काठमाडौँमा हरेक दिन गुड्नेमध्ये ६० प्रतिशत सार्वजनिक सवारी साधन टुँडिखेल वरिपरि हुँदै गन्तव्यमा पुग्छन्, तर त्यही क्षेत्रमा धेरै ट्राफिक जाम हुँदा सर्वसाधारणले हैरानी बेहोर्नुपर्छ।
काठमाडौँ– माघ २ गते दिउसो कान्तिपथस्थित निर्वाचन आयोग परिसर एकाएक तनावग्रस्त भयो। आयोगले कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षका नेता कार्यकर्ता विरोध गर्न पुगेका थिए। यही कारण उक्त सडकमा सवारी साधन पस्न रोकिँदा आसपासका सडकमा जाम भयो।
दिउसो २ बजेबाट शुरू भएको ट्राफिक चाप साँझ ७ बजेसम्म सामान्य हुनसकेको थिएन। जबकि, कान्तिपथ काठमाडौँको उच्च ट्राफिक चाप थेग्ने सडक हो। एशियाली विकास बैंक (एडीबी)ले गत चैतमा तयार पारेको कार्यपत्रमा आरएनएसी–केशरमहल–लैनचौर हुँदै मनमैजु र भत्केको पुल जाने क्षेत्र अधिकतम चाप हुने देखिएको थियो। यहाँ ‘पिक आवर’मा एउटा गाडीले ८३ यात्रुसम्म बोक्ने कार्यपत्रमा उल्लेख छ।
यद्यपि, यस्तो घटना पहिलोपटक भएको होइन। भीआईपी सवारीदेखि बिमस्टेकजस्ता अन्तर्राष्ट्रिय सम्मेलन हुँदा यस्ता सडकमा सवारी साधन र पैदल यात्रीलाई रोक्ने गर्दा सर्वसाधारणले सास्ती पाएका अनेकौँ उदाहरण छन्। यस्तै, टुँडिलेखमा हुने कन्सर्ट वा ल्होसार, माघी, जात्राजस्ता कार्यक्रम, दशरथ रंगशालामा हुने खेलकुद वा त्रिभुवन विश्वविद्यालयले गर्ने दीक्षान्तलगायतमा ट्राफिक जामले सास्ती दिन्छ।
टुँडिखेल वरिपरि, शहीदगेट र त्रिपुरेश्वर क्षेत्रमा जामका कारण सर्वसाधारणले पाएको सास्तीबारे माघ १६ गते युद्ध मेवाहाङले सामाजिक सञ्जालमा एउटा भिडियो राखेका थिए। भिडियोमा ट्राफिक जाम र गाडी कुरिरहेका यात्रु देख्न सकिन्छ।
त्यही दिन साँझ ६ः४४ बजे ‘रुटिन अफ नेपाल बन्द’ले आफ्नो फेसबुक पेजमा तीनचार घण्टादेखि रत्नपार्क जमल सडकमा ट्राफिक जाम भएकाले अन्य रूट प्रयोग गर्ने जानकारी पोस्ट भयो। दिउसो २ बजेदेखि शुरू भएको जामबारे साँझ मात्र पोस्ट गरेको भन्दै कतिपयले रूटिन अफ नेपाल बन्दलाई नै व्यंग्य गरे।
यसरी कमेन्ट गर्नेहरूले आफू दिउँसो दुईतीन घण्टादेखि जाममा परेको उल्लेख गरेका थिए। जामकै कारण आफू माइतीघरदेखि रत्नपार्कसम्म हिँडेर पुगेको र त्यहाँ साढे दुई घण्टा गाडी पर्खनु परेको मोक्तान लिन्डा फेसबुक एकाउन्टबाट कमेन्ट आएको थियो। सुरक्षा वस्तीले यस्ता जाममा पाका व्यक्तिलाई अझ सास्ती हुने कमेन्टमा उल्लेख गरेकी थिइन्।
बानेश्वर–माइतीघर, टेकु–त्रिपुरेश्वर, डिल्लीबजार–पुतलीसडक र लैनचौर–केशरमहल हुँदै चल्ने सवारी साधानको गन्तव्य आरएनएसी–रत्नपार्क हुन्छ। यात्रु ‘पिक एन्ड ड्रप’ को केन्द्र यहीँ हो। वृत्ताकारमा रहेको टुँडिखेल वरपर जाम हुँदा यो क्षेत्र ‘ट्राफिक आइल्यान्ड’ जस्तो बन्छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यलयका डीएसपी सुनीलबहादुर शाह काठमाडौँका ६० प्रतिशत सार्वजनिक सवारी साधन टुँडिखेल वरिपरि हुँदै गन्तव्यमा जाने बताउँछन्। साँझमा माइतीघर, त्रिपुुरेश्वर, केशरमहल, कृष्ण पाउरोटीबाट जति गाडी पठाउन सक्यो जाम त्यति नै सहज हुने उनको भनाइ छ।
बार (दिन) अनुसार पनि ट्राफिकको चाप धेरथोर हुने शाहको भनाइ छ। “शुक्रबार दिउसोको ३ बजेसम्म सडक व्यस्त रहन्छ। माघ २ गते रेगुलर समयमा हुने जाममा सो घटनाले (कांग्रेसको विरोधले) ट्राफिक व्यवस्थापन गर्न सास्ती गर्यो,” उनले भने, “माइतीघरमा एक्कासि ब्लक भो भने तीनकुने, महाराजगन्ज, कलंकी, बालाजु चल्ने ठूलो गाडीलाई डाइर्भट गर्छौं।”
डीएसपी शाहका अनुसार, जाम व्यवस्थापनका क्रममा बस, मालवाहक ट्रकजस्ता ठूला गाडीलाई रोक्ने वा वैकल्पिक रूट दिने गरिन्छ। बानेश्वर वा माइतीघरमा प्रदर्शन हुँदा बसहरूलाई तीनकुनेदेखि नै रोकिन्छ वा चक्रपथतर्फ मोडिन्छ। यसकारण पनि आरएनएसीमा बस्ने यात्रुले आफ्नो गन्तव्यका गाडी पाउँदैनन्।
संघीय राजधानीमा यस्ता ट्राफिक जाम स्वभाविक मान्नु पर्ने शाह बताउँछन्। “केही समय बाटोमा बस्नै पर्ने हुन्छ। सवारी चालक पनि अनुशासित हुनुपर्ने हो, तर त्यस्तो देखिन्न,” डीएसपी शाही भन्छन्, “ट्राफिक नियम पालना गर्ने सिस्टम बसेमा जाममा धेरै लामो बस्नु पर्दैन, तर हामीमा धैर्य कम छ।”
सोही कार्यालयका सूचना अधिकारी नरेशराज अधिकारी, सडक केन्द्रित कार्यक्रम हुँदा सवारी जाम बढी हुने बताउँछन्। भृकुटीमण्डपको एक कुनामा कार्यक्रम हुँदा कलंकीसम्म र बानेश्वरमा कार्यक्रम हुँदा केशरमहलसम्म असर गर्ने उनको भनाइ छ।
यद्यपि ट्राफिक जामको समस्या धेरै हदसम्म समाधान भएको उनको दाबी छ। “पूरै सडक अवरोध गरेर कार्यक्रम भएको छैन, सडकको एक साइड खुलेकै हुन्छ,” अधिकारी भन्छन्, “हाम्रोमा सवारी साधन दिनहुँ बढ्छन्, तर सडक केन्द्रित पूर्वाधार सीमित छ।”
सन् २०२५ मा प्रकाशित बेन्जामिन लिन्डरले सम्पादन गरेको ‘काठमाडौँ, अ रिडर’ पुस्तकको ‘कन्सिक्वेन्सेस अफ रोड एक्स्पान्सन एन्ड अर्बन हाइवेज्’ लेखमा चक्रपथ निर्माण पश्चात भित्री सडकको विस्तार पनि उल्लेख्य मात्रामा भएको उल्लेख छ। सन् २०११ लाजिम्पाट–महाराजगन्ज–बूढानीलकण्ठ, डिल्लीबजार–बालुवाटर, तीनकुने–बानेश्वर–माइतीघर, कालीमाटी–कुलेश्वर–बल्खु, कमलपोखरी–रातोपुल–गौशाला, नक्साल–मित्रपार्कजस्ता आवासीय बस्तीमा रहेका स–साना सडकलाई विस्तार गरिएको थियो। बस्तीसम्म चक्रपथ विस्तार भए पनि यस्ता सडकमा ट्राफिक व्यस्थापनमा ध्यान नदिइएको लेखमा उल्लेख छ।
नेपालमा परम्परागत शैली अर्थात् सडक चौडाइ गरेर समाधानको प्रयास गरिँदा ट्राफिक जाम हट्न नसकेको पनि लेखमा उल्लेख छ। सडक सुधारको दिगो योजना नभएको उनले निष्कर्ष निकालेका छन्।
यातायात व्यवस्थापन विज्ञ आशिष गजुरेल सवारी साधनका लागि सडक बनाउँदा मान्छे हिँड्ने बाटो नबनाइएको बताउँछन्। “मानवमैत्री सडक हुँदा मान्छे पैदल हिँड्थे, साइकल चलाउँथे, यसले पनि ट्राफिक व्यवस्थित गर्न सक्थ्यो,” गजुरेल भन्छन्, “संघीय राजधानीमा जनसंख्या र गाडी ज्यादा हुन्छ, तर समस्यालाई सम्बोधन नगरी यस्तै हो भनेर छाड्न मिल्दैन।”
सामाजिक र राजनीतिक कार्यक्रम शहरभन्दा केही पर गर्न सकिने उनको सुझाव छ। “गोदावरीमा रहेको ठूलो प्रदर्शनी हल यस्ता कार्यक्रमको क्षेत्र हुनुपर्ने हो। तर मानिसहरू त्यहाँसम्म जान मन नगर्दा भित्री शहरमा कार्यक्रम हुन्छन्,” उनले भने, “आमसभा, विरोधसभा, चुनावी घरदैलो, कार्यालयका सवारी साधनलगायतमा ट्राफिक प्रहरीले समयमै समन्वय गरी सर्वसाधारणलाई अग्रिम जानकारी दिनुपर्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
