Monday, April 29, 2024

-->

त्रिचन्द्र क्याम्पस भवन प्रबलीकरणमा ७ वर्षको संघर्षः अहिले पनि कक्षाकोठाकै अभाव

भूकम्प आएको ६८ महिनामा सिंहदरबारको प्रबलीकरण तथा पुनर्निर्माण गरिसकेको सरकारले त्रिचन्द्र क्याम्पसका भवन प्रबलीकरणका लागि बजेट दिन आनाकानी गर्दा अहिले पनि विद्यार्थीलाई कक्षाकोठाको अभाव छ।

त्रिचन्द्र क्याम्पस भवन प्रबलीकरणमा ७ वर्षको संघर्षः अहिले पनि कक्षाकोठाकै अभाव
तस्वीर: कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ– २०७२ सालको भूकम्पले सिंहदरबारको चार वटै मोहडामा क्षति पुगेको थियो। त्यसको तीन वर्षभित्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको सिंहदरबारको प्रबलीकरण थालियो। पश्चिम मोहडाबाहेक अन्य भागको प्रबलीकरण २०७५ जेठ २० मा थालेर २०७७ फागुन ३ मा सकिएको थियो। भूकम्प गएको ६८ महिनाभित्र सिंहदरबारको पुनर्निर्माण सकाएको सरकारले ऐतिहासिक शैक्षिक संस्था त्रिचन्द्र क्याम्पसका भवन प्रबलीकरणमा भने बेवास्ता गरेको छ।

गत वर्ष पुसदेखि मात्र त्रिचन्द्रका भवन प्रबलीकरण शुरू भएको छ। बजेटको स्रोत सुनिश्चितता नहुँदा भूकम्प गएको सात वर्षपछि मात्र प्रबलीकरण शुरू भएको भवन निर्माण विभाग केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)का निर्देशक कोषनाथ अधिकारी बताउँछन्। उनी भन्छन्, “हामीले प्रत्येक आर्थिक वर्षको बजेटमा कुरा उठायौँ तर अर्थ मन्त्रालयले बजेट अभाव भएको भनेपछि अरू उपाय थिएन।”

प्रबलीकरणको लागि न्यु इन्फ्रा टेक्नीलकल जेभीले २०८१ पुस मसान्तमा काम सक्ने गरी ३४ करोड ७० लाखमा ठेक्का लिएको छ। उक्त जेभीका ‘टिम लिडर’ सुशील थापाले १४ महिनामा ४५ प्रतिशत काम सकिएको जानकारी दिए। थापाका अनुसार भवनको जगको काम सकिएर अहिले माथिल्लो भाग मर्मतका लागि ‘मेटल ज्याकेटिङ’ भइरहेको छ। सम्झौता अनुसार अबको एक वर्षभित्र सबै काम सक्ने उनले बताए।

भवन निर्माण विभाग केन्द्रीय आयोजना कार्यान्वयन इकाई निर्देशक अधिकारीका अनुसार क्याम्पसको दक्षिणपट्टिको पूरै भाग क्षतिग्रस्त भएकाले पुरानै स्वरूपमा राख्न जगैदेखि बनाउन थालिएको छ। उत्तरपट्टिको भवन भने प्रबलीकरण गरिँदै छ।

त्रि‍चन्द्र क्याम्पस १०६ वर्षअघि स्थापना भएको थियो। तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले १९७५ सालमा यो क्याम्पसको स्थापना गरेका थिए।

प्रबलीकरण गराउन ७ वर्षको संघर्ष
भूकम्पबाट क्षतिग्रस्त घण्टाघर क्षेत्रको भवन पुनर्निर्माण तथा प्रबलीकरण नगरेको भन्दै विद्यार्थीहरूले बारम्बार अर्थ मन्त्रालय, त्रिभुवन विश्वविद्यालयलगायत सम्बन्धित पक्षलाई दबाब दिएका थिए। विद्यार्थीहरूको पहलबाट नै पुनर्निर्माणको काम अघि बढेको त्रिचन्द्र क्याम्पसका नेविसंघ नेता गोविन्द कोइराला बताउँछन्। “सरकारले यतिसम्म बेवास्था गरेको थियो कि विद्यार्थीहरू पढ्न छोडेर भवन प्रबलीकरणका लागि सडकमा आएरै दबाब दिनु परेको थियो।” 

त्रिचन्द्रका विद्यार्थीले २०७८ जेठमा चरणबद्द आन्दोलन गरेर भवन निर्माणका लागि दबाब दिएका थिए। उनीहरूले ‘त्रिचन्द्र बचाउ’ (सेभ त्रिचन्द्र) अभियान नै चलाए। त्रिचन्द्र क्याम्पस सरकारको प्राथमिकतामा नपरेको कारण सात वर्षसम्म बजेट नदिएको विद्यार्थी नेता कोइरालाको भनाइ छ। “सरकारले भ्यु टावर र अन्य सरकारी भवन बनाउन सक्छ। तर ऐतिहासिक क्याम्पसको भवन निर्माणको लागि बजेट छैन भनियो, जबकि त्यसो भन्नै मिल्दैन।”  

पूर्व क्याम्पस प्रमुख प्राडा सुनील अधिकारी त्रिचन्द्रलाई सरकारले उपेक्षा गर्दा समयमा नै प्रबलीकरण नभएको बताउँछन्। भूकम्पले नै भत्काएका विभिन्न सार्वजनिक संस्था धमाधम पुनर्निर्माण भइरहँदा त्रिचन्द्र सरकारको प्राथमिकतामा नपरेको उनको भनाइ छ। “त्रिचन्द्रलाई सरकारबाट उपेक्षा भएकै हो। त्यसमा तत्कालीन क्याम्पस व्यवस्थापन कार्यकारी समितिको मन दुखाइ छ।” उनी भन्छन् “त्रिचन्द्रको सरस्वती भवनसँगै जोडिएको रानीपोखरी पुनर्निर्माण भयो। सिंहदरबार र दरबार हाईस्कुल पनि बने। तर त्रिचन्द्रको पुनर्निर्माणमा लामो समय लाग्यो। यसलाई कसरी हेर्ने?”

तत्कालीन व्यवस्थापन कार्यकारी समितिले प्रधानमन्त्रीलाई नै भेटेर भवन पुनर्निर्माणको माग राखेको थियो। विद्यार्थीहरूले पनि दबाबमूलक आन्दोलन गरेपछि सरकार भवन पुनर्निर्माणका लागि बाध्य भएको उनले बताए। “२०७८ असारताका सरकार प्रमुख तथा उच्च पदस्थ पदाधिकारीलाई भेटेर औपचारिक कुरा राखेपछि र त्यसअघि विद्यार्थीहरूले पनि आन्दोलन गरेपछि प्रबलीकरणका लागि बजेट दिइएको हो,” उनले भने।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/७९ को संशोधित बजेटमार्फत त्रिचन्द्र क्याम्पस र घन्टाघरलाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा प्रबलीकरण गरिने घोषणा गरेका थिए। त्यसका लागि ५१ करोड रुपैयाँ छुट्याएपछि काम अघि बढेको हो। क्याम्पसको प्रबलीकरण र पुनःनिर्माणका लागि शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागले ४८ करोड २० लाख ६१ हजार बराबरको लागत अनुमान गरेको छ। साढे १३ करोडबाट त्रिचन्द्रको जगैदेखि भत्काइएको भवनको ठाउँमा नयाँ भवन निर्माण गरिने भवन निर्माण विभाग केन्द्रीय आयोजना कार्यान्वनयन इकाईले जनाएको छ।

पठनपाठनमा समस्या
भूकम्पपछि त्रिचन्द्र क्याम्पसको घण्टाघरतर्फको भवनमा रातो स्टिकर टाँसिएको थियो। त्यस भवनमा २०७७ सालसम्म पठनपाठन गरिएको थियो। तर वर्षामा पानीसमेत चुहिने हुँदा जोखिममा पढ्नु परेको विद्यार्थीको गुनासो थियो।

क्याम्पस प्रशासनका अनुसार घण्टाघरतर्फको भवनमा आठ वटा विभाग थिए। पुनर्निर्माण शुरू भएपछि सबै विभाग रानीपोखरीतर्फको सरस्वती भवनमा सारियो। त्रिचन्द्र क्याम्पसमा अहिले पनि कक्षाकोठाको अभाव छ। 

त्रिचन्द्र क्याम्पस अनेरास्ववियुका नेता सुनील कँडेलका अनुसार पढ्ने ठाउँकै अभाव भएपछि विद्यार्थीहरूले दरबार हाइस्कुलमा अस्थायी रूपमा कक्षाकोठा स्थानान्तरण गर्न माग गरे पनि क्याम्पस प्रशासनले बजेट अभाव रहेको जनाएको कँडेल बताउँछन्। “दरबार हाइस्कुलको पुनर्निर्माणपछि त्यहाँ विद्यार्थीलाई आवश्यकभन्दा कक्षाकोठा धेरै थिए। हामीले त्यहीँ अस्थायी रूपमा कक्षाकोठा बनाउन कुरा उठायौँ। तर बजेट अभाव भनियो। अहिले समस्या झेल्नुपरेको छ,” उनी भन्छन्।

कक्षाकोठाका लागि अस्थायी टहरा बनाउन पनि ढिलासुस्ती भइरहेको भन्दै विद्यार्थीहरूले असन्तुष्टि जनाएका छन्। अस्थायी कक्षाकोठा छिटो तयार पार्न बारम्बार क्याम्पस प्रशासनसँग माग गरे पनि प्रशासन जिम्मेवार नबनेको त्रिचन्द्र अखिल (क्रान्तिकारी) का नेता प्रदीप भण्डारी बताउँछन्। “अस्थायी टहरा बनाउने विषयमा लामो विवादपछि बल्ल काम शुरू भएको छ। त्यसमा पनि ढिलासुस्ती छ। क्याम्पस प्रशासन उत्तरदायी छैन,” उनले भने।

क्याम्पस प्रमुख प्राडा नीलम श्रेष्ठ पनि ठाँउ अभावले पठनपाठनमा समस्या भएको बताउँछिन्। घण्टाघरतर्फका आठ वटा विभाग सार्नुपरेको कारण तिनलाई व्यवस्थापन गर्न समस्या भएको उनको भनाइ छ। एउटै विभागमा तीनदेखि चार वटा विभागको कार्यकक्ष राख्नुपरेको उनले बताइन्।

प्राडा श्रेष्ठका अनुसार विद्यार्थीहरूको विषयगत पाठ्यक्रम तीनदेखि चार महिनामै सकाउने र नयाँ सेमेस्टरलाई व्यवस्थापन गर्ने गर्दा केही सहज भएको छ। “एउटा सेमेस्टरको पाठ्यक्रम जतिसक्दो छिटो सकाएर त्यसपछिको सेमेस्टरलाई पालो दिने गरी व्यवस्था गरिएको छ,” उनी भन्छिन्, “प्रशासन भवनको पछाडि एउटा अस्थायी कक्षाकोठा बनिरहेको छ। निर्माण सामग्री आउन समय लागेको कारण ढिला भयो। केही महिनाभित्रै कक्षाकोठा तयार हुन्छ।”

अहिले स्नातक र स्नातकोत्तर गरी करिब पाँच हजार विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रमुख श्रेष्ठ बताउँछिन्। बन्दै गरेको टहरामा ५० देखि २०० विद्यार्थी अट्नेगरी कक्षाकोठा निर्माण हुँदैछ। अरू टहरा बनाउन ठाउँ अभाव रहेको क्याम्पस प्रमुख श्रेष्ठ बताउँछिन्। “एउटा कक्षाकोठाका लागि पुरानो पार्किङ भएको ठाँउतिर भवन निर्माण भइसकेको छ। अर्काे भवनको लागि ठाउँ हेर्दैछौँ। सकेसम्म छिट्टै भवन निर्माण हुनेछ,” उनले भनिन्।


सम्बन्धित सामग्री