Sunday, April 28, 2024

-->

खस्किरहेको त्रिविमा फरक बिम्ब बनेको मानवशास्त्र विभाग

त्रिवि मानवशास्त्र विभागअगाडि बगैँचा बनाउन गरिएको खर्चको कुनै समय आलोचना हुन्थ्यो तर अहिले यही बगैँचा विभागको गुणस्तरलाई झल्काउने सुन्दर बिम्ब बनेको छ। कसरी फरक बन्यो मानवशास्त्र विभाग?

खस्किरहेको त्रिविमा फरक बिम्ब बनेको मानवशास्त्र विभाग
तस्वीर: किसन पाण्डे/उकालो

काठमाडौँ– ‘टाइम्स हायर एजुकेशन’ले गरेको सन् २०२४ को सर्वेक्षणअनुसार विश्वका उत्कृष्ट विश्वविद्यालयहरूको सूचीमा त्रिवि १२०१ देखि १५०० स्थानभित्र पर्‍यो। अघिल्ला केही वर्ष ८०१ देखि एक हजारसम्मको स्थानमा परेको थियो। एशियामा पनि त्रिविको स्थान सम्मानजनक छैन, २५१ देखि ३०० को बीचमा परेको छ।

तर यो सूचीका आधारमा त्रिविकै मानवशास्त्र विभागको मूल्यांकन गर्न मुस्किल हुन्छ। यो विभाग अन्य विभाग/संकायभन्दा फरक हुन प्रयत्नशील छ। त्रिविका विद्यार्थी माधव चौलागाईंले सन् २०२३ को अन्तिम दिन फेसबुकमा आफूले मानवशास्त्र विभागमा एमफिल पढिरहँदाको अनुभव बाँडेका थिए। उक्त वर्ष–समीक्षामा उनले त्यहाँको अध्ययन–अध्यापनको तारिफ गरेका छन्।

विभागमा भर्ना भएपछि चौलागाईंले मानवशास्त्रका शास्त्रीय र समसामयिक विविध विधागत सिद्धान्त तथा तिनका व्यवहारिक प्रयोगसम्बन्धी अध्ययन गर्ने मौका पाए। १५० भन्दा बढी जर्नल लेख र पुस्तक पढे। करिब ८० वटा सेमिनार र छलफलमा भाग लिए। ६ वटा ‘टर्म पेपर’, १० हजारभन्दा बढी शब्दको ‘प्रपोजल’ र ५० बढी संक्षेप (प्रेसी) लेखे। उनी भन्छन्, “यी तमाम गतिविधिले मलाई आफ्नै सोचको दायरा र ज्ञानको सीमा पर्गेल्ने अवसर दियो।”

चौलागाईंले सन् २००३ मा थाइल्यान्डबाट ‘पब्लिक हेल्थ इपिडिमिओलोजी’मा स्तातकोत्तर गरेका थिए। त्यसपछि नेपाल फर्किएर सोही क्षेत्रमा काम गरिरहेका थिए। कोभिड–१९ को जगजगीमा उनले मानवशास्त्रसम्बन्धी केही पुस्तक पढे, त्यसले उनलाई यो विषयप्रति रुचि बढाइदियो। सन् २०२२ को मध्यतिर एक दिन उनलाई साथीले त्रिविको मानवशास्त्र विभागमा भर्ना हुन सुझाव दिए। 

उनी केही दिनपछि विभाग पुगेर सबै कुरा बुझे। उनलाई डर थियो– अन्य विषय पढेकाले मानवशास्त्र पढ्न नपाउने हो कि! तर त्यो नियम हटिसकेको थियो।

चौलागाईं ‘मेडिकल एन्थ्रोपोलोजी’ पढ्न चाहन्थे। तत्कालीन विभागीय प्रमुख डम्बर चेम्जोङले दुई–चार जना विद्यार्थी भए आफूहरू उक्त विषय पढाउन तयार रहेको बताए। उनी गत साल एमफिलमा भर्ना भए। “प्राविधिक क्षेत्रको पृष्ठभूमिबाट एन्थ्रोपोलोजीको आयामभित्र छिर्न खोजिरहेको मलाई गज्जबको अनुभूति भयो,” उनी भन्छन्।

मानवशास्त्र विभागमा पठनपाठनको शैलीदेखि भौतिक पूर्वाधार र व्यवस्थापन पनि फरक तरिकाले गरिएको छ। विभागअगाडि बगैँचा बनाएर थरिथरिका फूल र बिरूवा रोपिएका छन्। त्यहीँ बगैंचामा बसेर समेत विद्यार्थीहरू पढिरहेको देख्न पाइन्छ।

यो बगैँचा बनाउँदा विभागले आलोचना पनि खेपेको थियो। अनावश्यक ठाउँमा पैसा खन्याएको भनेर कतिपय प्राध्यापकले नै आलोचना गरे पनि यसले सकारात्मक उर्जा दिने कुरा अहिले धेरैले बुझेको मानवशास्त्र विभागका प्राध्यापक जनक राई बताउँछन्। उनी भन्छन्, “यसलाई अनावश्यक लगानी मान्नु हुँदैन। बगैँचाले कलेज वरपरको पर्यावरण सुन्दर बनाउँछ, अध्ययनका निम्ति पनि सकरात्मक उर्जा दिन्छ।”

सीमित बजेटमा फरक शैलीको काम
सन् १९८१ मा पहिलो पटक त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र–मानवशास्त्र विभागको प्रवेश भएको थियो। त्यति बेला दुवै विषय एउटै विभाग अन्तर्गत थिए। सन् २०१५ मा समाजशास्त्र र मानवशास्त्र विभागलाई छुट्याइयो। मानवशास्त्र विभागले अहिले मानविकी तथा सामाजिक संकायअन्तर्गत तीन वटा कार्यक्रम– मास्टर्स, एमफिल र पीएचडी चलाउँछ।

अहिले एमएमा २० र एमफिलमा १८ विद्यार्थी छन्। एमएमा भर्ना हुनका निम्ति पहिलो सेमेस्टरमा १५ हजार र दोस्रोमा १२ हजार रूपैयाँ तिनुपर्छ। एमफिल पढ्न भने ८५ हजार रुपैयाँ लाग्छ।

एमफिल कार्यक्रम विद्यार्थीले बुझाएको शुल्कले मात्र चलिरहेको छ। कम्तीमा १२ जना विद्यार्थी नहुने हो भने यो कार्यक्रम धानिन गाह्रो हुने प्राध्यापक राई बताउँछन्। उनी भन्छन्, “विद्यार्थीबाट आएको पैसा पनि सबै विभागले खर्च गर्न पाउँदैन! यो पैसा भीसी (उपकुलपति)देखि डिन कार्यालयसम्म जान्छ। एमएमा विद्यार्थीबाट आउने पैसा त विभागलाई सिधै आउँदैन।”

मानवशास्त्र विभागलाई त्रिवि केन्द्रीय कार्यालयले प्रशासनिक खर्च चलाउन वार्षिक २ करोड दिन्छ। यो पैसा विशेषगरी कर्मचारीको तलबका लागि हो। अहिले विभागमा १३ जना ‘फ्याकल्टी’ छन्, अन्य प्रशासनिक कामका लागि पाँच जना पूर्णकालीन र करारका कर्मचारी छन्। केही कर्मचारीलाई विभागले आन्तरिक स्रोतबाट पालिरहेको छ।

मानवशास्त्र पढिरहेका विद्यार्थी।

विद्यार्थीको अनुसन्धान, पुस्तकालयलगायत प्राज्ञिक कामका लागि केन्द्रीय कार्यालयबाट खर्च आउँदैन। अध्ययन/अध्यापनमा आवश्यक पर्ने उपकरण खरिद गर्न बजेट नआउने विभागको भनाइ छ। सीमित बजेटका बाबजुत पनि विभागले प्राज्ञिक सक्रियता देखाएको छ। विभागलाई समय सान्दर्भिक बनाउन आफूहरूले समय अनुसार पाठ्यक्रम अद्यावधिक गरिरहेको राई बताउँछन्। उनका अनुसार जलवायु परिवर्तनको मुद्दा पेचिलो बन्दै गएपछि विभागले ‘एन्थ्रोपोलोजी अफ क्लाइमेट चेन्ज’ विषय पढाउन थालेको छ। मेडिकल एन्थ्रोपोलोजी विषय पनि थपिएको छ।

भिडियो, फोटोलगायत ‘न्यू मिडिया’का आयाम मानवशास्त्रमा पनि जोडिने भएपछि विभागले केही समयअघि एमफिलमा ‘भिजुअल एन्थ्रोपोलोजी’ पढायो। विभागसँग त्यसका लागि प्राध्यापक थिएनन्। तर उनीहरूले टोकियो बस्ने प्रोफेसर दीपेश खरेललाई आग्रह गरेर पढाउन लगाए। खरेलले अनलाइनबाट केही कक्षा लिए भने  केही कक्षामा आफैँ उपस्थित भएर पढाए।

विभागले भिजुअल एन्थ्रोपोलोजी एमएमा पनि पढाउने तयारी गरिरहेको छ। त्यसका लागि बाहिरका विभिन्न विश्वविद्यालयका प्रोफेसरहरूसँग निरन्तर कुरा भइरहेको राईको भनाइ छ। तर विभागसँग बजेट नभएकाले स्वयंसेवा गरिदिन आग्रह गरेको उनले बताए।

अहिले एमएका लागि ३३ वटा विषय ‘अफर’ गरेको प्रा. राई बताउँछन्। पाठ्यक्रमका कारण पनि मानवशास्त्र विभाग अन्य विभागभन्दा फरक भएको उनको भनाइ छ।

ज्ञान विस्तारमा प्राध्यापक–विद्यार्थी सम्बन्ध
व्यवस्थापन पृष्ठभूमिबाट आएर मानवशास्त्र पढिरहेका रसिन खड्का विभागमा प्राज्ञिक वातावरण भएको बताउँछन्। “यो इकोसिस्टमका पाँच कारक छन्– शिक्षक, विद्यार्थी, पूर्वाधार, शैक्षिक स्रोत र प्रशासन। यी पाँच इकाई आफैँ सकृय भई सञ्चालित भए सिनर्जी (शक्ति) बन्दैजान्छ,” उनी भन्छन्, “विभागमा यी सबै इकाई एकअर्काका पूरक हुन्, उनीहरूबीच राम्रो तालमेल छ। यहीँबाट विद्यार्थीले सकारात्मक उर्जा पाइरहेका छन्।”

यहाँ विद्यार्थीलाई केही बुझ्न मन गरे सहजै प्राध्यापकको कोठामा जान सक्छन्। प्राध्यापकले पनि विद्यार्थीलाई पर्याप्त समय दिन्छन्। 

त्रिविबाटै मानवशास्त्रमा एमफिलको थेसिस लेखिरहेकी कुसुमलता तिवारी प्राध्यापकहरूले आफ्ना जिज्ञासाको सधैँ रचनात्मक सुझाव दिएको बताउँछिन्। विश्वविद्यालयका बेथितिबारे मिडियामा खबर आइरहे पनि यहाँका राम्रा कामबारे कतै उल्लेख नभएको बताउँछिन्। “मानवशास्त्रका कुनै पनि कार्यक्रममा भर्ना भएका विद्यार्थीलाई सोध्नुभयो भने अपवादबाहेकले यहाँँ हुने पठनपाठनबारे अन्य विभागको भन्दा फरक अनुभव सुनाउँछन्,” उनी भन्छिन्।

मानवशास्त्र केन्द्रीय विभागका कक्षाहरू अन्तरकृयात्मक हुने उनी सुनाउँछिन्। विषयगत ‘पेपर’हरूको पूर्वतयारी, कक्षामा छलफलपछि त्यसैमा हुने थप गृहकार्यले आफूहरूलाई प्राज्ञिक काममा सक्रिय बनाइरहेको उनको अनुभव छ। यसले आफूहरूलाई निखार्नसमेत मद्दत पुर्‍याएको उनी बताउँछिन्।

अर्की विद्यार्थी लक्ष्मी महर्जन मानवशास्त्रले विषयवस्तुलाई हेर्ने र बुझ्ने कुरामा आफूभित्र फरकपन ल्याएको बताउँछिन्। उनी भन्छिन्, “हामीले हरेक कुरालाई मोटो रूपमा पढ्थ्यौँ– देखेको मात्र सत्य नहुने रहेछ, भित्री आयाम पनि हुन्छन् भन्ने यही विषय पढेपछि थाहा भयो।”

विभाग प्रमुख डा. विनोद पोखरेल आफूहरूले विद्यार्थीलाई केन्द्रमा राखेर योजना बनाउने गरेको बताउँछन्। उनी भन्छन्, “विभागले विद्यार्थीको गुनासो सुन्ने र सम्बोधन गर्ने प्रयास गर्छ। एकदुई विद्यार्थीको गुनासो हुनु सामान्य हो। विद्यार्थीसँग अनौपचारिक कुराकानी भइरहेको हुन्छ। हाम्रा अनुभव र ज्ञान उहाँहरूलाई सेयर गर्छौँ, उहाँहरूका कुरा पनि सुन्छौँ।”

प्राध्यापकहरूले विद्यार्थीलाई गर्ने ‘रेस्पोन्स’ले अध्ययन अध्यापनमा फरक पर्ने पोखरेलको भनाइ छ। विभिन्न अवसर आउँदा आफ्ना विद्यार्थीलाई विभागका प्राध्यापकहरूले अध्ययन अनुसन्धानका लागि अन्य देशमा पनि पठाइदिने गरेका छन्। यहाँबाट प्राध्यापककै सिफारिसमा पीएचडी गर्न अमेरिका तथा युरोपका देशमा विद्यार्थी पठाइएको छ। कुनै अनुसन्धान निकायले अनुसन्धानकर्मी खोजे पनि विद्यार्थीलाई सिफारिस गर्ने गरिएको डा. पोखरेल बताउँछन्।

मानवशास्त्र विभाग आफैँले पनि सक्रियतापूर्वक अनुसन्धानका काम गर्छ। त्यसका लागि प्राध्यापकहरूले विभिन्न परियोजना ल्याउँछन्। विगतमा थारू आयोग, नीति अनुसन्धान संस्थान, युएसएसएआईडी, ओपन सोसाइटी फाउन्डेशनलगायतसँग सहकार्य भएको विभागले जनाएको छ। त्यस्ता परियोजनामा विद्यार्थीलाई पनि सहभागी गराइन्छ।

कतिपय परियोजनाले पूर्वाधार विकासमा पनि मद्दत पुर्‍याएका छन्। केही समयअघि विभागले ४०–५० जना क्षमताको हल बनाएको छ। पहिला कार्यक्रम गर्न कोठा खोज्दै हिँड्नुपर्ने अवस्था थियो, अब त्यसबाट मुक्ति मिलेको पोखरेल बताउँछन्।

मानवशास्त्र विभागले तयार गरेको कार्यक्रम हल।

अध्ययनलाई प्रविधिसँग जोड्न हरेक कोठामा वाइफाईको सुविधा छ, स्मार्ट बोर्ड र पावर प्वाइन्ट प्रोजेक्टर छन्। विभागबाट एमफिल गरेकी लक्ष्मी महर्जन भन्छिन्, “सानासाना कुराले पनि कक्षामा धेरै फरक पारेको छ।”

विभागले विद्यार्थीलाई बिहान खाजा पनि दिने गरेको छ। खाजामा प्रायः चना, समोसा, पाउरोटी, बिस्कुट, सेलरोटीलगायत हुनेगर्छ। अहिले विभागले उपलब्ध गराउँदै आएको सेवासुविधा दीर्घकालीन हुने हो कि हैन भन्ने ठूलो प्रश्न छ। प्राध्यापक राई यसको दिगोपनाका लागि विश्वविद्यालय नेतृत्वले पनि होस्टेमा हैँसे गरिदिनुपर्ने बताउँछन्। 

विश्वविद्यालय बलियो नहुँदा विभाग पनि समस्यामा पर्दै जान्छ। “त्रिविमा किन पढ्न जाने भनेर विद्यार्थीमा अन्यौल छ। स्नातक कार्यक्रम सशक्त हुन सकेको छैन,” राई भन्छन्, “मानवशास्त्रलाई प्लस टु र स्कुल लेभलसम्म पुर्‍याउन सकेका छैनौँ। हाम्रो जनशक्तिलाई सरकारले उपयोग गर्न सकेको छैन। यस्ता अनेकन चुनौती छन्।”

मानवशास्त्र विभागमा केही समय ‘भिजिटिङ फ्याकल्टी’ रहेका सञ्जीव पोखरेल विभागले शैक्षिक चरित्र निर्माणमा पर्याप्त ध्यान दिनुपर्ने बताउँछन्। उनी भन्छन्, “विभागमा हालसालै पूर्वाधार सुधारका धेरै काम भएका छन्। धेरै समयसम्म नभएका वा गर्न नसकिएका काम भए, जुन तारिफयोग्य हो। आशा छ, यस्तै सार्पनेस अब शैक्षिक चरित्र निर्माणमा पनि देखिएला।”

पोखरेल मानशास्त्रलाई थप सुधार गर्न सकिने ठाउँ देख्छन्। त्यसका लागि विभाग प्राज्ञिक इकाईका रूपमा स्थापित हुनुपर्ने उनको भनाइ छ। मानवशास्त्रको वैचारिक दृष्टिकोण निर्माणमा पनि विभाग लाग्नुपर्ने उनको सुझाव छ। शोध र अनुसन्धानको ध्येय थप प्रष्ट बनाउनुपर्ने उनले बताए। उनी भन्छन्, “समाज विज्ञानमा निश्चित विषय एक्लो वा अलग रूपमा स्थापित हुन सक्दैन। हरेक विषयले विभिन्न क्षेत्रका विचार समेट्नुपर्छ।”


सम्बन्धित सामग्री