खन्ने बेला भएको छ। अहिले आलु खनेर भित्र्याउने चटारो चलिरहेको छ। 

“यसपालि पनि बोकेरै बेच्नुपर्ने हो कि गाडी लिन आउने हो थाहा छैन,” उनले भनिन्। उत्पादनको सिजनमा १६ क्विन्टलसम्म आलु भित्र्याएको मुना बताउँछिन्। वर्षमा तीन पटक आलु उत्पादन गर्ने उनी चारदेखि पाँच क्विन्टलसम्म त बेमौसममै फलाउँछिन्। “बोकेर बेच्न जान्छौँ। कसैले पैसा दिन्छन्, कसैले उधारो खाइदिन्छन्। त्यसकारण सस्तोमा बेच्नु परेको छ,” उनको गुनासो छ। 

कहिलेकाहीँ त हिउँदमै बेचिसक्नुपर्ने आलु चैतसम्म पनि बिक्री हुँदैन, त्यत्तिकै कुहिएर जान्छ। किसानहरू बीउ आलु दाङको लमही र बाँकेको नेपालगञ्जसम्म पुर्‍याएर भण्डारण गरी लगाउने बेला मात्र ल्याउने गर्छन्। “बेच्ने आलु चाहिँ उता लैजान टाढा र महँगो पनि पर्ने भएर किसानलाई घाटा हुन्छ। त्यसकारण बाँकी आलु घरमै कुहाएर राख्नुपर्ने बाध्यता छ,” उनले भनिन्। तीनदेखि चार क्विन्टलसम्म आलु कुहिएर त्यत्तिकै फाल्नु परेको र खुला ठाउँमा फाल्दा रोग फैलिने डरले खाडल खनेर गाडेको उनले बताइन्। 

अर्का कृषक कृष्ण खत्रीले तीन वर्षदेखि टीपीएस (वर्णशंकर) आलुको मूलबीउ सिन्धुपाल्चोकदेखि मगाएर डेढ रोपनी जग्गामा लगाएका छन्। यसबाट उनी बीउ उत्पादन गर्छन्। डेढ रोपनीमा १८ क्विन्टल बीउ उत्पादन भएको उनले बताए।उत्पादित बीउ आफ्नै गाउँपालिका र अन्य पालिकाका किसान तथा एग्रोभेटहरूलाई दिने गरेको उनी बताउँछन्। उनले विशेषगरी झिमरुक, माण्डवी, मल्लरानी र मदाने गाउँपालिका तथा रेसुंगा नगरपालिकामा यहाँको बीउ पुर्‍याउँछन्। त्यसबाहेक ठाउँ–ठाउँमा रहेका आफन्तलाई पनि फुटकर बेच्ने गरेका छन्।

शुरूमा उनले गाउँपालिकाले दिएको ५० प्रतिशत अनुदानमा बीउ ल्याएर रोपेका हुन्। वर्णशंकर आलुको मूलबीउ एक किलोको मूल्य ९५ हजार पर्थ्यो। तर अहिले बढेर एक लाखभन्दा बढी पुगेको खत्रीले बताए। हरेक सिजनमा त्यो बीउको ब्याड तयार पारेर रोपेपछि उत्पादित पहिलो पुस्ता नै बीउको रूपमा उनले बेच्ने गरेका छन्।

उत्पादनको मामिलामा किसान आफैँ सचेत नभएको उनी बताउँछन्। कुन उत्पादन विषादीरहित हुन्छ, उत्पादन वृद्धि गर्न माटो कस्तो हुनुपर्छ, माटोलाई कसरी उत्पादनशील बनाउन सकिन्छ भन्नेमा किसान सतर्क नभएको उनको गुनासो छ। “जनतालाई सचेत गराउने संस्था नै भएनन्। बजारमा पाइने कार्डिनल आलु धेरै फल्ने भनेर मगाइन्छ। डीएपी, युरिया मल र विषादी नहालिकन त्यो फल्दैन। उत्पादन हेरेर किसान खुशी हुन्छन् तर त्यसले माटोलाई गरेको असरबारे कोही पनी सचेत छैनन्,” कृष्णले भने। 

आफूले फलाउँदै गरेको आलुलाई धेरै किसिमका रासायनिक मलहरू नचाहिने भएकाले यसले शरीरमा आवश्यक रोगसँग लड्ने क्षमता वृद्धि हुने र खाँदा पनि एकदमै स्वादिष्ट हुने उनको दाबी छ। बाजे बराजुदेखि लगाइँदै आएको लोकल आलु रासायनिक मलको प्रयोगले हराउँदै गएको उनी बताउँछन्।

“लोकल आलुमा रासायनिक मलको प्रयोग बढेपछि बोट हलक्क बढ्ने तर दाना कम लाग्ने हुन थाल्यो। फलेको पनि छोटो समयमै कुहिने समस्याले त्यो हराउँदै गएको हो,” उनले भने। रासायनिक मलको प्रयोगबिना खेती नै हुन्न भन्ने किसानको धारण बनेको उनको भनाइ छ।

आहालखोलाकै कृष्ण खड्काले सिजनमा करिब ३० क्विन्टल आलु उत्पादन गरेर स्थानीय बजारमा बेच्छन्। तर उचित मूल्य नपाएको उनको गुनासो छ। छोराछोरी पढाउन, खानलाउन र अन्य घरखर्च जेनतेन चलेको उनले बताए। आलुबाहेक उनले बन्दागोभी, गोलभेँडा लगायतका अन्य तरकारी खेती पनि गरेका छन्। बाँकी रहेको आधा खेतमा गहुँ खेती गर्ने गरेको उनी बताउँछन्।


सम्बन्धित सामग्री