Friday, April 26, 2024

-->

पाकिस्तानमा भएका छुट्टाछुट्टै दुर्घटनामा ५१ जनाको मृत्यु

पाकिस्तानमा आइतबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा ५१ जनाको मृत्यु भएको छ।

पाकिस्तानमा भएका छुट्टाछुट्टै दुर्घटनामा ५१ जनाको मृत्यु

पाकिस्तानमा आइतबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा ५१ जनाको मृत्यु भएको छ। बलोचिस्तानको लसबेलामा आइतबार बिहान एक यात्रुवाहक बस पुलबाट तल खस्दा ४१ जनाको ज्यान गएको हो। 

बलोचिस्तानको क्षेत्रीय राजधानी क्वेटादेखि उत्तरी तटीय शहर कराँचीतर्फ जाँदै गर्दा ४८ जना यात्रु सवार बस दुर्घटनामा परेको हो। लसबेला जिल्लाको बेला शहरमा पुलबाट तल खसेको थियो। 

दुर्घटनामा घाइते दुई जनाको  अवस्था गम्भीर रहेको स्थानीय वरिष्ठ प्रशासन अधिकारी हम्जा अन्जुमले बताए।

यस्तै, उत्तर पश्चिमी खिबेर पाख्तुन्ख्वामा बालबालिका सवार डुंगा पल्टिँदा १० जनाको मृत्यु भएको हो। मृतक अधिकांश ७ देखि १४ वर्षका बालबालिका भएको स्थानीय प्रहरी अधिकारी मिर रउफले बताए। 

डुंगामा अन्य ९ जना पानीमा खसेर बेपत्ता भएको स्थानीय अधिकारीले जनाएका छन्। बेपत्ताहरूको खोजी कार्य जारी छ। यस्तै, ११ जना बालबालिकाको सकुशल उद्धार गरिएको प्रहरी अधिकारी रउफले बताए।

सडकको दुरवस्था, सुरक्षा अभाव र लापरबाहीपूर्ण ड्राइभिङजस्ता कारणले पाकिस्तानमा दुर्घटनाको संख्या बढ्दै आएको छ। 

विशेष गरी त्यहाँका अधिकांश क्षेत्रमा सार्वजनिक सवारीमा क्षमताभन्दा बढी यात्रु बोक्ने र सिटबेल्ट नलगाउने कारण पनि दुर्घटनाको जोखिम थप बढी हुने गरेको छ।


सम्बन्धित सामग्री