Thursday, March 28, 2024

-->

वन्यजन्तु तस्करीमा मुछिए दुई ‘माननीय’

पर्सा राष्ट्रिय निकुञ्जमा भइरहेको वन्यजन्तुको संगठित सिकार–तस्करीमा दुई जना सांसदको नाम जोडिए पनि उनीहरूलाई अनुसन्धानको दायरामा ल्याउन निकुञ्जले नै आनाकानी गरिरहेको छ।

वन्यजन्तु तस्करीमा मुछिए दुई ‘माननीय’

काठमाडौँ– पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिक, निकुञ्जका सुरक्षाकर्मी र कर्मचारी सम्मिलित टोलीले पर्साको सखुवा पर्सौनी गाउँपालिकाको अकवनियास्थित एक घरमा गत पुस ५ गते छापा मारेर मृत जरायो र केही हातहतियार बरामद गर्‍यो। त्यसक्रममा केही व्यक्तिसमेत पक्राउ परे।

निकुञ्जभित्र वन्यजन्तु सिकार गरिएको र त्यसमा संलग्नहरू सो घरमा बसेको सूचनाका आधारमा निकुञ्जको टोलीले छापा मारेको थियो। त्यो दिन वन्यजन्तु सिकार गरेको आरोपमा केही व्यक्ति पक्राउ परेसँगै केही हातहतियार र मारिएका वन्यजन्तु बरामद गर्दा निकुञ्जले यसलाई अरू घटना जस्तै सामान्य ठानेको थियो। तर, त्यो सामान्य घटना मात्र थिएन। पक्राउ परेका व्यक्तिहरूले दिएको बयानले यसमा वन्यजन्तु तस्करको ठूलै गिरोह संलग्न रहेको संकेत निकुञ्जले पायो। अनि खोज्दै जाँदा यसमा दुई जना सांसद नै जोडिन आइपुगे।

निकुञ्जको टोलीले त्यसबेला सखुवा प्रसौनी गाउँपालिकाको अकवनियाका झापस दास थारू, नवराज बस्नेत, काभ्रेका दामोदर अधिकारी, मालदोङ तामाङ र पर्साको सखुपा प्रसौनीकै लक्ष्मण सहनीलाई पक्राउ गरेको थियो। उनीहरूकै बयानबाट वन्यजन्तु तस्करीमा ठूलो गिरोह संलग्न रहेको निष्कर्षमा निकुञ्ज पुगेको हो।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) अशोक राम पक्राउ परेकाहरूले दिएको बयान र यो घटनामा गरिएको प्रारम्भिक अनुसन्धानबाट वन्यजन्तु चोरीसिकारीमा संगठित गिरोह नै संलग्न रहेको आधार भेटिएको बताउँछन्। “अहिले हामी अनुसन्धानकै क्रममा छौँ। तर, अहिलेसम्म देखिएका घटनाका ‘सिन’हरूले संगठित रूपमै अपराध भइरहेको देखिन्छ”, उनले भने, “अनुसन्धान पूरा भएपछि धेरै कुरा छर्लङ हुनेछ।”

निकुञ्ज कार्यालयका अनुसार पुस ५ गते छापा मारिएको घर पर्सा क्षेत्र नम्बर ३ को प्रदेश सभा १ बाट निर्वाचित सांसद प्रमोदकुमार जयसवालको हो। जयसवाल यसअघि जनता समाजवादी पार्टी (जसपा)मा रहे पनि निर्वाचनका बेला विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका थिए। उनको घरबाट मृत अवस्थाको पोथी जरायो, भाले जरायोको टाउको, रातको समयमा हेर्न मिल्ने दूरबिन, १२ बोर बन्दुक, ड्रोन क्यामरा र २२ एमएमका ९ थान गोली बरामद भएको थियो।

मृत भेटिएको जरायो

त्यसक्रममा बा ५ च ७८०५ नम्बरको टोयोटा ल्यान्डक्रुजर जीप, प्रदेश २–०३–००१ च ३०९७ नम्बरको महिन्द्रा कम्पनीको बोलेरो जीपसमेत बरामद गरिएको थियो। पक्राउ परेकामध्ये दामोदर अधिकारी नेपाली सेनाका पूर्वहवल्दार हुन्। सहनी विगतमा गाँजा तस्करीमा पक्राउ परेर सजाय भोगिसकेका व्यक्ति हुन्। सिकारका लागि प्रयोग गरिएको बरामद बोलेरो जीप प्रदेशसभा सदस्य जयसवालकै हो। सखुवा प्रसौनीका स्थानीयका अनुसार मंसिर ४ को निर्वाचनको प्रचारप्रसारमा जयसवालले यही गाडी प्रयोग गरेका थिए।

जयसवालका भाइ प्रदीप जयसवालले पनि बरामद गरिएको जीप र हातहतियार तथा मानिसहरू पक्राउ परेको घर आफ्नो भएको स्वीकार गरे। प्रमोद र प्रदीप अहिले सगोलमै छन्। प्रदीप सखुवा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष हुन्। तर, उनले यो घटनामा आफू दाजुभाइको कुनै संलग्नता नरहेको दाबी गरे।

“हाम्रो घर जंगलको बीचमा छ। घरको रेखदेख गर्न भनेर गाउँकै एक जना मानिसलाई जिम्मा दिएका थियौँ। अब उनीहरूले के–के गरे, हामीलाई थाहा भएन”, प्रदीपले उकालोसँग भने, “ड्राइभरले हामीलाई थाहा नै नदिएर गाडी लगेको हो। अहिले ऊ हाम्रो सम्पर्कमा पनि छैन, फरार भएको छ।”

यो घटनाको अनुसन्धान गरिरहेका निकुञ्जका एक अधिकारीका अनुसार चालक उपेन्द्र यादव र विकास सहनी नामका अर्का व्यक्ति खुट्टामा गोली लागेर घाइते अवस्थामै फरार भएका थिए। उनीहरू अहिले भारतमा रहेको हुनसक्ने आशंका उनले व्यक्त गरे।

बा ५ च ७८०५ नम्बरको ल्यान्डक्रुजर जीप त्यो घटनामा पक्राउ परेका सेनाका पूर्वहवल्दार दामोदर अधिकारीको भएको जयसवाल बताउँछन्। हामीले बुझ्दा त्यो जीप २०६३ माघ १४ गते यातायात व्यवस्था कार्यालय बागमतीमा दर्ता भएको भेटियो। १९९६ मोडेलको त्यो जीप वीरगन्ज भन्सार कार्यालयबाट प्रज्ञापन–पत्र नम्बर ५६८०२७ मा भित्रिएको देखिन्छ। तत्कालीन यातायात व्यवस्था कार्यालय बागमतीको रेकर्डमा जीप ‘शिवराज’ भन्ने नाममा दर्ता भएको छ।

हतियार र मृत जरायो बरामद गरिएको सांसद जयसवालको घर।

बरामद बन्दुक काठमाडौँका सांसदको
सखुवा प्रसौनीमा रहेको प्रदेशसभा सदस्य प्रमोद जयसवालको घरमा छापा मार्दा भेटिएको बन्दुकले यो घटनासँग जोडिएको अर्को पाटो पनि बाहिर ल्याएको छ। त्यो बन्दुकसँगै काठमाडौँ क्षेत्र नम्बर ५ को प्रदेशसभा २ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद श्यामबहादुर खड्का पनि यो घटनामा तानिएका छन्। निकुञ्जका वार्डेन अशोक राम भन्छन्, “बरामद गरिएको बन्दुक काठमाडौँ क्षेत्र नम्बर ५ को प्रदेशसभा १ का सांसद श्यामबहादुर खड्काको नाममा दर्ता रहेको छ।”

हामीले खड्कालाई सम्पर्क गर्दा उनले त्यो बन्दुक आफ्नो भएको स्वीकार गरे। आफ्नो लाइसेन्सवाला बन्दुक बरामद भएको स्विकार्दै उनले सेनाले आफ्नो घरमा छापा मारेर बन्दुक लिएको बताए। “त्यो ठाउँमा मेरो घर र माछापोखरी पनि छ। सिकारीहरू गाडी र सिकार छाडेर भागेछन्, सेनाले मेरो घरमा छापा मारेर त्यो बन्दुक बरामद गरेछ”, खड्काले उकालोसँग भने, “हतियार त कसैको न कसैको देखाउनुपर्‍यो। अनि मेरो घरमा रहेको बन्दुक लगेछ। मलाई योभन्दा बढी जानकारी छैन।”

तर, त्यो ‘अप्रेसन’मा खटिएका निकुञ्जका एक अधिकारीले बरामद बन्दुक पक्राउ परेका व्यक्तिको साथमै रहेको बताए। “त्यही बन्दुक जरायो सिकार गर्न प्रयोग भएको छ”, उनले भने।

अनुसन्धानमा आश्चर्यजनक ढिलाइ
सांसद प्रमोदकुमार जयसवालको घरबाटै मारिएका वन्यजन्तु र वन्यजन्तु सिकारमा प्रयोग भएका हातहतियार बरामद हुँदासमेत निकुञ्जले अहिलेसम्म उनलाई अनुसन्धानको दायरामा ल्याएको छैन। यसले स्थानीयमाझ समेत आशंका जन्माएको छ। सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव मारिएका वन्यजन्तु र हातहतियार बरामद हुँदासमेत त्यसमा जोडिएका व्यक्तिलाई पक्राउ नगर्नुले गम्भीर आशंका जन्मिएको बताउँछन्। “जुन घरबाट वन्यजन्तु र हातहतियार बरामद गरिएको छ, त्यो घर पहिले पनि यस्तै काममा प्रयोग हुने गरेको थियो”, उनले भने, “यसरी प्रमाण छरपस्ट हुँदा पनि घर मालिकलाई पक्राउ गरेर अनुसन्धान गर्नुको साटो विभिन्न बहानामा अनुसन्धानको दायरामै नल्याएर चलखेल गर्ने अवसर प्रदान गरिएको छ।” 

चोरीसिकारीमा प्रयोग भएका हातहतियार

पर्सा राष्ट्रिय निकुञ्जका वार्डेन अशोक रामले भने कसैको घरमा हातहतियार भेटिएको भरमा अभियुक्त भनिहाल्न नमिल्ने भएकाले तत्काल कुनै कदम नचालिएको दाबी गरे। “हतियार फेला पर्दैमा र घरबाट बरामद हुँदैमा अहिले नै अभियुक्त भन्न मिल्दैन। अनुसन्धान भइरहेको छ। अनुसन्धानले के देखाउँछ, कानूनले के भन्छ, हामी त्यहीअनुसार गर्नेछौँ।”

यसमा ढिलाइ हुनुको कारण भने ‘ठूला मान्छे’ मुछिएपछि आएको दबाबसँग जोडिएको देखिन्छ। त्यो दबाब काठमाडौँस्थित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसम्म आइपुगेको छ। विभागका एक अधिकारी वन्यजन्तु सिकार र तस्करीमा पहुँचवाला व्यक्तिहरूको संलग्नता भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिन ढिलाइ गरिएको बताउँछन्। “ठूला मान्छे देखिएका छन्, हामीले पनि विचार पुर्‍याएर काम गर्नुपर्‍यो। ल्याएर यत्तिकै थुन्न पनि मिलेन”, उनले भने।

वन्यजन्तु संरक्षणको क्षेत्रमा लामो समय काम गरेका बर्दिया राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रमेश थापा भने मारिएका वन्यजन्तु र हातहतियार बरामद भएको घरधनी तथा हतियार प्रयोग भएका व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने बताउँछन्। “अनुसन्धान अधिकृतले नियन्त्रणमा लिएर अनुसन्धान गर्न सक्छ। घटनासँग जोडिएका मानिसलाई बाहिर राख्दा प्रमाण नष्ट हुने सम्भावना हुन्छ”, उनले भने।

चोरीसिकारीमा संलग्न अभियुक्तहरू

सांसद जयसवालका भाइ प्रदीप जयसवालले बयानका लागि आफूलाई निकुञ्ज कार्यालयमा बोलाइएको र आइतबार बयानका लागि जाने बताए। “मलाई निकुञ्जबाट फोन गर्नुभएको थियो, तपाईंको घरमा हातहतियार र वन्यजन्तु भेटिएको छ भन्नुभएको छ”, उनले भने।

घटना भएको झन्डै दुई हप्तापछि मात्र उनलाई बयानमा किन बोलाइयो? दुई हप्तासम्म बयान लिन पनि किन आवश्यक ठानिएन? निकुञ्जका वार्डेन रामले भने, “हामी अनुसन्धान गरिरहेका छौँ, अनुसन्धान प्रक्रियाकै क्रममा बयानमा बोलाइएको हो। ढिलाइ गरिएको होइन।”

पर्सा राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तु तस्कर र सुरक्षाकर्मीबीच समय–समयमा भिडन्तसमेत हुने गरेको छ। २०७६ चैत १४ मा तस्कर र सुरक्षाकर्मीबीच भएको गोली हानाहानमा तस्करीमा संलग्न एक जनाको मृत्यु भएको थियो भने नेपाली सेनाका जमदार घाइते भएका थिए। 


सम्बन्धित सामग्री