Thursday, May 02, 2024

-->

तरकारीको मूल्यमा भारी गिरावटले किसान घाटामा

उत्पादन र आपूर्ति बढे पनि बजारमा माग नबढेको कारण तरकारीको मूल्य एक्कासि घट्दा किसान र व्यवसायी दुवै मारमा परेका छन्।

तरकारीको मूल्यमा भारी गिरावटले किसान घाटामा
तस्वीर: पुष्पा/उकालो

काठमाडौँ– “हिउँदे तरकारीको सिजन शुरू हुने महिना भनेकै मंसिर हो। तर यसपालि शुरूमै तरकारीले बजार पाएको छैन। अब पछिपछि झन् के हुने हो थाहा छैन, हामी किसान निराश छौँ,” विगत २५ वर्षदेखि गोलभेँडा खेती गर्दै आएका सर्लाही, हरिवनका ५६ वर्षीय गिरीराज खनालले दुखेसो पोखे। 

उनका अनुसार हरिवनबाट काठमाडौँसम्म तरकारी ल्याउँदा किलोको ६ रुपैयाँ ढुवानी भाडा लाग्छ। थोक व्यापारीले प्रतिकिलो चार रुपैयाँ आफ्नो फाइदा राख्छन्। त्यसरी उत्पादन लागतबाहेक नै किलोमा १० रुपैयाँ खर्च थपेर काठमाडौँ ल्याएको गोलभेँडाबाट आफूहरूले १० देखि १२ रुपैयाँसम्म पाउन पनि मुस्किल भइरहेको खनाल बताउँछन्। तरकारीको भाउ घटेर बजार नपाएपछि परिवार कसरी चलाउने भन्ने चिन्ता बढेको उनले बताए। 

काडमाडौँको थोक बजारमा यतिबेला गोलभेँडा प्रतिकिलो १५ देखि २६ रुपैयाँसम्ममा बिक्री भइरहेको छ। मूल्य घटेपछि किसानजस्तै व्यवसायी पनि समस्यामा परेका छन्। सर्लाहीका तरकारी व्यवसायी ४६ वर्षीय तोरण मगराती विगत १५ वर्षदेखि किसानबाट तरकारी खरिद गरेर बेच्छन्। स्वदेशमा तरकारीको उत्पादनसँगै भारतबाट आयात पनि बढेकोले मूल्य घटेको उनले बताए।

“उत्पादन बढ्दै गएको छ। पहाड, तराई र भारतबाट समेत तरकारीहरु नेपाल आउने भएकाले अहिले तरकारीको भाउ घटेको हो”, उनले भने। व्यवसायको निमित्त तरकारीमा लाग्ने ढुवानी खर्च क्विन्टलमा २०० रुपैयाँ किसानबाट लिने गरेको उनले बताए।

काठमाडौँ, चन्द्रागिरिकी पार्वती थापा पनि विगत १५ वर्षदेखि श्रीमान‍्सँगै कालिमाटीमा तरकारी बेच्दै आएकी छन।् उनको परिवारको जीविकोपार्जन यसैबाट चल्ने गरेको छ। अहिले तरकारीको मूल्य घटेसँगै घर खर्च चलाउन पनि गार्‍हो भएको थापाले बताइन्। 

“तरकारी प्राय बिचौलियासँग किन्दा अलि सहज हुन्छ। टमाटर क्रेट किन्दा पहिले १७ सय देखि १८ सयसम्म पथ्र्यो भने अहिले ८०० देखि ९०० पर्छ। त्यसमा बिग्रेको र फुटेको पनि हुन्छ। त्यसमाथि ग्राहकहरुले छानेर लाने गर्छन्,” उनीले भनिन्, “दशैँदेखि तरकारीको मूल्य घटेको छ। स्टलको भाडा र कर पनि तिर्नुपर्छ। पहिलेजस्तो नाफा नहुँदा घरपरिवार चलाउन गाह्रो भइरहेको छ।”

सिनामंगलका प्रकाश तामाङ कालिमाटीमा विगत १० वर्षदेखि तरकारी बेच्दै आएका छन्। उनी पनि तरकारीको मूल्य घटेर चिन्तित छन्। आफूले परिवारको खर्च धान्न गरेको तरकारी व्यवसाय घाटामा गएको उनले बताए। “तरकारी बेचेर घर चलिरहेको थियो। तिहारलगत्तै मूल्य घटेपछि गुजारा चलाउन गाह्रो भएको छ,” उनले भने।

चितवनका ६५ वर्षीय राहुल राय कालिमाटीमा विगत ३० वर्षदेखि व्यवसाय गरिरहेका छन्। तरकारीको मूल्य ह्वात्तै घट्दा नोक्सानी भएको उनले बताए। “विगतको तुलनामा अहिले तरकारीको मूल्य निकै कम छ। यसले व्यवसायीलाई घाटा पुर्‍याएको छ। तरकारी मात्र बेचेर घर चलाउन नसकिने भयो,” राय भन्छन्।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक मनोज धिताल माग र आपूर्तिको उतारचढावसँगै तरकारीको मूल्य घटबढ भइरहेको बताउँछन्। “अहिले तरकारीको मौसम भएर धेरै उत्पादन भइरहेको छ। तर उत्पादन भएजति माग बजारमा छैन। उत्पादन भएअनुसार आपूर्ति नभएपछि मूल्य घटेको हो,” उनले भने।   

एक महिनायता खस्कियो भाउ
तरकारीको मूल्य यसको मुख्य सिजन हिउँद शुरू भएपछि नै खस्केको देखिन्छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको विवरणअनुसार एक महिनाअगाडि त्यहाँ गोलभेँडाको मूल्य प्रतिकिलो ३० देखि ४३ रुपैयाँसम्म थियो। यो भनेको अहिलेकोभन्दा करिब ९६ प्रतिशतले उच्च हो। 

यस्तै, एक महिनाअघि स्थानीय काउलीको मूल्य प्रतिकिलो ४५ देखि ६५ रुपैयाँ थियो जुन अहिले घटेर २५ देखि ४५ रुपैयाँमा झरेको छ। ९६ रुपैयाँमा बिक्री भइरहेको हरियो प्याजको भाउ ४५ प्रतिशतले घटेर ६६ रुपैयाँ भएको छ। त्यसैगरी पालुंगो, चम्सुर र मेथीको साग १९० रुपैयाँबाट १४८ प्रतिशतले घटेर ७६ रुपैयाँमा झरेको छ।

गत वर्षको तुलनामा पनि यस वर्ष अधिकांश तरकारीको मूल्यमा अचम्मको उतारचढाव देखिएको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अभिलेखअनुसार एक वर्षअघि सबैभन्दा महँगो तरकारी कुरिलो, पार्सले र डल्लेच्याउ थियो।

ती तीन वटैको भाउ निकै घटेको छ। अहिले किलोको ५७५ रुपैयाँ पर्ने कुरिलोको मूल्य ७४ प्रतिशतले घटेको हो। त्यस्तै, अघिल्लो वर्ष ४५० रुपैयाँमा किनबेच भएको पार्सले अहिले ३२५ रुपैयाँमा सीमित छ। अहिले ३२५ रुपैयाँ पर्ने डल्लेच्याउको भाउ पनि गत वर्षको तुलनामा ११ प्रतिशतले घटेको हो। 


सम्बन्धित सामग्री