Monday, April 29, 2024

-->

सन्न्यास लिन पदक कुरिरहेकी उसुकी जुनी राई

१२औँ सागमा रजत र १३औँ सागमा स्वर्ण जितेकी उसु खेलाडी जुनु राई खेलजीवनबाट सन्न्यासको तयारीमा छिन्। तर उनको जितको भोक सकिएको छैन। सन्न्यासअघि साग वा दक्षिण एशियाली खेलमा पदक जित्ने लक्ष्यमा छिन्।

सन्न्यास लिन पदक कुरिरहेकी उसुकी जुनी राई
तस्वीर: दीप/उकालो

काठमाडौँ- जुनी राईले उसु सिक्न थालेको करिब ६ महिना मात्र भएको थियो। उनका प्रशिक्षक घनश्याम गुरुङले २०६८ सालमा सुदूरपश्चिममा भएको राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाञ्चलको छनोट खेल खेल्न पठाए। उनमा प्रतियोगिता खेल्ने हिम्मत आइसकेको थिएन। तर गुरुले भनेपछि टार्न सकिनन्।

जुनीले गजब खेलिन्। अन्य प्रतिस्पर्धीलाई उछिन्दै पहिलो भएर राष्ट्रिय प्रतियोगिताका लागि छनोट भइन्।

“पहाडमा हुर्किएको मान्छे, अप एन्ड डाउन गर्ने, घाँसदाउरा दिनहुँ गर्नुपर्ने रुटिन भएको कारण बलियो थिएँ। त्यसैले मलाई डर नै लाग्दैन थियो। बलकै भरमा डाङडुङ खेलेर जित्दिएँ,” उनी भन्छिन्।

इलामको पानीटार (देउमाई नगरपालिका)को पहाडमा सास नै फुल्ने उकालो र खुट्टाले धानिन मुस्किल पर्ने ओरालो गर्दै उनको बाल्यकाल बित्यो। घरको जेठी छोरी भएको कारण घाँस दाउरा गर्नुपर्ने बाध्यता थियो। त्यस बेलैदेखि शारीरिक कसरत राम्रै हुन्थ्यो। तर उनले जीवनमा के बन्ने भन्ने लक्ष्य बनाइसकेकी थिइनन्।

उनी १३ वर्षकी हुँदा बज्रपात पर्‍यो। आमा निरमाया राईसँग सदाको लागि साथ छुटेपछि भाइबहिनी लिएर झापाको बिर्तामोड झरिन्। त्यसबेला कक्षा ७ मा पढ्थिन्। 

पढाइसँगै भाइबहिनीको लालनपालनको समस्या थियो। उनको सहारा बने काका चन्द्रबहादुर राई। उनैले कक्षा ७ देखि १२ सम्मको पढाइको व्यवस्था गरिदिए। पढाइसँगै जुनी उसु पनि खेल्न थालिन्। 

झापा झरेपछि फुटबल, भलिबल, टेबुल टेनिस, ब्याड्मिन्टनलगायत खेल पनि खेल्थिन्। तर रहर भने ‘मार्सल आर्ट’ सिक्ने थियो। “खेलाडी नै बन्छु भन्ने त थिएन। तर सेल्फ डिफेन्सको लागि मार्सल आर्ट खेल्ने रहर चाहिँ थियो। खोज्दै जाँदा उसु भेटेँ। किक, पन्च, रेस्लिङ सबैको कम्बिनेसन रहेछ, म आकर्षित भइहालेँ,” उनी भन्छिन्। 

बिर्तामोडका प्रशिक्षक घनश्याम गुरुङले जुनीलाई प्रशिक्षण गराउन थाले। त्यसको ६ महिनापछि नै राष्ट्रिय खेलकुद प्रतियोगितामा स्थान बनाइन्। त्यहाँ राम्रो प्रदर्शन गरे सम्भावनाको धेरै ढोका खुल्ने थिए। उनले अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अवसर पनि पाउन सक्थिन्। विभागीय टोलीमा जागिरको अवसर मिल्न सक्थ्यो। उसु खेल्नका लागि उनले पढाइसमेत छाडिसकेकी थिइन्। यो प्रतियोगिता उनको जिन्दगीको ‘टर्निङ प्वाइन्ट’ हुनसक्थ्यो। 

उनी ५६ केजी तौल समूहमा फाइनलसम्म पुगिन्। तर फाइनलमा विजयी हुन सकिनन्। “केही नलेज थिएन, प्लानिङ पनि बनाएको थिइनँ। मलाई फस्ट नै हुनुपर्छ भन्ने थियो, सेकेन्ड भइदिएँ। हार्दा एकदमै नरमाइलो महसुस भयो। तर सम्मान पाएँ, 'राम्रो खेल्यौ' भनेर सबैले सान्त्वना दिएपछि 'ओहो! खत्रै खेलेँछु' भनेर चित्त बुझाएँ,” उनी भन्छन्।

काठमाडौँको पहिलो यात्रा
राष्ट्रिय खेलकुद प्रतियोगिता सुदूरपश्चिममा भएको हुनाले जुनीलाई काठमाडौँ जाने अवसर मिलेको थिएन। त्यहाँ राम्रो प्रदर्शन गरेपछि भने उसुकै कारण काठमाडौँ जाने अवसर पाइन्। नेपाल उसु संघले उनलाई राष्ट्रिय टोलीका लागि प्रशिक्षणमा बोलायो। 

काठमाडौँमा जागिर नपाइने र बसाइँ सहज नहुने भन्दै कतिपयले काठमाडौँ नजान उनलाई सुझाव दिएका थिए। काका चन्द्रको पनि साथ थिएन। जुनीले क्रिकेट खेलेको उनलाई मन परेको थिएन।

“पढिरहेको जवान छोरी, खेलेको छ, उफ्रिएको छ। यता हिँडेको छ, उता हिँडेको छ। त्यसैले परिवारले पहिला नखेल्न नै भन्नुहुन्थ्यो,” उनी भन्छिन्, “अब मेरो लक्ष्य खेलाडी बन्ने भइसकेको थियो। तर मैले मेरो सेक्युरिटीको बारेमा कहिल्यै सोचिनँ। अहिले सम्झिँदा चाहिँ धेरै डर लाग्छ।” 

आफ्नै निर्णयले उनी काठमाडौँ आइन्। करिब एक वर्षको प्रशिक्षणबाटै उनले राष्ट्रिय टोलीमा स्थान बनाइन्। राष्ट्रिय टोलीमा आएसँगै विदेशी प्रशिक्षकबाट प्रशिक्षण लिने मौका मिल्यो। तीन महिना प्रशिक्षण लिन उनलाई सहज भएन। प्रशिक्षणसँगै आफू पालिन काम पनि गर्नुपर्ने थियो। उसु प्रशिक्षक श्याम तामाङले मैतीदेवीको एक विद्यालयको होस्टेलमा वार्डेनको जागिर मिलाइदिएका थिए। होस्टेलमै बस्ने बन्दोबस्त थियो।

उनी बिहानै विद्यार्थीलाई उठाएर पढ्न लगाउँथिन् र आफू प्रशिक्षणमा पुग्थिन्। त्यसपछि विद्यालयमा दिनभर काम गरेर बेलुका ट्युसन पनि पढाउँथिन्। काठमाडौँमा दौडधुप गरेरै उनले आफूलाई उसुमा निखार्दै लगेकी थिइन्।

“चाइनिज गुरुको प्रशिक्षण धेरै गाह्रो थियो। अलिकति स्लो भयो कि कुटिहाल्ने। त्यसैले धेरै हार्ड प्रशिक्षण गर्नुपर्थ्यो। बिरानो शहरमा बाँच्न पनि पर्ने भएको कारण धेरै दौडिन पर्थ्यो। तर त्यतिखेर मलाई थकाइ भन्ने नै लाग्दैन थियो। देखेको सपना पूरा गर्नुपर्छ भन्ने मात्रै लाग्थ्यो,” उनी भन्छिन्।

खेल्न थालेको दुई वर्षपछि उनले विभागीय टोली त्रिभुवन आर्मी क्लब छिर्ने मौका पाइन्। तर सेनाको आधारभूत तालिम गर्न भने हेटौँडा पुग्नुपर्ने थियो। उनी जागिर छुट्ने डरले प्रतिययोगिताको निहुँ बनाएर हेटौँडा पुगिन्।

उनलाई खेलाडीको रूपमा पनि सेनामा छिर्ने अवसर थियो। तर उनले खुलामै प्रतिस्पर्धा गरेर अमलदार पदमा नाम निकालिन्। अनि होस्टेल वार्डेनको जागिर छाडिन्। सेनाको नौ महिनाको प्रशिक्षणपछि फेरि उसुमै फर्किइन्। त्यसपछि त्रिभुवन आर्मी क्लबबाट विभिन्न प्रतियोगितामा सहभागिता जनाउन थालिन्।

सागमा पहिला रजत, त्यसपछि स्वर्ण
त्रिभुवन आर्मीबाट जुनीले २०७० सालमा काठमाडौँमै आयोजना भएको नवौँ राष्ट्रिय उसु प्रतियोगितामा डेब्यु गरिन्। उनलाई आफूले देखेको सपना बल्ल पूरा भएझैँ लाग्यो। प्रतियोगितामा ५२ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी जुनीले गलामा पहिलोपटक स्वर्ण पदक झुन्ड्याउन पाइन्।

“आर्मीको प्रशिक्षण निकै गाह्रो थियो। घडीसमेत हेर्न पाइँदैन थियो। बाहिरका मान्छेले कस्तो लुगा लगाउँछन्, के के हुन्छ भन्ने पनि थाहा हुँदैन थियो। त्यस्तो वातावरणमा प्रशिक्षण गरेर पहिलोपटक गोल्ड जित्दा निक्कै भावुक भएँ,” उनी भन्छिन्।

त्यसको केही महिनापछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले धरानमा लुम्बिनी च्याम्पियनसिप आयोजना गर्‍यो। त्यसमा पनि उनले स्वर्ण जितिन्। घरेलु प्रतियोगितामा एकपछि अर्को सफलता हात पार्न थालिन्।

जुनीले अब बाटो बदल्ने सोच गरिन्। उनले नेपाल प्रहरीको सहायक निरीक्षक (असई) पदमा खुला प्रतिस्पर्धा गर्ने निर्णय लिइन्। असईमा नाम निकालेपछि उनले सैनिक सेवाबाट राजीनामा दिइन्। 

त्यही बेला भारतको गुवाहाटी र सिलोङमा १२औँ दक्षिण एशियाली खेलकुद (साग)का लागि खेलाडी छनोट हुँदै थियो। तर प्रहरीमा उसु प्रशिक्षण नै हुँदैन थियो। फुटबल, भलिबललगायत केही सीमित खेलको मात्रै प्रशिक्षण हुन्थ्यो।

“पुलिसमा असईको बेसिक ट्रेनिङ गरिरहेको थिएँ। छनोट पनि नजिकै आइसकेको थियो। एआईजी सरहरूलाई आफू खेलाडी भएको र छनोट खेल्न दिन रिक्वेस्ट गरेँ। बिचमा मिल्ने समयमा अन्य खेलाडीहरू फुटबल, भलिबलको अभ्यास गर्थे। म एक्लै उसुको प्रशिक्षण गर्थेँ,” उनी भन्छिन्।

विभागीय टोलीमा भएपछि बिहान दौडिनै पर्थ्यो। दिनभर असईको प्रशिक्षणको थकाइ। साँझ फेरि उसुको प्रशिक्षण गरिहाल्नुपर्ने बाध्यता। उनी आफैँ ‘टेक्निकल’ प्रशिक्षण गर्थिन्। कहिलेकाहीँ प्रशिक्षक श्याम तामाङ प्रशिक्षण दिन पुग्थे।

त्यसैको आधारमा छनोट प्रतियोगिता खेलिन्। यद्यपि, उनले खेल्दै आइरहेको ५६ केजी तौल समूहमा खेल्न पाइनन्। प्रतियोगितामै ५२, ६० र ७० केजी तौल समूह मात्र थियो। उनले ६० केजी तौल समूहमा भाग लिइन्। कमजोर प्रशिक्षण गरेकी उनले छनोट प्रतियोगितामा राष्ट्रिय विजेता रूमती श्रेष्ठलाई फाइनलमा पराजित गरेपछि पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउने भइन्।

सागका लागि पोखरामा एक महिनाको प्रशिक्षण गरेर भारत पुगेकी जुनी फाइनलमा भारतीय खेलाडी अरुणपनमा देवीसँग पराजित भइन्। भारत उसुको सान्दामा एकदमै राम्रो थियो। जुनीको तयारी पुगेकै थिएन। उनी फाइनलमा २–० अंकले पराजित भएकी थिइन्। अर्को सागमा स्वर्ण नै जित्ने अठोट गरेर नेपाल फर्किइन्।

२०७३ सालमा विराटनगरसहित पूर्वाञ्चलका सात शहरमा आयोजना भएको सातौँ राष्ट्रिय खेलकुदको फाइनलमा अर्को विभागीय टोली एपीएफकी निशा विकलाई पराजित गर्दै उनले स्वर्ण जितिन्। यहीबीचमा इन्डोनेसियामा हुने १८औँ एशियाली खेलकुद प्रतियोगिता नजिकिँदै थियो। त्यसैको तयारीस्वरूप काठमाडौँमा राखेप च्याम्पियनसिप आयोजना भयो। उक्त प्रतियोगितामा पनि उनले स्वर्ण जितिन्।

१२औँ सागमा ६० केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी जुनी एशियाली खेलकुदमा भने ५२ केजी तौल समूहमा प्रतिस्पर्धा गर्न छानिइन्। स्वर्णको आशामा जाकार्ता  पुगे पनि उनको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता सम्झनलायक भएन। उनी पहिलो राउन्डबाटै बाहिरिइन्। चोटको समस्या भोगिरहेकी उनी भियतनामकी खेलाडीसँग पराजित भइन्। लगत्तै चीनमा भएको १८औँ वर्ल्ड उसु च्याम्पियनमा पनि पदकविहीन भइन्।

“राम्रो प्रशिक्षण गरेको थिएँ। साथीसँग खेल्ने क्रममा खुट्टा लक गर्दिँदा लिगामेन्ट च्यातियो। चिकित्सकले नै नखेल भन्नुभएको थियो। जाकार्तामा पनि खेलेँ, चीनमा पनि ब्यान्डिज लगाएर नै खेलेँ। एकदमै राम्रो खेले पनि नतिजा मेरो पक्षमा आएन,” उनी भन्छिन्।

यद्यपि, उनले काठमाडौँ, दाङ र नेपालगन्जमा भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट पुनः लय समातिन्। त्यसलगत्तै घरेलु भूमिमा भएको १३औँ सागमा पनि उनले त्यो लयलाई निरन्तरता दिइन्। सेमिफाइनलमा भारतकी विद्यावती चानुलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन्। 

“एकपटक भारतीय खेलाडीसँग हारिसकेँ, अब हार्दै हार्दिनँ भन्ने अठोट गरेर सेमिफाइनलमा उत्रिएको थिएँ। त्यसअघि एक जना प्रशिक्षकले 'नाकाबन्दीको बदला लिनुपर्छ है' भन्नुभएको थियो। मैले त १२औँ सागको पनि बदला लिनु थियो, जितेरै छाडेँ,” उनी भन्छन्। 

चानुलाई हराएपछि उनलाई रातभर निन्द्रा लागेन। भोलिपल्ट फाइनल खेल्न लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको कभर्डहल पुगिन्। फाइनलमा श्रीलंकाकी मदुमालीलाई २–० ले नै पराजित गर्दै स्वर्ण पक्का गरिन्। 

सन्न्यासको योजना
१३औँ सागमा स्वर्ण जितेसँगै उनी १९औँ एशियाली खेलकुद प्रतियोगिताको तयारीमा लागिन्। नियमित प्रशिक्षण गरिरहेकी उनले एशियाली खेलकुदमा पदक ल्याएर खेल जीवनबाट सन्न्यास लिने योजना बनाएकी थिइन्। 

तर कोरोना महामारीको कारण चीनको हन्झाउमा हुनुपर्ने एशियाली खेलकुद एक वर्ष पर सर्‍यो। बिहे गरिसकेकी उनलाई सन्तान जन्माउने रहर जाग्यो। उनी आमा त बनिन्, तर एशियाली खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गर्ने प्रतियोगिताको रूपमा लिइएको नवौँ राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन पाइनन्। तीन महिने काखे सन्तान भएको कारण प्रतियोगितामा सहभागिता नजनाएको उनी बताउँछिन्। यद्यपि, उनी प्रहरीबाट महिला टोलीको प्रशिक्षकको भूमिकामा पोखरा पुगेकी थिइन्।

खेलाडी बनेर पुग्नु पर्ने प्रतियोगितामा प्रशिक्षक भएर जाँदा जुनीलाई नराम्रो महसुस भएको थियो। यद्यपि, पछि काठमाडौँमै छनोट प्रतियोगिता होला र एशियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउँला भन्ने योजना बुनेकी थिइन्। पछि काठमाडौँमा विभिन्न खेलमा पुनः खेलाडी छनोट गरियो। उसुमा भने नवौँ खेलकुदमा सहभागिता नै नजनाएको भन्दै उनलाई छनोट प्रतियोगितामा सहभागिता नै हुन दिइएन। 

अहिले नियमित प्रशिक्षण गरिरहेकी उनलाई पुनः पुरानै लयमा फर्किन सक्छु भन्ने आशा छ। यद्यपि, आफूले उक्त लय समात्न नसकेको बताउँछिन्। एकपटक साग र एशियाली खेलकुद प्रतियोगिता खेलेर खेलाडी जीवनको अन्त्य गर्ने उनको लक्ष्य छ।

“सधैँ राष्ट्रिय टोलीमा भइरहेको, त्यहाँ नपर्दा र खेल्न नपाउँदा खल्लो त लागिहाल्छ। तर अहिले जिम्मेवारी बढेको कारण पहिलाको जस्तो प्रशिक्षण गर्न पाएको छैन। पहिलाकोझैँ लयमा फर्किएँ भने पदक जितेर खेलाडी जीवन टुंग्याउने लक्ष्य छ,” उनी भन्छिन्।


सम्बन्धित सामग्री