Friday, April 26, 2024

-->

राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात्, रवि लामिछानेको दल!

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार भएका मात्र होइन केन्द्रीय समितिमा पनि यसअघि राजनीतिमा लागेका व्यक्ति नहुँदा आमनागरिकमा ‘देखाउने अनुहार’ रवि लामिछाने मात्र छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात् रवि लामिछानेको दल
तस्वीर: उकालो

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता कायम नरहेको भन्दै कात्तिक २९ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा उजुरी पर्यो। उजुरीकर्ताले उनको उम्मेदवारी खारेजीको माग गरेका छन्। त्यसका आधारमा कार्यालयले सात दिनभित्र जवाफ पठाउन लामिछानेलाई पत्र पठाएको छ। लामिछाने चितवन क्षेत्र नं. २ बाट उम्मेदवार छन्।

लामिछाने पहिलोपटक विवादमा परेका होइनन्। राजनीतिमा आउनुअघिबाटै उनी विवाद र चर्चामा रहने गरेका थिए। टेलिभिजन कार्यक्रम प्रस्तोता भएर उनले प्रशंसक पनि कमाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्नुअघि उनी आत्महत्या दुरुत्साहन मुद्दामा हिरासतमा पनि परेका थिए। २०७६ साउन २० गते न्यूज २४ टीभीमा उनका सहकर्मी शालिकराम पुडासैनीले आत्महत्या गरेका थिए। त्यसको १० दिनपछि उनी २०७६ साउन ३० मा पक्राउ परे।

लामिछाने ११ दिन हिरासतमा बसेर धरौटीमा छुटेका थिए। छुटेको भोलिपल्ट भदौ १० गते चितवनमै पत्रकार सम्मेलन गर्दै लामिछानेले आफू राजनीतिमा जाने संकेत गरेका थिए। राजनीतिमा जाने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भनेका थिए, “सम्भावनाको ढोकामा चुकुलमात्र लागेको छ, ताल्चा लागेको छैन।”

उनले यसो भनेको तीन वर्षपछि २०७९ असार ७ मा उनले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिए। असार १७ गते आयोगले लामिछानेको अध्यक्षतामा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता भयो। उनको पार्टीले १३१ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार खडा गरेको छ।

उनले चलाउने टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’ दर्शकले मन पराएका थिए। त्यस कार्यक्रममार्फत प्रशंसक जम्मा पारेका उनले पार्टीमा पनि समर्थक जम्मा पारिरहेका छन्। सरकारको नकारात्मक प्रभावका कारण संचार, फिल्म, निजी क्षेत्रलगायत पृष्ठभूमिका मानिसहरूलाई राजनीतिमा ठाउँ छ कि भन्ने लागेको राजनीतिशास्त्रका प्राध्यापक विजयकान्त कर्ण बताउँछन्।

उनी भन्छन्, “यस्ता खाले व्यक्तिहरू नेपालमा अहिलेसम्म चमात्कारिक रूपमा सफल हुने गरेको देखिँदैन, रवीन्द्र मिश्रलगायत उद्हारण हुन्। शहरी क्षेत्रमा एक खाले मानिसहरूले रवि लामिछानेलाई चिन्ने भएकाले आशा गरेका हुनसक्छ। तर यसैको आधारमा स्वतन्त्र पार्टी बलियो भएर आउँछ भनिहाल्नु हतार हुन्छ।”

पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको विकल्प खोज्ने मनोविज्ञान बढेको बेला आफूहरूले विकल्प दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाल बताउँछन्। “अरू दलहरूजस्तो एउटा कोठामा बसेर एक जनाले गरेको निर्णयको भरमा हाम्रो पार्टी चल्दैन। आन्तरिक लोकतन्त्रको अभ्यास शुरूदेखि छ, यस निर्वाचनमा पनि यही पद्दती अवलम्बन गरिएको छ। कुन ठाउँमा टिकट कसलाई दिने भन्ने जनताको चाहना र अपेक्षाअनुसार र पार्टीभित्र बहुमतको निर्णय अनुसार तय भएको हो”, ढकालले भने। 

पार्टीमा हाबी छन् लामिछाने
महामन्त्री ढकालले आन्तरिक लोकतन्त्र मजबुत बनाएको दाबी गरे पनि पार्टीमा भने लामिछाने हाबी छन्। पार्टीमा उनको प्रभाव देखिनु स्वाभाविक पनि भएको उनको भनाइ छ।

“कुनै पनि संगठन निर्माणमा कसै न कसैको अग्रसरता हुन्छ, पार्टी निर्माणमा त्यही अग्रसरता र प्रभाव रवि लामिछानेको देखियो। तर, पार्टी विधि र सामूहिक निर्णय प्रक्रियाबाट चलेको छ”, उनले भने। राष्ट्रिय स्वतन्त्र पार्टी आन्तरिक लोकतान्त्रीकरणका सवालमा अग्रिणी रहेको उनको दाबी छ। 

२०७२ सालको संविधानले सर्वस्विकार्य रूपमा ल्याएको समाजवादलाई आत्मसात गर्दै पार्टीले ‘संवैधानिक समाजवाद’लाई मार्गदर्शन सिद्धान्त बनाएको छ। सुशासन, विकास, समृद्धिको लागि पार्टीले लिएको नीति र योजना सफल पार्न दक्ष व्यक्ति चाहिने त्यो रवि लामिछाने नै भएको उनी बताउँछन्। “यद्यपि, सक्षम व्यक्तिहरूले जिम्मेवारी पाउनु पर्छ भन्ने हाम्रो अहिलेको चुनाव केन्द्रित नीतिहरूको मुख्य पक्ष हो”, ढकाल भन्छन्। 

आफूहरूले ‘जान्नेलाई छान्ने’ नीति लिएको उनी बताउँछन्। उक्त पार्टीमा विभिन्न पेशा र व्यवसायमा लागेका व्यक्तिको बाहुल्य छ। कांग्रेसमा लामो समय सक्रिय रहेर स्वतन्त्र पार्टीमा लागेका मनिष झा आफूहरूले नयाँ ढंगबाट संगठन निर्माण गरिरहेको बताउँछन्। समानुपातिक सूचीको मधेशी क्लष्टरमा एक नम्बरमा रहेका झा भन्छन्, “हाम्रो पार्टीमा धेरैथोक नयाँ छ, विषयगत विभागले लिएको निर्णय नै अन्तिम हुन्छ। भातृ संगठन नबनाउने निर्णय छ। हामी सबैको ध्यान र योगदान एउटै बृहत सुदृढ संगठन निर्माणमा छ।”   

रवि लामिछानेको लोकप्रियताको जगमा यो दल उभिएको उनी पनि स्विकार्छन। “बिस्तारै अरू पनि जोडिँदै छौँ, अरू अनुहार पनि चिनिन थालिनेछ। भर्खर चार महिना पनि नपुगेको दलबाट सबै आयाम दुरुस्त हुने अपेक्षा गर्न सकिन्न”, उनी भन्छन्, “मान्छेले विद्युत प्राधिकरण चिनोस् वा कुलमान घिसिङ, महत्वपूर्ण कुरा भनेको बिजुली हो।”

अर्को स्थानीय निर्वाचनसम्म पनि ‘रवि लामिछानेको पार्टी’ भन्नेमा नै सीमित रहे दलको लागि सुखद नहुने झा बताउँछन्। ‘म तिमीलाई सदस्यको रूपमा मान्यता दिन्छु, अनि तिमीले मलाई नेता छान्नु’ भन्ने ‘कस्टमाइज डेमोक्रेसी’को अभ्यास स्वतन्त्र पार्टीमा नरहेको उनको दाबी छ।

चिनिएका, तर राजनीतिका नयाँ अनुहार
स्वतन्त्र पार्टीका उम्मेदवार पनि विभिन्न पेश र पृष्ठभूमिमा चिनिएका, तर राजनीतिका नयाँ अनुहार छन्। प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिन चाहेका व्यक्ति पनि यो पार्टीमा सामेल छन्। शिक्षा क्षेत्रमा काम गर्ने ‘टिच फर नेपाल’ संस्थाका सह–संस्थापकसमेत रहेका युवा उद्यमी शिशिर खनाल पनि काठमाडौँ–६ बाट उम्मेदवार छन्। 

पहिला स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका खनाल अन्ततः स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका हुन्। पार्टीको संगठनमा उनको आबद्धता भने छैन। “राजनीतिमा केही गर्न सकिन्छ भनेर लागेको हुँ। स्वतन्त्र नै चुनाव लड्ने मनसायमा थिएँ, पार्टी गठन भएपछि त्यहाँ रहेका विचार मिल्ने साथीहरूसँग संवाद भयो र यस पार्टीबाट उम्मेदवार भएँ”, खनालले भने, “स्वतन्त्र भएर एक्लै चुनाव जितेर पनि केही ठोस गर्न नसकिने अवस्था आउने भएर पार्टीबाट जाँदा सजिलो हुने देखिन्छ, प्रत्यक्षसँगै त्यहाँ समानुपातिक प्रतिनिधि पनि पुग्ने छन् र एउटा सामूहिक प्रयासको अवस्था बन्छ भन्ने हो।” 

विवेकशील पार्टीको संस्थापक रहेका र केही समय पहिला स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पुकार बम पनि काठमाडौँ–१ बाट स्वतन्त्र पार्टीको उम्मेदवार छन्। काठमाडौँ–५ बाट द्वन्द्व व्यवस्थापन विज्ञ प्रणयशमशेर राणा, ललितपुर–३ बाट चिकित्सक डा.तोसिमा कार्की उम्मेदवार छन्। कारागारमा रहेका बालालिकाहरूको लागि काम गर्ने सामाजिक अभियन्ता इन्दिरा राना मगर, हार्डवेयर व्यवसायी रोजिना श्रेष्ठलगायत समानुपातिक उम्मेदवार छन्। 

तर, प्रतिनिधिसभामा केही व्यक्ति पुगेर मात्र विकृति नसुल्झिने प्राध्यापक कर्ण बताउँछन्। “यसअघि पनि संसदीय चुनावमा दुई चार जना स्वतन्त्र जितेर पुग्ने गरेकै थिए, तर त्यहाँ उनीहरूको भुमिका खासै हँुदैन थियो। सानो दलले यो गर्छु वा त्यो गर्छु भनेर भन्न सुहाउँछ पनि”, कर्णले भने, “रवि लामिछानेको पार्टीसँग पनि यो समस्या हुनसक्छ। यति चाँडै जनताले ‘भ्रष्टाचार विरोधी हौं’ वा अर्को कुनै आकर्षक नारापछाडि लागिहाल्ने अवस्था म देख्दिनँ।”

नेपालमा आन्दोलनको बलमा स्थापित पार्टीहरू मात्र टिकेको इतिहास भएको भन्दै उनले स्वतन्त्र पार्टीसँग त्यस्तो पृष्ठभूमि नभएको बताए। 

नेपालको राजनीतिमा वैकल्पिक शक्ति आवश्यक रहेको बताउने सनत आचार्य राष्ट्रिय स्वतन्त्र पार्टीप्रति मानिसहरूमा आशा भएको बताउँछन्। नेपालमा लामो समय अधिकारकर्मीको रुपमा सक्रिय रहेका र हाल बेल्जियममा बस्दै आएका आचार्यले रवि र उनको पार्टीसँग आशा गरिरहेका मानिसहरू आबद्ध भएको आफूले पाएको बताए।

आचार्यले टेलिफोन संवादमा भने, “चितवन घटनाले उनको महत्वकांक्षा बढायो। बोल्न सक्ने, सवालहरू उठाउन सक्ने र मुद्दा बुझेका युवा पुस्ता हुन् उनी। उनको टिम पनि त्यस्तै देखिन्छ। यसले राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ भए पनि बलियो देखिन्छ।”

सैद्धान्तिक पक्ष कमजोर भएको आरोप
स्वतन्त्र पार्टी दल दर्ताको निवेदन आयोगमा परेपछि कतिपय स्वतन्त्र उम्मेदवार बन्न चाहनेले नाममा विरोध जनाए। सो दलको नामविरुद्ध निर्वाचन आयोगमा निवेदन पर्यो। तर, आयोगले मागेकै ‘स्वतन्त्र पार्टी’ नाममा पार्टी दर्ता गर्‍यो।

काभ्रे–२ बाट अहिले स्वतन्त्र उम्मेदवार भएका फिल्म निर्माता मनोज पण्डितसहित चार जनाले दल दर्ताका लागि पत्रकार लामिछानेले असार ७ गते आयोगमा निवेदन दर्ता गराएको भोलिपल्ट नै उजुरी दिएका थिए। 

“हाम्रो भन्नु के हो भने ‘स्वतन्त्र’ भन्ने कुरा दलभन्दा बेग्लै हो। कुनै दलमा नलागी व्यक्ति आफैँ निर्वाचनमा उम्मेदवार हुँदा त्यसलाई स्वतन्त्र भन्ने गरिएको छ। पछिल्लो स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको क्रेज देखिएपछि स्वतन्त्र भन्ने अवधारणाको लोकप्रियताको फाइदा उठाउने मनसाय यो नामपछाडि देखिन्छ”, पण्डितले भने, “कुनै सिद्धान्त वा विचारभन्दा स्वतन्त्रहरूको पक्षमा रहेको लहरको फाइदा उठाउन नाम रोजिएको देखिन्छ।”

तर, अध्यक्ष लामिछाने आफ्नो पार्टीले ‘संवैधानिक समाजवाद’को सिद्धान्त अंगिकार गरेको बताउँछन्। “नेपालको संविधानमा लिखित रूपमा भौतिक पूर्वाधार, विभेदरहित समाज, अपराध नियन्त्रण आदिइत्यादि छ। संविधानको वाचालाई विधिको शासनमार्फत पूरा गर्नु संवैधानिक समाजवाद हो”, रविले उकालोसँग भनेका छन्।


सम्बन्धित सामग्री