Thursday, May 09, 2024

-->

जेब्राक्रसबाटै ‘युटर्न’ लिँदा बढ्दै दुर्घटनाको जोखिम (भिडियो)

काठमाडौँका मुख्य सडकमा सवारी विपरीत लेनतर्फ जान बनाइएका ‘युटर्न’ प्रायः जेब्राक्रससँगै हुने गरेका छन्। कतिपय ठाउँमा सवारीचालकले लापरबाहीपूर्वक जेब्राक्रसबाटै सवारी मोड्ने गरेको देखिन्छ।

जेब्राक्रसबाटै ‘युटर्न’ लिँदा बढ्दै दुर्घटनाको जोखिम भिडियो
तस्वीर : किशन पाण्डे/उकालो

काठमाडौँ– कलंकी चोकबाट बसपार्कतर्फ जाने सडकछेउमा सडक पार गरौँ कि नगरौँ दोधारमा टीकामाया तामाङ (६५) उभिइरहेकी थिइन्। सवारी ओहोरदोहोरको चापका कारण उनलाई जेब्राक्रसबाटै सडक पार गर्न असहज भयो। करिब आधा घण्टा अवस्था नियालेपछि उनले भनिन्, “मान्छे हिँड्ने ठाउँमा पनि गाडी कुदाउँछन्, ड्वांग ठोकिदेला भन्ने डर लाग्छ, बाबु।”

काठमाडौँ उपत्यकामा सवारीसाधन भित्रिने र बाहिरिने मुख्य नाका कलंकी चोकनजिकै पैदलयात्रुका लागि जेब्राक्रसको व्यवस्था गरिएको छ, तर पैदलयात्रुले सडक पार गर्न प्रयोग गर्ने त्यो जेब्राक्रसबाट जथाभाबी दायाँबायाँ सवारी मोडिइरहेका देखिन्छन्। ट्राफिक नियम उल्लंघन गरी जेब्राक्रसबाटै सवारी मोड्दा टीकामायाजस्तै कैयन् पैदलयात्रुलाई आउजाउमा समस्या हुने गरेको छ। कार्यालय समय बिहान १० बजेतिर र बेलुका ५ बजे आसपासको समयमा सवारी चाप उच्च हुन्छ, त्यो बेला झन् समस्या हुने गरेको पैदलयात्रुको गुनासो छ।  

जेब्राक्रसमा पहिलो प्राथमिकतामा पैदलयात्रु हुन्छन्। सडकमा सवारी सँगसँगै पैदलयात्रुको सुरक्षाको विषय पनि त्यतिकै संवेदनशील हुन्छ। तर सवारीचालकले नियम पालना नगर्दा र पैदलयात्रुको सुरक्षामा ध्यान नदिँदा दिनहुँ दुर्घटना हुने गरेका छन्।

त्यसो त, काठमाडौँका मुख्य सडकमा सवारी विपरीत लेनतर्फ जान बनाइएका ‘युटर्न’ प्रायः जेब्राक्रससँगै हुने गरेका छन्। कतिपय ठाउँमा सवारीचालकले लापरबाहीपूर्वक जेब्राक्रसबाटै सवारी मोड्ने गरेको पनि देखिन्छ। मित्रपार्क, पुतलीसडक, सुन्धारा, टेकु र कलंकी लगायतका स्थानमा हामीले कैद गरिएका दृश्यमा जेब्राक्रसबाटै अव्यवस्थित रूपमा सवारी मोडेको देखिन्छ।

आमनागरिकमा सडक प्रयोगबारे चेतना नभएका कारण पनि यस्तो समस्या देखिएको बिहीबार कलंकी चोकनजिकै ड्युटीमा खटिएका एक ट्राफिक प्रहरीले बताए। “मेरै आँखा छलेर कति पटक नियम मिच्छन्, सम्झाउन खोज्दा कति जना उल्टै झर्किएर जान्छन्,” उनले उकालोसँग भने।

पूर्वाधार निर्माणको शुरूआती चरणदेखि नै सडक सुरक्षाका विषयमा ध्यान पुर्‍याउन नसक्दा पछि समस्या देखिने गरेको सडक सवारी विज्ञ भगवती सेढाई बताउँछिन्। जेब्राक्रस कहाँ राख्ने, युटर्न कसरी व्यवस्थित गर्ने भनेर सडक निर्माण गर्नुअघि नै योजना बनाइनुपर्नेमा सम्बन्धित निकायले त्यसबारे ध्यान नदिइएको उनको भनाइ छ। “युटर्नलाई ‘ब्लाइन्ड स्पट’ पनि भनिन्छ। त्यहीँमाथि जेब्रा क्रससँगै युटर्न छ भने त त्यो दुर्घटनाकै लागि बनाइएजस्तो भयो,” उनले भनिन्।

सवारी चालकमा पनि सचेतनाको कमी रहेको उनको ठम्याइ छ। हेलचेक्र्याइँले गर्दा दुर्घटनामा परी अंगभंग हुनुका साथै ज्यानैसमेत जान सक्छ भन्ने कुरामा सवारीचालकहरू सचेत नरहेको उनको भनाइ छ।

सडक पूर्वाधार निर्माण, जेब्राक्रस र सडक चिह्न सडक विभागले राख्ने र त्यसअनुसार ट्राफिक प्रहरीले आफ्नो कामकारबाही अगाडि बढाउने गरेको उपत्यका ट्राफिक प्रहरी प्रवक्ता जीवनकुमार श्रेष्ठ बताउँछन्। ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सीसीटीभी क्यामराको मद्दत र सडकमै पनि कारबाही गरिरहेको उनले बताए। सडकबाटै पनि विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको उनी बताउँछन्। यात्रुहरूसँग एक मिनेट, दुईपांग्रे सवारी चालकसँग दुई मिनेट भनेर सडकबाटै पनि सवारी सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठको भनाइ छ।

सडक विभागका प्रवक्ता रामहरि पोखरेल सडकमा सवारी र पैदलयात्रुको चापलाई ध्यानमा राखी सडक पूर्वाधार निर्माण गरिएको बताउँछन्। कतिपय अवस्थामा सडक सवारीको चाप र पैदलयात्रुको सुरक्षा जोखिम बढ्दै गएमा तत्काल थप व्यवस्थापन गरिने उनको भनाइ छ। उनका अनुसार सुरक्षितभन्दा पनि गाडी गुडाउने र गन्तव्यमा पुग्ने मार्गका रूपमा मात्रै सडकको प्रयोग गर्दा समस्या निम्तिने गरेको हो।


भिडियो


सम्बन्धित सामग्री