नारायणगढ–बुटवल सडकको सास्ती कहिलेसम्म?

योजनाअनुसार काम भएको भए नारायणघाट–बुटवल खण्ड तीन वर्षअघि नै चार लेनको (दाउन्ने खण्ड १३ किमि तीन लेन) भइसकेको हुन्थ्यो। तर आगामी साउनमा चौथो पटक ठेक्काको समय थप्नुपर्ने अवस्था छ।

काठमाडौँ— नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलामा बनाएको डाइभर्सनमा असार ४ गते राति १ बजे भे १ ख ४०८५ नम्बरको बस फस्यो। खोलामा बाढी आइरहेको थियो। बस अगाडि बढाउन बाढीमै हेल्दा बीचमा पुगेपछि फसेको थियो।

त्यही बेला खोलाको सतह पनि बढिरहेको थियो। बसबाट केही यात्रु र चालक निस्के, तर धेरैजसो भित्रै थिए। बाढी ठूलो भएकाले बाहिर निस्कन सकेनन्। नेपाली सेना, सशस्त्र, नेपाल प्रहरीलगायतले क्रेनको सहायतामा करिब तीन घण्टाको प्रयासपछि २७ यात्रुको उद्धार गरे।

इलाका प्रहरी कार्यालय, दुम्किवासका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार काठमाडौँबाट दाङ जाँदै गरेको उक्त बसमा ३८ यात्रु थिए। बाढीले बगाएर बस करिब ५०० मिटर टाढा पुर्‍याएको थियो।

केही दिनयता भइरहेको वर्षाले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ बुटवल सडकखण्ड बुधबार रातिबाटै पूर्णरूपमा अवरुद्ध थियो। विनयी खोलाको डाइभर्सन बगाएको र दाउन्नेमा सडक चिप्लो भएकाले सवारीसाधन आवतजावतमा समस्या भएको भन्दै प्रहरीले वैकल्पिक रुट प्रयोग गर्न सूचना जारी गरेको थियो।

पूर्वबाट पश्चिमतर्फ जाने सवारीलाई नारायणगढ, मुग्लिङ, पोखरा, स्याङ्जा, बुटवल भएर तथा काठमाडौँबाट पश्चिम जाने सवारीलाई मुग्लिङ पोखरा, स्याङ्जा, बुटवल भएर गन्तव्यतर्फ जान भनिएको छ। यस्तै, पश्चिमबाट पूर्व जाने सवारीसाधन बुटवल, स्याङ्जा, पोखरा, मुग्लिङ भएर जान प्रहरीले सूचित गरको छ। सूचनापछि धेरै गाडी पोखरा रुट हुँदै गन्तव्यतिर गए पनि नारायणगढ–बुटवलबीच फसेका गाडी सोही सडक हुँदै हिँडेका थिए।

गत पुसमा ओभरलोड आएको एक भारतीय ट्रक हिँड्दा विनयी खोलाको पक्की पुल भाँचिएको थियो। त्यसयता सवारीलाई आवतजावत गर्न डाइभर्सन बनाइएको छ। बाढीका कारण अहिले उक्त डाइभर्सनबाट हिँड्न पनि सहज छैन।

नारायणगढ—बुटवल सडकखण्डमा यही विनयी खोलामा मात्रै समस्या भएको भने होइन। ठाउँठाउँमा अवरोध छ। सडकको निर्माण नसकिएका कारण दुम्कीवास–दाउन्ने खण्डको विश्वकर्मा मन्दिर, घ्यूखोलालगायत स्थानमा हिलो र चिप्लो हुँदा सवारीसाधन चलाउन नसकिने अवस्था छ।

तस्वीर: रासस

कति ठाउँमा सडक ठाउँ एकतर्फी बनाइएका छन्। दाउन्ने उकालोमा मात्र पाँच ठाउँमा सडक एकतर्फी भएको काठमाडौँ—धनगढी रुटको बसका चालक राजन डाँगी बताउँछन्। त्यसमाथि, हिलो र पानीका कारण सडकमा घण्टौँ कुर्नुपर्ने अवस्था छ। अहिले पनि सयौँ गाडी जाममा छन्।

समयमै काम नहुँदा र दुरवस्थाका कारण यो सडकमा चालक र यात्रुले वर्षौंदेखि सास्ती भोगिरहनुपरेको छ। छोटो दूरीमा अवरोध भएकाले घण्टौँ जाममा बस्नु पर्ने चालक डाँगी बताउँछन्। “दुम्कीबासको पुलमा एउटा पिल्लर भाँचिएको छ, मर्मत भएको छैन। खोलाबाटै जानुपर्छ। थोरै पानी परे तर्न सकिँदैन,” उनी भन्छन्, “कहिले भने पहिरो जान्छ, हिलो हुन्छ र गाउँ घुमेर जानुपर्छ।”

सडककै कारण सवारीसाधनको खर्च बढ्ने हुँदा कमाइ पनि कम हुने उनको भनाइ छ। अहिले पोखरा हुँदै जान भनेको कारण समय र तेल खर्च बढेको उनी बताउँछन्। सरकारले रुट परिवर्तन गर्दा भाडा पनि समायोजन गरिदिनुपर्ने उनको माग छ।

“सडक धेरै ठाउँमा अवरोध हुँदा, उकालो–ओरालो गर्दा १५ घण्टाको बाटो ३५ घण्टासम्म लागिरहेको छ। पैसा कमाइ छैन, हामीले बालबच्चा कसरी पाल्ने? लागत उठ्दैन,” उनी भन्छन्।

तस्वीर: रासस

सरकारले चाहेमा यो सडक चाँडै बनिसक्ने, तर सडकलाई प्राथमिकता नदिँदा र काम गर्ने ‘सिस्टम’ नहुँदा ढिला भएको उनको ठम्याइ छ। सडक चाँडो नबने दुर्घटना बढ्ने उनी आकलन गर्छन्।

उनले भनेजस्तै, सरकारले चाँडो काम नसके यो मनसुनमा जोखिम अझै बढ्ने विज्ञहरूको आकलन छ। मौसम पूर्वानुमान महाशाखाले पनि यस पटकको मनसुनमा बढी पानी पर्ने सम्भावना रहेको पूर्वानुमान गरेको छ। छोटो समयमा धेरै पानी पर्दा सडकमा जोखिम बढ्छ।

तीन पटक थपियो म्याद
नारायणघाट—बुटवल ११३ किलोमिटर सडकखण्ड विस्तारका लागि २०७५ सालमा ठेक्का लागेको हो। यो सडक एशियन डेभलपमेन्ट बैंक (एडीबी)को ऋण/अनुदानअन्तर्गत १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। त्यस बेला काम सक्ने म्याद थियो— २०७९ साउन २२ गते।

यो पनि: मनसुनमा २० लाख मानिस प्रभावित हुने आकलन, के छ तयारी?

पहिलो पटक तोकिएको म्याद सकिँदा काम आधा पनि भएको थिएन। त्यसपछि तीन पटक म्याद थपिइसकिएको छ। पहिलो पटक २०७९ भदौमा, दोस्रो पटक २०८० साउन र तेस्रो २०८१ साउनमा म्याद थपिएको हो। अन्तिम पटकको म्याद आगामी साउनसम्ममा सकिँदैछ। काम भने करिब ६८ प्रतिशत मात्रै सकिएको छ।

यो सडक विस्तार र स्तारोन्नतीका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठेक्का लिएको हो। कम्पनीले पूर्वी सडकखण्डको गैँडाकोट–दाउन्ने ६४.४२ किलोमिटर ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्ड ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँमा ठेक्का लिएको थियो।

कहिले सकिन्छ?
पूर्वी खण्डको गैँडाकोट–दाउन्ने सडकमा अहिले कल्भर्ट, पुल र किनारामा पर्खाल बनाउने काम भइरहेको छ। यस सडकखण्डमा निर्माण गरिनुपर्ने २१६ वटा कल्भर्टमध्ये २०२ वटा बनिसकेका छन्। अहिले १२ वटा मुख्य पुल बनाइरहेको आयोजनाले जनाएको छ।

पश्चिम खण्डमा करिब ६७ प्रतिशत काम सकिएको आयोजना प्रमुख शशांक मिश्रा बताउँछन्। “पहाड कटिङ र केही कल्भर्टको काम अलिअलि बाँकी छ। दाउन्नेमा हिलोका कारण समस्या छ,” उनी भन्छन्, “तत्कालका लागि सवारी आवतजावत गर्न दाउन्ने सहज भएपछि अन्य ठाउँमा अप्ठेरो हुँदैन। एक हप्तामा बनाउछौँ।”

यस सडकखण्डमा १९ वटा कल्भर्ट, तीन वटा साना पुल र एउटा मुख्य पुल निर्माण गर्न बाँकी छ। विनयी पुलको डाइभर्सन पनि आगामी साउनसम्ममा सहज गरिने मिश्रा बताउँछन्।

काम सक्न अझै कम्तीमा एक वर्ष लाग्ने उनको भनाइ छ। “तत्काल सबै काम सकिने देखिएन। ठेकेदारको समस्या भए हामी म्याद थप्दैनौँ। अहिलेसम्म कतिपय विपद्का कारण पनि म्याद थप भएको छ,” उनी भन्छन्।

नारायणघाट–बुटवल खण्डको ११३ किमिमध्ये १०० किमि चार लेनमा विस्तार हुँदैछ। दाउन्नेको १४ किमि सडक तीन लेनको हुनेछ। शहरी क्षेत्रको सडकमा दुवैतर्फ अतिरिक्त सर्भिस लेन पनि हुनेछ।

सडक विभागका प्रवक्ता प्रभातकुमार झा यो सडक विस्तार निर्धारित समयमा नसकिनुको मुख्य कारण नदीजन्य निर्माण सामग्री सहज उपलब्ध नहुनु नै भएको दाबी गर्छन्। अधिकांश पालिकाले वर्षको अन्त्यतिर ठेक्का निकाल्ने र थोरै अवधि दिने हुनाले पर्याप्त निर्माण सामग्री संकलन हुन कठिनाइ हुन्छ।

निर्माण व्यवसायीको ठेक्का व्यवस्थापनमा ढिलासुस्ती तथा कमजोरीले पनि समयमै काम नसकिएको झा बताउँछन्। “निर्माण व्यवसायी ढिलोगरी साइटमा मोबिलाइज भएको कारणले पनि केही ढिला भयो। पहिले कोभिड–१९ ले लामो समय काम रोकियो,” उनी भन्छन्।

पश्चिम खण्डका आयोजना प्रमुख मिश्राले विद्युत् तथा खानेपानी स्थानान्तरणमा लामो समय लागेको र अझै केही पोल स्थानान्तरण बाँकी रहेको बताए। यो सडक निर्माणका क्रममा करिब ५१ हजार २५२ रुख कटान गर्नु परेको थियो। यसले पनि काममा बाधा भएको आयोजनाले जनाएको छ।

हाल निर्माणको लागि अधिकांश अवस्था अनुकूल रहेको र काम धमाधम भइरहेको मिश्रा बताउँछन्। अहिलेको निर्धारित समयमा काम नसकिए पनि थप एक वर्षमा सकिने उनको भनाइ छ।