Tuesday, June 18, 2024

-->

गोरखा बजार क्षेत्रमा खानेपानीको अभाव

सदरमुकाम क्षेत्रमा खानेपानी वितरण गर्दै आएका आयोजनाले नियमित पानी उपलब्ध नगराउने र सार्वजनिक स्थानमा रहेका धाराका मुहान पनि सुक्न थालेपछि उपभोक्ता समस्यामा पर्न थालेको स्थानीय रामकृष्ण खत्रीले बताए।

गोरखा बजार क्षेत्रमा खानेपानीको अभाव

गोरखा– गोरखा नगरपालिका–८ प्रतीक्षालयका सन्दीप ढकाल आजभोलि रातको तीन बज्न नपाउँदै  खानेपानीका लागि एउटा जार र बोतल लिएर धारामा पुग्छन्। बिहान अलि ढिलो पुगे एक जार पानीका लागि घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेकाले उनी सकभर राति नै खानेपानी ल्याउनका लागि धारा पुग्ने गरेका हुन्।

“रातको समयमा पुगे पनि कहिले त डेढ दुई घण्टा नै पालो नपर्खेसम्म पानी भर्न पाइँदैन,” ढकालले भने, “कहिले त फर्कँदा उज्यालो नै हुन्छ।” सुख्यायाम लागेसँगै खानेपानीको मुहान सुक्दै जाने र बजार क्षेत्रमा वितरण गरिएका लाइनको पानीसमेत नियमित नआउँदा केही महिनादेखि गोरखा बजार क्षेत्रमा खानेपानीको चरम अभाव हुन थालेको हो।

“घरमा धारा छ, तर पानी कहिले आउँछ भन्ने कुनै टुंगो हुँदैन,” गोरखा नगरपालिका–६ की स्थानीय गोमा श्रेष्ठले भनिन्, “पानी आइहाल्यो भने पनि पिउन डराउनुपर्ने भएपछि बरु नजिकैको सार्वजनिक धारामा पुगेर खानेपानी ल्याउने गरेको छु, त्यहाँ पानीको पालो कुर्दाकुर्दै हैरान हुनुपर्छ।”

सार्वजनिक धारामा समेत यतिबेला मूल सुकेर पानी सानो भएकाले एक गाग्री पानीका लागि धेरै समय कुर्नुपर्ने बाध्यता रहेको उनी बताउँछिन्। गोरखा बजार क्षेत्रमा खानेपानीको समस्याले दुःख नपाउने सायदै कमै होलान्। खानेपानीको चरम अभाव भएपछि गएको बिहीबार रानीवन क्षेत्रका स्थानीय रित्तो गाग्री लिएर पानी माग्दै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै पनि पुगे।

बजार क्षेत्रमा खानेपानी वितरण गर्दै आएको दरौँदी लिफ्टिङ खानेपानी आयोजनाले धारामा पानी नदिएको भन्दै विरोधस्वरूप प्रशासनमा पुगेर प्रमुख जिल्ला अधिकारी भोला दाहालको ध्यानाकर्षण गराएका छन्। दरौँदी लिफ्टिङ खानेपानी आयोजनाको चरम लापरबाहीका कारण उपभोक्ताले खानेपानीमा दुःख भोग्नुपरेको उनीहरूको भनाइ छ।

दरौँदी लिफ्टिङ खानेपानी आयोजना निर्माण भएपछि बजार क्षेत्रमा खानेपानीको समस्या अन्त्य हुन्छ भनेर दाबी नगरिएको पनि होइन। करिब ४४ करोडभन्दा बढीको लागतमा आयोजना बने पनि सदरमुकामबासीलाई पानीको अभाव अहिले पनि उस्तै छ। बजार क्षेत्र वरपर नै खोलखोले, चाइनिज धारा, बोसेपानी धारा, रंगशाला लगायतका स्थानमा झन्डै आधा दर्जनभन्दा बढी मूलको पानी आउने सार्वजनिक धारा पनि छन्।

ती सबै धारामा बिहानदेखि राति अबेरसम्म पानी भर्नेको घुइँचो हुने गरेको छ। दिनमा मात्र होइन, रातको समयमा पनि सदरमुकामबासी खानेपानीका लागि घण्टौँसम्म लाइन बस्नुपर्ने बाध्यताले हैरान छन्। सदरमुकाम क्षेत्रमा खानेपानी वितरण गर्दै आएका आयोजनाले नियमित पानी उपलब्ध नगराउने र सार्वजनिक स्थानमा रहेका धारामा समेत पानीको मुहान सुक्न थालेपछि उपभोक्ता समस्यामा पर्न थालेको अर्का स्थानीय रामकृष्ण खत्रीले बताए।

“घरमा पानीको धारा आउन पनि मुस्किल छ,” उनले भने, “सानो धारा, धेरै जना पानी भर्नका लागि पुग्ने गरेकाले समय लाग्ने गरेको हो।” परम्परागत सार्वजनिक धाराका पानीसमेत व्यवस्थित गर्न नसक्दा समस्या भएको स्थानीय बताउँछन्।

सदरमुकाममा दरौँदी लिफ्टिङ, पृथ्वीनारायण साना शहरी खानेपानी आयोजना, थाकल डाँडा, पोखरीथोकलगायत गरी विभिन्न ६ वटाभन्दा बढी आयोजनाले बजार क्षेत्रमा उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ। धारामा नियमित पानी नआउँदा उपभोक्ताले समस्या भोग्नु परेको हो।

खडेरीका कारण ट्युबवेलको पानी सुक्न थाल्यो
उदयपुर–
 यस वर्ष खडेरी परेपछि उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न स्थानमा गाडिएका ट्युबवेल (कल)को पानी सुक्न थालेको छ। त्रियुगा–१२, ११, ३, १, २, ४ र ५ क्षेत्रका स्थानमा गाडिएका कलको जमिनमुनि पानीको सतह सुकेर घट्न थालेपछि पानी आउन छाडेको स्थानीय बताउँछन्।

त्रियुगा–१२ बुद्धचोकका स्थानीय धनबहादुर मगरले छिमेकीसहित घरमा गाडेको कलमा १० दिनदेखि पानी आउन छाडेको मगरले बताए। त्रियुगा–११ शिवालय टोलका देवराज कार्कीका अनुसार यस पटकको कडा खडेरीका कारण जमिनमुनि पानीको सतह घटेकाले २० फिट मुनिसम्म गाडेको ट्युबवेलबाट समेत पानी आउन छाडेको हो।

खडेरीले जमिनमुनिको सतहबाट पानी झनै तल घट्दै जान थालेकाले वडा नं १ जोगीदह क्षेत्रमा १७ देखि २० फिट मुनिसम्म गाडिएको ट्युबवेलबाट केही दिनयतादेखि पानी आउन छाडेको स्थानीय कृष्ण ढुङ्गानाले बताए।

त्रियुगा–२ खैजनपुर र वडा नं ३ भुल्के मोतिगडा क्षेत्रमा खडेरीले जमिनको सतहभन्दा धेरै तल पानी घटेर झरेपछि गाडिएका कलबाट पानी आउन छाडेको मोतिगडाका नन्दीदेव चौधरीले बताए। वडा नं ५ देउरी जलजले क्षेत्रमा पाँच दर्जनभन्दा बढी ट्युबवेल सुकेका स्थानीय परमानन्द चौधरीले बताए। चौधरीका अनुसार यस क्षेत्रमा १७ देखि २० फिट गहिराइका कलबाट पानी आउने गरेकामा अहिले अधिकांश कल सुकेका छन् ।

गाईघाट डिएमगेटका ट्युबवेल मिस्त्री पशुपतिदेव चौधरीका अनुसार यसपटक यस क्षेत्रमा खडेरीका कारण २५ देखि ३० फिट गहिराइसम्म जमिनमुनि पानीको सतह घटेको छ। उनले यस क्षेत्रमा झन्डै पाँच सयभन्दा बढी ट्युबवेलबाट पानी आउन छाडेको बताए।

पानीको सतह सुकेर पानी आउन छाडेपछि कतिपय स्थानीय नजिकैको इनारबाट पानी बोकेर खान बाध्य भएका स्थानीय स्थानीय रोजन चौधरीले बताए।


सम्बन्धित सामग्री