Sunday, April 28, 2024

-->

पाकिस्तानको चुनावः इमरानलाई एआई र शरिफलाई सेनाको साथ, कसलाई कति राहत

शक्तिशाली सेनाले पूर्वप्रधानमन्त्री नवाज शरिफलाई नयाँ प्रधानमन्त्रीको रूपमा देख्न र अर्का पूर्वप्रधानमन्त्री इमरान खानलाई हराउन चाहेको टिप्पणी चुनावी प्रक्रियालाई नियालिरहेका विश्लेषकहरूले गरेका छन्।

पाकिस्तानको चुनावः इमरानलाई एआई र शरिफलाई सेनाको साथ कसलाई कति राहत

काठमाडौँ– पाकिस्तानमा राष्ट्रियसभा र प्रान्तीय निर्वाचनका लागि बिहीबार एकैसाथ मतदान सम्पन्न भएको छ। निर्वाचनको प्रारम्भिक नतिजाअनुसार अहिलेसम्म मुख्य तीन वटा पार्टीको प्रतिस्पर्धा देखिएको छ। बिहान ११ बजेसम्म तीन वटै पार्टीले बराबर ५/५ सिटमा जित हात पारेका छन्।

गणनाको अन्तिम परिणाम आउन भने कम्तीमा पनि आज राति अबेरसम्म पर्खनु पर्ने छ। पाकिस्तानको निर्वाचन आयोगले गत वर्षको डिसेम्बरमा निर्वाचनको तालिका सार्वजनिक गरेको थियो। त्यसपछि देशका विभिन्न क्षेत्रमा आक्रमण हुँदै आएका थिए, जसलाई चुनाव बिथाल्ने प्रयासका रूपमा हेरिएको थियो। 

चुनावको अघिल्लो दिन मात्रै पाकिस्तानको उत्तरी प्रान्त बलुचिस्तानका दुई फरक ठाउँमा भएका बम विस्फोटमा २८ जनाको मृत्यु भयो। चुनावकै दिन पनि विभिन्न ठाउँमा आतंकवादी आक्रमण नै भए। तथापि तनावपूर्ण अवस्थाकै बीच करिब ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन गरेर मतदान सम्पन्न गरियो। 

आर्थिक अभावका बाबजुद पनि यस पटकको निर्वाचन पछिल्ला चार निर्वाचनको तुलनामा महँगो भएको छ। चुनावमा करिब १५ सय करोड रुपैयाँ खर्च भएको बताइएको छ। केही राजनीतिक विश्लेषकहरूले भने पाकिस्तानको यो चुनावलाई अहिलेसम्मकै कम विश्वसनीय चुनाव भनी टिप्पणी गरेका छन्। 

झन्डै १३ करोड मतदाता सूचिकृत भएको पाकिस्तानमा सन् २०१८ को चुनावमा ५१ प्रतिशत मतदान भएको थियो। यस पटकको चुनावमा खसेको मत प्रतिशत त्यहाँको निर्वाचन आयोगले हालसम्म सार्वजनिक गरेको छैन। 

यो निर्वाचनमा पूर्वप्रधानमन्त्री नवाज शरिफ, इमरान खान तथा पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका ३५ वर्षीय छोरा बिलावाल भुट्टो–जर्दारी आ–आफ्नो पार्टीका तर्फबाट प्रधानमन्त्रीको सम्भावित अनुहार मानिएका छन्। खानलाई चुनाव लड्न प्रतिबन्ध लगाइएको छ। तर पनि उनको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले उनको नाम लिएर चुनाव लडिरहेको छ।

बिलावाल भुट्टो–जर्दारी

इमरान जेल परेकै मौकामा नवाजको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)ले बहुमतले जित हात पार्ने अड्कल पनि गरिएको छ। तर यी दुई पार्टी मात्र छैनन्, मुख्य रूपमा पाकिस्तानमा १४ वटा पार्टीले चुनावमा भाग लिएका छन्। भुट्टोको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) लाई पनि शक्तिशाली पार्टी नै मानिन्छ। तर अहिले यो पार्टी नवाज र इमरानको पार्टीको चेपुवामा परेको छ। तथापि, अहिले यी तीनवटै पार्टीबीच सघन प्रतिस्पर्धा चलिरहेको छ।

चुनावमा चार प्रान्त र एक केन्द्रशासित क्षेत्रमा २६६ सिटको लागि प्रतिस्पर्धा भइरहेको छ। सबैभन्दा धेरै पञ्जाब प्रान्तमा १४१, सिन्ध प्रान्तमा ६१, पख्तुनख्वामा ४५, बलुचिस्तानमा १६ र केन्द्र शासित क्षेत्र इस्लामावादमा ३ सिटको लागि प्रतिस्पार्धा भइरहेको छ।

पाकिस्तानको संसद्मा ३३६ सिटहरू छन्। तर २६६ सिटहरू भने प्रत्यक्ष मतदानमार्फत चुनिन्छन्। सदनमा संख्यात्मक बाहुल्यको आधारमा ७० सिट आरक्षितहरूको लागि छुट्याइन्छ। त्यसमध्ये ६० सिट महिला र १० सिट गैरमुस्लिमका लागि तोकिएको छ।

शरिफलाई सेनाको साथ
७४ वर्षीय पूर्वप्रधानमन्त्री शरिफ चौथो पटक पाकिस्तानको प्रधानमन्त्री बन्ने दौडमा छन्। यसअघि सन् २०१३ मा स्पष्ट बहुमतका साथ उनको पार्टी तेस्रो पटक सत्तामा आएसँगै उनी प्रधानमन्त्री बने। तर भ्रष्टाचारको आरोप लागेका कारण कार्यकाल पूरा नगर्दै २०१७ मा उनलाई पदबाट हटाइयो। २०१८ मा राष्ट्रिय चुनावको केही दिनअघि मात्र उनकी छोरी मरियमसँगै उनलाई १० वर्षको जेल सजाय सुनाइएको थियो। त्यसपछि उनी देश त्यागेर बेलायमा बस्न गए।

२०१८ को चुनावमा इमरान खान पाकिस्तानको प्रधानमन्त्री बने। तर चार वर्षमै २०२२ अप्रिल ९ मा संसद्ले अविश्वासको प्रस्ताव पारित गरेसँगै उनी बर्खास्त भए। त्यसपछि विपक्षी दलहरू मिलेर गठबन्धन सरकार बनाए, जसमा नवाजका कान्छो भाइ र पार्टीको राजनीतिक गढ, पञ्जाबका पूर्व मुख्यमन्त्री शेहबाज शरिफले प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरे। १६ महिनापछि उनको सरकार पनि भंग भयो र अनवार–उल–हक काकरको नेतृत्वमा पाकिस्तानमा अन्तरिम सरकार बन्यो। 

चुनावी अभियानका क्रममा नवाज

यसैबीच, बेलायतमा चार वर्षको निर्वासनपछि २०२३ को अक्टोबरमा नवाज पाकिस्तान फर्किए। त्यसपछि उनलाई बाँकी सजाय हुन्छ कि भन्ने आम अनुमानका बीच त्यसको केही हप्ताभित्रै उनीविरुद्धको भ्रष्टाचारको आरोप अदालतले खारेज गरिदियो। त्यही कारण देशको शक्तिशाली सेनाले उनलाई राष्ट्रको अर्को प्रधानमन्त्रीको रूपमा हेरिरहेको विश्लेषकहरूको तर्क छ। 

भारतका रक्षा विशेषज्ञ अनिल गुप्ताले एएनआईसँगको अन्तर्वार्तामा पाकिस्तानी सेना नवाज शरिफलाई ल्याउन इच्छुक रहेको बताएका छन्। उनीहरूले आफ्नो समर्थनमा नवाज शरिफलाई प्रधानमन्त्री बनाउन चाहेको उनको भनाइ छ। पाकिस्तानी सेनाले फेरि एक पटक छद्म नाममा चुनाव लडेर जम्मु कश्मिरको मुद्दा उठाउने तथा विभिन्न आतंकवादी संगठनहरूलाई मूलधारमा ल्याउने प्रयास गरिरहेको उनको तर्क छ। त्यस्तै इमरान खानको गिरफ्तारी अलोकतान्त्रिक भएको र उनी परिस्थितिको सिकार बनेको उनी बताउँछन्।

खानलाई अप्रिल २०२२ मा सत्ताबाट हटाइएको घटनालाई उनको पार्टीले पाकिस्तानको शक्तिशाली सैन्य प्रतिष्ठानसँग मिलेर अमेरिकाको नेतृत्वमा भएको षड्यन्त्र भन्दै आएको छ।

परराष्ट्र मामिलाका विज्ञ सुशान्त सरिन त्यहाँको सेना जसरी पनि नवाजका प्रमुख प्रतिद्वन्द्वी मानिएका इमरान खानलाई हराउन लागिपरेको बताउँछन्। एक साताभन्दा बढी समयदेखि पाकिस्तानका विभिन्न ठाउँमा भइरहेका आक्रमण त्यसतर्फ नै लक्षित भएको उनको तर्क छ। इमरानको पार्टीले राम्रो गर्न सक्ने अनुमान गरिएको पख्तुनख्वा र बलुचिस्तानमा सेनाले चुनाव नचाहिरहेको उनी बताउँछन्। त्यसैले यी क्षेत्रमा भइरहेका आक्रमणहरू पाकिस्तानी सेनाले गराएको हुनसक्ने उनको अनुमान छ। 

उता इमरानको पार्टीको जितको सम्भावनालाई पनि नजरअन्दाज गरिहाल्न सक्ने अवस्था छैन। जेलमा भए पनि लोकप्रिय शक्ति बनेका इमरान विशेषगरी शहरी युवाहरूमाझ बलियो डिजिटल उपस्थितिका साथ चर्चामा छन्।

इमरानको एआई रणनीति
७१ वर्षीय इमरान खान जेलमा छन्। विपक्षीहरूले प्रधानमन्त्री पदबाट हटाएपछि भ्रष्टाचारको आरोपमा दोषी ठहरिई उनी तीन वर्षको जेल सजाय भोगिरहेका छन्। त्यसैमाथि सरकारी दस्तावेज चुहावटको आरोपमा चुनावको केही दिनअघि मात्रै खान र उनकी श्रीमतीलाई त्यहाँको अदालतले १४ वर्षको जेल सजाय तोकेको छ। दोहोरो जेल सजाय भोगिरहेका उनले बुधबार जेलभित्रबाटै मतदान गरे। 

इमरानलाई कारबाही भएसँगै उनको पार्टी पीटीआईलाई पनि आफ्नो चुनावचिन्ह ‘क्रिकेट ब्याट’को प्रयोग गर्नबाट निर्वाचन आयोगले रोक लगायो। त्यसपछि पार्टीका उम्मेदवारहरूले स्वतन्त्र रूपमै चुनाव लडेका छन्। सर्वसाधारण नागरिकले थाहा पाएको चुनावचिन्ह नै प्रयोग गर्न नपाइने भएपछि पार्टीमा ठूलो धक्का लाग्यो। त्यसकै पूर्ति गर्न पीटीआईले एआईको सहारा लियो।

इमरानका समर्थक एआईद्वारा निर्मित उनको चुनावी भिडियो हेर्दै

गत डिसेम्बरमा मात्रै इमरानको एक भिडियो सार्वजनिक भएको थियो, जसमा उनले ‘पाकिस्तानको भलाइको लागि आफूले जेलमा बस्नु परेको’ बताएका छन्। तर त्यो आवाज उनको नभएको बताइएको छ। भिडियोको शुरूको केही सेकेन्ड पुरानो भिडियोबाट लिइएको र बाँकी भिडियो फुटेज तथा फोटो र आवाज एआईद्वारा बनाइएको थियो। चुनावलाई लक्षित गर्दै उनको पार्टीले उक्त भिडियो बनाएर सार्वजनिक गरेको थियो।

प्रहरीले आफ्नो पार्टीको चुनावी कार्यक्रम गर्न नदिएपछि भर्चुअल माध्यम अपनाउनुपरेको पीटीआईको चुनावी एजेन्डा हेर्ने जिब्रान इलियास बताउँछन्।

अल जजिरासँगको कुराकानीमा उनी भन्छन्, “हामीले हाम्रो पार्टीविरुद्ध दमन देख्यौँ। जनता कति निराश थिए भन्ने पनि देख्यौँ। हाम्रा केही र्‍यालीहरू सरकारी अधिकारीहरूले बिथोलेको देख्यौँ। त्यसले हामीलाई सोच्न बाध्य बनायो, अनि हामीले भर्चुअल र्‍याली आयोजना गर्‍यौँ।”

चुनावको अघिल्लो दिन पनि इमरान खानले भोट दिन आग्रह गरेको अर्को भिडियो सार्वजनिक भयो। मानिसहरूले उनको उक्त भिडियोलाई वास्तविक ठानेर ठूलो चर्चा बटुल्यो। तर जेलभित्र रहेका खानले यसरी भिडियो सार्वजनिक गर्नु असम्भव जस्तै भएकाले त्यो पनि एआईनिर्मित भएको दाबी गरिएको छ।

त्यस्तै, पीटीआईले पाकिस्तानको प्रत्येक निर्वाचन क्षेत्रका लागि व्हाट्सएप च्यानलहरू स्थापना गरेको थियो, जहाँ पार्टीका अनुयायीहरूले भोटिङको जानकारी पाउँथे। त्यसमाथि एआई च्याटबटलाई इमरान खानको फेसबुक प्रोफाइलमा सेटअप गरिएको थियो, जहाँबाट भर्चुअल रूपमा इमरान खानबारेका जानकारी आम मानिसहरूसम्म पुर्‍याइन्थ्यो।

“यस च्याटबटमार्फत तपाईं इमरान खानसँग कुरा गर्दै हुनुहुन्छ जस्तो लाग्छ। त्यसमा तपाईंले आफ्नो नेतालाई तपाईंको निर्वाचन क्षेत्रको बारेमा सोध्दै सन्देश पठाउनुहुन्छ, जवाफ दिनुहुन्छ र उहाँले तपाईं तपाईंलाई भोट गर्न आग्रह गर्नुहुन्छ। यसले मानिसहरूलाई उहाँसँग सिधै कुरा गरिरहेको महसुस गराउँछ,” इलियासले बताएका छन्।

उनका अनुसार पार्टीको यही अभियानले भोट बटुल्न ठूलो राहत पुग्ने अपेक्षा गरिएको थियो। तर चुनावको दिन उल्टो भइदियो।

चुनावको दिन बिहीबार पाकिस्तानभर मोबाइल फोन तथा इन्टरनेट सेवा बन्द गरियो। सुरक्षा व्यवस्था अपनाउनुपर्ने भएको भन्दै गृह मन्त्रालयले इन्टरनेट बन्द गरेको थियो। त्यसपछि विभिन्न पार्टीहरूले सरकारको उक्त कदमको विरोध गरेका थिए। विशेषगरी इमरान खानको पार्टी पीटीआईले उक्त कदमलाई सरकारको तानाशाही कदम भनेको थियो। 

पीपीपीले पनि निर्वाचन आयोगमै पुगेर इन्टरनेट सुचारु गर्न माग गरेको थियो। उनीहरूले धाँधली भएको आरोप लगाइरहँदा त्यही बेला पीएमएल–एनका नेता शरिफले भने निर्वाचन शान्तिपूर्ण ढंगले चलिरहेको प्रतिक्रिया जनाएका थिए।

इन्टरनेट तथा फोन सेवा बन्दले पीटीआईको चुनावी अभियानमा कत्तिको असर पारेको छ, त्यो त पूरै मत परिणाम आएपछि मात्रै थाहा होला।


सम्बन्धित सामग्री