Friday, May 03, 2024

-->

तरकारीमा फौबन्जारीः ठगिँदै किसान, उपभोक्तालाई ५ गुणासम्म महँगो

किसानको खेतबारीबाट तरकारी सस्तोमा बिक्री भए पनि विभिन्न चरणका बिचौलिया र व्यापारीहरू हुँदै खरिद गर्ने उपभोक्ताले भने पाँच गुणासम्म बढी मूल्य तिर्नुपरेको छ।

तरकारीमा फौबन्जारीः ठगिँदै किसान उपभोक्तालाई ५ गुणासम्म महँगो
फाइल तस्वीर: रासस

काठमाडौँ– धादिङ छत्रेदेउरालीका गौरीशंकर सापकोटा भिन्डी मुस्किलले प्रतिकिलो औसत २० रुपैयाँमा बेचिरहेका छन्। तर त्यही भिन्डी काठमाडौँको खुद्रा बजारमा ७० रुपैयाँसम्ममा किनबेच भइरहेको छ। किसानले आफ्ना उत्पादनहरू नजिकका तरकारी संकलन केन्द्रमा पुर्‍याउँछन्। त्यहीँबाट व्यापारीहरूले उठाएर लैजान्छन्। 

“व्यापारी पनि सधैँ आउँदैनन्, आफ्ना प्रतिनिधि पठाउँछन्। पारि गाउँका किसानले पाएभन्दा २/४ रुपैयाँ बढी नै दिन्छु भनेर व्यापारीले पहिले नै भनेका हुन्छन्,” सापकोटा भन्छन्, “हामीलाई कुन दिन कति भाउ छ भन्ने पनि थाहा हुँदैन, हप्ता–दस दिनपछि हिसाब गरेर पैसा लिने हो।”

घरनजिकका सहकारीस्थित तरकारी संकलन केन्द्रसम्म पुर्‍याउन पनि भारी बोकेर २० मिनेटको बाटो हिँड्नुपर्ने उनी सुनाउँछन्। “बीउ खरिददेखि टिपेर बजारमा पुर्‍याउँदासम्मको खर्च हिसाब गर्ने हो भने लागत पनि उठ्दैन, न हामीले मूल्य पाएका छौँ न त काठमाडौँमा बस्ने आफ्नै छोराछोरीले सस्तोमा खान पाएका छन्,” सापकोटाले भने। 

कालीमाटी फलफूल तथा तरकारी बजारको दैनिक मूल्यसूचिअनुसार सोमबार भिन्डीको औसत थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ छ। किसानको उत्पादन र मूल्यमाथि खेतबारीदेखि नै बिचौलियाको नियन्त्रण भएका कारण किसानले उचित मूल्य पाएका छैनन् भने दैनिक किनेर खाने उपभोक्ताहरू चर्को मूल्य तिर्न बाध्य छन्।

ललितपुरको बागमती गाउँपालिका भट्टेडाँडामा व्यावसायिक तरकारी खेती गर्दै आएका श्याम तिमिल्सिनाले प्रायः बेमौसमी तरकारी उत्पादन गर्छन्। यो समय उनले फलाएको काउली व्यापारीलाई औसत प्रतिकिलो १०० रुपैयाँमा बिक्री गर्छन्। तर आफ्नो तरकारी बारीभन्दा २० किलोमिटरको दूरीमा रहेको सातदोबाटोका खुद्रा पसलहरूमा भने त्यही काउली १६५ रुपैयाँसम्ममा किनबेच हुने गरेको उनी बताउँछन्।

यस्तै, काठमाडौँमा बस्ने उपभोक्ताले आफ्नै उत्पादनको एक किलो बन्दागोभी ५० रुपैयाँ हालेर किन्दा तिमिल्सिनाले भने १५ रुपैयाँ मात्र पाए। “हामीले बेच्ने र उपभोक्ताले किन्ने मूल्यमा धेरै अन्तर हुन्छ। फलाउने, ढुवानी गर्ने र बेच्ने सबै काम आफैँले गर्न सम्भव छैन। सकेसम्म भाउ बढी दिने व्यापारी खोजेर बेच्दा पनि मूल्यमा यति धेरै फरक पर्छ,” उनले गुनासो गरे।

भाउ बढी आउँछ भनेर बेमौसममा खेती गरे पनि बिचौलिया हाबी हुँदा किसान मारमा परेको तिमिल्सिना बताउँछन्। “आफैँले बेच्न सकिँदैन, खेती पनि सम्हाल्नु पर्‍यो। दुःख गरेर फलाउने किसानले सबैभन्दा बढी नोक्सान भोग्नुपरेको छ,” उनी भन्छन्। 

उत्पादनको लागत नपाएपछि किसानहरूले सडकमै तरकारी फालेर पनि विरोध गर्दै आएका छन्।

उचित मूल्य र बजार नपाउँदा गत वैशाखमा धादिङको गल्छी–४, ढुङ्गानाटारका नारायण भण्डारीले रातो बन्दागोभी बारीमै छोडे। त्यतिबेला काठमाडौँका सुपरमार्केटहरूमा किलोकै १४० रुपैयाँसम्म खुद्रा मूल्यमा बिक्री भइरहेको उनले सुनेका थिए।

चितवनको भरतपुर महानगरपालिका–२५ का छवि न्यौपाने १० वर्षदेखि व्यावसायिक तरकारी खेतीमा संलग्न छन्। उनले यो सिजनको लौका बेचेर भर्खरै सके। एक साता अघिसम्म लौका किलोको २० रुपैयाँका दरले व्यापारीलाई खेतबाटै बेचे। त्यसबेला चितवनका खुद्रा पसलहरूमा भने ७० देखि ८० रुपैयाँ किलोसम्ममा किनबेच भइरहेको थियो।

“असारबाट बेच्न थालेको लौका भदौको दोस्रो हप्तासम्म थियो। हामीले यहाँबाट १५ देखि २० रुपैयाँमा लौका बेच्दा खुद्रा व्यापारीले ७०–८० मा बेचिरहेका थिए। खुद्रा बेच्नेले पनि ५० भन्दा कममा त पाएनन् होला। यसको मतलब तरकारीको आम्दानी खेतमै गाडी ल्याएर संकलन गर्ने व्यापारीको भागमा धेरै जान्छ,” उनले भने। न्यौपानेले १६ बिघा क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन्। उनले उत्पादन गरेको तरकारी बाग्लुङ, पोखरा र काठमाडाैँसम्म जाने गरेको छ।

नेपालका सबैजसो कृषिजन्य उत्पादनमा बिचौलिया हाबी छन्। बजारमा बिक्री हुने मूल्यको आधारमा त व्यापारीसँग कहिल्यै मोलतोलै नहुने बताउँछन् गोरखा घ्याल्चोकका सुदर्शन रेग्मी। “उनीहरूले जति भन्छन् त्यतिमै हामीले पठाउनुपर्ने हुन्छ, इन्डियाबाट सस्तोमा भिन्डी, लौका, भन्टा आएको छ, बिक्न गाह्रो छ भनेर तर्साउँछन्। अनि बारीमै कुहाउनुभन्दा तिनकै मूल्यमा दिनु बेस ठान्छौँ।”

सरकारसँग सूचना छ, नियमन छैन
धादिङमा १५ रुपैयाँमा भिन्डी बिक्री भइरहँदा काठमाडौँका उपभोक्ताले ८० रुपैयाँसम्म तिर्नुपरेकोजस्ता समस्याबारे सरकारी स्तरबाट पटक–पटक अध्यययन भएर आधा दर्जन जति त प्रतिवेदन नै बनेका छन्। २०७४ सालको कात्तिक र मंसिरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले तयार पारेको तरकारी मूल्य विश्लेषण अनुगमन प्रतिवेदनले कृषकले उत्पादन गरेको तरकारी बिचौलियाको पाँच चरणसम्म पार गरेर उपभोक्ताकहाँ पुग्ने देखाएको थियो। 

अध्ययनका क्रममा काभ्रेको पाँचखाल, धादिङ, नुवाकोट, दामन, पालुङ, बज्रबाराही र टिस्टुङका तरकारी संकलन केन्द्र र काठमाडौँको कालीमाटी तरकारी तथा फलफूल विकास समितिको थोक तथा खुद्रा मूल्य विश्लेषण गर्दा नै मूल्यअन्तर १२२ प्रतिशतसम्म भेटिएको थियो।

तरकारीमा हुने अस्वाभाविक मूल्यवृद्धि र बिचौलियाको तहबारे जति अध्ययन हुँदा पनि तिनका प्रतिवेदनहरूको कार्यान्वयन भने कहिल्यै हुन सकेको छैन। किसान र उपभोक्ताबीचको मूल्यअन्तर घटाउन बिचौलियाका तह घटाउनुपर्ने, कृषकलाई आफ्नो उत्पादनको बजार व्यवस्थापन आफैँले गर्न पाउने गरी तरकारी बिक्री केन्द्रमा कृषक सहकारीको स्टल रहने व्यवस्था मिलाउनुपर्ने लगायतका सुझाव दिइएका थिए। 

अध्ययन टोलीहरूले आफ्ना प्रतिवेदन प्रधानमन्त्री कार्यालय र आपूर्ति मन्त्रालयमा पेश गरेका थिए। तर नतिजा कुरेर बसेका किसानहरूले एउटा सुझाव पनि कार्यान्वयन भएको खबर कहिल्यै सुन्न पाएनन्। त्यसकारण आफ्नो उत्पादन किनबेच गरेर बीचका व्यापारीले अथाह मुनाफा कमाइरहँदा उपभोक्तालाई महँगी र आफूहरूलाई निराशा मात्र हात परेको किसानहरू बताउँछन्।  

यो पनि: आकासिँदो मूल्यवृद्धिको मारमा उपभोक्ता, कालोबजारीमाथि नियन्त्रण गुमाउँदै सरकार

तरकारी बजार अनुगमन टोलीका सदस्यसमेत रहेका उपभाेक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना सरकारी अध्ययन टोलीको प्रतिवेदनसमेत कार्यान्वयन नहुँदा किसान र उपभोक्ता दुवै मारमा परेको बताउँछन्। “उपभोक्ता संरक्षण ऐन २०७५ ले बजारको तह तोक्ने भनेकै छ, बजारको तह तोकेपछि मात्र बिचौलिया नियन्त्रणमा आउँछन् र किसानले न्यायोचित मूल्य पाउँछन। तर ऐन कार्यान्वयनमा सरकारको ध्यानै पुगेन,” बजार व्यवस्थापन र मूल्यको लागि स्थानीय सरकारले भूमिका खेल्नुपर्नेमा त्यो पनि नदेखिएको उनी बताउँछन्। 

तरकारीको मूल्य पनि पसलैपिच्छे फरक छ। दुई वर्षअघि विभागले गरेको अध्ययनमा यो विषय पनि समेटिएको थियो। उपत्यकाका ३३ वटा खुद्रा तरकारी पसलमा निरीक्षण गर्दा भेटिएको यस्तो तथ्य र त्यसलाई नियन्त्रण गर्नुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख भए पनि त्यो त्यसै थन्कियो।

त्यसबेला विभागको टोलीले कालीमाटी फलफूल तथा तरकारी बजारमा अनुगमन गर्दा आक्रोशित हुन पुगेका त्यहाँका व्यपारीले अध्ययन टोलीलाई बजार परिसरमै घेराबन्दीसमेत गरेका थिए।

पछिल्लो एक वर्षको अवधिमा कतिपय तरकारीको मूल्य अचाक्ली बढेको छ भने कतिपयको चाहिँ घटेको छ। कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार गत वर्ष यतिबेला खुद्रा मूल्य औसत ४० रुपैयाँमा पाइने टनेलको गोलभेँडा सोमबार करिब ५८ रुपैयाँमा किनबेच भइरहेको छ। लोकल बन्दागोभीको भाउ पनि गत वर्षको तुलनामा ८८ प्रतिशतले वृद्धि भएको छ। पोहोर यो बेला थोकमा किलोको ३५ रुपैयाँ रहेको बन्दाको भाउ अहिले ६६ रुपैयाँ पुगेको छ। 

भन्टाको भाउ त यसपालि शतप्रतिशतले बढेको छ। पोहोरको तुलनामा मकैबोडी प्रतिकिलो ७६ बाट ९६, घिउसिमी ६५ बाट ८६, तितेकरेला ६५ बाट ८५ र भटमास कोसा ८५ बाट ११० रुपैयाँ पुगेको छ। यस्तै, थोकमा चिचिण्डाको भाउ पनि २८ रुपैयाँबाट ५५ रुपैयाँ प्रतिकिलो पुगेको छ। 

तुलनात्मक रूपमा सस्तो मानिने स्कुसको मूल्य एक वर्षअघिको तुलनामा १८ बाट २७ रुपैयाँ पुगेको छ। गत वर्ष कालीमाटीमा ६५ रुपैयाँ किलो रहेको लोकल काँक्रो अहिले ८७ रुपैयाँमा बेचिँदै छ। यसैगरी अदुवाको भाउ ७६ बाट दोब्बरले बढेर अहिले १५६ रुपैयाँ पुगेको कालीमाटी तरकारी बजारको दैनिक मूल्यसूचि विवरणले देखाउँछ। 

त्यसबाहेक खुर्सानी, लसुनको मूल्य पनि अचाक्ली बढेको छ। काउलीको मूल्य भने गत वर्ष र अहिले स्थिर देखिएको छ। मैसमी घिरौँला, लौकालगायतका तरकारीको उपभोक्ता मूल्य बढेर असाध्यै माथि पुग्दा पनि किसानले भने लागतमूल्य पनि नपाइरहेको उपभाेक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना बताउँछन्।


सम्बन्धित सामग्री