Saturday, April 27, 2024

-->

बाँदरको बितण्डाले कैयौँको उठिबास, तर समाधान के?

देशका पहाडी जिल्लामा बालीनाली खाएर कृषकलाई हैरान पारिरहेको बाँदरलाई कृषि हानिकारक वन्यजन्तुका रूपमा घोषणा गरिए किसानलाई अल्पकालीन राहत मिल्ने सरोकारवालाहरू बताउँछन्।

बाँदरको बितण्डाले कैयौँको उठिबास तर समाधान के 
तस्वीरहरू सौजन्य: खोज पत्रकारिता केन्द्र

काठमाडौँ– बाँदर धपाउने क्रममा २०७९ साउन २ गते अर्घाखाँचीको छत्रदेव गाउँपालिका, केरुंगाका टंक खनालको लडेर मृत्यु भयो। गाउँपालिकाका पूर्वअध्यक्ष लेखनाथ पोखरेलका अनुसार मकै बाली खान आएको बाँदर लखेट्न जाने क्रममा लड्दा उनको मृत्यु भएको हो। 

“बाँदर बारीमा आइसक्यो। बर्षभरि दुःख गरेर हुर्काएको बाली जोगाउने विषय जीवन–मरणको सवाल थियो,” उनी भन्छन्, “त्यही क्रममा लडेर उहाँको मृत्यु भयो।” बाँदर धपाउन जाँदा मृत्यु हुने खनाल एक्ला भने होइनन्। विभिन्न पत्रपत्रिकामा आएका समाचार अनुसार पछिल्लो चार वर्षमा बाँदर धपाउने क्रममा लडेर ६ जनाको मृत्यु भएको छ। 

२०७८ असोज ५ मा रोल्पा नगरपालिका–९, रोल्पाकी संगिता पुन र उनकी दुई वर्षीय छोरीको पनि बाँदर धपाएर फर्कने क्रममा ढुंगाले लागेर मृत्यु भएको थियो। अर्घाखाँचीकै मालारानी र ओखलढुंगामा पनि बाँदर लखेट्दै गर्दा लडेर एक–एक जनाले ज्यान गुमाएका छन्। 

पहाडी जिल्लामा बाँदरले दुःख दिएका र बाँदरकै कारण गाउँघर रित्तिएका सामाचार आउन थालेको झण्डै एक दशक भइसक्यो। पछिल्ला वर्षहरूमा बाँदरकै कारण ज्यानै जाने र घाइते हुने क्रम पनि बढ्न थालेको छ। 

अर्घाखाँचीको छत्रदेवका प्रकाश ज्ञवाली मोटरसाइकलमा यात्रा गरिरहेका थिए। बाँदर लखट्ने क्रममा फालिएको ढुंगा हातमा लाग्दा मोटरसाइकल पल्टिएर उनको हात भाँचियो। त्यसैगरी बाँदर लखेटिरहँदा पहाडमाथिबाट बाँदरले पल्टाइदिएको ढुंगाले लागेर घाइते भएकी सोही गाउँपालिकाकी अध्यक्ष लेखनाथ पोखरेलकी आमा धनकला पोखरेल दुई महिनाको अस्पताल बसाइपछि मात्र निको भइन्। तर अहिले पनि त्यतिबेलाको चोटले समय–समयमा दुःख दिइरहने पोखरेल बताउँछन्। 

सर्वत्र समस्या 
बाँदरको प्रपोपले गाउँबस्ती नै रित्तिने किसानको बालीनाली सखाप हुने समस्या पहाडको कुनै एक ठाउँमा मात्र सीमित छैन। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विभिन्न पत्रपत्रिकामा आएका समाचारलाई आधार मानेर गरेको सर्वेक्षणअनुसार पहाडका ६८ जिल्लामध्ये ३५ जिल्लामा बाँदरले पारेको समस्या चर्को छ। 

पहाडका कतिपय बस्तीमा बाँदरका कारण मानिस बस्न नसकेपछि यसरी रित्तिँदै छन् घरहरू। 

दोलखा, बैतडी, बझाङ, गुल्मी, पाल्पा, स्याङ्जा, कास्की लगायतका ठाउँमा बाँदरका कारण नै मानिसहरू बसाइँसराइ गर्न बाध्य भएका छन्।  बाँदरबाट आतंकित भएर दोलखाको भीमेश्वर नगरपालिकामा पर्ने बाह्रकुच्चेका २५ परिवार विस्थापित भएको ६ वर्ष बित्यो। त्यसैगरी बैतडीको दशरथचन्द नगरपालिका–१० मा पनि बाँदरका कारण मानिसहरूले बसाइँसराइ गरेपछि गाउँहरू खण्डहर बनेका छन्। 

बाँदरले दुःख दिएपछि हालै कास्कीको पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले ‘मेरो रुख म काट्छु’ अभियानका लागि भन्दै सार्वजनिक सूचना नै जारी गरे। यद्यपि सबैतिरबाट विरोध भएपछि अहिले पोखरा महानगरपालिकाले उक्त निर्णय फिर्ता लिएको छ। गुल्मी लगायतका कतिपय जिल्लामा भने बाँदरले दुःख दिएपछि रूख काट्ने अभियान थालिएको छ। 

बाँदरका कारण सबैभन्दा दबाबमा स्थानीय सरकार छन्। झण्डै दुई वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा पहाडी जिल्लाका उम्मेदवारहरूले बाँदर नियन्त्रणलाई पनि आफ्ना चुनावी मुद्दा बनाएका थिए। जनताको प्रत्यक्ष जीविकोपार्जनसँग जोडिएको समस्या भएकाले स्थानीय तहका जनप्रतिनिधिहरू बढी दबाबमा रहेको त्यसले नै देखाउँछ। 

पाल्पाको तानसेन नगरपालिका–९ का वडाध्यक्ष राजेशकुमार अर्याल जनताका दैनिक क्रियाकलापसँग ठोकिने र जनताको सिधा सम्पर्कमा हुने हुँदा किसानका समस्यासँग जनप्रतिनिधि टाढा हुन नसक्ने बताउँछन्। “हामीलाई जनताले आफ्नो प्रतिनिधिका रूपमा पठाएका हुन्। उनीहरूका हरेक समस्या नजिकबाट हेर्नु हाम्रो कर्तव्य हो,” उनी भन्छन्, “बाँदरले अहिले गाउँघरबाट मानिसलाई उठिबास लगाएको छ। खेतीबाली त रहन दिँदैन नै, ६ महिनाअघि चराउन लगेका बाख्रा नै बाँदरले मारिदियो।” 

बाग्लुङको दक्षिणी भेगका बलेवा र जैमिनी नगरपालिका तथा बरेङ गाउँपालिकामा जनताले स्थानीय तह निर्वाचनताका भोट माग्न आएका उम्मेदवारलाई बाँदर नियन्त्रण गर्न कबुल गराएका थिए। बाँदरबाट प्रभावित भएका स्थानीय तहले वार्षिक बजेटमा बाँदर नियन्त्रणका लागि बजेट नै विनियोजन गरिए पनि अहिलेसम्म त्यस्ता प्रयास प्रभावकारी हुन भने सकेनन्। 

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका पूर्वअध्यक्ष लेखनाथ पोखरेल आफूले पाँच वर्षको कार्यकालमा बाँदर नियन्त्रणका लागि गर्न बाँकी कुनै प्रयास नै बाँकी नभएको बताउँछन्। 

“बाघ र चितुवासँग बाँदर डराउँछ भनेर ब्याट्रीबाट आवाज दिने बाघ र चितुवाका आकृतिहरू जंगल र खेतबारीमा राखियो। सर्पसँग डराउँछ भनेर प्लास्टिकका कृत्रिम सर्प रूख–रूखमा राख्ने अभियान चलाइयो। जंगलमा स्कुस लगाएर नियन्त्रणको उपाय पनि गरियो। बन्दुक बनाउने अभियान नै चलाइयो,” उनी भन्छन् “पहिलो वर्ष प्रभावकारी भए पनि दोस्रो वर्षबाट बाँदरले पत्याउन छाड्दा ती सबै उपाय काम लागेनन्।” त्यसबेला बाँदर छोपेर घर–घरमा पाल्न फलामे साङ्लो वितरण अभियानसमेत चलाएको पोखरेल बताउँछन्। 

“बाँदर यति बाठो भइसक्यो कि अब उसले मानिसले हानेको ढुंगा टिपेर उल्टै मानिसतिर फर्काउन मात्र बाँकी छ। खाना पकाएर ठिक्क पार्‍यो, घरको धुरीबाट पसेर कसौँडी नै बोकेर हिँड्छ,” उनी भन्छन् “पहिला खरका छानामुक्त गाउँ घोषणा गर्‍यौँ। अहिले त ढुंगा लगाएका घरमा छानाको ढुंगै उप्काएर हैरान पारेको छ।” 

किसानहरूका अनुसार बाँदरले आफू नखाने तरकारी तथा अन्नबालीसमेत बिगारेर नष्ट पारिदिन्छ। जस्तो कि, लसुन प्याज खाँदैन। तर यी बाली उखेलेर नोक्सान पारिदिन्छ। भर्खर रोपाइँ गरेको खेतको रोपो नै थुतेर फालिदिन्छ। 

नियन्त्रणको उपाय
बाँदर नियन्त्रणबारे अध्ययनका लागि चिकित्सक र सांसदहरूको टोली भारतको हिमाचल प्रदेश जाने तयारीमा छ। संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको अग्रसरतामा बन्ध्याकरणमार्फत बाँदर नियन्त्रणका उपायबारे अध्ययन गर्ने टोली त्यता जान लागेको हो। 

बाँदरबाट प्रभावित स्थानीय तहहरू भने बाँदर नियन्त्रणका लागि कानून खुकुलो बनाउनुपर्ने बताउँछन्। तानसेन नगरपालिका–९ का अध्यक्ष अर्याल भन्छन् “बाँदरलाई कृषि हानिकारक वन्यजन्तुका रूपमा परिभाषित गर्नुपर्‍यो। अस्ट्रेलिया लगायतका कतिपय देशले कंगारुको संख्या नियन्त्रणका लागि विशेष अभियान नै चलाउँछन्,” उनी भन्छन्, “बादर नियन्त्रणका लागि पनि त्यस्तै कुनै प्रभावकारी उपाय हामीले सोच्नुपर्ने बेला आएको छ।” 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक सिन्धु ढुंगाना पनि बाँदरलाई कृषि हानिकारक वन्यजन्तुका रूपमा परिभाषित गरेर नियन्त्रणको उपाय थाल्नुपर्ने बताउँछन्। अध्ययन अनुसन्धानका लागि कुनै संस्था वा देशलाई बाँदर हस्तान्तरण र बन्ध्याकरण पनि उत्तम उपाय हुन्,” उनी भन्छन्, “अहिले बाँदरलाई केही गर्न पाँइदैन। एउटा बाँदर मारियो भने मुद्दा लाग्छ। कृषि हानिकारक वन्यजन्तु घोषणा गरियो भने अहिलेको समस्या समाधान हुन सक्छ।”


सम्बन्धित सामग्री