Sunday, April 28, 2024

-->

चौतर्फी सहकारी बदनाम भइरहँदा अब्बलमा दरिएको लाहुरे नेतृत्वको सहकारी

पोखरा रोयल सहकारीमा अहिले पनि बचत रकम बढिरहेको छ। संस्थाको कुल पुँजी दुई अर्ब ३२ करोड पुगिसकेको छ। शेयर पुँजी मात्रै २१ करोडको हाराहारीमा छ।

चौतर्फी सहकारी बदनाम भइरहँदा अब्बलमा दरिएको लाहुरे नेतृत्वको सहकारी

पोखरा– सञ्चालकको मनोमानीले कैयौँ सहकारी बदनाम छन्। बचतकर्ताको अर्बौं रकम अपचलन गरेर त्यसका सञ्चालक फरार छन्। हजारौँ सर्वसाधारणलाई बिल्लीबाँठ पार्ने सहकारी सञ्चालककै कारण चौतर्फी सहकारीको आलोचना भइरहेको छ। बचत रकम फिर्ता माग्दै प्रहरी, प्रशासनदेखि सरोकारवाला निकाय धाउन बाध्य छन् पीडित बचतकर्ता। 

तर केही यस्ता पनि सहकारी छन्। जसले आफ्नो कारोबार विस्तार गरेर अहिले पनि मुनाफा आर्जन गरिरहेका छन्। लाहुरेको नेतृत्वमा सञ्चालित पोखरा–१० बुद्धचोकको ‘पोखरा रोयल सहकारी’ आर्थिक अनुशासन कायम गरिररहेका सहकारीमध्येको एउटा नमुना संस्था हो। 

देशभरजसो नै बचतकर्ताको रकम हिनामिना गरेर फरार सहकारीका सञ्चालकको तीव्र खोजी भइरहेको छ। ठगीका घटनाले सहकारीप्रति सर्वसाधारणले हेर्ने दृष्टिकोण नकारात्मक बनेको छ। पोखरा रोयल सहकारीका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ सहकारीबारे बाहिरिएका घटनाले बचतकर्ता डराइरहेको स्वीकार्छन्। तर बचतकर्ताको रकम सुरक्षित गर्दै राम्रो काम गरिरहेका सहकारीहरू पनि उत्तिकै रहेको उनी सुनाउँछन्। 


“बाहिर सुन्दा त हत्तेरी, सहकारी भनेको त खत्तमै रहेछ। पैसा बेकारमा हालिएछ भन्ने पनि बचतकर्तालाई परेको छ। तर राम्रो गरेका सहकारीहरू पनि उत्तिकै छन्,” गुरुङ भन्छन्। 

पोखरा रोयल सहकारीमा अहिले पनि बचत रकम बढिरहेको छ। अहिले संस्थाको कुल पुँजी दुई अर्ब ३२ करोड पुगिसकेको छ। शेयर पुँजी मात्रै २१ करोडको हाराहारीमा छ। सहकारीको जगेडा कोषमा १८ करोड छ। “यो अफिस भवन बनाउँदा हामीले कतैबाट ऋण लिएका छैनौँ। आफ्नै भवन हो। यसैको मूल्यांकन गर्ने हो भने पनि करोडौँ पर्छ,” गुरुङ भन्छन्, “हामीसँग भएका प्रतिबद्ध सदस्य नै हाम्रा सम्पत्ति हुन्।”

शुरूआतदेखि नै नियमसम्मत भएर कारोबार गरिरहेकाले बचतकर्तालाई बचत रकम अपचलन हुँदैन भन्ने भरोसा दिन आफूहरू सफल भएको उनी मान्छन्। 

“सञ्चालक र कर्मचारीका लागि आचारसंहिता बनाएर थन्क्याएका छैनौँ, पालना गरेका छौँ। अध्यक्षले बढी र बिनाधितो ऋण लिन पाउने, अध्यक्षलाई अरूलाई भन्दा सस्तो ब्याजदरमा ऋण दिने भन्ने बुझाइ कहीँ–कहीँ प्रयोग भएको देखियो,” उनी भन्छन्, “हामीकहाँ त्यस्तो हुँदैन। बचतकर्ताले ऋण लिँदा जति ब्याज तिर्नुपर्छ, अध्यक्षले पनि त्यति नै तिर्नुपर्छ। धितो राख्नैपर्छ।” बचतकर्ताले जम्मा गरेको रकम लगानी गर्दा डुब्न नदिन संस्था पूर्ण जिम्मेवार हुनुपर्ने उनको भनाइ छ। 


कहिलेकाहीँ ऋणको ब्याजदर घटबढ हुन सक्छ। तर बचतकर्ता आफ्नो बचत रकम फिर्ता माग्न आए तत्कालै दिन सक्ने गरी संस्था चल्नुपर्ने र आफ्नो सहकारी त्यो अवस्थामा रहेको उनले बताए। 

“हामी बजारअनुसार चल्नुपर्ने भएकाले ब्याजदर तलमाथि हुने हो। डिपोजिटमा पनि त्यस्तै हुन्छ। त्यसमा भन्दा अरू गुनासो हामीले सुन्नु परेको छैन। रोयलले पैसा माग्न आउँदा दिएन भन्नु परेको छैन,” गुरुङ भन्छन्, “अहिले हामी टन्न तरलता राखेर बसेका छौँ। सामान्य १०/१५ प्रतिशतले पुग्ने बेलामा पनि ३१/३२ प्रतिशत तरलता राखेर बसेका छौँ। कुनै सदस्यले करोडौँ ऋण माग्न आए पनि तुरुन्तै दिन सक्छौँ।”

संस्थाको नेतृत्वमा भतूपूर्व लाहुरेहरू भए पनि यो सहकारीमा सबै समुदायको आबद्धता छ। अहिले बचतकर्ता १० हजार नजिक पुगेका छन्। प्रत्येक महिना १०० जना नयाँ सदस्य थप्ने सहकारीको लक्ष्य छ। संस्थामा ५० कर्मचारीले काम गरिरहेका छन्। अहिले पोखरा रोयलको कार्यक्षेत्र पाँच जिल्लामा पुगेको छ। कास्की, तनहुँ, स्याङ्जा, लमजुङ र पर्वतमा यसका सेवाकेन्द्र छन्।

पोखरा रोयल सहकारीमा यसरी जोडिए भूपू लाहुरे
पेन्सनसँगै अवकाश लिएर आएका लाहुरेलाई सहकारीमा जोड्दै शुरू भएको सहकारीले दशकौँ पुरानो भरोसा कमाइसकेको छ। 


पेन्सनमा आएका लाहुरेलाई जोड्दै सहकारीले आफूलाई विस्तार गर्दै लगेको सहकारीका संस्थापकसमेत रहेका गुरुङ बताउँछन्। “म आफैँ चाहिँ लाहुरे होइन। तर लाहुरे समुदायको भएँ। प्रायः त्यो बेलामा पैसा लाहुरेसँग हुन्थ्यो,” लाहुरेलाई सहकारीमा जोडिएको कथा सुनाउँदै उनी भन्छन्, “लाहुरेसँग भएको पैसा उत्पादनमा लगाउनुपर्‍यो। एकत्रित गर्नुपर्‍यो। त्यसलाई हाम्रै सदस्यहरूबीच बाड्ने हो भनेर अभियान चलायौँ।”

लाहुरेलाई आबद्ध गराएर सहकारी चलाउने योजनाअनुसार मेजर तुलसीप्रसाद गुरुङको नेतृत्वमा लाहुरेहरूको प्रवेश भयो। मेजर गुरुङले लगातार २० वर्ष अध्यक्ष भएर काम गरे। अहिले रुद्रकुमारी गुरुङ ‘मैना’ अध्यक्ष छिन्। उनी पनि लाहुरेकै श्रीमती हुन्। सहकारी सञ्चालक समितिमा नौ सदस्य छन् जसमध्ये आधाभन्दा बढी लाहुरेहरू नै छन्।

२४/२५ वर्षे तन्नेरीले जन्माएको सहकारी
रोयल सहकारीको जग ३५ वर्षअघि २४/२५ वर्षका तन्नेरीले हालेका थिए। “म उपाध्यक्ष थिएँ। हामीले त्यतिबेलाको कानूनी व्यवस्थाअनुसार शाखा विस्तार गर्दै गयौँ। सरकारले सहकारीलाई शाखाको मोडलमा चलाउन नदिने भनेर सर्कुलर जारी गरेपछि पोखरामा रहेको शाखालाई ‘पोखरा रोयल बचत तथा ऋण सहकारी’ भनेर यहाँका स्थानीय बचतकर्तालाई लिएर दर्ता गरेका थियौँ,” प्रमुख कार्यकारी अधिकृत गुरुङ भन्छन्।

काठमाडौँमा २०५५ सालमा स्थापना भएको रोयल सहकारी नै पोखरामा २०५९ जेठ ८ मा पोखरा रोयल सहकारीको नाममा स्वायत्त भएको थियो। त्यो बेलादेखि अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङले नेतृत्व गरे। 


आफूहरूले थालेको अभियानमा अहिले दशौँ हजार जोडिदा दंग छन् भीम। देशकै उत्कृष्ट सहकारीको सूचीमा पोखरा रोयलको नाम उक्लिइसकेको छ। “शुरू–शुरूमा त एकदमै गाह्रो भयो। सहकारी भनेको के हो, मान्छेले बुझेकै थिएनन्। त्यसपछि एक–दुई जना गर्दै सदस्य बढ्दै गए,” पोखरा रोयलको शुरूआती कथा सुनाउँदै भीम भन्छन्, “उहाँहरूलाई साधारण सभा, वार्षिकोत्सव र तालिमहरूमा बोलाउने, हाम्रो कुराहरू पनि राख्ने, घरघरमै गएर कुरा राख्ने गर्न थालेपछि एकदमै सजिलो भयो। अहिले त हाम्रै गतिविधिले गर्दा पनि मान्छेहरू खोजीखोजी सदस्य बन्न आए।”

पेन्सनपछिको दोस्रो करिअरको खोजी गरिरहेका आफूजस्तै लाहुरेसँग जोडिएर काम गर्न पाउँदा क्याप्टेन चन्द्र गुरुङ प्रफुल्ल छन्। अवकाशपछि नेपालमै केही गर्ने इच्छा बोकेर आएका चन्द्रले अर्को व्यवसायमा पनि हात हालेका थिए। तर त्यो सफल हुन सकेन। त्यसपछि उनले केही वर्ष विदेशमा बिताए। 

“म सन् १९९५ मा रिटायर्ड भएँ। बीचमा फेरि यूके गएँ। साउदी पनि गएँ। यहाँ आइसकेपछि केही गर्नुपर्छ भन्ने लागिरहेको थियो,” उनी सुनाउँछन्, “पोखरा रोयल सहकारी सञ्चालकमा मेरा आफन्तहरू पनि हुनुहुन्थ्यो। तपाईं पनि यहाँ आउनुपर्छ भन्नुभयो। हामी भूपूहरू इमानदार र विश्वासिलो मान्छे हौँ। बहादुरी त आफ्नो ठाउँमा छँदै छ। कुनै पनि काम हामीले शतप्रतिशत दिएर गर्ने, विश्वासिलो सर्भिस दिने ब्याकग्राउन्ड भएको हुनाले पनि सफल छौँ।”


सम्बन्धित सामग्री