Saturday, April 27, 2024

-->

इन्डोनेसियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३२१ पुग्यो

भूकम्पले ६२ हजारभन्दा बढी घरमा क्षति पुगेको र ७३ हजारभन्दा बढी मानिसहरू विस्थापित भएका छन्।

इन्डोनेसियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३२१ पुग्यो

इन्डोनेसियाको जाभा टापुमा यस हप्ता गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३२१ पुगेको छ। उद्धारकर्ताहरूले आइतबार थप शव फेला पारेको राष्ट्रिय प्रकोप न्यूनीकरण निकायले जनाएको छ।

जाभाको सिआनजुर शहरमा सोमबार ५.६ म्याग्निच्युडको भूकम्प गएको थियो। अधिकांश पीडितहरू भवनहरू भत्किँदा र आसपासमा पहिरो खस्दा मारिएका थिए।

प्रकोप न्यूनीकरण एजेन्सीका प्रमुख सुहार्यान्तोले बताएअनुसार  पछिल्लो समय तीन शव फेला परेसँगै आजसम्म मृत्यु हुनेको संख्या ३२१ पुगेको  हो। भूकम्पमा फसेका ११ जना अझै बेपत्ता छन्। उद्धारकर्ताहरूले खोजी तथा उद्धार कार्यलाई तीव्रता दिने  बताएका छन्।  

भूकम्पले ६२ हजारभन्दा बढी घरमा क्षति पुगेको र ७३ हजारभन्दा बढी मानिसहरू विस्थापित भएका छन्। प्रकोप एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले अधिकारीहरूले अर्को हप्ता आपतकालीन उद्धारको अवधि १४ दिनभन्दा बढी विस्तार गर्ने कि नगर्ने भनेर निर्णय लिने छन्।  

सोमबारको भूकम्प सन् २०१८ को भूकम्पपछि द्वीपसमूह राष्ट्रमा सबैभन्दा घातक रहेको जनाइएको छ। सुनामीले सुलावेसी टापुमा चार हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो। 


सम्बन्धित सामग्री