Friday, April 26, 2024

-->

किन घातक हुँदै छ डेंगी?

काठमाडौं उपत्यकासहित देशभर १६ हजार ६ सय ६३ जनामा डेंगी संक्रमण देखिएको छ। जसमध्ये काठमाडौँ महानगरपालिकामा संक्रमितको संख्या सबैभन्दा धेरै छ।

किन घातक हुँदै छ डेंगी

काठमाडौँ- काठमाडौँ उपत्यकासहित देशभर डेंगी संक्रमण तीव्ररूपमा फैलिँदै गएको छ। स्वास्थ तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रक महाशाखाले बुधबार (असोज ५) गते सार्वजनिक गरेको तथ्यांक अनुसार, देशभर १६ हजार ६ सय ६३ जनामा डेंगी संक्रमित पुगेका छन्। सबैभन्दा उच्च संक्रमण क्षेत्र काठमाडौँ महानगरपालिकामा पाँच हजार ४ सय २२ जना संक्रमित छन्।

ललितपुर महानगरपालिकामा पाँच हजार ६ सय २ संक्रमित र एक हजार नौ सय ७७  संक्रमितसहित मकवानपुर तेस्रो उच्च संक्रमित जिल्ला हो। भक्तपुरमा सात सय ८६ संक्रमित पुष्टि भएका छन्। यसबाहेक, दाङ, रूपन्देही, चितवन, गुल्मी, दार्चुला, काभ्रेपलाञ्चोक गरी १० जिल्ला डेंगीको उच्च संक्रमण जिल्ला हुन्।

मन्त्रालयको चार वर्षको तथ्यांकअनुसार, चालु आर्थिक वर्षमा सबैभन्दा बढी संक्रमित देखिएका छन्। सन् २०२१ मा पाँच सय ४० जनामा डेंगी संक्रमण पुष्टि भएको थियो। त्यस्तै, सन् २०२० मा पाँच सय ३० संक्रमित थियो।
सन् २०१९ मा १७ हजार नौ सय ९२ मा संक्रमितसहित डेंगी 'आउटब्रेक' भएको टेकु अस्पताल किटजन्य तथा सरुवा रोग महाशाखाका उपप्रमुख डा. गौतम ढकालले बताए।

त्यसपछि यस वर्ष १६ हजार कटिसकेको छ। दैनिक वृद्धिदर पनि उच्च छ। दैनिक ६ सयको संख्याले वृद्धि भएको छ। यसरी हेर्दा आगामी दुई दिनमै सन् २०१९ भन्दा तीन गुणा बढी संक्रमित पुग्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले उकालोलाई जानकारी दिए।

सन् २०१९ मा, कुल संक्रमित संख्यामध्ये पाँच जनाको मृत्यु भएको थियो। चालु आबमा २५ जनाको डेंगी संक्रमणका कारण मृत्यु भइसकेको स्वास्थ मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुर बताउँछन्।

किन घातक हुँदै?

हरेक वर्ष डेंगीबाट केही संख्यामा मानिस संक्रमित हुने र उपचार गर्ने प्रक्रिया स्वभाविक हुने भए पनि यसपटकको परिस्थिति फरक रहेको डा. पुन बताउँछन्। यसपटक जस्तो संक्रमित संख्या र संक्रमितले भोगेको पीडा विगतका वर्षको तुलनामा जटिल र घातक भएको उनको अनुभव छ। विगतको तुलनामा मृत्यु संख्या पनि बढेको उनको भनाइ छ।

"डेंगी संक्रमण र संक्रमितको अवस्था निराशाजनक छ। यो ट्रेन्ड मैले मात्र नभई मेरो सहकर्मीले पनि अनुभव गर्नु भएको छ", डा. पुन भन्छन्, "उपचारमा आएका अधिकांश बिरामी बेहोस हुने गरेका छन्। मैले यस्तो भयावह अवस्था सन् २०१९ को आउटब्रेकमा समेत देखेको थिइनँ।"

सरुवा रोग विशेषज्ञ डा. पुनका अनुसार, डेंगी वान (डिएन वान),  डेंगी टु (डिएन टु), डेंगी थ्री (डिएन थ्री), डेंगी फोर (डिएन फोर) गरी डेंगीका चार प्रकारका भाइरस हुन्छन्। यदि संक्रमितमा डिएन वान सँगै डिएन टु भाइरस संक्रमण भएमा संक्रमितको अवस्था जटिल हुने उनी बताउँछन्।

"सन् २०१९ मा, डिएन वानसँगै डिएन टु भेरियन्टको भाइरस भेटिएको थियो," उनी भन्छन्, "चार वर्षको अन्तरालमा उक्त भाइरसले आफ्नो स्वरूप कति परिवर्तित गर्‍यो अध्ययन हुन बाँकी छ।" यसबाहेक अन्य विकल्प नभएको उनले बताए।

अध्ययनको यस विधिलाई सेरो प्रिभेलेन्स स्टडी (सेरोटाइप) भनिने उनी बताउँछन्। यद्यपि, मन्त्रालय तथा सम्बन्धित निकायले हालसम्म यस विषयमा चासो दिएको छैन। सेरो प्रिभेलेन्स स्टडी केही प्रोटोकलबाहेक पिसिआर टेस्टजस्तै विधि भएको उनी बताउँछन्।

राष्ट्रिय प्रयोगशाला, शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल, इपिडियोमोलोजी महाशाखाको सहकार्यमा चाँडै सेरो प्रिभेलेन्स स्टडी गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता ठाकुर बताउँछन्।

"हरेक प्रकारको महामारीमा ५/१० प्रतिशत संक्रमितमा जटिलता हुने तथा एक/दुई प्रतिशतको मृत्यु हुने गरेको छ", प्रवक्ता यादव भन्छन्, "यसपटक डेंगीको प्रकोपसँगै अन्य रोग पनि देखिएका छन्। कोरोना, टाइफाइलगायतले पनि थप जटिलता थपेको छ।"

त्यस्तै, बालबालिका तथा वृद्धवृद्धा, दीर्घरोगी संक्रमितसँगै बिरामीको लापरबाहीले पनि  समस्या भइरहेको उनको भनाइ छ। यस्ता विषयलाई अध्ययन गर्दा मात्र थाहा हुने उनी बताउँछन्। यद्यपि, हालको प्राथमिकता अध्ययनभन्दा पनि रोग नियन्त्रणमा मन्त्रालय केन्द्रित रहेको उनले दाबी गरे।

प्रकोप साम्य भएसँगै अध्ययनले आगामी वर्ष डेंगी नियन्त्रणमा सहज हुने प्रवक्ता डा. यादव बताउँछन्। डेंगी आशंका भएका बिरामीलाई पनि त्यतिकै घर नबसी रोग निदानका लागि औषधि उपचारमा ध्यान दिन उनी आग्रह गर्छन्। कतिपय अवस्थामा बिरामी अस्पताल पुग्न ढिला हुँदा पनि स्वास्थमा जटिलता थपिने उनको भनाइ छ।


सम्बन्धित सामग्री