Friday, April 26, 2024

-->

एमालेमा नयाँ विकासक्रम, दाहाललाई प्रधानमन्त्री स्वीकार्न ओलीलाई फकाउँदै नेताहरू

सत्ता गठबन्धन कायम रहन्छ कि रहन्न भन्ने अन्योल यथावत रहँदा ‘शान्त’ देखिएको एमालेभित्र गठबन्धन फुटाउन र माओवादीको नेतृत्वको सरकार स्वीकार गर्न ओलीलाई मनाउन नेताहरू सक्रिय बनेका छन्।

एमालेमा नयाँ विकासक्रम दाहाललाई प्रधानमन्त्री स्वीकार्न ओलीलाई फकाउँदै नेताहरू

काठमाडौँ– ठ्याक्कै दुई वर्ष पुग्यो, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रत्यक्ष भेटघाट–बोलचाल नभएको। तत्कालीन नेकपा नेतृत्वको सरकार हुँदा, २०७७ पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दाहाल–ओलीबीच भेटघाट–कुराकानीमा समेत बिराम लागेको थियो। 

त्यसबेला ओली र दाहाल दुबै नेकपाका अध्यक्ष थिए। त्यही विघटनपछि नेकपा एउटै रहेन, साबिकका नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिए। अनि ओली र दाहालका पार्टी पनि अलग्गै भए। पार्टीमात्र अलग भएनन्, उनीहरूबीचको सम्बन्धमै बिराम लाग्यो। 

प्रतिनिधिसभा निर्वाचनको नतिजा आएपछि ओलीले गत मंसिर ८ गते दाहाललाई टेलिफोन गरेर बधाई दिएका थिए। त्योबाहेक दुई वर्षमा उनीहरूबीच कुनै संवाद भएन।

बुधबार भने त्यसमा ‘क्रमभंग’ भएको छ। प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिन शीतलनिवासमा आयोजित समारोमा ओली र दाहाल ‘साइडलाइन टक’मै देखिए। शीतलनिवासको यो दृष्यले कुनै बेला शत्रुतापूर्ण सम्बन्धमा पुगेका एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच ‘नयाँ सम्बन्ध’ विकास हुँदैगरेको संकेत गर्छ।

शीतलनिवासको नौलो दृष्य त्यहीबेला पटाक्षेप भएको छ जतिखेर एमालेमा नयाँ विकासक्रम भइरहेको छ। त्यस्तो विकासक्रम जसमा ओलीनिकट नेताहरू नै दाहाललाई प्रधानमन्त्रीका रुपमा स्वीकार गरेर जान ओलीलाई मनाउने प्रयत्न गरिरहेका छन्।

बदलावको संकेतमा ओली!
विरोधीदेखि आलोचकसम्मलाई तीखा वाणीले प्रहार गरिरहने एमाले अध्यक्ष ओलीको स्वभाव नै हो। गत वैशाखमा स्थानीय तह निर्वाचनका दौरान एमालेले हेटौँडामा आयोजना गरेको चुनावी सभामा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गरेका माधवकुमार नेपालको नाम लिएपछि ‘मुख कुल्ला गर्नुपर्ने’ अभिव्यक्ति दिएर उनी एकैपल्ट चर्चा र विवादमा आएका थिए। 

तत्कालीन नेकपाभित्र दाहाल–नेपाल समूहसँगको अन्तरविरोध चर्कंदै गएर दुई वर्ष अघि तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि ओलीका हरेक भाषणमा दाहाल र नेपाल आलोचनाको तारोमा पर्थे। गत मंसिर ४ को निर्वाचन परिणाम आएपछि भने ओलीको यो शैली केही फेरिएको देखिन्छ। उनी पहिलेजस्तो दाहाल र नेपालप्रति आक्रामक पनि देखिएका छैनन्। बरु निर्वाचनअघि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १०० र समानुपातिकतर्फ ५० सीटसमेत कूल १५० सीट जित्ने दाबी गरेका ओली निर्वाचन परिणाम आएपछि आफूहरूको ‘जित खोसिएको’ दुःखमनाउ गरिरहेका छन्। 

एमालेका नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूलाई शुभकामना र बधाई दिन मंगलबार काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित कार्यक्रममा ओलीले दाहाल र नेपालको नाम नलिएरै भने, “आज हाम्रो विजय खोसिएको छ। हामीले बहुमत प्राप्त नगरेका होइनौं। हामीले कम्युनिष्टलाई मजबुत स्थितिमा पुर्याएका थियौँ। झण्डै दुइतिहाईको अवस्थामा पुर्‍याएका थियौँ। त्यसलाई कमजोर बनाउँदै लगियो। यस निर्वाचन मार्फत हाम्रो विजय फेरि खोसिएको छ।”

नेता–कार्यकर्ताको मनोबल बढाइराख्ने उद्देश्यले हुनुपर्छ, ओलीले आफूहरू कमजोर नरहेको सन्देश दिन अपेक्षाकृत सीट ल्याउन नसकेपनि समानुपातिकतर्फको मतमा एमाले पहिलो भएको आँकडा पनि महत्वसाथ प्रस्तुत गरिरहेका छन्। सबभन्दा रोचक त के भने ओलीले पहिलोपटक यस्तो चुनावी नतिजा आउनुमा आफ्नो कमजोरी रहेको स्वीकार गरेका छन्। 

गत शनिबार ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा काठमाडौँमा आयोजित चित्रकला प्रदर्शनी र पुस्तक लोकार्पण कार्यक्रममा ओलीले निर्वाचनबाट अपेक्षित परिणाम ल्याउन नसक्नुमा आफ्नो कमजोरी भएको स्वीकार गर्दै भनेका थिए, “नेपाली जनतालाई जुन बाटोमा हिँडाउनुपर्थ्यो, त्यो बाटोमा हिँडाउन सकिनँ। जनताको मद्दत लिएर चुनावको जुन परिणाम निकाल्न पर्थ्यो, मैले जनतालाई त्यो तहमा सचेत बनाउन सकिनँ। पार्टी प्रमुखको नाताले प्रमुख कमजोरी मेरै भन्नुपर्दछ।” 

के गरिरहेका छन् ओली? 
मंसिर ४ को निर्वाचन परिणाम आउँदैगर्दा झापाबाट काठमाडौँ फर्केदेखि एमाले अध्यक्ष ओलीले काठमाडौँ छोडेका छैनन्। पहिले जस्तो त्यति धेरै सार्वजनिक अभिव्यक्ति पनि दिएका छैनन्। कतिपयले ओली वर्तमान सत्ता गठबन्धन भत्काएर वामगठबन्धनको सरकार बनाउन भित्रैभित्रै सक्रिय रहेको टिप्पणी गर्नेगरेका छन्।

तर, ओलीका प्रेस संयोजक रामशरण बजगाईं भने ओली काठमाडौँमा आयोजित पार्टीका  विभिन्न कार्यक्रम र नेता तथा कार्यकर्तासँगको भेटघाटमा व्यस्त भइरहेको बताउँछन्। “अध्यक्षज्यू पार्टीको आन्तरिक काममा व्यस्त हुनहुन्छ”, उनले भने, “सरकार बनाउने बारेमा त केही छलफल नै चलेको छैन।” 

ओलीनिकट नेताहरू निर्वाचनबाट अपेक्षाकृत परिणाम नआएपछि नेतृत्वका हिसाबले ओलीले नै आफ्नो कमजोरी स्वीकार गरेर अघि बढ्नुपर्ने बताउँछन्। “अहिलेको अवस्था आउनुमा त उहाँ पनि जिम्मेवार हो नि, उहाँले रियलाइजेसन नगरेर हुन्छ?”, उनीनिकट एक नेताले भने, “नभए माओवादीलाई अहिले कांग्रेसलाई छोडेर हामीसँग आऊ भन्नुपर्ने अवस्था त आउने थिएन नि।” 

निर्वाचनको पूर्ण नतिजा नआउँदै, गत मंसिर ८ मा ओलीले माओवादी अध्यक्ष दाहाललाई टेलिफोन गरेको खबर बाहिरिएपछि वर्तमान सत्तागठबन्धनभन्दा बाहिरबाट सरकार बन्नसक्ने अड्कलबाजी शुरु भएका थिए। तर, दाहालले यो खबर फैलाएको भनेर ओलीको सचिवालयले असन्तुष्टि जनाएको थियो। यसबीचमा ओलीले कांग्रेस नेता प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायत मात्र होइन, माअ‍ोवादी केन्द्रका महासचिव देव गुरुङलाई पनि बालकोटमै बोलाएर कुराकानी गरेका छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेसँग पनि ओलीले बालकोटमै छलफल गरेर सरकारमा सहभागिताबारे रास्वपाको धारणा बुझ्ने प्रयास गरेका थिए। ओलीका प्रेस संयोजक बजगाईं भने अहिलेसम्मका भेटघाटमा बधाई तथा शुभकामना आदानप्रदान मात्र भएको दाबी गर्छन्।

ओलीको सचिवालयले धेरै कुरा बाहिर ल्याउन नचाहेपनि उनीनिकट एमाले नेताहरू भने एमाले र माओवादीसहितको सरकार बनाउन भित्रभित्रै पहल गरिरहेका छन्। र, उनीहरूले शुरुमा दाहाललाई नै प्रधानमन्त्री बनाउनुपर्ने प्रस्तावसमेत ओलीसमक्ष पुर्याएका छन्। सत्तागठबन्धनमा शुरुमै प्रधानमन्त्री बन्ने इच्छा औपचारिक रुपमै राखिसकेका दाहालले त्यहाँभित्र सकारात्मक संकेत पाएका छैनन्। त्यहीकारण पनि उनलाई गठबन्धनबाहिर निकाल्न सकिने बुझाई ओलीनिकट नेताहरूमा छ।

तर, उनीहरूको यस्तो प्रस्तावमा दाहाल र नेपाल ‘कन्भिन्स’ हुनसकेका छैनन्। “पहिलो चरणमै प्रचण्डलाई प्रधामन्त्री बनाउँने हो भने कुरा मिल्न सक्छ। तर, अहिलेसम्म त्यसका लागि विश्वासयोग्य वातावरण बनेको छैन”, ओलीनिकट रहेका एमालेका एक पदाधिकारीले भने, “हामी केपी ओली, प्रचण्ड र माधव नेपाल सबैलाई कन्भिन्स गर्न लागिरहेका छौँ। प्रचण्ड र नेपाल कन्भिन्स हुनुभयो भने केपी ओलीले अस्वीकार गर्नुहुन्छ जस्तो हामीलाई लाग्दैन।” 

यसका लागि ओलीनिकट नेताहरूले दाहाल र नेपालसँग विभिन्न चरणमा छलफल गरिरहेका छन्। केही दिनअघि ओलीकै निकटमध्ये मानिने एमाले नेता महेश बस्नेतले दाहाल र नेपाललाई भेटेर ‘कम्युनिष्ट शक्ति एक हुनुपर्ने’ भन्दै मिलेर जान आग्रह गरेका थिए। 

के एमालेले माओवादी र एकीकृत समाजवादीलाई सत्तागठबन्धनबाट निकालेर सरकार बनाउने प्रयास गरिरहेको हो? एमाले उपमहासचिव विष्णु रिमालले गठबन्धन भत्काउन प्रयास भइरहेको संकेत गरे। “यो गठबन्धन रहेसम्म हामी केही सोच्दैनौँ, किनभने गठबन्धन बहुमतनजिक छ र उसलाई पाँच सीट थपे पुग्छ”, रिमालले भने, “गठबन्धन रहेसम्म एमाले चुप लागेर बस्छ। गठबन्धन टुटेको हो भने अरु विकल्प खुलिहाल्छन्। हामीसँग ७८ सिट छ। तर, अहिलेसम्म हामी शान्त बसेका छौँ।”


सम्बन्धित सामग्री