Thursday, April 25, 2024

-->

शहरी मोहले घट्दैछन् गाउँका विद्यालयमा विद्यार्थी

गाउँका विद्यालयप्रति अभिभावकको विश्वास घटेको हो त? काभ्रेको कुशेश्वर माविका प्रअ दमैसिं दोङ गुणस्तर सुधारका लागि प्रयास गरिरहेको भए पनि गाउँमा मानिस नै घट्दो भएकाले विद्यार्थी पनि कम भएको बताउँछन्।

शहरी मोहले घट्दैछन् गाउँका विद्यालयमा विद्यार्थी
तस्वीर: रासस

तेमाल– १० वर्षअघि खचाखच विद्यार्थी भएको काभ्रेपलान्चोकको तेमाल गाउँपालिका–९, मेच्छेपौवास्थित कुशेश्वर माध्यमिक विद्यालयमा अहिले मुस्किलले ३०० विद्यार्थी पनि छैनन्। २०१५ सालमा स्थापित सो विद्यालयमा पहिला पहिला भौतिक पूर्वाधारको सुविधा राम्रो थिएन तर अधिकांश स्थानीयबासीले गाउँमै छोराछोरी पढाउँथे। अहिले विद्यालयको सुविधा सम्पन्न भवन छ तर विद्यार्थी संख्या स्वात्तै घटेको छ।

“पहिला १३/१४ सय विद्यार्थी हुँदा भुईँमा बसेर पढ्थे। अहिले भवन भव्य छ। विद्यार्थी खासै छैनन्,” तेमाल गाउँपालिका–८, भोटेपाटी निवासी सो विद्यालयका पूर्वविद्यार्थी वेनीबहादुर श्रेष्ठ भन्छन्, “मैले २०४४/४५ सालमा झिँगटीको छानो भएको सानो भवनमा बसेर बढेको थिएँ। अहिले विद्यालयमा खानेपानी, शौचालय, पुस्तकालय, प्रयोगशालाजस्ता सुविधा छ। तर ज्यामी काम गरेर भए पनि अभिभावकले छोराछोरीलाई काठमाडौँ वा अन्यत्र शहरका राम्रा मानिने विद्यालयमा पढाउन थालेका छन्।”

स्थानीय विद्यालयमा तीन घण्टासम्म पैदल हिँडेर आउनुपर्ने बाध्यता भएकाले पनि विद्यार्थी पढ्नकै लागि अभिभावकको साथमा शहरतिर धाउन थालेका छन्। कतिपय अभिभावकले छोराछोरी पढाउनकै लागि शहरमा डेरा लिएर बस्ने र बेलाबेलामा गाउँमा गएर खेतीपाती गर्ने गरेका छन्। 

गाउँबाट शहरमा बसाइँसराइ र गाउँमा बेरोजगारीको समस्याका कारण यहाँका अधिकांश विद्यार्थी शहरी क्षेत्रका विद्यालयमा पढ्न थालेका छन्। गाउँका विद्यालयप्रति अभिभावकको विश्वास घटेको हो त? कुशेश्वर माविका प्रधानाध्यापक दमैसिं दोङ आफूहरूले गुणस्तर सुधारका लागि सक्दो प्रयास गरे भए पनि गाउँमा बस्ने मानिसको संख्या घट्दो भएकाले विद्यार्थी न्यून हुँदै गएको बताउँछन्। दोङ प्रधानाध्यापक नियुक्त हुँदा २०७३ सालमा आउँदा सो विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्म कुल एक हजार विद्यार्थी थिए। अहिले घटेर जम्मा २७३ भएका छन्। शिक्षा संकायमा पढाइ भइरहेको कक्षा ११ र १२ मा जम्मा २७ मात्रै विद्यार्थी छन्।

सो विद्यालयका राहत र करार गरी २४ जना शिक्षक–कर्मचारी छन्। नर्स एक जना र कार्यालय सहयोगी दुई जना छन्। गाउँपालिकाले विद्यालयका मसलन्द र सामाजिक लेखा परीक्षणका लागि न्यून रकम दिने गरेको छ। विद्यालयको मुद्धती खाताको ब्याजबाट करार शिक्षकलाई सुविधा दिँदै आएको छ। कुनै शिक्षक रिक्त भएमा विद्यालयले करारमा शिक्षक नियुक्त गर्न आन्तरिक स्रोतले धानेकाले शिक्षक अभावमा विद्यार्थीको पढाइ अवरोध हुने स्थिति छैन। 

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘नेपालमा ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन’ ले जनगणना २०६८ र २०७८ बीचमा शहरी जनसंख्या २२.३१ प्रतिशतबाट उल्लेख्य बढेर २७.०७ पुगेको देखाएको छ। त्यसैगरी शहरोन्मुख जनसंख्या ३९.१९ प्रतिशतबाट बढेर ३९.७५ प्रतिशत पुगेको देखिएको छ।  

सो प्रतिवेदनमा पछिल्ला १० वर्षमा ग्रामीण क्षेत्र ३८.५ प्रतिशतबाट ३३.१९ दशमलवमा प्रतिशतमा झरेको देखिन्छ। शहरोन्मुख क्षेत्र भए पनि शहरी क्षेत्र मानिएको स्थानमा अझै पनि जनसंख्या ठुलो हिस्सा रहेको देखिन्छ। ग्रामीण जनसंख्या अझै पनि एक तिहाइ छ जबकि प्रवृत्तिका आधारमा ग्रामीण क्षेत्रबाट शहरोन्मुख र शहरी क्षेत्रमा बसाइँसराइले जनसंख्यालाई शहरी क्षेत्रमा व्यवस्थापन गर्न कठिनाइ भएको र ग्रामीण क्षेत्रमा बसाइँसराइ कम गर्न दबाब परेको देखिएको छ। हाल नगरपालिकाको जनसंख्या ६६.१७ प्रतिशत र गाउँपालिकाको जनसंख्या ३३.८३ प्रतिशत छ।

कुशेश्वर मावि व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर थोकर समग्रमा मानिसको जन्मदर कम हुनु, रोजगारी तथा अवसरका लागि अभिभावक बनेपा, धुलिखेल र काठमाडौँतिरको  बसाइँसराइ र विदेश जानुले गाउँका विद्यालयमा बालबालिका कम भएको बताउँछन्। गाउँमा सोचेजस्तो गुणस्तरीय शिक्षा नभएको र राज्यले पनि यहाँका विद्यालयको सुधारका लागि उचित व्यवस्थापन नगरेकाले आफूहरूले अभिभावकलाई आश्वस्त पार्न नसकेको अध्यक्ष थोकरको भनाइ छ।

विद्यार्थीलाई गाउँमै टिकाउन कस्ता योजना ल्याउँदै हुनुहुन्छ भन्ने प्रश्नमा अध्यक्ष थोकरले विद्यालयले आफ्नै स्रोतबाट कक्षा ८ भन्दा माथिका कक्षामा आवासीय कक्षा सञ्चालनको सोच बनाइएको बताए। उनले २०८२ सालको शैक्षिक सत्रदेखि प्राविधिक धारको पढाइ र कक्षा ११ र १२ मा हालको शिक्षा विषयका अतिरिक्त विज्ञान, व्यवस्थापन र कानुनलगायतका विषय थप्ने तयारी गरिएको बताए। 

तेमाल गाउँपालिका–५ नारायणस्थानस्थित नारायणस्थान माध्यमिक विद्यालयमा आठ वर्षअघि ४०० थिए भने हाल प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्म जम्मा २४० विद्यार्थी छन्। उक्त विद्यालयका प्रधानाध्यापक कालीदास दाहाल अभिभावक अवसरको खोजीमा शहरकेन्द्रित हुँदा विद्यार्थी घटेको स्वीकार्छन्। उनले विद्यार्थीलाई आकर्षण दिन कक्षा ११ र १२ मा सबै विषयका पाठ्यपुस्तक निःशुल्क र उच्च ग्रेडमा उत्तीर्ण भएर आउने विद्यार्थीलाई छात्रवृत्ति दिने गरिएको जनाए। 

सोही गाउँपालिका–८, स्थित जनज्योति माध्यमिक विद्यालयमा पनि अहिले विद्यार्थी घटेर १५९ पुगेको छ। पाँचवर्ष अघिसम्म यस विद्यालयमा ४०० सम्म विद्यार्थी हुन्थे। सो विद्यालयका प्रधानाध्यापक भानुभक्त मैनाली पढाइको गुणस्तर खस्किएर नभई रोजगारीको अवसरको खोजीमा अभिभावक शहर जान थालेकाले गाउँमा विद्यार्थी कम भएको बताउँछन्। 

तेमालमा विपी राजमार्गको कालढुंगा–मेच्छेपौवाको तल्लोबाटो र भकुण्डेबेँसी–नारायणस्थन–मेच्छेपौवाको माथिल्लोबाटो कच्ची भएकाले गाउँमा विद्यार्थीले विद्यालय आउन–जान धुलोमैलो र उकाली ओराली खेप्नुपर्ने हुन्छ। सवारीको असुविधा र विद्यार्थी शहर जान थालेकाले यस गाउँपालिकामा एउटा वटा पनि निजी विद्यालय सञ्चालनमा छैनन्। सबै सामुदायिक छन्।

तेमाल गाउँपालिकाका प्रवक्ता इन्द्रलाल तामाङका अनुसार यहाँ हाल १० माध्यमिक विद्यालय छन्। त्यसमध्ये पाँच वटामा कक्षा ११ र १२ को पढाइ हुन्छ। यस्तै आधारभूत तहका आठ र प्राथमिक तहका २१ सामुदायिक विद्यालय छन्। यी सबै विद्यालयमा गरी तीन हजार २०० विद्यार्थी छन्। यसमा छात्राको संख्या करिब १०० ले बढी रहेको प्रवक्ता तामाङले जानकारी दिए। गाउँपालिकामा साक्षरताको प्रतिशत भने ९५.९७ छ। त्यसो त गाउँपालिकाको जनसंख्या पनि घट्दो छ। राष्ट्रिय जनगणना, २०७८ मा  हजार १६ हजार ९५९ छ। २०७८ सालको जनगणनामा २२ हजार ७१२ जनसंख्या थियो।

“अहिले दुई सन्तानको मान्यताले जन्मदर नै कम हुँदै गएको छ। अर्कातिर रोजगारीका लागि शहरी क्षेत्रमा अभिभावक केन्द्रित भएका छन्,” गाउँमा विद्यार्थी कम भएको सम्बन्धमा प्रवक्ता तामाङले भने, “सामुदायिक विद्यालयका शिक्षक कर्मचारीमा पनि आफूले पढाउने विद्यालयप्रति विश्वास नभएको देखिन्छ। पढाए पनि हुन्छ, नपढाए पनि हुन्छ भन्ने सोच भएका अभिभावकले मात्रै गाउँका विद्यालयमा पढाइरहेका छन्।”

गाउँपालिकामा विद्यार्थी टिकाउन विशेष प्याकेज अघि सारिएको र प्रयोगकै क्रममा रहेको तामाङले जानकारी दिए। काभ्रेपलान्चोककै नमोबुद्धमा नगरपालिकाका आवासीय विद्यालयमा गाउँपालिकाले खर्च दिएर विज्ञान विषयमा कक्षा ११ र १२ मा दुई भर्ना गराइएकामा ती विद्यार्थीले पढाइ गाहे भएकाले बीचैमा छाडेर भागेको अनुभव पनि उनले सुनाए। अब शिक्षाबारे अभिभावक चेतना दिने विद्यार्थीहरू नियमित विद्यालय गए नगएको,समयमा घर फर्किए नफर्किएको जस्ता विषयमा पनि गाउँपालिकाले अनुगमन गरी अभिभावकलाई सहजीकरण गर्ने उनको भनाइ छ।

गाउँपालिकाको नीति तथा कार्यक्रममा ‘उत्कृष्ट शैक्षिक गन्तव्य गाउँपालिका हाम्रो पहिचान’ को नारासहित शिक्षालाई मानिसको आवश्यकता र वास्तविक जीवनसँग जोड्ने र सीपमूलक पाठ्यक्रम विकास गरी नमुना विद्यालय विकास गर्ने योजना लिइएको छ। गाउँपालिकाले सबै विद्यालयमा विद्युतीय हाजिरी व्यवस्थापन गर्ने, विद्यालयको भौतिक पूर्वाधार, स्वास्थ्य, सरसफाइ र आधारभूत खानेपानी सेवा विस्तार गर्ने, अंग्रेजी माध्यमबाट शिक्षणका लागि शिक्षक दरबन्दीमा प्रोत्साहन गर्ने पनि कार्यक्रम अघि सारेको छ। 


सम्बन्धित सामग्री