Saturday, April 27, 2024

-->

सुकुमबासी बस्तीमा महानगरको डोजर (तस्वीरसहित)

काठमाडौँ महानगरपालिका थापाथलीस्थित सुकुमबासी बस्ती हटाउन पुग्दा त्यहाँ आश्रयस्थल बनाएर बसिरहेका सुकुम्वासीहरूले प्रतिकार गरेका छन्। उनीहरूले मेयर बालेन शाहविरुद्ध नाराबाजी समेत गरेका थिए।

सुकुमबासी बस्तीमा महानगरको डोजर तस्वीरसहित
तस्वीरः अमित मचामसी/उकालो

काठमाडौँ– सोमबार दिउँसो काठमाडौँ थापाथलीस्थित सुकुमबासी बस्तीमा काठमाडौँ महानगरपालिकाका केही प्रशासनिक कर्मचारी र नगर प्रहरी डोजरसहित पुगे।

अवैध संरचना हटाउन डोजरसहित पुगेको महानगरको टोलीले त्यहाँ आश्रयस्थल बनाएर बसिरहेका सकुम्वासीहरूलाई बस्ती खाली गर्न भनेपछि उनीहरू प्रतिकारमा उत्रिए। 

उनीहरूले प्रतिकारस्वरूप टायर बाल्ने, इँटा प्रहार गर्ने तथा मेयर बालेन शाहविरुद्ध नाराबाजीसमेत गरे।

यता संयुक्त सुकुमबासी बस्ती मोर्चा नेपालका केन्द्रीय अध्यक्ष कुमार कार्कीले चार महिनाअघि बागमती एकीकृत सभ्यता समितिसँग बसेर सुकुमबासीहरूको उचित व्यवस्थापन नभएसम्म बस्तीमा अतिक्रमण नगर्ने सम्झौता भएकाले अहिले महानगरले बस्ती हटाउन खोज्नु उचित नभएको बताए। 

उकालोसँगको संवादमा उनले सुकुमबासी समस्याको समाधानार्थ केन्द्रीय सरकारले विकल्प खोजिरहेको आफूले सुनेको बताए। “उक्त समितिले बस्तीको अध्ययन तथा पुर्नबासको लागि प्रतिवेदन तयार गर्ने निर्णय भएको थियो”, उनले भने, “सरकारको तर्फबाट भूमि आयोगमा प्रतिवेदन गएको छ। काम बढेको छ र विकल्पको खोजी भइरहेको हामीले सुन्नमा आएका छौँ।”

यति जानकारी हुँदा पनि महानगरपालिका व्यवस्थापकीय निर्णयलाई कुल्चिएर एक्कासि डोजर लिएर जाँदा भर्खरै मतदान गरेर बसेका सुकुमबासी बस्तीबाट यसको प्रतिकारमा उत्रिएको उनको भनाइ छ। 

उनले भने, “हामी तनावमा छौँ, जाडोको मौसममा उचित वासस्थानको आशा गर्नुपर्ने बेला कसरी बस्ती जोगाउने चिन्ता बढेको छ।”

के भन्छ महानगर?
काठमाडौँ महानगरपालिका बागमती छेउछाउका बस्ती हटाउने तयारीमा छ। सुकुमबासी भने बागमती सभ्यतासँग भएको सम्झौताको आधारमा आफूहरूको उचित व्यवस्थापन नभएसम्म बस्ती छोड्न राजी छैनन्।

महानगरपालिका सह–प्रवक्ता महेशकुमार काफ्ले भने नगरपालिकाको टोली बस्तीको निरिक्षण तथा अनुगमनको लागि मात्रै गएको बताउँछन्। डोजर भने त्यहाँको परिस्थिति अनुसार एक्सनको लागि पठाइएको उनको दाबी छ।

यता, महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर भने यस विषयमा आफूलाई जानकारी नभएको बताउँछन्। मिडियाकै माध्यमबाट जानकारी आएको उनले उकालोलाई बताए।

यद्यपि, अवैध संरचनाका विषयमा कुनै प्रकारको सूचना आवश्यक नहुने र यी गर्नेपर्ने काम भएको हुँदा क्रमशः गरिँदै जाने उनको भनाइ छ। उनले भने, “आज घटेको घटनाको विषयलाई लिएर बैठक बसेर आगामी कदमका लागि हामी निर्णय गर्नेछौँ।”

यसअघि बस्ती हटाउनको लागि महानगरपालिकाले ३५ दिने सूचना निकालेको थियो।

बस्तीबाट नगरप्रहरी फिर्ता भएको छ। नेपाल प्रहरी भने बस्तीमा तैनाथ अवस्थामा रहेको अध्यक्ष कार्कीले बताए।

तस्वीरः
 



 


सम्बन्धित सामग्री